बजारबारे हाम्रा बुझाइ

आर्थिक चुनौती सम्बोधन गर्न यो बजारको, यो सरकारको भन्नै पर्दैन । बजारले दिने समाधान हामीलाई घोकाइएको जस्तो सम्पूर्ण रुपमा गलत छैन ।
मुराहरि पराजुली

काठमाडौँ — डाक्टर गोविन्द केसी अनशन बसेको बेला सामाजिक सञ्जालमा मैले दुई फरक तर्क पाएँ । स्वास्थ्य शिक्षा बजारका हातमा छाड्ने कि सरकारले हेर्ने । यसलाई प्रतिस्पर्धी बनाउन जतिसक्दो बढीलाई बजार प्रवेश गर्न दिनुपर्ने एकथरी तर्क गर्थे ।

स्वास्थ्य शिक्षा सस्तो हुने र उपचार शुल्क घट्ने तर्क गर्नेमा नेकपाका कार्यकर्ता बढी थिए । उनीहरूले पुँजीवादी भन्ने कांग्रेस कार्यकर्ता भने सरकारीकरणमा जोड दिन्थे । यी तर्क दल विशेषको अल्पकालीन जितहारका लागि थिए, समग्र समाजको दीर्घकालीन हितका लागि सुविचारित अभिव्यक्ति थिएनन् । नत्र समाजवाद उन्मुख अर्थतन्त्र स्थापित गर्ने दाबीसहित संविधान निर्माण गरेका दुई दलका कार्यकर्ता डाक्टर केसीको मागमा विभाजित हुनुपर्ने थिएन ।

प्रतिद्वन्द्वीलाई ओँठे जवाफ दिने उद्देश्य रहेका ती अभिव्यक्तिमा बजार व्यवस्था वा सरकारी प्रशासनिक व्यवस्थाका फाइदा–बेफाइदाको नापतौल गरिएको थिएन । पुँजीवादी र समाजवादी अर्थराजनीतिक दर्शनमा आधारित यी दुवै प्रणालीलाई गुणदोषका आधारमा समीक्षा आवश्यक देखिन्छ ।

नोबेल अर्थशास्त्री केनेथ एरोलाई कल्याणकारी अर्थशास्त्र, सामाजिक छनोट र बजार सन्तुलनको क्षेत्रमा पुर्‍याएको योगदानका लागि हामी सम्झिन्छौं । बजार प्रतिस्पर्धाले स्वास्थ्य उद्योगमा काम नगर्ने उनले तर्क गरेका थिए । उनी भन्थे, स्वास्थ्यलाई बजारको हातमा छाड्न हुँदैन । खुला बजार प्रतिस्पर्धाका लागि उत्पादक (बिक्रेता) र उपभोक्ता (खरिदकर्ता) को मोलतोल (बार्गेनिङ) गर्ने शक्ति बराबर हुनुपर्छ । खरिदकर्ता/बिक्रेताले एक्लै मूल्य निर्धारण गर्नसक्ने अवस्था प्रतिस्पर्धात्मक हुँदैन ।

केनेथका अनुसार मोलतोलबाट बजारमा उचित मूल्य स्थापित हुन दुवै पक्षसँग बराबरी ज्ञान तथा सूचना उपलब्ध हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा यस्तो अवस्था हुँदैन । सेवा प्रदायक चिकित्सकहरू सेवाग्राही बिरामीभन्दा धेरै जानकार हुन्छन् । बिरामीहरू मोलतोल गर्ने अवस्थामा हुँदैनन् । चिकित्सकले तोकेको मूल्य तिर्न बाध्य हुन्छन् । ज्ञान तथा सूचनामाथिको असमान पहुँचबाट बजार शक्ति स्वास्थ्य क्षेत्रमा निस्प्रभावी हुन्छ ।

सार्वजनिक वस्तु (सेवा) सगोलमा उपभोग हुन्छ र अविभाज्य हुन्छन् । सगोलमा उपभोग भन्नुको अर्थ एकजना वा एउटा पक्षलाई वस्तुको प्रबन्ध गर्नासाथ त्यस्तो वस्तु अरूको लागि पनि सित्तैमा उपलब्ध हुन जान्छ भन्ने हो । पैसा नतिर्ने उपभोक्तालाई वस्तुको उपभोग गर्नबाट रोक्न सकिँदैन । तसर्थ आपूर्तिकर्तालाई त्यस्ता वस्तुको उपभोग र शुल्क भुक्तानीबीच प्रत्यक्ष एकल सम्बन्ध स्थापना गर्न गाह्रो हुन्छ ।

यस अवस्थामा उपभोक्ताहरू सित्तैमा लाभ लिन खोज्छन । जब ठूलो संख्यामा मानिसले कुनै वस्तु वा सेवा पैसा नतिरी उपभोग गर्न खोज्छन्, तब लागतको तुलनामा उपभोगबाट हुने फाइदा बढी हुनगई उक्त वस्तु उत्पादनै नहुने वा एकदम थोरै उत्पादन हुने अवस्था आउन सक्छ । यस्तो अवस्थामा बजारहरूले आर्थिक दृष्टिले कुशल हुनेगरी सार्वजनिक वस्तु उत्पादन गर्न सक्दैनन् ।

