तपाईंले बोल्ने दोस्रो भाषा कुन् ?

दानराज रेग्मी

काठमाडौँ — विश्वमा भाषा तीव्र गतिमा लोप हुने क्रममा छ । भाषाविद्हरू भन्छन्, ‘हरेक दुई सातामा एउटा भाषा मर्छ ।’ नेपालको जनगणनालाई हेर्‍यो भने उल्टो देखिन्छ । हरेक जनगणनामा यहाँ बोलिने भाषाको संख्या बढिरहेको हुन्छ ।

सन् १९५२–५४ को राष्ट्रिय जनगणनाले पहिलोचोटि मातृभाषा गणना गरेको थियो । त्यसबेला ५२ वटा मातृभाषा बोलिन्थे । सन् २००१ को जनगणनामा ९२ पुग्यो । सन् २०११ को जनगणनाले नेपालमा बोलिने भाषाको संख्या १२३ पुर्‍याएको छ ।

पञ्चायतकालमा सन् १९७१ र १९८१ को जनगणनामा अविश्वसनीय रूपमा संख्या क्रमश: १७ र १८ मा सीमित गरिएको थियो । विश्वमा बोलिने भाषा संख्या घटिरहेका बेला नेपालमा चाहिँ कसरी बढ्दैछ त ? स्वाभाविक रूपमा प्रश्न पैदा हुन्छ ।

Yamaha

नेपालमा छुट्टै भाषिक गणना गरिएको छैन । भाषाको संख्या, नामकरण, वक्ता संख्या र स्थानबारे जानकारी दिने आधिकारिक स्रोत यिनै जनगणना हुन् । सन् २००१ अगाडिका जनगणनामा विशेषत: भाषाको संख्याबारे थुप्रै विसङ्गति भए पनि तथ्यगत रूपमा टिकाटिप्पणी हुनसकेन । नेपालको भाषिक सर्वेक्षण परियोजना (सन् २००९–२०१७) ले लगभग सबै प्रमुख भाषाको समाजभाषा वैज्ञानिक सर्वेक्षण गरेको छ । यसले दिएका तथ्यहरूका आधारमा सन् २०११ को जनगणनाको तथ्याङ्कमा प्रमुख दसवटा विसङ्गति वा कमजोरी देखिएका छन् ।

१. पुर्खाको भाषालाई मातृभाषाका रूपमा गणना । नेपाली भाषा सरकारी कामकाज र पठन–पाठनको माध्यम भाषा भएकाले थुप्रै अन्य मातृभाषी समुदायका बालबालिका र युवक–युवतीले पहिलो भाषाका रूपमा नेपाली प्रयोग गरेको पाइन्छ । जनगणनामा भाषाका सम्बन्धमा दुइटा मात्र प्रश्न सोधिएका थिए । पहिलो, तपाईको मातृभाषा के हो ? दोस्रो, तपाईले दोस्रो भाषाका रूपमा कुन बोल्नुहुन्छ ?

सीमित प्रश्नावली भएका कारण केही जनजाति समुदायका सूचकले आफूले नबोल्ने तर पुर्खाले बोल्ने गरेको भाषालाई मातृभाषाको रूपमा लेखाएको पाइन्छ । जस्तो– मोरङमा बसोबास गर्ने भुजेल जातिका कसैले भुजेल भाषा बोल्दैनन् । तर जनगणनाले मोरङमा हजारौंले यस भाषालाई मातृभाषाका रूपमा प्रयोग गरेको देखाएको छ ।

२. भाषा र भाषिकाबीच भिन्नता नठम्याउनु । हरेक भाषामा स्थान र वक्ताको सामाजिक अवस्था अनुसार भिन्नता देखिन्छन् । नेपालीका पनि स्थान अनुसार उच्चारण र व्याकरणमा भिन्नता पाइन्छन् । जनगणनामा भने वक्ता, गणक तथा विज्ञहरू पनि निश्चित भाषा र त्यसका भाषिकाबारे अन्योलमा परे । त्यसैले नेपालीका खास भाषिकाका रूपमा रहेका सुदूर पश्चिममा बोलिने नेपाली भाषालाई दैलेखी, आछामी र डोटेली, बैतडेली जस्ता नाममा स्वतन्त्र भाषाका रूपमा गणना गरिएको छ ।

भाषिक विशेषता एउटै हुँदाहुँदै पनि आठपहरिया र बेलहारे छुट्टै भाषाको रूपमा आएका छन् । सुनसरी र मोरङमा बोलिने अङ्गिकाका नामले स्वतन्त्र भाषाका रूपमा गणना भएको छ, जबकि सर्वेक्षणका क्रममा धेरै सूचकले आफूले मैथिली भाषा बोलेको जानकारी दिए ।

३. वास्तविक वक्ता संख्या निर्धारण गर्न नसक्नु । भाषाको जीवन्तता तह निर्धारण गर्ने प्रमुख आधार वक्ता संख्या हो । गलत वक्ता संख्याका आधारमा जीवन्तताको तह निर्धारण गरी भाषा विकास वा संरक्षणका कार्यक्रम सञ्चालन वा त्यसका लागि सिफारिसले भाषाको अवस्थामा सकारात्मक सुधार ल्याउँदैन । जनगणनामा मातृभाषाका वक्ता संख्यामै थुप्रै त्रुटि छन् ।

डोल्पा जिल्लामा साविकको सहरतारा गाउँ विकास समितिका सहरतारा, तुपतरा र ताराकोट नामका तीन गाउँमा बोल्ने काइके (मगर काइके) भाषाको वक्ता संख्या लगभग एक हजार छ । तर जनगणनाले ५० जनामात्र वक्ता देखाएको छ । माथिल्लो मनाङका खाङ्सार, मनाङ, ब्राका, पिसाङ जस्ता गाउँमा तीन हजारभन्दा बढीले बोल्ने मनाङे भाषाको वक्ता संख्या गणनामा ३९२ मात्र देखाइएको छ । गलत वक्ता संख्याका आधारमा भाषा संरक्षणका लागि सही रणनीति अपनाउन सकिन्न । सम्बन्धित भाषिक समुदायमा पनि भाषा संरक्षण र भाषा प्रयोगप्रति नैराश्यता आउन सक्छ ।

४. भाषा बोलिने मूल स्थान उल्लेख नहुनु । दुर्गम भेगका मानिस रोजगारी र न्यूनतम आवश्यकता परिपूर्तिका लागि मूल स्थानबाट विशेषत: सहरी क्षेत्रतिर बसाइँ–सराइ गरिरहेको पाइन्छ । केही काइकेभाषी डोल्पाबाट काठमाडौं र भक्तपुरमा आएर स्थायी रूपमै बसोबास गरिरहेका छन् । मनाङे भाषाका वक्ता काठमाडौंमा मनग्ये पाइन्छन् । जनगणनामा काइके र मनाङेका वक्ता काठमाडौं उपत्यकामा मात्र देखाइएको छ । मूल स्थानका रूपमा मनाङे भाषा बोल्ने मनाङ र काइके भाषा बोल्ने डोल्पामा भने एकजना पनि वक्ता नदेखिनु आश्चर्य र उदेकलाग्दो होइन र ? दैलेखी भनी गणना गरिएका भाषिक वक्ता पनि दैलेख नभएर कैलाली र कञ्चनपुरका केही गाउँमा पाइन्छन् ।

५. राईलाई छुट्टै सूचीकृत । किरात राई समूहका बान्तवा, चामलिङ, थुलुङ, कुलुङ, हायु, याम्फु, आठपहरिया, याक्खा, कोयी, साम्पाङ, दुमी, पुमा, दुङ्माली, खालिङ जस्ता २४ वटा भाषालाई सन् २०११ को जनगणनामा मातृभाषाको रूपमा सूचीकृत गरिएको छ । १ लाख ५९ हजार १ सय १५ वक्ता संख्या देखाइएको राई नामक भाषा छुट्टै सूचीकृत हुनपुगेको छ । यसो हुनुमा दुई कारण हुन सक्छन् । पहिलो, गणकले व्यक्तिको जातिगत जानकारी प्राप्त गरेपछि भाषाबारे प्रश्नै नसोधी अनुमानका भरमा मातृभाषाका रूपमा राई लेखिदिनु ।

दोस्रो, भाषिक अभियन्ताको भनाइमा लागेर एक जाति एक भाषाका रूपमा मातृभाषाको स्थानमा राई लेखाउनु वा वक्तामा आफूले बोल्ने बोलीको आधिकारिक नाम थाहा नहुनु वा थाहा नगराइनु । राई एक जातिका रूपमा परिचित भए पनि उनीहरूले बोल्ने भाषा फरक–फरक छन् । राई मात्र भनेर स्वतन्त्र भाषाका रूपमा गणना गर्दा अरू स्वतन्त्र भाषाको प्रयोग र गौरवमा धक्का लाग्न सक्छ ।

६. एउटै भाषा एकभन्दा बढी नाममा सूचीकृत । विभिन्न जातिले भिन्न स्थानमा बोल्ने एउटै भाषा एकभन्दा बढी नाममा सूचीकृत हुनपुगेका छन् । सन् २०११ को जनगणनामा छुट्टाछुट्टै नाममा सूचीकृत भएका कोच र गनगाई फरक भाषा नभएर एउटै हुन् । त्यस्तै अवस्था राजवंशी र ताजपुरिया भाषाको छ ।

७. अन्तर्राष्ट्रिय भाषालाई मातृभाषामा गणना । नेपाली जनमानसमा भारतीय भाषाका रूपमा परिचित भएका हरियान्वी, पञ्जाबी, उडिया, आसामी, साधनी, गढवाली, मिजो, कुकी र नागामी जस्ता भाषालाई जनगणनाले मातृभाषाको मान्यता दिएको छ । भूटानमा बोलिने जोङ्खा, अति कम वक्ता संख्या भएका चिनियाँ, अरबी, स्पेनेली, रसियाली र फ्रेञ्च जस्ता भाषालाई नेपालका मातृभाषा हुने मौका दिइएको छ । अन्तर्राष्ट्रिय भाषाका रूपमा नेपालमा पढाइँदै आइएको अंग्रेजीलाई पनि मातृभाषाकै दर्जा दिइएको छ ।

आफूले बोल्ने भाषालाई मातृभाषाको पहिचान दिलाउन खोज्नु अस्वाभाविक होइन । तर देशको पहिचानलाई ध्यान दिँदै यस्ता भाषालाई विदेशी भाषाका रूपमा लिनु राम्रो हुन्छ । ८. जातिगत रूपमा वक्ता गणना । सन् २०११ को जनगणनामा केही जातिगत समुदायले आफूले बोल्ने भाषालाई जातिगत रूपमा सूचीकृत गरेका छन् । गोरखाको बारपाक क्षेत्रमा बसोबास गर्ने घले र गुरुङले बोल्ने भाषा एउटै हो । घलेले जनगणनामा त्यही भाषालाई घले र गुरुङले गुरुङ भाषाका रूपमा लेखाएको पाइन्छ । आफूलाई गुरुङका रूपमा पहिचान गराउने उत्तरी मुस्ताङमा बसोबास गर्ने जातिले आफूले बोल्ने भाषा सेके भए पनि गुरुङका रूपमै भाषा सूचीकृत गराएका छन् ।

९. वक्ता नभएका भाषा गणना । सर्वेक्षण र जातिगत सङ्गठनको संयुक्त प्रयासमा दुरा समाजका मानिसलाई भेला गराउँदा दुरा भाषा बोल्न सक्ने एकजना पनि पाइएन । जनगणनामा दुराको वक्ता संख्या दुई हजारभन्दा बढी देखाइएको छ । नेपाली मातृभाषी मुक्तिनाथ अधिकारीले भने आफूले मात्र यो भाषा जान्ने दाबी गर्दै आएका छन् ।

१०. नेपाली भाषाका वक्ता संख्यामा अन्योल । सरकारी कामकाज भाषाका रूपमा नेपाली प्रयोग भइरहेको छ । पञ्चायत कालदेखि पठन–पाठन र आमसञ्चारको माध्यमको रूपमा नेपाली भाषा प्रयोग गरिएको छ । धेरै मातृभाषी नेपाली भाषातिर अपसरित हुँदै गएका छन् । बालबालिकाले आफ्नो मातृभाषा बोल्दैनन् वा बोल्नै सिकाइएको छैन । नेपाली भाषाको पहिलो भाषाका रूपमै दिन–प्रतिदिन वक्ता संख्यामा वृद्धि भइरहेको छ । सन् २००१ को जनगणनामा नेपाली भाषाका वक्ता संख्या ४८ प्रतिशत देखाइएको थियो । सन् २०११ को जनगणनामा भने ४४.१ प्रतिशत छ । यसले भाषाको गणना पद्धतिमै पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ ।

जनमानसमा आफ्नो भाषाप्रति आएको जागरुकता र सचेततालाई भने गनगणनाले धेरै हदसम्म सम्बोधन गरेको छ । धेरै मातृभाषालाई जनगणनाले समावेश गरेको छ । सन् २०२१ मा नयाँ जनगणना हुँदैछ । यस जनगणनामा यस्ता विसङ्गति दोहोरिन दिनु हुन्न । सकेसम्म छुट्टै भाषिक गणना गर्नुपर्छ । अनि जातिभाषिक गणना गर्नु आवश्यक छ ।

परम्परागत रूपमा सामान्य जनगणनामै भाषा गणना गर्ने हो भने भाषा सम्बन्धी प्रश्नावलीमा कम्तीमा तीनवटा प्रश्न समावेश गर्नुपर्छ । पहिलो प्रश्न– तपाईको पुर्खाको वा पहिचानको भाषा के हो ? दोस्रो प्रश्न– तपाईले बोल्ने पहिलो भाषा कुन हो ? र तेस्रो प्रश्न– तपाईंले बोल्ने दोस्रो भाषा कुन हो ?

लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक हुन्।
danrajregmi8@gmail.com

प्रकाशित : भाद्र १३, २०७५ ०७:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डढे गाउँलाई बल्ल नयाँ नाम

माधव अर्याल

हरियाली गाउँ (पाल्पा) — तिनाउ गाउँपालिका–२, दोभानवासी घर कहाँ हो भनेर सोध्दा दिक्क मान्थे । गाउँको नाम भन्नै लाज लाग्ने गरेको दोभानका खगेन्द्र केसीले बताए । त्यही डढे गाउँ अब हरियाली गाउँका नामले चिनिन थालेको छ ।

‘आफू जन्मेको गाउँको नाम भन्नुपर्दा लाज लाग्ने गथ्र्यो,’ केसीले भने, ‘गाउँको नाम लिँदा मान्छेले कस्तो ठाउँ रहेछ भन्थे । अहिले नाम फेरिँदा सन्तुष्टि मिलेको छ ।’

३७ वर्षअघि ‘डढे गाउँ’ नामकरण भएको थियो । २०३१ सालतिरबाट यहाँ बस्ती बस्न सुरु भएको हो । प्यूठान र बागलुङका मानिस आएर बस्ती बसालेका हुन् । यहाँ सुकुम्बासी र पुर्जा नभएका जग्गा धेरै छ । तैपनि ९० घरपरिवारको बस्ती बसिसकेको छ । यस गाउँको नाम सुरुमा आउनेले ‘ददे गाउँ’ राखे । ०३८ सालमा आगलागी भएर गाउँ नै सखाप भएपछि ‘डढे गाउँ’ नाम रहन गयो ।

गाउँको नाम परिवर्तन गर्ने प्रयास यसअघि पनि नभएको होइन । ०५९ सालपछि १६ वर्षसम्म नाम फेर्न चाहेर पनि सकेनन् । कर्मचारीको भरमा गाविस थियो । उनीहरूले यस्ता निर्णय गर्न सकेनन् । एक वर्षअघि स्थानीय तह निर्वाचन भयो । जनप्रतिनिधि पाएपछि धेरैपटक यस विषयमा चर्चा चल्यो । अहिले आएर गाउँलेको चाहना पूरा भएको छ । गाउँको नाम फेरिएको छ ।

गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, वडाध्यक्ष राजेश श्रेष्ठलगायतको उपस्थितिमा केही दिनअघि बृहत् गाउँ भेला बस्यो । सोही भेलामा गाउँको नाम परिवर्तनका विषयमा विभिन्न नाम प्रस्ताव गरिए । ‘हरियाली गाउँ नाम राख्दा राम्रो हुनेजस्तो लाग्यो,’ राजारानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण बोहराले भने, ‘यसैलाई सबैबाट सर्वसम्मत गराइयो ।’

दोभान बजारबाट १५ किलोमिटरको दूरीमा रहेको यस बस्तीमा पछिल्लो समय हरियाली छाएको छ । गाउँ जंगलको बीचमा छ । वडाकै दुर्गम गाउँमा बर्सेनि डढेलोले सताउँथ्यो । केही वर्षयता गाउँलेको पहलमा डढेलो पनि नियन्त्रणमा छ । ‘अहिले गाउँनजिक घना जंगल बनेको छ,’ स्थानीय अगुवा मधु जैसीले भनिन्, ‘त्यसैले पनि हरियाली गाउँ उपयुक्त लागेको हो ।’

स्थानीय बासिन्दाले सामुदायिक वनको आम्दानीबाट गाउँसम्मै बाटो पुर्‍याएका छन् । बिजुली पनि सामुदायिक वनकै आम्दानीले बलेको छ । बाख्रापालन, तरकारी खेती, फलफूल खेतीका साथै तेजपातको क्षेत्र बनाउने योजनामा वडा कार्यालय र गाउँपालिका लागिपरेका छन् ।

‘स्थानीय समुदायले गाउँको नाम फेर्न प्रस्ताव गरे,’ गाउँमै आयोजित एक साक्षात्कार कार्यक्रममा वडाध्यक्ष राजेश श्रेष्ठले भने, ‘नाम फेर्ने मात्र होइन, यहाँ अब सबैलाई आत्मनिर्भर बनाउनेतर्फ पनि अघि बढेका छौं ।’ उनका अनुसार अब गाउँपालिका र वडाबाट हुने सबै कार्यक्रम र योजनामा ‘हरियाली गाउँ’ नाम रहन्छ ।

अघिल्लो वर्ष यहाँका केही घरलाई भैंसी र बाख्रा खरिद गर्न नगद सहयोग गरेको उनले बताए । त्यसैले आगामी दिनमा यसलाई कृषि, पशुपालन, तरकारी खेतीका साथै तेजपातको पकेट क्षेत्र बनाउन सकिन्छ । डाँडाको बस्ती भएकाले पानीको केही समस्या छ । त्यसका लागि लिफटिङ खानेपानी योजना अघि बढेको छ ।

अहिले गाउँका सबै केही न केही आर्थिकस्तर उकास्ने काम गर्नुपर्छ भन्नेमा छन् । मोटरबाटो स्तरोन्नतिको माग गाउँलेको छ । वडाध्यक्ष श्रेष्ठले नुवाकोटतर्फबाट र दोभानबाट यहाँ मोटरबाटोले जोड्न बजेट विनियोजन भएको बताए ।

प्रकाशित : भाद्र १३, २०७५ ०७:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT