कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रैथाने ज्ञान ब्युँताउने बेला

नारायण घिमिरे

काठमाडौँ — रोग र कीराले खेतबारीमा सताउँछन् । भकारीमा थन्काइसकेपछि पनि हाइसन्चो हुँदैन । हाम्रा पितापुर्खा घुन, पुत्ला, कीरा, मुसाविरुद्ध रैथाने वनस्पति भिडाइदिन्थे । फुलेको पातीको धूलो पोकामा बेरेर धान, गेडागुडी या अन्नमा राखेर वा भण्डारणबाहिर घरेलु ‘डिस्टिलेसन’ गरी प्राप्त झोल छर्कन्थे । खपटे, घुन र पुत्लालाई बोजोको धूलो पर्याप्त थियो ।

रैथाने ज्ञान ब्युँताउने बेला

मकैमा लाग्ने घुन र पिठो, मसलामा आउने रातो बिटल नियन्त्रणका लागि लसुन, रायो, तोरीको तेल आदि उपयोग गरिन्थ्यो । जिरा, तुलसी, बाबरीलगायत धूलो वा झोल पनि खाद्यान्नलाई दिगो सुरक्षा दिने विकल्प थिए । नीमको तेल वा गेडाको धूलोले अन्न र गेडागुडी गोदामलाई कीरा लाग्नबाट जोगाउँथे ।

धुर्सेली या नीमको पात सुकाएर अन्न र गेडागुडीसँगै गोदाममा हालिदिँदा कीरा कम लाग्थ्यो । नरिवल तेल या मेन्थोल हरियो चना वा केराउमा लाग्ने कीराको नियन्त्रणमा प्रभावकारी मानिन्थ्यो । हामीले प्रयोग गर्ने घरेलु झोल औषधि खाद्य सुरक्षाका कवच मात्र थिएनन्, मानव स्वास्थ्यका लागि हितकारी आयुर्वेदिक महत्त्वका थिए । ती खाद्यको गुण वृद्धि गर्न सहयोगी हुन्थे ।

रुद्राक्ष खेती मालाका लागि मात्र थिएन । यसको काठ निकै बलियो हुन्थ्यो । आध्यात्मिक मूल्य बोकेको दाना धेरै काममा प्रयोग हुन्थ्यो । रुद्राक्ष घोटेर अर्जुन (काहु) को बोक्राको धूलोसँग बराबर मात्रामा मिसाई २–३ चियाचम्चा महले लेदो बनाएर अनुहारमा लगाउने अनि आधा घण्टा छाड्ने र मनतातो पानीले मुख धुने गरे अनुहारको डन्डीफोर वा दाग निदान हुन्थ्यो । त्यही कामका लागि आज हामी आयातीत कस्मेटिक्सको सहारा लिइरहेका छौं ।

कागतीको रससँग रुद्राक्षको धूलो मिलाई बनेको लेदो अनुहारमा लगाएर आधा घण्टा छाड्ने र मनतातो पानीले मुख धुने पनि गरिन्थ्यो । अनुहारको छालाको दाग तथा छ्याकेपन हटाउन र छालाको चमक बढाउन रुद्राक्षको धूलो, जेठीमधु, अमला पाउडर र मजिठो बराबर मिसाएर दैनिक ५ ग्राम खाने चलन थियो । अहिले ती कुरा विश्वास गर्नै गाह्रो छ ।

विकसित मुलुकमा रुद्राक्षको धूलो गुलाबजलमा मिलाएर क्रिम बनाउनेदेखि पुलाउ, आइसक्रिम, लस्सी र स्मुथीमा मिसाएर डिटक्स पेयका रूपमा रेस्टुरेन्टमा पस्किने चलन भित्रिरहेको छ । एन्टी कोल्ड पेयका रूपमा अश्वगन्धाजस्तै रुद्राक्षको धूलो महसँग मिसाएर मनतातो पानीमा हाली हर्बल चिया बनाइन्छ । यस्तो चियाको व्यापार उक्लँदो छ । कफ या छातीमा अप्ठेरो हुँदा यो चिया सहयोगी हुन्छ ।

हामी भने स्वास्थ्यवद्र्धक पेय भनी आफूलाई पूर्ण ज्ञान नभएका विदेशी खाना र पेयमा पैसा उडाइरहेका छौं । किशोरकिशोरी अनुहारका डन्डीफोर र दागको निदान अनि चमकका लागि हानिकारक रसायन प्रयोग गरिरहेका हुन्छन् । हाम्रै परम्परागत जडीबुटीबाट निर्मित सौन्दर्य प्रसाधन प्रयोग गर्दा करोडौं रुपैयाँ मुलुकबाहिर गइरहेको छ ।

दैनिक जीविकाका सयौं रैथाने विधि र प्रविधि दशकौंको प्रयोगबाट प्रभावकारी प्रमाणित हुन् । ती हाम्रा पुर्खाको कौशलका चिनारी पनि थिए । त्यसलाई हामीले आयातीत शिक्षाको प्रभावमा परी चटक्कै छाडिदियौं । विदेशमा पढेलेखेबापत नीतिनिर्माण तहमा नियुक्ति पाएकाहरूको सैद्धान्तिक दर्शनमा उल्लिएर हामीले परम्परागत सीप र ज्ञानलाई तिलाञ्जली दियौं ।

तत्कालीन राजा–महाराजा र शासकले विदेशमा पढेलेखेका, देश–विदेश बुझेकाहरूलाई मुलुकको द्रुत विकास हुने आशामा जिम्मेवारी सुम्पेका थिए । दुर्भाग्यवश पढेलेखेका, टाठाबाठा र आयातीत शिक्षाप्राप्त जमातले बिगारेको मुलुकका रूपमा नेपाल चिनिनुपर्‍यो । रैथाने बिरुवा र कीराबाट मुलुक कसरी समृद्ध बन्न सक्छ ? कस्ता कस्ता रैथाने बिरुवाले हाम्रो खाद्य भण्डारणमा सहयोग गर्छन् ? यस्ता कुरा हाम्रा मुख्य एजेन्डा बनेनन् ।

व्यापारिक मुनाफाबाट प्रेरित अनि मानव स्वास्थ्यका लागि घातक आयातीत सेन्थेटिक केमिकल हाम्रा ड्राइफुड चेन स्टोर र खाद्यस्टोरमा सुरक्षा कवचका रूपमा रोजिए । शताब्दियौं पुराना प्रयोगात्मक प्रविधिबाट प्रमाणित विकल्पको उपयोग भने हुन सकेन । हाम्रै विज्ञहरू प्रयोग गरी नेपाल सरकारकै अधिकारीहरूको सक्रियतामा स्वास्थ्यमा खेलबाड गर्ने आयातीत सेन्थेटिक केमिकल र विषादी हाम्रा दैनिक उपभोग्य खाद्यान्नको उत्पादन, भण्डारण, प्रशोधन र ढुवानीका अभिन्न अंग बने । हाम्रा खाना जोगाइदिने विषादीका नाममा विदेशी कम्पनीहरू हाम्रो अकुत धनराशि विदेश लैजान सफल भए ।

आयातीत कोला, लाइम, लेमन, ओरेन्ज, जिन्जर बियर, रुट बियर र इनर्जी ड्रिंक हाम्रा दैनिक पेय भएका छन् । नेपाली रैथाने वनस्पति प्रशोधन गरी प्राप्त हुने एक्सट्रेक वा फ्लेवरलाई मात्र चिनीपानी हाली कार्बोनेसन गरिएको पेय तपाईं–हाम्रो धनराशि विदेश लैजान सफल बनेको छ । हामीले सामान्य प्रविधि र थोरै लगानीमै नेपाली रैथाने वनस्पतिबाट फ्लेवर बनाउनेतर्फ ध्यान दिएनौँ ।

हाम्रो अदुवा कसैले किनेन, सुन्तला निर्यात रोकियो, अलैंची किनिदिएन वा कालो मरिच, कन्दमूल आदि तस्करी भयो भनेर कुरा गर्‍यौं तर त्यसको मूल कारण पहिचान गरेर समाधान खोज्नतिर लागेनौँ । हाम्रा सीमित खाद्य उद्योगहरू महँगो पैसा तिरी हाम्रै निकासीबाट बनेका वनस्पतिबाट बनेका फ्लेवर महँगोमा किन्न विवश बने ।

फलत: स्थानीय कच्चा पदार्थमा आधारित उद्योगधन्दाले आफ्नै बजारमा समेत प्रतिस्पर्धा गर्ने क्षमता गुमाए । हामीले रोजगारी, स्वरोजगारी वृद्धिका कुरा धेरै गर्‍यौं तर आयात हाम्रै रैथाने कच्चा पदार्थ, सीप र ज्ञानलाई सदुपयोग गरी विस्थापित गर्नेतर्फ ध्यान पुर्‍याउन सकेनौं ।

हाम्रा खाद्य उद्योगहरूले चर्को मूल्यमा आयात गर्ने ककनट फ्लेवर टुक्राटुक्रा पारेको नरिवल आधा कप २ सय ५० मिलिलिटर ९५ प्रतिशत स्पिरिटमा हाली ३–४ साता राखेपछि छानेर आएको तरल पदार्थ हो । यो नेपालकै कुटीर उद्योगले सजिलै निर्माण गर्न सक्छ भन्नेसम्म हामीले बुझ्नै चाहेनौं ।

१ कप पुदिनाको पात लिई २ सय ५० मिलिलिटर ९५ प्रतिशतको स्पिरिटमा हाली २ दिन राखेर त्यसलाई छानेपछि शीतल मिन्ट फ्लेवर बनाउने गरिन्छ । ३–४ कप भुटेको कटुसलाई २ सय मिलिलिटर ९५ प्रतिशतको स्पिरिटमा हाली २ महिना राखेर छानेपछि चेसनट फ्लेवर बनाउन सकिनेतर्फ हामीले ध्यान दिएनौं । हामीले लाखौं खर्ची किन्ने मेपल फ्लेवर मेथी पिँधेर बनेको झोल भन्ने भेउ पनि पाएनौं ।

रैथाने वनस्पतिबाट जैविक मल बनाउने काम छाडी हामी माटो बिगार्ने रासायनिक मल आयातमै रमायौं । हामीले आफैं रासायनिक मल कारखाना बनाउने भनी दर्जनौंपटक सम्भावना अध्ययन र भ्रमणमा करोडौं खर्च गर्‍यौं । रासायनिक विषादीले माटो बिगार्ने, खाद्यलाई समेत अखाद्य बनाउने महसुस गरी रासायनिक मलको सट्टा जैविक मल (भर्मी कम्पोस्ट) र विषादीको सट्टा रैथाने घस्यौटी, गँड्यौला आदिबाट जैविक मल बनाउने सस्तो र प्रभावकारी प्रविधि अँगाल्न सकेनौं । नजिकैको सिक्किमले जैविक खेतीप्रणालीमा मारेको फड्कोले हामीलाई छुनै सकेन ।

के ठीक, के बेठीक ? न जान्यौं, न त सिक्ने इच्छाशक्ति देखायौं । किन र कुन नियतले हामी दैनिक उपभोग्य खाद्यान्न उत्पादन, भण्डारण, प्रशोधन र ढुवानीमा मानवस्वास्थ्य प्रतिकूल आयातीत सेन्थेटिक विषादी हाल्न हौसियौं ? यसको जरोकिलो बुझेपछि मात्र नेपालका कृषिउद्यमीलाई समाधानतर्फ प्रेरित गर्न सकिनेछ ।

[email protected]
लेखक क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?