कुनै वस्तु सार्वजनिक हो कि होइन भन्ने कुरा त्यसको उत्पादन तथा वितरणमा बाह्य प्रभाव (लागत तथा लाभ) ले पनि निर्धारण गर्छ । कुनै कारखाना सञ्चालन गर्दा त्यसबाट उत्पन्न हुने ध्वनि, वायु तथा जल प्रदूषण बाह्य लागतको उदाहरण हो । कसैले आफ्नो निजी जग्गामा बगैंचा बनाउँदा छिमेकी वा बटुवाले सित्तैमा दृश्यपान गरी प्राप्त गर्ने आनन्द बाह्य लाभ हो । अर्को शब्दमा वस्तु उत्पादनको लागत र त्यसको सकारात्मक बाह्य प्रभाव (सार्वजनिक लाभ) वा नकारात्मक बाह्य प्रभाव (सार्वजनिक लागत) बीच ठूलो अन्तर आउने अवस्थामा पनि बजारले काम गर्दैन ।

राज्य (सरकार) को दायित्व र बजार पद्धतिबारे हाम्रो बुझाइ परिपक्व छैन वा हामी त्यसलाई खासै वास्ता गर्दैनौं । कुनै दल विशेष वा स्वार्थ समूहसँगको आबद्धताका कारण आफ्ना भनाइ राखिरहेका छौं । यो काम सरकारको हो, यो बजारको भनेर सिधा धर्को तान्ने ठाउँ फेला पार्न गाह्रो छ । शिक्षा, स्वास्थ्य राज्यकै दायित्व हो, बजारको होइन भन्ने ठोकुवा गर्नु वा बजारको हातमा छोडिदिए सब बर्बाद हुन्छ भन्नु अतिवाद हो । आधुनिक बजार प्रणालीभित्रै थुप्रै किसिमका विकल्प हुन्छन् । हामीलाई पुँजीवादी भनेर चिनाइएका पश्चिमा मुलुक नै हेरौं ।

पुँजीवाद प्रतिस्पर्धा र प्रेरणामा आधारित एउटा सिद्धान्त हो, यसलाई प्रयोगमा ल्याउने थुप्रै ढाँचा छन् । शिक्षा र स्वास्थ्यसेवा सुलभ बनाउन उपभोक्तालाई सक्षम बनाउने वित्तीय औजार बजार व्यवस्थामै उपलब्ध छ । सरकार वा निजी क्षेत्रका सेवा प्रदायकमध्ये कसलाई रोज्ने भन्ने छनोटको सुविधा उपभोक्तालाई प्रदान गरिएका छन् । बजारको दास बन्नु पर्दैन, अमूक आदर्श राज्य प्राप्तिका लागि हामीले बलिदान पनि गर्नु पर्दैन ।

नयाँ किसिमको राजनीति गर्छु भन्नेहरू पनि स्पष्ट छैनन् । डाक्टर केसीकै आन्दोलनताका विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले ‘उदारीकरण खुला बजारका मसिहा अर्थशास्त्रका नोबेल विजेता मिल्टन फ्रिडम्यान समेतले स्वास्थ्यसेवालाई सरकारी दायित्वमा हुने अपवाद ठानेका छन् । शिक्षा स्वास्थ्यमा व्यापारीकरण गर्ने र अझै त्यसको औचित्य पुष्टि गर्न खोज्नेहरूले उनको यो आलेख पढौंं’ भन्दै एउटा लिंक सेयर गरेका थिए । त्यसमा फ्रिडम्यानले कहीं कतै स्वास्थ्यसेवा सरकारीकरण हुनुपर्छ भनेकै थिएनन् । बरु स्वास्थ्यसेवाको लागतलाई सकेसम्म व्यक्ति केन्द्रित गराउनुपर्छ, सामूहिकतातर्फ लगियो भने महँगो र झन्झटिलो हुन्छ, भ्रष्टाचार मौलाउँछ भनेका थिए ।

समाजवादीहरूको दबदबा रहेको युगमा फ्रिडम्यानको आवाज विद्रोही थियो । खुला बजार पुँजीवादले मात्र आर्थिक तथा राजनीतिक स्वतन्त्रता दिनसक्छ, स्रोतको कुशल विनियोजन गर्छ, नागरिकलाई प्रोत्साहित गर्नुका साथै न्यायोचित प्रतिफल प्रदान गर्छ, सरकारी हस्तक्षेप अनावश्यक र प्रत्युत्पादक हो भन्नेमा उनको जोड थियो । ‘मानवीय पूर्वाग्रहरहित अवैयक्तिक बजार संयन्त्रले सहभागी सबैको सम्भाव्य उच्चतम लाभ सुनिश्चित गर्छ,’ उनी भन्थे ।

उनका अनुसार सरकारको काम बाह्य हमला र असामान्य मानसिक अवस्थाका आफ्नै नागरिकले अर्कोलाई गर्नसक्ने आक्रमणबाट जोगाउने मात्रै हो । एउटा सभ्य समाजमा सबै खाले कारोबार–व्यवहारका लागि वयस्क नागरिकले एक–अर्कासँग करार गरेका हुन्छन् । तिनै करारका माध्यमबाट उनीहरूले आफ्नो आर्थिक, सामाजिक, राजनीतिक स्वार्थ पूर्ति गर्छन् । उनको नजरमा शिक्षा, स्वास्थ्य लगायत बजारले समाधान गर्न नसक्ने कुनै आर्थिक समस्यै थिएनन् । आर्थिक चुनौती सम्बोधन गर्न यो बजारको, यो सरकारको भन्नै पर्दैन । बजारले दिने समाधान हामीलाई घोकाइएको जस्तो सम्पूर्ण रूपमा गलत छैन ।

बीपी कोइराला र पुष्पलाल श्रेष्ठले हाम्रा दलका कार्यकर्तालाई पढाएको समाजवाद र पुँजीवादको पाठ उही हो । सबथोक बजारको जिम्मा छोड्नुपर्छ भन्ने पुँजीवाद हो, सरकार नियन्त्रित भए समाजवाद हो भन्ने सोच व्याप्त छ । उनीहरूले के भनेका थिए गौण भइसकेको छ । मानौं समाजवादबारे बीपी र पुष्पलाल सही थिए तर पुँजीवादबारे भनेका कुरालाई कसरी आधिकारिक मान्ने भन्ने प्रश्न छ ।

समाजवादलाई राम्रो देखाउन उनीहरूले पुँजीवादलाई खराब भने र हामीले साँच्चिकै पुँजीवाद खराब हो भन्ने बुझ्यौं । पुँजीवाद के हो भन्ने आधिकारिक स्रोतसम्म पुग्ने कष्ट कहिल्यै गरेनौं । पुँजीवादी प्रणालीमा शिक्षा र स्वास्थ्यलाई बजारमा छोड्ने भनिएकै छ ? विकल्प सुझाइएकै छैन ? खोज्ने प्रयास गरेनौं । संसारमा बजार जडसूत्रवाद र रुढी साम्यवादले प्रस्तुत गरेभन्दा फरक आर्थिक, सामाजिक र राजनीतिक प्रणाली हुनसक्छ भन्ने हामीलाई लागेन ।

पुँजीवाद हाम्रा गुरुहरूले भनेजस्तो पुँजीपतिले श्रमिक, गरिब, निमुखालाई शोषण गर्ने काइदाको संहिता होइन । कांग्रेस र कम्युनिस्टका कार्यकर्ता समाजवादी सपनाबाट ब्यँुझिन आवश्यक छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेप्से : खै बुझिएन !

अर्थ
नेप्सेले बजारका बारेमा बताउाछ, कुनै कम्पनीविशेषका बारेमा बोल्दैन । कुनै कम्पनीको सेयर किन्ने, बेच्ने वा राखी राख्ने निर्णय गर्दा त्यही कम्पनीको बारेमा गहिरो जानकारी राख्नुपर्ने हुन्छ
सेयर बजारले कहिल्यै नभुल्ने अर्थमन्त्री बाबुराम भट्टराईले त्यसबेला भनेका थिए – जुवाघरको किसिमले सेयर बजार चल्दैन ।
मुराहरि पराजुली

काठमाडौँ — सामान्यजनलाई नेप्से एउटा रहस्यमयी शब्द लाग्छ । तान्त्रिकको गुह्य मन्त्रजस्तो, कुनै अलौकिक चीजजस्तो  सेयर बजारसम्बन्धी जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्ने सिलसिलामा पाँच महिनाअघि म पूर्वको एक सहरमा गएको थिएँ । कार्यक्रमका प्रमुख अतिथि सत्ताधारी दलका एक सांसद थिए ।

‘हुन त म यस विषयको विज्ञ होइन’ भन्दै जुनसुकै विषयमा पनि जानकार भएर बोल्ने हाम्रा राजनीतिकर्मीहरूको स्थायी चरित्रलाई पछ्याउँदै उनले कार्यक्रममा धेरै बेर बोले । बोल्दाबोल्दै उनले ‘नेप्से’ लाई घरी ‘नोब्से’ भने, घरी ‘नेब्से’ भने । ‘नुप्से’ भने ‘नोप्से’ पनि भने तर ‘नेप्से’ भन्दै भनेनन् । राम्ररी उच्चारणसम्म गर्न नसक्ने उनलाई ‘नेप्से’ के चीज हो भन्ने जानकारी पटक्कै थिएन । ती अगुवालाई मात्रै होइन ‘नेप्से’ बारे हामी धेरैलाई जानकारी छैन ।
वालस्ट्रिट जर्नललाई संसारकै अग्रणी आर्थिक पत्रिका मानिन्छ । यसको संस्थापकमध्येका एक पत्रकार चाल्र्स हेनरी डाउले अन्य विषयहरूका अतिरिक्त सेयर बजारको पनि रिपोर्टिङ गर्थे । न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत हजारौं कम्पनीमध्ये दिनदिनैको कारोबारमा कतिको सेयरको मूल्य
घट्थ्यो, कतिको बढ्थ्यो । बजारमा कारोबार भएका प्रत्येक कम्पनीे फलानाको घट्यो, फलानाको बढ्यो भन्ने समाचार दिनदिनै लेखिरहनु झर्को लाग्दो हुन्थ्यो र लेखीसाध्य पनि हँुदैन्थ्यो । पत्रिकामा मूल्य घटबढ भएका कम्पनीको सूची नै दिए पनि वास्तवमा बजार घटेको वा बढेको थियो पत्ता लगाउन मुस्किल हुन्थ्यो ।


चाल्र्सले जुक्ति निकाले एउटा औसत अंकमार्फत बजारको जानकारी दिने । यो औसत अंकपछि गएर डाउ जोन्स इन्डस्ट्रियल एभरेज (डीजेआईए) को नामले चिनियो । यही डीजेआईए नै बजार घट्यो कि बढ्यो भनेर जानकारी दिने पहिलो सेयर परिसूचक थियो । सन् १८८४ मा चाल्र्सले निकै सजिलो गरी उक्त परिसूचक बनाएका थिए । सुरुमा उनले १२ वटा कम्पनी छाने । उनलाई लाग्यो ती दर्जन कम्पनीले समग्र सेयर बजारको प्रतिनिधित्व गर्छन् । उनले तीनै कम्पनीको सेयर मूल्य जोडेर एउटा औसत अंक निकाले । अनि भोलिपल्टदेखि त्यो औसत अंक बढ्यो भने सेयर बजार बढ्यो, घट्यो भने घट्यो भन्ने समाचार लेख्न थाले ।


चाल्र्सका अनुसार बजारमा दुइटा कम्पनी हुँदा एउटाको सेयर मूल्य २०० र अर्कोको ३०० भए औसत अंक २५० हुने भयो । दुईमध्ये कुनै एउटा वा दुइटै कम्पनीको सेयर मूल्य बढे औसत अंक पनि बढ्ने भयो । यसैगरी दुई कम्पनीको सेयर मूल्य घट्दा हुने भयो ।


सेयर बजार परिसूचक भनिने यो औसत अंक निकाल्ने गणितीय प्रविधि अहिले धेरै परिष्कृत भएको छ । चाल्र्सको त्यो सरल सूत्रबाट अझै पनि परिसूचक गणना हुन्छ, १२ कम्पनीको सट्टामा ३० वटा लिने गरिएको छ ।तर, परिसूचक गणनाका लागि कम्पनीहरू छान्ने विधि सरल छैन । हजारौं कम्पनीमध्येबाट ३० वटालाई छानेर तिनले बजारको प्रतिनिधित्व गर्छन् भन्ने सुनिश्चित गर्नु सजिलो काम पनि होइन । चाल्र्सको भन्दा फरक सूत्र प्रयोग गरी परिसूचक गणना गर्ने विधि अझ बढी चल्तीमा छ । अहिले जुनसुकै विधिबाट गणना गरिए पनि यस्ता परिसूचकको उपयोगिता केवल बजार घट्यो कि बढ्यो भन्ने समाचार लेख्नमा मात्रै पनि सीमित छैन । संसारभर हाल सयौं स्टक एक्सचेन्ज र तीनमा आबद्ध हजारौं परिसूचक छन् ।


नेपालमा धेरैलै सुन्दै आएको सेयर बजार परिसूचक ‘नेप्से’ हो । नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरूको सेयर मूल्यमा आउने उतारचढावलाई मापन गर्ने भएकाले छोटकरीमा यसलाई ‘नेप्से’ भनिएको हो । छोटकरी नाम दिने यस्तो चलन अन्यत्र पनि छ । भारतमा बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्सको नामले परिचित छ । बेलायतको ‘फुट्सी’, जापानको ‘निक्की’ र कोरियाको ‘कोप्सी’ मुखमा झुन्डिने नामहरू हुन् । दक्षिण एसियाका छिमेकीहरूमध्ये मालदिभ्स र भुटानमा स्टक एक्सचेन्ज भए पनि बजार परिसूचक छैनन् । ती स्टक एक्सचेन्जहरूमा थोरै (भुटानमा २०, मालदिभ्समा ४) कम्पनी सूचीकृत छन्, कारोबार कहिलेकाहीं मात्र हुन्छ । कारोबार भइहाले पनि सर्वसाधारणले सजिलै थाहा पाउँछन् कसको भाउ घट्यो कसको बढ्यो भनेर । त्यसैले ती देशमा बजार परिसूचक आवश्यक भएनन् ।


सामान्यजनलाई नेप्से एउटा रहस्यमयी शब्द लाग्छ । तान्त्रिकको गुह्य मन्त्र जस्तो, कुनै अलौकिक चीजजस्तो ।यसो हुनुको पहिलो कारण यसको फिरंगी नाम हो । नेप्से नेपाली भाषाको शब्द वा छोटकरी रूप नहुनु नै धेरैका लागि नौलो विषय हो । जसले यसको शाब्दिक अर्थको भेउ पाउँछ, त्यसले कमाउँछ भन्ने भ्रम पनि धेरैमा छ । मेरो संगतमा आएका धेरैलाई मैले ‘यो केही होइन एउटा औसत अंक हो’ भनेर सम्झाउने प्रयास गरेको छु । तीमध्ये केहीले ‘यसलाई पैसा कमाउने सूत्र थाहा छ तर मलाई बताउन खोजेन’ भन्ने अर्थमा बुझेर बिच्किएका पनि छन् ।


सबैले आफ्नो सामान्य ज्ञानको भण्डारलाई धनी बनाउने उद्देश्यले मात्रै नेप्सेका बारेमा मलाई सोध्ने पनि होइनन् । बरु ती प्रश्नहरूमा उनीहरूको धन कमाउने अभिलाषा लुकेको हुन्छ । मान्छे धनको विषयमा सबैसँग सधैं खुलस्त हँुदैनन् । ‘म धन कमाउन चाहन्छु’ भन्दै हिँड्ने कुरा पनि होइन । त्यसैले कतिपय अवस्थामा ‘नेप्से भनेको के हो ?’ भन्ने प्रश्नबाट सुरु हुन्छ धन कमाउने आकांक्षाको अभिव्यक्ति । यो प्रश्न सेयर बजार हाम्रो धन कमाउने इच्छा सिद्ध हुने धाम हो भन्ने बुझाइसँग जोडिएको छ । त्यसैले सामान्यजन सेयर बजारका काइदाबारे जिज्ञासु हुनु स्वाभाविकै हो ।


यो लेखको यहाँसम्म आइपुग्दा पाठकलाई नेप्से खासमा के रहेछ भन्ने विषयमा जानकारी भइसकेको हुनुपर्छ । तर, हाम्रो चासोको विषय नेप्से के हो ? कसरी बन्छ ? भन्ने प्राविधिक पक्ष होइन । बरु नेप्सेको उतारचढावसँगै म कसरी धनी हुन सक्छु भन्ने हो । माथि नै भनिसकियो बजारका अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा नेप्से बढ्छ, घट्दा घट्छ । त्यसैले नेप्से बढ्नलाई सेयरको मूल्य बढ्नैपर्छ । सेयरको मूल्य बढे लगानीकर्ता धनी हुन्छन् । उसो भए सेयरको मूल्य बढ्छ कसरी ?


सेयरको मूल्यमा उतारचढाव आउने असंख्य कारण छन् । ती कारणहरूलाई देशको अर्थ राजनीति, सेयर बजारको अवस्था र कम्पनीविशेषको वित्तीय स्वास्थ्य गरी तीन समूहमा विभाजन गरेर हेर्न सकिन्छ । यी सबै कारण वस्तुगत हुँदैनन्, मनोगत पनि हुन्छन् । वस्तुगत वा मनोगत जेसुकै भए पनि ती कारणहरूले मान्छेलाई सेयर किन्न, बेच्न वा केही पनि नगर्न उद्यत बनाउँछ । धेरै मान्छे किन्ने भए सेयरको माग बढ्छ, मूल्य बढ्छ र बजार परिसूचक पनि बढ्छ । यसविपरीत धेरै मान्छे बेच्ने भए सेयरको आपूर्ति बढ्छ, मूल्य घट्छ र बजार परिसूचक घट्छ । सेयर बजार माग र आपूर्तिको आर्थिक नियम पूर्ण रूपमा लागू हुने सम्भवत: एक मात्र स्थल हो ।

देशको अर्थ राजनीति
राजनीतिले सही बाटो समात्यो भने आर्थिक उन्नति हुन्छ । आर्थिक उन्नति हुनु भनेको कम्पनीहरूको व्यापार व्यवसाय बढ्नु हो । व्यवसाय बढे कम्पनीले धेरै नाफा कमाउँछ । धेरै नाफा कमाउने कम्पनीले सेयरधनीलाई धेरै लाभांश दिन्छन् । धेरै लाभांश दिने कम्पनीको सेयरको माग उच्च हुन्छ र मूल्य पनि ।


यस्तो सपाट सम्बन्ध हाम्रो सेयर बजारमा भने छैन । राज्य तथा निजी क्षेत्रको प्राथमिकतामा हाम्रो सेयर बजार छैन । ठूलो व्यवसाय गर्ने र धेरै नाफा कमाउने कम्पनी सेयर बजारबाहिर छन् । चाहेर पनि सर्वसाधारणले त्यस्ता कम्पनीको सेयर किन्ने, त्यसको नाफा नोक्सानमा सहभागी हुने अवसर पाएका छैनन् । अर्थतन्त्रमा योगदान गर्ने क्षेत्र र सेयर बजारमा ठूलो हिस्सा ओगट्ने कम्पनी फरक भएकाले बजार परिसूचक र अर्थतन्त्रको गतिबीच ठ्याक्कै उस्तै लय मिलेको देखिंदैन । हाम्रो अर्थतन्त्रमा अझै पनि कृषि क्षेत्रको योगदान ३० प्रतिशतको हाराहारीमा छ । यो क्षेत्रबाट एउटै कम्पनी सेयर बजारमा छैन । सेयर बजारको आकार, कारोबार, सूचीकृत कम्पनीको संख्या सबै हिसाबले वित्त क्षेत्रको प्रभुत्व छ । अर्थतन्त्रमा वित्त क्षेत्रको योगदान १० प्रतिशतभन्दा कम छ ।


विज्ञहरू सेयर बजारलाई अपेक्षाको बजारका रूपमा प्रस्तुत गर्छन् । विगतमा के भयो भन्दा पनि भविष्यमा के हुन सक्छ भन्ने अनुमान लगाएर लगानीकर्ता परिचालित हुन्छन् । यसको पुष्टि डेढदशकका राजनीतिक घटनाक्रमको सामान्य अध्ययनबाटै हुन सक्छ । राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिँदा सेयर बजार बढेको थियो । ज्ञानेन्द्र सत्ताच्युत हुँदा पनि बजार बढेको थियो । संविधानसभाको पहिलो चुनावपछि ११७५ को शिखर चुमेकोसेयर बजार परिसूचकले संविधान नबन्दा २९० को धूलो चाटेको थियो । दोस्रो संविधानसभाले संविधान बनाउने पक्कापक्की भएपछि बढ्न थालेको नेप्सेले दुई वर्षअघि हालसम्मकै उच्चतम विन्दु १८८१ सम्म छोएको थियो ।

बजारको अवस्था
एउटा विकसित अर्थतन्त्रमा परिपक्व सेयर बजार हुन्छ । बहुसंख्यक नागरिकलाई सेयर बजारको सामान्य जानकारी हुन्छ । पुँजी परिचालनको प्रभावकारी माध्यमको रूपमा राज्य र निजी क्षेत्रको प्राथमिकतामा धितोपत्र बजार पर्छ । धितोपत्र बजारले सबै पक्षको विश्वास जितेको हुन्छ । सरकार, व्यवसायी र सर्वसाधारण यो बजारमा सक्रिय हुन्छन् । पुँजीको खाँचो पर्ने र आफ्नो बचतलाई लगानीमा रूपान्तरण गर्न चाहने सबै यो बजारमा आउँछन् । यो बजार विकासको आदर्शतम अवस्था हो । यो आदर्शतम अवस्थामा हामी पुगेका छैनौं । त्यसैले बजारको उतारचढावसँग हाम्रो समग्र समाज राम्ररी जोडिएको छैन ।


सन १९६० को अन्ततिर पश्चिमा मुलुकमा ‘एफिसिएन्ट मार्केट हाइपोथेसिस’ निकै लोकप्रिय थियो । त्यो सिद्धान्तले भन्थ्यो सेयरको मूल्यमा प्रभाव पार्ने सूचनाहरू सरोकारवालासँग जति छिटो पुग्छ त्यो बजार त्यति नै कुशल हुन्छ । अर्थात् सेयरको मूल्यमा प्रतिविम्बित हुने सूचनाका आधारमा बजारकोकुशलता मापन गरिएको थियो । कुशल बजारले ठहर्‍याएको मूल्य नै सही हो लगानीकर्ताले आँखा चिम्लेर किनबेच गरे हुन्छ भन्ने आशय उक्त सिद्धान्तको थियो । कम्पनीले गरेको नाफा वा नोक्सानको सूचना उसको सेयर मूल्यमा प्रतिविम्बित हुनुपर्छ भन्ने मान्यता उक्त सिद्धान्तले राख्थ्यो । सरकारी नीति नियमको असर, व्यावसायिक वातावरण, प्रतिस्पर्धी कम्पनीको रणनीतिको असर आदि लगानीकर्ताको नजरमा रहेको कम्पनीको सेयर मूल्यमा प्रतिविम्बित हुनुपर्छ भन्थ्यो । पर्याप्त मात्रामा सूचना प्रवाह हुने अवस्थामा सेयरको बजार मूल्य र अन्तर्निहित मूल्यमा भिन्नता हुँदैन भन्ने धारणा बलियो भएको थियो ।


उक्त सिद्धान्तले भनेझै सूचनाहरूको व्यापक प्रवाह हुँदाहुँदै पनि सेयर बजारमा ठूला उतारचढाव आए । बजारमा यसै हुन्छ भन्ने निष्कर्षमा पुग्न मान्छेलाई गाह्रो पर्‍यो । त्यो सिद्धान्त टिकाउ भएन । अनि ‘होइन बजार त मान्छेको लहडमा चल्छ’ भन्ने अर्को विचार आयो । मान्छेलाई विवेकी ठान्नु नै गलत हो । मान्छेका व्यवहार सधैं विवेकी हुँदैनन् । लोभ र त्रासले गाँजेपछि मान्छेले अविवेकी व्यवहार प्रदर्शन गर्छ अनि त्यसैको प्रतिविम्ब सेयर बजारमा देखिन्छ भन्न थालियो । सबैले कमाएका छन् भनेर सोच्दै नसोची बजारमा हाम फाल्ने, धेरैले गुमाए भनेर अत्तालिएर बजारबाट भाग्ने मानवीय स्वभाव नै बजारमा अभिव्यक्त हुने हो, यसमा अर्को कुनै रहस्य नै छैन । लगानीकर्ताहरूले अलगअलग स्थानमा बसेर गर्ने आकस्मिक तर सामूहिक (र्‍यान्डम बट कलेक्टिभ) निर्णयले बजारलाई उचाल्ने र पछार्ने गर्छ ।


यी विपरीतखाले विचारको प्रतिनिधित्व गर्ने अर्थशास्त्रीद्वय युजिन फामा र रोबर्ट सिलरलाई सन २०१३ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो । यसले के देखाउँछ भने बजारलाई बुझ्ने हाम्रो क्षमतामा पूर्णता छैन । बजारमा के गर्दा ठीक हुने हो, के गर्दा बेठीक छुट्याउन सजिलो छैन ।

कम्पनीको नाफा नोक्सान
कुन कम्पनीको सेयर किन्ने वा बेच्ने भनेर निर्णय गर्ने सम्बन्धमा सबैभन्दा सजिलो उपायका रूपमा नाफा नोक्सानलाई हेर्नु भनेर सुझाइन्छ । कम्पनीले गर्ने व्यवसाय के हो ? सञ्चालक तथा व्यवस्थापक को हुन् ? आम्दानी खर्चको अवस्था र भविष्यको सम्भावना के छ भनेर विश्लेषण गर्नुपर्छ भनिन्छ । विश्लेषणका लागि अनेकौं वित्तीय सूत्रहरू पनि बनाइएका छन् । ती सूत्रलाई प्रयोगमा पनि ल्याइन्छन् तर त्यसबाट प्राप्त हुने नतिजा र बजारमा सेयरको मूल्यबीच तादात्म्यता कायम गर्न निकै कठिन हुन्छ ।कि त बजारमा सेयरको मूल्य ती सूत्रहरूले उचित ठहर्‍याएको भन्दा निकै महँगो हुन्छ कि त अत्यन्तै सस्तो । सस्तो भएको बेला ‘किन सस्तो भयो ?’ भनेर शंका गर्ने, तर्किने मानवीय स्वभाव हुन्छ । महँगो भए ‘सस्तिएपछि किनौंला’ भनेर बसिन्छ । सेयर बजारमा सामान्य मानिसले गर्ने व्यवहार यही नै हो ।


जोखिम मोलेर यस्ता सामान्य मानिसले भन्दा फरक व्यवहार गर्नेहरू सेयर बजारमा विजेता हुन्छन् ।उनीहरूले निरपेक्ष ढंगले जोखिम उठाएका हुँदैनन् । उनीहरूले बजारको चालभन्दा पनि आफ्नो जोखिम वहन क्षमता र लक्षित प्रतिफललाई ध्यानमा राखेका हुन्छन् ।नेप्से बढेको बेला सेयर बेच्ने र घटेका बेलामा किन्ने भन्ने गरिन्छ तर, यो व्यवहारमा लागू भइरहेको हुँदैन । नेप्से बढेका बेला सबै सेयरको बिक्रीबाट उच्च प्रतिफल पाइँदैन र घटेका बेला सबै सेयरधनी जोखिममा परेका पनि हुँदैनन् ।

बाबुरामको जुवाघर
नेपालको सेयर बजारले कहिल्यै नभुल्ने एउटा नाम बाबुराम भट्टराईलाई हो । पहिलो संविधानसभा चुनावपछि बनेको सरकारमा उनी अर्थमन्त्री थिए । सेयर बजार परिसूचक नेप्से ऐतिहासिक उचाइको विन्दु ११७५ मा थियो । एउटा मर्चेन्ट बैंकको उद्घाटनमा उनले ‘अहिले जसरी जुवाघरको किसिमले सेयर बजार चलेको छ त्यसले अर्थतन्त्रको हित हुँदैन’ भनेका थिए । पहिलेदेखि माओवादीलाई शंकाको दृष्टिले हेरिरहेका सेयर लगानीकर्तालाई भट्टराईको यो वक्तव्यले त्रस्त बनायो । बजार ओरालो लाग्न थाल्यो । लगत्तै उनले ल्याएको बजेटमा सेयरमा लाग्ने पुँजीगत लाभ करको दर व्यक्तिगत लगानीकर्तालाई दोब्बर बनाए भने कम्पनीलाई ५० प्रतिशतले बढाए । तत्पश्चात् बजारको गिरावट झन् तीव्र बन्यो ।


बहालवाला अर्थमन्त्रीले आफू मातहतको संरचनाका बारेमा गरेको सम्भवत: त्यो नै पहिलो नकारात्मक टिप्पणी थियो । यसले उनीपछिका अरू अर्थमन्त्रीलाई पाठ सिकायो । धेरैले सेयर बजार परिसूचकको वृद्धिलाई आफ्नो सफलताको विषय बनाए । तर, ती सबै प्रयास निरर्थक भए । बजार उभो लागेन । पछि बाबुराम प्रधानमन्त्री हुँदा नेप्से दशककै न्यून विन्दु (२९०) मा झरेको थियो । उनका अर्थमन्त्री वर्ष मान पुनले नेप्सेलाई ५०० विन्दुमा पुर्‍याउने लक्ष्यसहितको कार्यक्रम तय गरेर मातहतको निकायमा निर्देशन पठाए । सरकारले नै सेयर बजार परिसूचक निश्चित विन्दुमा पुर्‍याउने गरी कहीँकतै नदिइएको त्यो अभुतपूर्व निर्देशन पनि उपलब्धिविहीन बन्यो ।

सेयर बजारको वाम रंग
बाबुराम भट्टराईले तर्साएको सेयर बजारले वाम सरकार बन्नेबित्तिकै लाल रंग देखाउन थाल्छ । यो संयोग मात्र पनि हुन सक्छ ।पुष्पकमल दाहालको सरकार गिरेपछि माधव नेपाल नेतृत्वको सरकार गठन भयो । अर्थमन्त्री सुरेन्द्र पाण्डे बने, भट्टराईले बढाएको पुँजीगत लाभकरको दर घटाएर उनले पुरानै अवस्थामा ल्याए । यसले सेयर लगानीकर्तालाई केही राहत दियो तर बजारमा उल्लेख्य सुधार भने आएन ।


त्यसपछि पनि झलनाथ खनाल र बाबुराम भट्टराई नेतृत्वका दुईवटा वाम सरकार बने बजार झन्झन् ओरालो लाग्यो । तत्कालीस्न प्रधानन्यायाधीश खिलराज रेग्मीको चुनावी सरकार गठन भएपछि भने बजार क्रमिक रूपमा उकालो लाग्यो । सुशील कोइराला प्रधानमन्त्री हुँदा नेप्सेले हालसम्मकै उच्चतम विन्दु १८८१ लाई छोयो । भुइँचालोपछि संविधान निर्माणको पक्षमा बनेको माहोलले त्यतिबेला लगानीकर्तालाई उत्साही बनाएको थियो । संविधान जारी भएपछि विकसित घटनाक्रम भने बजार अनुकूल रहेन र नेप्से उचाइमा टिकेन ।
गत वर्ष असोजमा चुनावअघि दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र एकीकरण हुने घोषणापछि राजनीतिक वृत्तमा तरंग आएको थियो । त्यसको असर सेयर बजारमा पनि देखियो । एकीकरण घोषणा भएलगत्तै बजार खुल्दा नेप्से १४ अंकले घटेर १५४२ कायम भएको थियो । सरकारशेरबहादुर देउवाकै नेतृत्वमा थियो तर लगानीकर्ताले चुनावी नतिजा वाम गठबन्धनको पक्षमा जाने आँकलन गरिसकेका थिए ।


चुनाव नजिकिँदै गर्दा र नतिजा आउँदै गर्दा नेप्से निरन्तर ओरालो लागिरह्यो । फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथग्रहण गर्दैगर्दा नेप्से १४२४ मा आइपुगेको थियो । ओली सरकार बनेपछि नेप्से चैत १२ मा ११६८ सम्म झरेको छ भने माथिल्लो विन्दु २०७५ वैशाख ९ मा १४३८ लाई छोएको छ ।


अर्थमन्त्री युवराज खतिवडाबाट प्रस्तुत बजेटमा सेयर कारोबार गर्दा व्यक्तिलाई पुँजीगत लाभ करको दर ५० प्रतिशत बढाएर ७.५ पुर्‍याइएको छ । करको दर बढ्दा लगानीकर्ता खुसी हुने कुरा भएन । यसैगरी सरकारले बोनस तथा हकप्रद सेयरको पुँजीगत लागत गणना गर्दा आधार अंकित मूल्यलाई नै मान्न निर्देशन दिएपछि उनीहरू विरोधमै उत्रिएका थिए । उनीहरूले एक दिन सेयर बजारको कारोबार नै ठप्प पारे । सरकार अहिले उक्त निर्देशनमाथि पुनर्विचार गरिरहेको छ ।


अर्थमन्त्री खतिवडाले सेयर बजारविरोधी छवि बनाएका छन् । राष्ट्र बैंकको गभर्नर हुँदादेखि नै उनले सेयर बजार, घरजग्गा कारोबारमा जाने कर्जालाई कडाइ गर्दै आएका हुन् । त्यसैले लगानीकर्तामाझ रहेको अर्थमन्त्रीप्रतिको धारणा नफेरिएसम्म नेप्सेमा ठूलो बढोत्तरी आउने संकेत देखिँदैन ।



अनुभवीका कुरा
सामान्यतया नेप्से यही कारणले घटेको वा बढेको हो भनेर ठोकुवा गर्ने चलन छ । यो गलत हो । एउटै समयमा धेरै कारणले सेयर बजारलाई प्रभाव पारिरहेको हुन्छ । कुन कारणको प्रभाव कति हो भन्ने विस्तृत अध्ययन नगरी थाहा हुन्न । अहिले नै पनि सेयर बजार बढ्न नसक्नुका कारण सरकारको नीति सेयर बजारमैत्री भएन भन्ने हुन सक्छ । यसैगरी बैंकहरूले सेयरमा लगानी गर्न पर्याप्त कर्जा दिएनन्, बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउँदा बजारमा सेयरको आपूर्ति अधिक हुन गयो, लगानीकर्ता बिनासित्ती सरकारसँग डराए, बजार निकै माथि गएकाले धेरै लगानीकर्ताले सेयर बेचेर नाफा लिन खोज्दा आपूर्ति बढ्यो, कम्पनी धेरै ठूला भए अब पहिलेकै अनुपातमा लाभांश दिन सक्दैनन्। किनभने महँगो मूल्य तिरेर सेयर किन्ने भन्ने मानसिकता आदिले पनि काम गरेको हुन सक्छ ।


यावत् कुराहरू छन् जसले नेप्सेलाई तलमाथि बनाइराख्छन् । नेप्से कसरी बन्छ, चर्चा हामीले गर्यौं । नेप्से के हो बुझ्न सजिलो छ तर नेप्सेको चाललाई बुझीसाध्य छैन । त्यसैले आफ्नो लगानीमा ध्यान केन्द्रित गर्न विज्ञले सुझाउँदै आएका छन् । नेप्सेले बजारका बारेमा बताउँछ, कुनै कम्पनीविशेषका बारेमा बोल्दैन ।


कुनै कम्पनीको सेयर किन्ने, बेच्ने वा राखी राख्ने निर्णय गर्दा त्यही कम्पनीको बारेमा गहिरो जानकारी राख्नुपर्ने हुन्छ । नेप्सेलाई बुझेर, विद्वान् बनेर पैसा कमाइन्छ भन्ने ग्यारेन्टी छैन । बरु आफूले पैसा केमा लगाउँदै छु भन्ने बुझ्नुपर्छ ।

प्रकाशित : श्रावण ५, २०७५ ०९:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT