कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

शान्ति क्षेत्र कि सैन्य

सम्पादकीय

काठमाडौँ — बिमस्टेक शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदा धेरैको ध्यान यस क्षेत्रका विकास र व्यापार सम्भावनाबारे चर्चा गर्नेमा छ । यसलाई क्षेत्रीय समन्वयको मञ्चका रूपमा सक्रिय पार्ने संकल्प देखिएकै बेला संयुक्त सैन्य अभ्यासको आन्तरिक तयारीले भने कतिको आँखीभौं ठाडा हुन थालेका छन् ।

शान्ति क्षेत्र कि सैन्य

‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ भन्ने लामो नामको यो ढिलोढालो संगठनले हामीलाई खासमा कता डोर्‍याउला ?

दुई दशकमा चौथो शिखर सम्मेलन गर्न लागेको संगठनले पहिलोपल्ट संयुक्त सैन्य अभ्यास गर्ने जमर्को गर्दैछ । त्यसकारण काठमाडौंको शान्ति र सहअस्तित्वको सम्मेलनको दुई सातापछि भारतको पुणेस्थित कवाज मैदानमा सातै देशका सेनापतिसहित सेना जम्मा हुँदैछन् । बिमस्टेकले आर्थिकसँगै सैनिक सहकार्य सुरु गर्दा निश्चयै यस क्षेत्रका छिमेकी र शक्तिहरू झस्किनेछन् ।

बिमस्टेकका विभिन्न अवधारणामध्ये आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र बहुराष्ट्रिय संगठित अपराध नियन्त्रणका लागि आपसी सहकार्य भनिएको यो पहल भारतले गर्दैछ । भारतीय सेनापतिको निमन्त्रणाअनुसार नेपालले पनि मन्त्रिपरिषद्बाट नवनियुक्त प्रधानसेनापतिको भ्रमण स्वीकृत गराउँदै छ । नेपालले यसअघि भारत र संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यासमा सेना सरिक गराउँदै आएको हो, चीनसँग गत वर्ष सुरु गर्‍यो ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि खुलेको संगठन भएकाले बिमस्टेकमा सुरक्षा नचाहिने भन्ने होइन । आतंकवादी गतिविधि र हतियारको प्रवाह रोक्ने रणनीति पनि चाहिन सक्छ । बिमस्टेककै लक्ष्य प्राप्तिका लागि केन्द्रित हो भने यस्तो सैन्य अभ्यासलाई सामान्य रूपमा लिन सकिन्छ ।

क्षेत्रीय सैन्य अभ्यास यसअघि कहिल्यै सार्कमा भएन । बिमस्टेकलाई बढाउन भने सैन्य अभ्यास थालिएको छ । पाकिस्तानलाई तर्साउने र चीनलाई चिढ्याउने कदमका रूपमा यस्तो अभ्यास मोडिए नेपालजस्ता देशको अन्तर्राष्ट्रिय मर्यादा र मान्यता हनन हुन पुग्नेछ ।

सैन्य अभ्यासको पूर्वतयारीस्वरूप भारतीय सेनाको मुख्यालयमा भारतस्थित दूतावासमा कार्यरत बिमस्टेक मुलुकका सैन्य सहचारीको भेलासमेत भइसकेको छ । बिमस्टेकका १४ वटा कार्यक्षेत्र तथा प्राथमिकतामा आतंकवाद र सीमापार व्यापार एउटा कार्यसूची हो जसको नेतृत्वको जिम्मेवारी भारतसँग छ । बिमस्टेक क्षेत्रीय आर्थिक विकासका नाममा सुरक्षा र सामरिक स्वार्थमा परिणत नहोस् भनेर नेपालले शिखर सम्मेलनकै दौरान द्विपक्षीय भलाकुसारी गर्न जरुरी छ ।

बिमस्टेक मुलुक आन्तरिक लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताका दृष्टिले झन्–झन् खस्किँदै छन् । सुशासन, समानता र समावेशिताका दृष्टिले कमजोर छन् । कमजोर जनतालाई कज्याउन राज्य भने बलिया हुन्छन् र तिनलाई भरथेग दिन सैन्य संरचना शक्तिशाली । यी मुलुक सैन्य बलप्रति मोहित छन् । सेना प्राय: महत्त्वपूर्ण र कतिपयका हकमा निर्णायक शक्ति छ । त्यस हिसाबले संयुक्त सैन्य अभ्यास यस क्षेत्रका राजनीतिक नेताहरूले आफ्नै स्वार्थ सुरक्षाबाट पनि गर्न थालेको देखिन्छ ।

कुनै निश्चित देशसँग नियमित सैन्य अभ्यास बेग्लै हो । यस्तो क्षेत्रीय सैन्य अभ्यास युद्ध वा प्रतिरोधको तयारीजस्तो देखिन पुगे त्यसबाट उत्पन्न हुने तरंगले चुनौती थप्नेछ । सैन्य अभ्यास आफैंमा शक्ति प्रदर्शन हो । शक्ति प्रदर्शन कुनै पनि क्षेत्रको शान्ति, समझदारी र समन्वयको भावनाविपरीत हुन्छ । नेपालको सम्मान शक्ति राष्ट्रहरूबीच तटस्थताबाट आर्जन हुन्छ न कि कुनै एकापट्टि सक्रियताबाट । उसमाथि नेपाल आफैं अध्यक्ष भएकाले बिमस्टेकपछि सार्क शिखर सम्मेलन गराउनुपर्ने भूमिकामा छ । के सार्कमा पनि यस्तै संयुक्त अभ्यास सम्भव छ त ?

प्रकाशित : भाद्र १४, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?