किन चुँडिन्छन् कोपिलामै निर्मलाहरू ?

कारबाही गर्ने क्रममा राजनीतिक दबाब र प्रभावलाई तौलिएर बस्ने हो भने अपराध नियन्त्रण कदापि हुने छैन ।
सुशीला कार्की

काठमाडौँ — महिला र बालिका हिजो पनि असुरक्षित थिए र आज पनि छन् । हिंसाको प्रकृतिमा भने समय अनुसार परिवर्तन हुँदै गएको छ । बहुदलीय व्यवस्था प्राप्तिपछि महिलाले समग्र विकासको आस गरेका थिए । तर भएन । आज २९ वर्ष भएछ । आम महिला जहाँ थिए, त्यहीँ छन् ।

तर महिलाको हकमा केही पनि विकास भएकै छैन भनिहाल्न भने मिल्दैन । महिलाले राजनीतिमा ठूलो फड्को मारेका छन् । यस क्षेत्रमा हुनेखाने र राजनीतिक–पारिवारिक पृष्ठभूमि भएका अधिकांश सहरिया महिलाको उन्नति भएको पाइन्छ । आम महिलाको दैनिक जीवन हेर्दा भने समस्या र विकृति बढेको छ ।

परिवर्तनका साथै देखापरेका तिनै विकृतिबाट अधिकांश महिला र बालिका प्रताडित छन् । महिलाको सुरक्षा गर्ने दायित्व परिवार, समाज र राज्यको हो । परिवारको सहयोग सन्दर्भमा हामीकहाँ केही उदाहरण छन्, जसलाई इन्कार गर्न मिल्दैन । हाम्रै घरगाउँबाट महिला र बालिका स्वजनबाट बिक्री भएर नारकीय जीवन बिताउन बाध्य भएका घटना छन् ।

Yamaha

वैदेशिक रोजगारीको नाममा कुन कामका निम्ति छोरीचेली विदेश जाँदैछन् भन्ने हेक्कासम्म नराखिएका उदाहरण पनि छन् । उल्टै साहुसँग ऋण काढेर, परिवारका निम्ति पैसा आर्जन गर्ने र आर्थिक स्तर उकास्ने नाममा भाषा नबुझिने, संस्कृति नमिल्ने, द्वन्द्वरत मुलुकहरूमा बिना तालिम, मानव तस्करलाई दोहोरो नाफा हुनेगरी काम गर्न जान परिवारले छोरीलाई प्रेरित गरेको देखिन्छ । यसलाई सरकारले पूर्णत: नियन्त्रण गर्नसकेको छैन ।

दोस्रो कुरा, समाज यति धेरै व्यक्तिवादी अनि भौतिक सुख प्राप्तिको चिन्तनमा निर्लिप्त छ, क्रमश: आध्यात्मिक र मानवतावादी सोचविहीन बन्दै गएको छ । सामाजिक परम्परा, मूल्य–मान्यता र एकता नेपाली समाजबाट हराइरहेको प्रतीत हुन्छ । अहिले यत्रतत्र राजनीतिको पकड छ । हरकुरालाई राजनीतिक चस्माद्वारा मूल्यांकन गरिन्छ ।

हत्या र वारदातलाई लिएर सडकबाट इन्साफका निम्ति आवाज उठ्दा महिलाविरुद्ध हिंसा भएको भन्दा सरकार अनुसन्धान गर्न छाडी विपक्षी दललाई जनता भड्काएको दोषारोपण गर्छ । छिटै धनी बन्ने, बिना परिश्रम अथाह कमाउने आजको प्रवृत्ति हो । दलहरूले आफ्नो संगठन स्थापित गर्ने नाममा गाउँका गुन्डा, मवाली र जाली–फटाहाहरूलाई प्रश्रय दिएपछि सामाजिक मूल्य र मान्यतामा स्वाभाविक खलल पर्ने नै भयो । नेपालीमा एउटा कथन छ– जस्तो रोप्यो, त्यस्तै फल्छ । परिणामत: मुलुकभित्र जब मानव तस्कर, बालुवा तस्कर, गिट्टीढुंगा, माटो तस्कर, वन तस्करहरूको शिर ठाडो भएपछि र तिनकै हुकुम चलेपछि आमजनता कसरी सुरक्षित रहन सक्लान् ?

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भयो । त्यसपछि हाम्रो आवासमा सुरक्षार्थ प्रहरीहरू खटिए । एक लट प्रहरी हामीकहाँ पनि आयो । वरपर छुट्टै ठाउँ नमिलेको हुँदा म बसेकै घरको तल्लो तलामा उनीहरूलाइई बस्ने व्यवस्था मिलाइयो । केही समयपछि राति–राति गाँजाको गन्ध आउन थाल्यो । निरन्तर त्यो गन्ध आए पनि केही समय मैले सहेँ ।

पछि एकजना हवल्दारलाई भनेँ, ‘यहाँ घर वरिपरि गाँजा खाने मानिस आउँदारहेछन्, तपाईंले हेर्नुपर्‍यो । तिनलाई पक्राउ गरी कारबाही गर्नुपर्‍यो ।’ उनले निगरानी गर्दा गाँजा खाने अरू कोही नभएर तिनै सुरक्षामा बसेका प्रहरीहरू भएको यकिन भयो । त्यसबखतको एउटा लट प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले कुनै सांसदको सेटिङमा नियुक्त भएको भन्ने सुनियो । सक्षम र योग्यले जागिर नपाउने, पैसाको बलमा हुनेखाने धनी बाबुआमाका बिग्रेका सन्तानले दामभेटी चढाएको भरमा प्रहरीजस्तो संवेदनशील निकायमा जागिर पाउने ! कस्तो अवस्था होला ? अनि यस्तो के सुरक्षाको आस राख्ने ?

सन् २०१० मा म दक्षिण कोरियाको राजधानी सोलमा एउटा सम्मेलनमा भाग लिन जाँदा थाहा पाएँ, त्यहाँ महिला हिंसाबारे कतै वारदात हुनलागेको सूचना पाउनासाथ प्रहरीहरू पुग्ने र पीडित महिलाको सुरक्षा गर्ने गरिँदोरहेछ । सन् २०१४ मा चीन गएका बेला नेपालीले दिएको एउटा भोजबाट फर्कंदा राति २ बजेको थियो । त्यस्तो राति पनि सडकमा महिला एक्लाएक्लै निस्फिक्री हिँडिरहेका थिए ।

भन्दा आक्षेप लगाए जस्तो हुने, हाम्रा प्रहरीको तालिम पञ्चायतकालमा अराष्ट्रिय तत्त्व निवारणमुखी बढी रह्यो । बहुदल प्राप्तिपछि पनि नेता र दलमुखी हुने संस्कार पलायो । अहिलेको सुन तस्करी काण्डले आम प्रहरीको साख गिराएको छ । यसले गर्दा आम जनताको प्रहरीप्रति विश्वास उठेको हो कि भन्ने देखिन्छ । यसको अर्थ नेपाल प्रहरी कमजोर छ वा कामै गर्न सक्दैन भन्ने होइन । चाहेमा प्रहरीले काम गर्न सक्छ ।

त्यो क्षमता पनि प्रहरीमा छ । किनकि रणबहादुर बम हत्याकाण्ड, रानीबारीका इन्जिनियर दम्पतीको हत्याकाण्ड वर्षौंपछि पनि प्रहरीले पत्ता लगाएको थियो । यद्यपि इच्छाशक्ति, लगनशीलता अनि पीडितको पक्षमा संवेदन हुनुपर्दो रहेछ । राजनीतिक क्षेत्रको दबाब, प्रभाव र भनसुनलाई झेल्न सक्नुपर्छ ।

नियुक्तिमा दाम चढाउने र आफन्तवादको संस्कार अन्त्य हुनुपर्‍यो । तालिम यस्तो हुनुपर्‍यो, जसले मानवीय संवेदनशीलता कायम गर्न सकोस् । ‘मेरी श्रीमती हराई, खोजी पाऊँ हजुर’ भनी एउटा गरिब निमुखाले गुहार माग्दा त्यसलाई संवेदनशील भएर लिइदिनुपर्छ । किनकि कर त खाई–नखाई गरिबले पनि तिरेको हुन्छ, बलात्कृत हुने महिलाले पनि राज्यबाट पाउने सुरक्षानिम्ति पेट काटेर कर तिरेकी हुन्छिन् ।

पश्चिम कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा मृतकको बाँच्ने अधिकार हरण भयो । त्यो समाजमा उत्पन्न भएको नकारात्मक प्रवृत्ति र विकृतिको परिणाम हो । अहिले तिनै कुरा रोगका रूपमा समाजमा बढ्दैछ । पहिला मानिसमा जेसुकै भए पनि धर्म, पाप र पुण्यका कुराले समाजलाई केही नियन्त्रण गरेको थियो ।

सामाजिक लोकलज्जाको प्रश्न पनि उठ्थे । तर अब ती सब मूल्य–मान्यता हराएर गए । यही प्रवृत्ति निरन्तर कायम रहिरहने हो भने कुनै न कुनै दिन सबैले त्यसको मार भोग्नुपर्ने हुन्छ । फोहोरबाट मुक्ति प्राप्त गर्नसके रोग लाग्दैन, तर हैजा आए त्यसले मान्छे छान्दैन, सबैलाई सोहोरसाहार पारेर लानेछ । उक्त घटनामा प्रहरीले उजुरी पर्नासाथ कारबाही गरेको भए सायद मृतकको ज्यान जाने थिएन । यो संवेदनशीलताको कमी हो ।

आजभोलि नाबालिका बलात्कृत भएका र मारिएका वारदात प्रशस्त घटेका छन् । समाजमा दण्डहीनताले प्रश्रय पाएको छ । जसले जे गरे पनि हुन्छ भन्ने भावना पलाएको छ, जुन दण्डहीनताको पराकाष्ठा हो । न्यायालय, प्रहरी र सरकारी वकिलले यस्ता दण्डहीनता विरुद्ध अनुसन्धान गरी कठोर कारबाहीद्वारा सजाय दिलाउने जमर्को गरेमा नियन्त्रण हुनेछ । तर कारबाही गर्ने क्रममा राजनीतिक दबाब र प्रभावलाई तौलिएर बस्ने हो भने अपराध नियन्त्रण कदापि हुने छैन । त्यस्तै सरकारका हरेक निकायले गरिब–धनी, जातीय र दलगत विभेद नगरी आवश्यकता अनुसार सुरक्षा प्रदान गर्न सक्नुपर्छ ।

महिला हिंसाको रोकथामका निम्ति मृत्युदण्ड प्रभावकारी कानुनी बाटो हो जस्तो लाग्दैन । सबैले जोड गरे त्यो कानुन पनि बन्ला । तर हाम्रोजस्तो मुलुकमा बलात्कार र हत्या एउटा बलिष्ट पहुँचवालाले गर्ला, तर डोरीमा अर्को निर्दोष नझुन्डिएला भन्न सकिन्न ।

महिलाका पनि आफ्ना केही दायित्व छन् । धनसम्पत्ति आर्जन हुने र सुख पाउने नाममा जोकोहीलाई विश्वास गरिहाल्नु राम्रो होइन । अहिलेको समयमा प्रेमी पनि प्रेमीजस्ता देखिँदैनन् । आफ्नै प्रेमिकालाई बोलाएर मवालीहरू भेला पारी बलात्कार गर्न लगाउने कस्ता प्रेमी हुन् ? महिला सुरक्षालाई लिएर कतिपय घटनामा बाबु, दाइ, भाइ, आफन्तमाथि शंका जन्मिएका छन् ।

महिलाविरुद्ध हिंसा नियन्त्रण गर्न प्रहरी सक्षम र कानुनी रूपमा भरपर्दो निकाय हो । अन्यायमा परेकालाई न्याय दिलाउनु, क्रयविक्रयमा परेकालाई उद्धार गर्ने अख्तियारी प्रहरीलाई छ । तर अहिले प्रहरीले बलात्कारको सिकार हुने नाबालिकालाई जोगाउन किन सकेको छैन ? जनताले यस कुराको प्रश्न उठाउनु जायज हो । अब प्रहरीले महिलाविरुद्ध हुने हिंसाका घटनामा गम्भीर भएर नियन्त्रणका कदम चाल्नु आवश्यक छ । यसका लागि रेकर्ड राख्ने, संदिग्ध र पहिले त्यस्ता गतिविधिमा संलग्नमाथि निगरानी राख्ने गर्नु आवश्यक छ ।

सामान्यत: बलात्कारपछि हत्या किन हुन्छ भने अपराधी प्राय:जसो बलात्कृत महिला वा बालिकाको जानपहिचानको परिचित व्यक्ति हुने गर्छन् । तसर्थ अहिले महिला आफन्तबाटै असुरक्षित छन् ।

सामाजिक दायित्व निर्वाह गर्ने क्रममा महिलाले पनि दलीय वा अन्य आधारमा विभाजित नभई टोल, गाउँ, नगरवासी महिलाको सर्वाङ्गीण विकास र सुरक्षाका निम्ति एकता कायम गर्नैपर्छ । यस्तो एकता भए ग्रामीण क्षेत्रमा समूहमा मिलेर आयआर्जन वा व्यवसाय गर्नमात्र होइन, सुरक्षाको अनुभूति पनि हुनसक्छ ।

हिंसामा परेका वा पर्नसक्ने अवस्थाका महिलालाई समूहले मिलेर बचाउ गर्न पनि सक्छन् । सरकारले दिने सहयोग, शिक्षा/प्रौढ शिक्षा तथा रोजगारी/तालिमको फाइदा सबैलाई दिलाउन सक्नुपर्छ । गाउँका बालिकालाई सुरक्षा प्रदान गर्ने, तिनलाई आइपर्ने खतराबारे सजग गराउने कर्तव्य बुज्रुक महिलाको हो । अन्यथा आपसी द्वन्द्व र विभक्त मानसिकता राख्ने हो भने महिलाले अहिले भइरहेका हिंसाबाट मुक्ति पाउन कठिन छ ।

कार्की पूर्वप्रधानन्यायाधीश हुन् ।

*यसअघि प्रकाशित लेखको शिर्षकमा 'कोपिला' हुनुपर्नेमा अन्यथा हुन गएको सच्याइएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मितव्ययी नै आदर्श जीवन

सुशीला कार्की

भ्रष्टाचारको मुख्य कारक तत्त्व आर्थिक अनियमिता नै हो । अहिले आर्थिक अनियमिता व्यापक बढ्नुका कारण मुख्यत:

रहनसहन, शानसौकतमा व्यापक वृद्धि, सामाजिक व्यवहारमा हैसियतभन्दा बाहिरको खर्च, शिक्षामा उच्च खर्च, महँगो औषधी उपचार, महँगी वृद्धि, आम मनिसमा विना परिश्रम आय आर्जन गर्ने प्रवृत्ति, हुनेखाने वर्गको सामाजिक व्यवहारको नक्कल, भ्रष्टाचार नियन्त्रणमा सरकारको उदासीनता, भ्रष्टाचार मौलाउने सामाजिक परिवेश आदि हुन् । भ्रष्टाचारमा जति–जति वृद्धि हुँदैछ, उति–उति समाजमा विकृति पनि क्रमिक रूपमा बढ्दै जाँदैछ ।

यसले समाजमा ल्याएको नकारात्मक असरका कारण चोरी, डकैती, हत्या, हिंसा, लुटपाट, अपहरणमा वृद्धि भएको छ । एकथरी हुनेखाने वर्गको असीमित खर्च गराइका कारण बढेको महँगीले अरु निम्न आय हुने परिवारलाई जीवन धान्न कठिन परेको छ । आय आर्जनका निम्ति विदेशिँदा नेपालबाट प्रशस्त युवाशक्ति पलायनमात्र भएका छैनन्, कत्तिले विदेशमा अनाहकमा मृत्युवरण पनि गरेका छन् । एकातर्फ युवाशक्तिको मुलुकमा ह्रास छ बने अर्कोतर्फ सिङ्गो राष्ट्रको विकासमा जनशक्तिको अभावका कारण नकारात्मक असर पारेको पाइन्छ । रोजगारीका निम्ति विदेशिने महिलाले त्यति नै कष्ट भोग्नुपरेको छ, तिनको पारिवारिक जीवन, बालबच्चा, धनसम्पत्ति र आर्जित कमाइसमेत असुरक्षित छन् ।

मुलुकको समग्र विकासका निम्ति जनताको तर्फबाट पनि केही त्याग हुन जरुरी छ । अझ बढी राष्ट्रको विकासका निम्ति केही न केही सरोकार र चिन्तन मुलुकका नागरिकले राख्नुपर्ने कर्तव्य हो । सामाजिक व्यवहारको कुरा गर्ने हो भने साविकको हाम्रो मौलिक संस्कार, खानपान जुन सरल थिए, मितव्ययी थिए, साथै त्यसमा आफ्नै मौलिकता र पहिचान थियो । नेपालका सबै जाति–जनजातिका आआफ्ना संस्कृति, परम्पराको आफ्नै मौलिकता छन्, त्यसलाई हामीले त्याग्दै गयांै र अब हामी बहुराष्ट्रिय कम्पनीका रैती बन्न पुगेका छांै । ती कम्पनीहरूको व्यापार उँभो लगाउन तिनले महिनैपिच्छे उत्पादन गर्ने गरेको नवीनतम वस्तुको खरिद गरी तिनको आयमा वृद्धि गराउन सहयोग पुर्‍याउन थालेका छौं । टेलिभिजनको सिरियलले देखाएको भड्किलो लुगा, महँगा गहना र नौलो–नौला संस्कार आजभोलिको हाम्रो लोकप्रिय संस्कार बन्न पुगेका छन् । 

पहिले हामीले नै विवाह, भोजभतेर आदिमा स्वयम् आफैले जन्तीलाई पकाएर ख्वाएको सम्झना छ । गाउँघर वरपर छरछिमेकीको सहयोगमा तयार गरिएको परम्परागत खानेकुराबाटै भोजभतेर सम्पन्न हुने गथ्र्यो । कतिपय अवस्थामा ती संस्कारमा खानेकुराको निम्ति गाउँले वा छरछिमेकीले नै पनि घर–घरबाट सामग्री बटुली ल्याई सघाउनु आफ्नो दायित्वबोध गर्थे । अहिले फरक छ, अब पार्टी प्यालेसमा साना–साना व्यवहारका निम्ति पनि भव्य भोज हुने गर्छ । न्वारनको कार्यक्रमदेखि गुन्युचोलो पहिरनसम्मका कार्यक्रम पार्टी प्यालेसमा हुनथालेका छन् । त्यस्ता भोजहरूमा सिङ्गारिएर महँगा पोसाक र गरगहना पहिरेर जानु अबको सहरी संस्कृति हो । 

यो निश्चित छ कि अब सहरका घरहरूमा भान्सा सानो र आधुनिक हुनाले, घरबारीको क्षेत्रफलको अभाव तथा मानिसलाई फुर्सद नहुने भएकाले पहिलेको गाउँघरको जस्तो व्यवहार सहरको घर–आँगनमा सम्भव नहुन सक्छ । तर अहिले पनि गाउँघरमा आँगनको माटो पोल्ने भन्दै घर–आँगनमा सामाजिक कार्य बिहे, व्रतबन्ध गरिन्छ । सहर र त्यसका आसपासका पार्टी प्यालेसको अस्वस्थकर खानाका कारण स्वास्थ्यमा परेको असर, ठगी धन्दाजस्ता विषयमा हामीले विचार गर्ने गरेका छैनौं । हामी जे कुराको पनि नक्कल गर्न थालेका छौं, आफ्नो हैसियत हेरेर व्यवहार गर्नुपर्नेमा अहिलेका युवा–युवतीमा तामझाम देखाउने प्रवृत्तिमात्र देखिन्छ । भए होस्, नभए ऋण काढेरै भए पनि भव्य विवाहवारी गर्नुपर्ने सोच आम मानिसमा रहेको पाइन्छ । 

सेवानिवृत्त एक न्यायाधीशको परिवारभित्र छोरीको विवाहमा तीस लाख खर्च हुने हिसाब–किताब देखिएपछि आफन्तले केटाकेटीलाई बरु रकम बैंकमा राखी विवाह सामान्य गर्नु भनी सल्लाह दिए । दुवैका बाबुआमा माने पनि केटाकेटी मानेनन् । सम्झाउँदा पनि नभएपछि तिनका इच्छाअनुसार भव्य विवाह भयो । तर वर्षदिन नपुग्दै सम्बन्धविच्छेद पनि भयो । हाम्रो पुरानो संस्कारमा पहाडतर्फ मैतालु फर्काउँदा मात्र छोरीलाई चाहिने सबैथोक दिन्थे । विवाहमा बाहिरी, भित्री गरी जम्मा तीन जोर मात्र लुगा दिने चलन थियो, भोजभतेर पनि सामान्य तर मौलिक हुन्थे । अब करोडपति र अर्बपतिको सामाजिक व्यवहारको खर्च नक्कल गर्ने क्रममा निम्न आय हुने वर्गले समेत बसोबास र आय आर्जन गर्ने घरखेत बिक्री गरी सामाजिक व्यवहारमा खर्च गर्छन् । धन धेरै हुनेले खर्च गर्दा बजारमा पैसा यत्रतत्र छरिन्छ, यसबाट निश्चय नै बजार चलायमान हुन्छ । तर नहुनेले अनियमित स्रोतबाट वा ऋणपानबाट खर्च गर्दा भविष्यमा आर्थिक संकट वा बदनामी व्यहोर्नुपर्ने हुन्छ । यिनै अस्वाभाविक खर्च र भडकिलो सामाजिक व्यवहारका कारण नेपालमा अस्वाभाविक भ्रष्टाचार वृद्धि भएको पनि हो । हाम्रो पुरानो भनाइ छ– ‘घाँटी हेरेर हाड निल्नु ।’ तर त्यस्तो नभई आफ्नो आयस्रोत भन्दा बढी खर्च गरेर समाजमा ‘हैसियत’ देखाउने होडबाजीले विकृति बढाएको छ । 

सर्वोच्च अदालतमा बहाल भएका बेला करारका एक कर्मचारीले छोरीको बिहेको निम्ति तीन दिन विदा मागे अनि भने, ‘छोरीको बिहे गर्दैछु, तर मेरो हैसियत छैन, मेरो आजसम्मको आर्जनबाट मैले घरखेत केही जोडिन । डेराको घरमा बसी मेरा चार सन्तानलाई प्रचुर मात्रामा शिक्षा दिने काम गरेँ । मेरी छोरी पढेलेखेकी छन्, ज्वाइँ पनि पढेलेखेको जगिरे पाएँ, मन्दिरमा यसो फूलमाला गरेर विदा गर्दैछु, हजुरहरूलाई निम्तो दिने मेरो औकात छैन । माफ गर्नु होला ।’

 उनको यो कुरा मलाई जायज नै लाग्यो, हैसियत नै छैन भने किन मरिहत्ते गर्ने ? नभएको हैसियतलाई बढाएर–चढाएर किन देखाउने ? तसर्थ आफ्नो चोखो आयमा निर्भर भई मितव्ययी व्यवहार गर्नु नै उपयुक्त हुन्छ । मितव्ययी भई आफ्नो वास्तविक आयअनुसार खर्च गर्दै जीवन गुजारा गर्ने हो भने त्योभन्दा सुखी जीवन केही हुँदैन । कसैको आलोचना खेप्न नपर्ने, कुनै लाञ्छना नआउने, आफ्नै मनदेखि त्रसित हुन नपर्ने, एक आनन्दको जीवन हुने र सामाजिक प्रतिष्ठामा समेत खलल नपुग्ने, कसैले औंलो आफूतिर उठाउन नसक्ने भई निष्कलङ्क जीवन हुन्छ । अहिलेको कृत्रिम महँगी बढ्नुको कारण पनि भ्रष्टाचार नै हो । एकातर्फ भ्रष्टाचार गर्नेहरूले विनापरिश्रम आर्जन गरेकोबाट अस्वाभाविक खर्च गर्नाले बजार भाउ बढेको छ भने अर्कोतर्फ भ्रष्टहरूको चलखेलबाट वस्तु बिक्रीमा लिनेदिने खाने अनियमिताले गर्दा पनि बजार दरभाउमा अस्वाभाविक वृद्धि हुन्छ ।

एउटा नेवार समुदायको परिवारमा छोराको विवाह गर्दा बाबुआमाले ६ महिनाभन्दा बढी समयसम्म परिश्रम गर्नुपरेको देखियो । बेहुलाकी आमाले घरमा एक महिना अगावैदेखि नै परम्परागत नबिग्रने मिठाइ आफ्नै हातले तयार गरिन्, भएसम्म बेहुलीको लुगाफाटो पनि आफै सिउने काम गरिन् । ती सामान्य व्यापार गर्ने ती श्रीमान–श्रीमती दिनभरिजसो कुन ठाउँमा कुन वस्तु सस्तो पाइन्छ भनी बजारमा खोज्दै हिँड्थे । भोज कुनै पार्टी प्यालेसमा गरेनन् । दिनदिनै पन्ध्रदेखि बीस जनासम्म पहुना घरमै बोलाई पाँचतारे होटलको भन्दा मिठो र स्वस्थकर खाना स्वयम् बनाएर पस्के । तथापि सबैलाई त्यस्तो फुर्सत नहुन सक्छ । तर हैसियत नभए साधारण परिवारले चिया–चमेनाबाट पनि टार्न सक्नुपर्छ, अरुले हात्ती चढेको देखेर आफूले धुरी नै चढ्नुपर्छ भन्ने छैन, धुरी भत्कन सक्छ । हैसियत नहुँदा पनि सामाजिक रूपमा देखाउनकै निम्ति अनियमित काम गर्नु उपयुक्त पनि होइन ।
सरल, स्वस्थ, अनि आदर्शले परिपूर्ण भएको जीवन अत्यन्त सन्तोषपूर्ण हुन्छ । यस्तो जीवनले व्यक्तिको शिरलाई सदैव उच्च कायम गर्छ । कठिन परिश्रमबाट प्राप्त भएका सकारात्मक परिणामहरूले व्यक्तिलाई त्यति नै खुसी तुल्याउँछ । मिहेनत नगरी अबाटोबाट छिर्ने प्रवृत्तिका कारणबाट आजभोलि परिश्रम गर्नेहरूको हौसलामाथि प्रहार भएको देखिन्छ । अब्बल हुनेहरूले सेवामा प्रवेश पाउन रुनुपर्ने तर योग्यता नहुनेले साम–दाम–दण्ड–भेद नीति अपनाएरै भए पनि उच्च पद हासिल गर्ने गरेको दृष्टान्त अहिले नेपालमा खुला किताबसरह छ ।

नेपालमा हाम्रो आफ्नै खानपिन र रहनसहनको मौलिकता छ, जुन वर्षौं–वर्षदेखि हामी उपयोग गर्दै आएका छौं र यी आहारालाई हाम्रा शरीरले पचाउँदै आएको पनि हो । हाम्रो दालभात, तरकारी, ढिँडो, रोटी, मही, दही, दूध, मसलालाई सामान्य परिणाममा प्रयोग गर्ने हो भने यिनले औषधीकै काम गर्छन् । जिरा, मरिच, धनियाँ, बेसार, हिङ, जाइदाना यी स्वास्थ्यका निम्ति आवश्यक तत्त्व हुन् । आम नेपालीले प्रयोग गर्ने सागपात र तरकारीमा घिरौला, चिचिन्डो, लौका, फर्सी, करेला, इस्कुस, निगुरो, कर्कलो, जलुको, कोइरालाको फूल यी सबै स्वास्थ्यको निम्ति गुणकारी छन् । आजभोलि सहरमा फाष्टफुडको प्रयोगका कारण धेरैलाई रक्तचाप, सुगर, घातक क्यान्सर, मिर्गौला सम्बन्धी रोग भएका छन् । साधारण नेपाली खाना दैनिक खाने हो भने र अखाद्य वस्तु मिलावट भएका तेल, घिउ अत्यधिक उपभोग नगर्ने हो भने स्वास्थ्यमा नकारात्मक असर पर्दैन । स्वस्थ आहारविहार, स्वस्थ विचार र शरीरलाई रोगमुक्त राखेको अवस्थामा अस्पताल धाउन नपरी खर्चमा समेत बचत हुन्छ । 

भ्रष्टाचार, अनियमिता, सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने काम राज्य विरुद्धका अपराध हुन् । यस्ता कुरामा उजुर परे जहिलैसुकै र जुनसुकै अवस्थामा पनि कारबाही हुनसक्छ । त्यस्ता अपराध गरेको अवस्थामा आफैमा सदैव आत्मग्लानि पनि हुन्छ । सामाजिक रूपमा अपहेलित भइन्छ वा स्वमनले पनि आफूलाई अपराधी ठान्छ, जसका कारण शिर उँचो रहन सक्दैन । कुनै पनि व्यक्तिले खुसीराजीसँ भित्री मनले घुस दिने कार्य किञ्चित गरेको हुँदैन । सामान्यतया जोकोहीले पनि आफ्नो काम कानुन बमोजिम नै होस् भन्ने ठानेको हुन्छ । अतिरिक्त रकम दिएर काम गराउनु भनेको क्रय–विक्रयमा पारेरै बाध्य पारिनु हो । 

यसरी लेनदेनबाट काम गर्नु गराएको विषयलाई सेवाग्राहीले समाजमा गोप्य रूपमा राख्दैन । यी सबै कारणबाट भ्रष्ट व्यक्तिको जीवन कालान्तरमा सहज हुँदैन । अवैध स्रोतबाट प्राप्त सम्पत्ति प्राप्तिको निम्ति सन्ततिबीच झगडा भई पारिवारिक अशान्ति सिर्जना हुन्छ । वस्तुत: भन्ने हो भने हामीले निष्ठावान भई इमानदारीपूर्वक मुलुक विकासका निम्ति मिलेर काम गर्नुपर्छ । हाम्रो आफ्नै स्थानीय उत्पादन प्रयोग गरी मितव्ययिता अपनाउँदै मौलिक संस्कृति जगेर्ना गर्नुपर्छ । हाम्रा अमिल्दा पुरातन चलन छन् भने तिनलाई त्यागे हुन्छ वा सुधार्नुपर्छ । अत: मौलिक परम्परालाई परिष्कृत गरेर आधुनिकतातर्फ ढाल्दै नेपाली पहिचानलाई जीवित राखौं । 

प्रकाशित : कार्तिक १, २०७४ ०७:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT