छोरीप्रतिको नजरिया

एउटी महिला अर्की महिलाको दु:खको कारण बन्न सक्छे । सहारा र सुखमय पारिवारिक जीवनको कारण किन बन्न नसक्ने ?
श्यामिका महताे

काठमाडौँ — तराई–मधेसमा समाज र परिवारले छोरी जन्मिनासाथ विभेद गर्छ । छोरी जति ठूली हुँदै जान्छे, लैंगिक विभेद बढ्दै जान्छ । फरक व्यवहार पालनपोषण, हेरचाह, शिक्षादीक्षा, आधारभूत आवश्यकता लगायतमा प्रस्टै देखिन्छ ।

समाज रुढीग्रस्त छ । यो समाजबारे लेख्न बस्दा मलाई छोरीप्रति समाज र देशको नजरिया फेर्नुपर्छ भन्ने लाग्छ । छोरीलाई जन्मनासाथ अर्काको घर जाने भन्ने मनस्थितिले हेरिन्छ । ‘घरकै काम सिकाए भइहाल्छ, बिहे गरेर अरुको घर गइहाल्छे, त्यही घर र भान्सा सम्हाल्ने त हो,’ धेरैको मुखबाट सुनिन्छ । यस्तो टिप्पणी गर्नेहरू महिलै हुन्छन् । आफ्नै आमा, हजुरआमा, फुपू हुन्छन् । पुरुषले त्यसमा सहमति जनाइदिन्छन् ।

छोरी हुर्कँदै गएपछि आमाबुबालाई विवाहको चिन्ताले सताउन थाल्छ । राम्रो केटा र राम्रो घर खोजेर विवाह गरिदिने ध्याउन्नमा लाग्छन् । छोरी हेर्न केटा हेर्ने क्रम चल्छ ।

Yamaha

छोरावालाहरू फेसन सोमा आएझैं अरूको छोरीलाई ‘एकपटक कुर्ता–सुरुवालमा हेरुम्, एकपल्ट सारीमा हेरुम्’ भनिरहेका हुन्छन् । केटी हेर्न केटा पक्षबाट लस्कर आएको हुन्छ । थौरै मान्छे आए भने पछि भाइले हेर्छ, आमाले हेर्छिन्, दिदीबहिनीले हेर्छन् भनिन्छ । उनीहरूले किन हेर्नुपर्‍यो ? केटीको व्यवहार हेर्ने हो भने व्यवहार त समय, परिस्थिति र मानिससँगै बदलिन्छ ।

‘फेसन सो’ सकिएपछि केटाको बुबाले ‘हामी परिवारमा सल्लाह गरेर खबर पठाउँछौं’ भन्छन् । केटा पक्षबाट विस्तारै लेनदेन, पैसा, गरगहना, फर्निचर आदि सामानको माग सुरु हुन्छ । केटी पक्षले माग पुर्‍याउने भयो भने विवाह हुन्छ । माग पूरा नभए विवाह नहुने त छँदैछ, केटा पक्षबाट केटी र उसको परिवारमाथि लाञ्छना लाग्न थाल्छन्– केटी पातली छे, मोटी छे, होची छे, काली छे, बढी गोरी छे, बढी उमेरकी छे, पारिवारिक स्थिति हामीसँग मिल्दैन ।

सबै खेपेर विवाह भएपछि पनि छोरीले हिंसा, अवहेलना र शोषणबाट मुक्ति पाउँदिन । सासू र बुहारीबीच नयाँ रूपमा शासन र शोषण सुरु हुन्छ । सासू–बुहारी सम्बन्ध आमा र छोरीको जस्तो सहज, आत्मीय र हाडनाताको होइन । सहज र आत्मीय बनाउन नसकिने होइन । विवाह गरेर आइसकेपछि सासू, नन्द, फुपू लगायतले दाइजोमा के–के दिएनन् भनेर बुहारीलाई सुनाउँछन् । यसरी सुनाउनेमा पुरुष पनि हुन्छन् ।

बुहारीले श्रीमानको परिवारका व्यक्तिहरूलाई सेवा र सत्कार गरेर खुुसी तुल्याउनुपर्ने हुन्छ । सासूले आफू बुहारी हुँदा जस्तो नराम्रो व्यवहार भोगेकी हुन्छन्, त्यस्तै व्यवहार आफ्नी बुहारीमाथि दोहर्‍याउँछिन् । सासू अशक्त र बूढी भएपछि बुहारीले बदला लिन्छिन् । घरेलु र महिला हिंसाको चक्र चलिरहन्छन् ।

पहिलो सन्तान माइतमा जन्माउनुपर्छ भन्ने मान्यता राखिन्छ । बुहारी सबल भइन्जेल परिवारको सेवास्याहार गर्नुपर्ने, जब उसलाई सेवास्याहार जरुरी पर्छ, माइत पठाइदिने † पहिलो सन्तान छोरा जन्मिए केही हुन्न, छोरी जन्मिए सासूबाट थप अवहेलना र अत्याचार सहन तयार हुनुपर्छ । कतिपय नन्दले आफ्नी आमालाई ‘बुहारी यसरी तह लगाउनु’ भनी सुझाव दिइरहेका हुन्छन् । उनीहरूले आफू पनि कुनै घरको बुहारी हो भन्ने बिर्सन्छन् ।

आफ्नी छोरीले हिंसाजन्य व्यवहार गरेको सुन्दा आँसु झार्छन् । बुहारीमाथि त्यस्तै व्यवहार गर्न छाड्दैनन् । हरेक सासूले मेरी छोरी कसैको घरकी बुहारी हो र हरेक बुहारीले मेरी आमा कसैकी सासू हो भन्ने धारण मनमा राखेर माया र आदर गर्ने हो भने यो सासू–बुहारी सम्बन्ध सुमधुर बन्छ ।

महिला हिंसा महिलाबाटै हुन्छ भन्ने सुन्दा मन खिन्न हुन्छ । एउटी महिलाले अर्की महिलाको कुरा र दु:ख बुझ्न सक्छे । एउटी महिला अर्की महिलाको दु:खको कारण बन्न सक्छे । एउटी महिला अर्की महिलाको सहारा र सुखमय पारिवारिक जीवनको कारण किन बन्न सक्दिन ? हरेक महिलाले सासू–बुहारी सम्बन्ध नयाँ आयामबाट विकास गर्न सक्यौं भने घरेलु र महिला हिंसा न्यूनीकरण हुन्छन् । हिंसा रोक्न हामी महिला आफैं सजग हुनुपर्छ ।

माथि उल्लिखित परिदृश्य हरेक महिलाको जीवनमा मेल नखान सक्छ । समयको बदलाव र शिक्षाले कतिपय क्षेत्रमा छोरीप्रतिको व्यवहारमा फेरिएको छ । जहाँ शिक्षा र जनचेतनाको अभाव छ, त्यहाँ यस्तो परिदृश्य हेर्न पाइन्छ । हामी आफैंले प्रयास गरे यसमा परिवर्तन आउन सक्छ । छोरीहरूले स्वर्गको अनुभूति गर्न पाउनेछन् ।

लेखक अधिवक्ता हुन्।

प्रकाशित : भाद्र १८, २०७५ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एकै विद्यालयमा सय अनाथ

रमेशचन्द्र अधिकारी

थलथले (धनकुटा) — सहिदभूमि गाउँपालिकास्थित ठाकुरदेवी माविमा १ कक्षामा पढ्ने ४ वर्षीया संस्कृति राई अनाथ हुन् । उनलाई पालनपोषण गर्ने कोही छैन । बाबुको केही वर्षअघि मृत्यु भयो ।

धनकुटाको सहिदभूमि गाउँपालिका ६ स्थित ठाकुरदेवी माविमा अध्ययनरत बालबालिका । तस्बिर : रमेशचन्द्र

आमा दोस्रो विवाह गरेर अन्यत्रै गइन् । त्यसपछि उनी आश्रयविहीन बनिन् । छरछिमेकको रेखदेखमा उनको दैनिकी बितिरहेको छ ।

संस्कृति मात्र होइन, उक्त विद्यालयमा अध्ययनरत एक सय बालबालिकाको अवस्था यस्तै छ । उनीहरू अभिभावकविहीन छन् । एकै विद्यालयमा यत्ति धेरै अनाथ बालबालिका अध्ययनरत हुनु अनौठो संयोग रहेको प्रधानाध्यापक डिल्लीराम न्यौपानेले बताए । ‘अधिकांश कक्षाकोठामा धेरै विद्यार्थी बाबुआमा गुमाएका अभिभावकविहीन छन्,’ न्यौपानेले भने, ‘कतिपयको अवस्था अति दयनीय छ । उनीहरूको पालनपोषण र पढाइलेखाइ नै प्रभावित हुने अवस्था छ ।’

अधिकांश वैदेशिक रोजगारसँग जोडिएका घटनाबाट अभिभावक गुमाएका रहेको उनले बताए । कतिपयका बाबु वैदेशिक रोजगारमा गएर वर्षौं नफर्किएका र आमाले अर्को विवाह गरेपछि बेसहारा भएका छन् । केही भने आमा वैदेशिक रोजगारमा गएका बेला बाबुले दोस्रो विवाह गरेपछि अलपत्र परेका छन् ।

कक्षा ७ का १२ वर्षीया स्नेहा राईका बाबुआमा साथमा छैनन् । आमा भारतको कुनै स्थानमा रोजगारीमा छिन् । बाबुले अर्काे विवाह गरेर हिंडेपछि उनी वृद्ध हजुरबुबा हजुरआमाको आश्रयमा छिन् । लेखपढ गर्ने मन भए पनि घरायसी कारणले समस्या परेको उनले सुनाइन् । ‘बाजेबजुसँग बस्छु,’ उनले भनिन्, ‘पछि के होला भन्ने चिन्ता छ ।’ हजुरबुबा हजुरआमाको शारीरिक अवस्था कमजोर भइसकेकाले स्नेहाको पालनपोषणमा समस्या उब्जिएको शिक्षिका सीता पोखरेलले बताइन् ।

अधिकांश बालबालिका उनीहरूको अवस्थाबारे कुरा गर्दा भक्कानिन्छन् । कक्षामा पढाइरहेका बेला मार्मिक कथावस्तु तथा उनीहरूको अवस्थासँग मिल्दोजुल्दो भए रुने तथा सम्हालिन नसक्ने अवस्था रहेको पोखरेलले बताइन् । ‘पढाउँदा पढाउँदै पनि भावुक भएर रुन्छन्,’ उनले भनिन्, ‘उनीहरूको आत्मबल असाध्यै कमजोर बनेकाले पढाइमा समेत असर पुगिरहेको छ ।’

१२ वर्षीय अनमोल राईका बाबुको केही वर्षअघि हत्या भएको थियो । आमाले अर्को विवाह गरिन् । त्यसपछि उनको अवस्था दयनीय छ । उनी फुपूको रेखदेखमा छिन् । कक्षा ३ का ८ वर्षीय प्रवेश परियारको अवस्था पनि कारुणिक छ तर उनका बाबुआमाको अवस्था अरूको भन्दा फरक छ ।

बाबु गंगाबहादुर शारीरिक रूपमा पूर्ण अशक्त छन् । वैदेशिक रोजगारमा कुवेत गएकी आमा बालकुमारी काम गर्ने क्रममा विदेशमै लडेर मेरुदण्ड भाँचिएपछि उनको पालनपोषण गर्ने अभिभावक नभएको हो ।

१० कक्षाकी करिश्मा राईकी आमा यज्ञकुमारीको निधन भएको र बाबु दिनेशकुमारबाट भरथेग गर्ने अवस्था नहुँदा उनको भविष्य अन्योलपूर्ण छ । आफन्तलाई सघाएर लेखपढ गर्दै आएको उनले बताइन् । घरायसी प्रसंग जोडदा उनी भक्कानिएर रुने गर्छिन् । १० कक्षाकै केशिका राईको पनि कमाएर पाल्ने बाबुको मृत्यु भएपछि चिन्तित छिन् । उनीहरूजस्तै अवस्था भोग्दै गरेका कैयौं बालबालिका त्यहाँ अध्ययनरत छन् ।

विद्यालयको सीमित छात्रवृत्ति कोषबाट सामान्य सहयोग जुटे पनि अन्य आधार नहुँदा बालबालिकाको भविष्य चिन्ताजनक बनेको शिक्षिका करुणा राईले बताइन् । कतिपय यस्ता अवस्थाका बालबालिका विद्यालय आउन छोडिसकेका र अनियमित हुने गरेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT