रैथाने ज्ञान ब्युँताउने बेला

नारायण घिमिरे

काठमाडौँ — रोग र कीराले खेतबारीमा सताउँछन् । भकारीमा थन्काइसकेपछि पनि हाइसन्चो हुँदैन । हाम्रा पितापुर्खा घुन, पुत्ला, कीरा, मुसाविरुद्ध रैथाने वनस्पति भिडाइदिन्थे । फुलेको पातीको धूलो पोकामा बेरेर धान, गेडागुडी या अन्नमा राखेर वा भण्डारणबाहिर घरेलु ‘डिस्टिलेसन’ गरी प्राप्त झोल छर्कन्थे । खपटे, घुन र पुत्लालाई बोजोको धूलो पर्याप्त थियो ।

मकैमा लाग्ने घुन र पिठो, मसलामा आउने रातो बिटल नियन्त्रणका लागि लसुन, रायो, तोरीको तेल आदि उपयोग गरिन्थ्यो । जिरा, तुलसी, बाबरीलगायत धूलो वा झोल पनि खाद्यान्नलाई दिगो सुरक्षा दिने विकल्प थिए । नीमको तेल वा गेडाको धूलोले अन्न र गेडागुडी गोदामलाई कीरा लाग्नबाट जोगाउँथे ।

धुर्सेली या नीमको पात सुकाएर अन्न र गेडागुडीसँगै गोदाममा हालिदिँदा कीरा कम लाग्थ्यो । नरिवल तेल या मेन्थोल हरियो चना वा केराउमा लाग्ने कीराको नियन्त्रणमा प्रभावकारी मानिन्थ्यो । हामीले प्रयोग गर्ने घरेलु झोल औषधि खाद्य सुरक्षाका कवच मात्र थिएनन्, मानव स्वास्थ्यका लागि हितकारी आयुर्वेदिक महत्त्वका थिए । ती खाद्यको गुण वृद्धि गर्न सहयोगी हुन्थे ।

रुद्राक्ष खेती मालाका लागि मात्र थिएन । यसको काठ निकै बलियो हुन्थ्यो । आध्यात्मिक मूल्य बोकेको दाना धेरै काममा प्रयोग हुन्थ्यो । रुद्राक्ष घोटेर अर्जुन (काहु) को बोक्राको धूलोसँग बराबर मात्रामा मिसाई २–३ चियाचम्चा महले लेदो बनाएर अनुहारमा लगाउने अनि आधा घण्टा छाड्ने र मनतातो पानीले मुख धुने गरे अनुहारको डन्डीफोर वा दाग निदान हुन्थ्यो । त्यही कामका लागि आज हामी आयातीत कस्मेटिक्सको सहारा लिइरहेका छौं ।

कागतीको रससँग रुद्राक्षको धूलो मिलाई बनेको लेदो अनुहारमा लगाएर आधा घण्टा छाड्ने र मनतातो पानीले मुख धुने पनि गरिन्थ्यो । अनुहारको छालाको दाग तथा छ्याकेपन हटाउन र छालाको चमक बढाउन रुद्राक्षको धूलो, जेठीमधु, अमला पाउडर र मजिठो बराबर मिसाएर दैनिक ५ ग्राम खाने चलन थियो । अहिले ती कुरा विश्वास गर्नै गाह्रो छ ।

विकसित मुलुकमा रुद्राक्षको धूलो गुलाबजलमा मिलाएर क्रिम बनाउनेदेखि पुलाउ, आइसक्रिम, लस्सी र स्मुथीमा मिसाएर डिटक्स पेयका रूपमा रेस्टुरेन्टमा पस्किने चलन भित्रिरहेको छ । एन्टी कोल्ड पेयका रूपमा अश्वगन्धाजस्तै रुद्राक्षको धूलो महसँग मिसाएर मनतातो पानीमा हाली हर्बल चिया बनाइन्छ । यस्तो चियाको व्यापार उक्लँदो छ । कफ या छातीमा अप्ठेरो हुँदा यो चिया सहयोगी हुन्छ ।

हामी भने स्वास्थ्यवद्र्धक पेय भनी आफूलाई पूर्ण ज्ञान नभएका विदेशी खाना र पेयमा पैसा उडाइरहेका छौं । किशोरकिशोरी अनुहारका डन्डीफोर र दागको निदान अनि चमकका लागि हानिकारक रसायन प्रयोग गरिरहेका हुन्छन् । हाम्रै परम्परागत जडीबुटीबाट निर्मित सौन्दर्य प्रसाधन प्रयोग गर्दा करोडौं रुपैयाँ मुलुकबाहिर गइरहेको छ ।

दैनिक जीविकाका सयौं रैथाने विधि र प्रविधि दशकौंको प्रयोगबाट प्रभावकारी प्रमाणित हुन् । ती हाम्रा पुर्खाको कौशलका चिनारी पनि थिए । त्यसलाई हामीले आयातीत शिक्षाको प्रभावमा परी चटक्कै छाडिदियौं । विदेशमा पढेलेखेबापत नीतिनिर्माण तहमा नियुक्ति पाएकाहरूको सैद्धान्तिक दर्शनमा उल्लिएर हामीले परम्परागत सीप र ज्ञानलाई तिलाञ्जली दियौं ।

तत्कालीन राजा–महाराजा र शासकले विदेशमा पढेलेखेका, देश–विदेश बुझेकाहरूलाई मुलुकको द्रुत विकास हुने आशामा जिम्मेवारी सुम्पेका थिए । दुर्भाग्यवश पढेलेखेका, टाठाबाठा र आयातीत शिक्षाप्राप्त जमातले बिगारेको मुलुकका रूपमा नेपाल चिनिनुपर्‍यो । रैथाने बिरुवा र कीराबाट मुलुक कसरी समृद्ध बन्न सक्छ ? कस्ता कस्ता रैथाने बिरुवाले हाम्रो खाद्य भण्डारणमा सहयोग गर्छन् ? यस्ता कुरा हाम्रा मुख्य एजेन्डा बनेनन् ।

व्यापारिक मुनाफाबाट प्रेरित अनि मानव स्वास्थ्यका लागि घातक आयातीत सेन्थेटिक केमिकल हाम्रा ड्राइफुड चेन स्टोर र खाद्यस्टोरमा सुरक्षा कवचका रूपमा रोजिए । शताब्दियौं पुराना प्रयोगात्मक प्रविधिबाट प्रमाणित विकल्पको उपयोग भने हुन सकेन । हाम्रै विज्ञहरू प्रयोग गरी नेपाल सरकारकै अधिकारीहरूको सक्रियतामा स्वास्थ्यमा खेलबाड गर्ने आयातीत सेन्थेटिक केमिकल र विषादी हाम्रा दैनिक उपभोग्य खाद्यान्नको उत्पादन, भण्डारण, प्रशोधन र ढुवानीका अभिन्न अंग बने । हाम्रा खाना जोगाइदिने विषादीका नाममा विदेशी कम्पनीहरू हाम्रो अकुत धनराशि विदेश लैजान सफल भए ।

आयातीत कोला, लाइम, लेमन, ओरेन्ज, जिन्जर बियर, रुट बियर र इनर्जी ड्रिंक हाम्रा दैनिक पेय भएका छन् । नेपाली रैथाने वनस्पति प्रशोधन गरी प्राप्त हुने एक्सट्रेक वा फ्लेवरलाई मात्र चिनीपानी हाली कार्बोनेसन गरिएको पेय तपाईं–हाम्रो धनराशि विदेश लैजान सफल बनेको छ । हामीले सामान्य प्रविधि र थोरै लगानीमै नेपाली रैथाने वनस्पतिबाट फ्लेवर बनाउनेतर्फ ध्यान दिएनौँ ।

हाम्रो अदुवा कसैले किनेन, सुन्तला निर्यात रोकियो, अलैंची किनिदिएन वा कालो मरिच, कन्दमूल आदि तस्करी भयो भनेर कुरा गर्‍यौं तर त्यसको मूल कारण पहिचान गरेर समाधान खोज्नतिर लागेनौँ । हाम्रा सीमित खाद्य उद्योगहरू महँगो पैसा तिरी हाम्रै निकासीबाट बनेका वनस्पतिबाट बनेका फ्लेवर महँगोमा किन्न विवश बने ।

फलत: स्थानीय कच्चा पदार्थमा आधारित उद्योगधन्दाले आफ्नै बजारमा समेत प्रतिस्पर्धा गर्ने क्षमता गुमाए । हामीले रोजगारी, स्वरोजगारी वृद्धिका कुरा धेरै गर्‍यौं तर आयात हाम्रै रैथाने कच्चा पदार्थ, सीप र ज्ञानलाई सदुपयोग गरी विस्थापित गर्नेतर्फ ध्यान पुर्‍याउन सकेनौं ।

हाम्रा खाद्य उद्योगहरूले चर्को मूल्यमा आयात गर्ने ककनट फ्लेवर टुक्राटुक्रा पारेको नरिवल आधा कप २ सय ५० मिलिलिटर ९५ प्रतिशत स्पिरिटमा हाली ३–४ साता राखेपछि छानेर आएको तरल पदार्थ हो । यो नेपालकै कुटीर उद्योगले सजिलै निर्माण गर्न सक्छ भन्नेसम्म हामीले बुझ्नै चाहेनौं ।

Yamaha

१ कप पुदिनाको पात लिई २ सय ५० मिलिलिटर ९५ प्रतिशतको स्पिरिटमा हाली २ दिन राखेर त्यसलाई छानेपछि शीतल मिन्ट फ्लेवर बनाउने गरिन्छ । ३–४ कप भुटेको कटुसलाई २ सय मिलिलिटर ९५ प्रतिशतको स्पिरिटमा हाली २ महिना राखेर छानेपछि चेसनट फ्लेवर बनाउन सकिनेतर्फ हामीले ध्यान दिएनौं । हामीले लाखौं खर्ची किन्ने मेपल फ्लेवर मेथी पिँधेर बनेको झोल भन्ने भेउ पनि पाएनौं ।

रैथाने वनस्पतिबाट जैविक मल बनाउने काम छाडी हामी माटो बिगार्ने रासायनिक मल आयातमै रमायौं । हामीले आफैं रासायनिक मल कारखाना बनाउने भनी दर्जनौंपटक सम्भावना अध्ययन र भ्रमणमा करोडौं खर्च गर्‍यौं । रासायनिक विषादीले माटो बिगार्ने, खाद्यलाई समेत अखाद्य बनाउने महसुस गरी रासायनिक मलको सट्टा जैविक मल (भर्मी कम्पोस्ट) र विषादीको सट्टा रैथाने घस्यौटी, गँड्यौला आदिबाट जैविक मल बनाउने सस्तो र प्रभावकारी प्रविधि अँगाल्न सकेनौं । नजिकैको सिक्किमले जैविक खेतीप्रणालीमा मारेको फड्कोले हामीलाई छुनै सकेन ।

के ठीक, के बेठीक ? न जान्यौं, न त सिक्ने इच्छाशक्ति देखायौं । किन र कुन नियतले हामी दैनिक उपभोग्य खाद्यान्न उत्पादन, भण्डारण, प्रशोधन र ढुवानीमा मानवस्वास्थ्य प्रतिकूल आयातीत सेन्थेटिक विषादी हाल्न हौसियौं ? यसको जरोकिलो बुझेपछि मात्र नेपालका कृषिउद्यमीलाई समाधानतर्फ प्रेरित गर्न सकिनेछ ।

narayanghimire@yahoo.com
लेखक क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

रैथाने उब्जनीबाट समृद्धि

नेपाल आफ्नै रैथाने लगभग ७ हजार औषधीय र सुगन्धित बिरूवाको व्यावसायिक मुकाम हुन सक्छ ।
नारायण घिमिरे

काठमाडौँ — अस्ति भर्खरजस्तो लाग्छ, गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको । ४/५ कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौं । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो पथ्र्यो, भेट्टाए पनि लुकाएर जंगलतिर लगी खानै मुस्किल ।

हामी पटक–पटक खरबुजा चोर्न गएका थियौं । जब एकदिन माइला दाइले धान नमाडी खरबुजो खाएको पुरस्कार भनी हामी ४ जनालाई चौतारोमा बोलाएर एक पोका माला मिठाइ दिए, तब खरबुजोको खोजीमा दाइको घैयाबारी कुद्ने क्रम पनि रोकियो ।


जुगजमाना फेरिएको छ । खरबुजो टिमका हामी २ जना ७ समुद्रपारि क्यानाडामा छौं । १ जना काठमाडौंमा वरिष्ठ व्यापारी छन् भने अर्का १ जना नेपाल सरकारका उच्च अधिकारी । बसोबास ७ समुद्रपारि रहे पनि मेरो मनचाहिँ किन–किन गाउँघरतिरै घुमिरहन्छ ।


हिजोआज मलाई के लाग्न थालेको छ भने हाम्रो परम्परागत कृषिले घैया धान र मकै हुने पाखोबारीको उत्पादनले ‘कस्ट अफ लिभिङ’ धान्ने विकल्प दिन सकेन । बरु अब त्यो घैया धान र मकै फल्ने बारीलाई तितेपाती, धयेरी, धतुरो र असुरो बारी बनाएर किसानलाई कृषि पेसाबाट आर्थिक स्वावलम्बन गराउन सकिन्छ । त्यतातिर लागे मलेसिया र जापानमा जस्तै कृषक कृषि पेसामै आत्मनिर्भर हुने र कृषिमा युवा उद्यमीको मन बसाउन सकिन्थ्यो कि भन्ने तानाले गाँजेको छ ।


हाम्रा रैथाने जडीबुटी र कृषिजन्य उपजको अहिलेको विश्व बजारको माग र पूर्तिलाई केलाएर हेर्दा तितेपाती बुद्ध चियाका रूपमा र ‘क्लिनिङ स्यानिटाइजर’ अर्थात् सफाइ सामग्रीका रूपमा अमेरिकाको हवाइमा व्यावसायिक भइसकेको छ । यसको बजार माग र कभरेज दिन दुई गुना, रात चार गुणा बढिरहेको छ ।


खुला र सदुपयोग नभएका रुखो सिम जग्गामा हुने सानो बुटो धयेरी वास्तवमै अति मूल्यवान औषधिको अर्को स्रोत हो । यसको फूल आयुर्वेदिक औषधिका धेरै फर्मुलामा जान्छ भने यो आफैं घरको गमलामा लगाइने महँगो नर्सरीको बिरुवा हो । परम्परागत रूपमा गाउँमा पखाला लाग्दा र शरीरमा ‘इलेक्ट्रोलाइट’ घटेर ‘डिसेन्ट्री’ अर्थात् पखाला हुँदा यसको उपयोग अत्यधिक गरिन्थ्यो । अल्सर छिटो निको गर्ने तरिका थियो, धयेरीको फूल । दाँत दुख्दा कुल्ला (गार्गल) का रूपमा प्रयोग गर्न र निधारमा चिटचिट पसिना आउने र टाउको दुख्दा शीतलपन लिन धयेरीको फूलको रस लेपन र सेवन सामान्य मानिन्थ्यो । धयेरीको बोक्रा कुष्ठरोगको औषधिमात्र थिएन, धेरै तिर्खा लाग्दा र रगत सफा नभएर फोहोरी खटिरा नआओस् भनी सेवन गर्ने चलन थियो । यसको जराको धुलो हड्डी भाचिँदा प्रयोग हुने गथ्र्यो ।


हाम्रा गाउँघरमा नरोपे पनि आफैं उम्रने र झाडी बनाउने असुरोको आफ्नै प्रकारको उच्च वाणिज्यिक मूल्य (कमर्सियल भ्यालु) छ । पाकिस्तानमा यो मधुमेयको पूरक (डाइबेटिक सप्लिमेन्ट) का रूपमा निकै लामो समयदेखि प्रयोग हुँदै आएको छ । हाम्रा पाखाभित्तामा फाँडफँुड पारी फाल्दा पनि जबर्जस्ती उम्रने जब्बर प्रकृतिको रिट्ठाको गेडा भारत हँुदै उत्तर अमेरिकासम्म पुगेको छ । यो अहिले क्यानाडामा साबुन र स्याम्पुको सट्टा विलासी स्नानमा प्राकृतिक साबुन बेरी सोपका नाममा प्रयोग भइरहेको छ । अर्थात् आधुनिक खानपानको ‘एन्टी–क्यान्सर पिल्स’ बनेको र संसारकै आजसम्मको उत्कृष्ट ‘इम्युन बुस्ट’को सारथिको पहिचान बनाएको बेसार होस् वा रिट्ठा, हलेदो र अदुवा, तिनै घैयाबारीमा खेती गरी मनग्ये आम्दानी लिन सकिने कृषि उपज हुन् ।


सानो छँदा घरमै जोडिएको धारोमा पानी नहुँदा म बिहान–बिहान मुख धुन घरमाथिको फल्दी खोलाको धारामा जान्थेँ । धतुरो खाँदा जिब्रो र ओठ सुन्निने कहानी आमाको मुखबाट सुनेको थिएँ । मलाई जहिल्यै बाटो छेउको खोल्सामा कतै धतुरो छोइएला र शरीर सुन्निएला भन्ने डर हुन्थ्यो ।


त्यो धतुरोलाई सबैजना शिवजीको बुटी भन्थे । जब हामी शिवजीको नाम लिन्छौं, गाँजा, धतुरो र रुद्राक्षको प्रसंग आउँछ । ७ सयभन्दा बढी औषधिजन्य प्रयोजन पाइएकाले गाँजा संसारभर वैधानिक हैसियत पाउने क्रममा छ । पछिल्लो समय क्यानाडाले त्यसलाई कानुनी मान्यता दिइसकेको छ भने भारतमा पनि यसको आन्तरिक गृहकार्य भइरहेको छ ।


गाँजा जस्तै धतुरो पनि नेपालमा जताततै पाइने वनस्पति हो । वास्तवमा धतुरो विष नै हो । यो विषालु हुनुको कारण यसमा पाइने ‘अल्कालोइड’ जस्तै स्कोपालामाइन, हायोस्क्यामाइन, एट्रोपाइन आदिले गर्दा हो । धतुरो उम्रँदा र जंगलमा हुर्कंदा किराले यसलाई नखाउन् भनी यो बिरुवाले प्राकृतिक रूपमै आफूभित्रै रिपेलेन्टका रूपमा यी अल्कलोइड बनाएर सञ्चिती गर्छ । विषादी बनाउने कम्पनीहरूले त्यसलाई लिएर जैविक किरा नियन्त्रण गर्ने औषधि बनाउने गर्छन् । आयुर्वेदले मात्र खाना र औषधितिर ध्यान दिएको छ । त्यसैले यसको रस कपाल झर्ने समस्या निदान र कपालमा चायाँ कम गर्ने रसायनका रूपमा मात्र उल्लेख गरेको छ ।


धतुरोको गेडाबाट निक्लने तेल कपाल झर्न रोक्ने उच्चकोटीको औषधिमा प्रयोग हुन्छ । परम्परागत रूपमा धतुरोको पातलाई सेकेर बनाइएको लेपलाई आङ मर्केको र दुखेको ठाउँमा लगाइन्थ्यो ।


यो ‘पेनकिलर’ थियो र हो पनि । दमको बेला र हड्डी मर्कंदा यसको प्रयोग हुन्छ । परम्परागत रूपमा महिला गर्भवती हुँदा फिस्टुलाको समाधानका साथै शरीर सुन्निएर पिप जम्ने हुँदा पनि धतुरोको गेडाको लेप लगाइन्थ्यो । धतुरोको गेडाबाट निक्लने तेलमा हायोस्क्यामाइन र एट्रोपाइन धेरै हुन्छ । त्यसलाई मानिसको दिमाग परिवर्तन गर्ने हेलुसिनेटिङ ड्रगका रूपमा चिनिन्छ । धतुरो विषादी हुने हुनाले यसलाई दुई डेसिग्रामभन्दा बढी नहुनेगरी मानव प्रयोजनका लागि सप्लिमेन्ट बनाउने गरिएको छ । युनाइटेड स्टेट्स फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (युएसएफडीए) ले पनि धतुरोलाई भर्खरै तोके अनुरुप प्रयोग गर्न सकिने स्वीकृत सूची (एप्रुभ्ड लिस्ट) मा राखेको छ ।


अब कुरा गरौं, मुलाको । यो हाम्रो शरीरको आन्तरिक (जैविक) घडीको चक्र सञ्चालनमा सहयोगी हुन्छ । मिलाटोनिङ प्राकृतिक रूपमै हाम्रो शरीरमै पाइने हार्मोन हो । अर्थात् शरीरको आन्तरिक घडीको चक्र सञ्चालन गर्ने हार्मोन । जब अँधेरो हुन्छ, हाम्रो शरीरले धेरै मिलाटोनिङ उत्पादन गर्छ, अनि हामीलाई निद्रा पर्छ । उज्यालो हुँदा शरीरले मिलाटोनिङको उत्पादन घटाउँछ, अनि हाम्रो निद्रा छ्याङ्ग खुल्छ ।


मानिस दृष्टिविहीन हुँदा प्रकृतिले शरीरमा उत्पादित मिलाटोनिङको लेबल अनुभूत गर्न सक्षम बनाउँछ । दिउँसो र रातिको अनुभूति गर्न सफल बनाउँछ । आन्तरिक घडी कन्ट्रोल गर्ने मिलाटोनिङको कमीले मानिस छिट्टै निदाउन नसक्ने, बिहान उठ्न र आँखा खोल्न सक्दैन । मानिसहरू अल्जाइमर, सिजोफेर्निया, डिमेन्सिया, अटिजम, फोक्सोको रोग, मेमोरी लसमा मिलाटोनिङ खाने गर्छन् । त्यसलाई सेन्थेटिक प्रक्रियाबाट बनाइएको हुन्छ ।


हाम्रा गाउँघरमा पाइने मुलामा प्रतिग्राम ६ सय ५७ पिकोग्राम मिलाटोनिङ हुने गर्छ । त्यसैले आयुर्वेदले लेक्टिक फर्मेन्टेड मुलालाई धेरै राम्रो स्थान दिएको छ । खाना र अचारका रूपमा मुला खानु फलदायी मानिनुको वैज्ञानिक कारण निकैपछि बुझिए पनि आयुर्वेदले डाइबेटिक, ज्वरो, चिसो, कफ, दम, घाँटी दुख्दा र एलर्जी हुँदा नियमित ताजा मुला खान सल्लाह दिएकै हो ।


अनादिकालदेखि मानिसले दैनिक २५.५० एमएलजति मुलाको रस सेवन गरेको तथ्य पाइएको छ । पछि गएर ‘मुला खाई वन पस, अदुवा खाई सभामा पस’ भन्ने लोकोक्तिका कारण त्यो चलन ओझेलमा पर्‍यो । मुलाको डकार गन्हाउने र अदुवाले मुखमा बासना दिने भएकाले हामी कस्मेटिक फाइदातिर मात्रै लम्कियौं । २५.५० एमएल मुलाको रस पिउँदा जतिको लाभ न काँचो मुला चपाउनुमा छ, नत अचार खाएर जिब्रो फड्कार्नुमा । जे होस्, यसको गुण पक्रेर मुलाको व्यवसाय गर्न सक्दा निकै फाइदाकारी हुनेछ ।


समग्रमा प्राविधिक दृष्टिकोणबाट के भन्न सकिन्छ भने समय क्रममा नेपाल नेपालकै रैथाने लगभग ७ हजार मेडिसिनल (औषधीय) र एरोमेटिक (सुगन्धित) प्लान्टको व्यावसायिक हब हुनसक्छ । जतिसक्दो चाँडो हाताहाती प्रतिफल लिन सकिने अवस्थामा पुर्‍याउन भने मेडिसिनल र एरोमेटिक भ्यालु पहिचान, प्रशोधन र व्यावसायिक विधिको ‘बडी अफ नलेज’ हस्तान्तरण जरुरी हुन्छ । त्यो अवसरको संघार इनोभेटिभ इन्कुबेटरहरूलाई नेपालमा आमन्त्रण गरी काम गर्ने वातावरण प्रदान गरेपछि मात्र खुल्छ ।

घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : श्रावण ९, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT