छोरीहरुको सुरक्षा

आफ्नै परिवेश
जबसम्म बलात्कारीलाई कडा सजाय दिन सकिँंदैन, तबसम्म हाम्रा कलिला नानीहरूदेखि आमा, हजुरआमाहरूको अस्मिता संकटमा परिरहन्छ ।
झमक घिमिरे

काठमाडौँ — आँखा हुन् छोरीहरू तिनै आँखाबाट म संसार नियाल्ने गर्छु दुई बलिया पखेटा हुन् मेरा तिनकै बलमा म जगत्‌काे विचरण गर्छु ।

कवि सुलोचना मानन्धरले भनेझैं छोरीहरू सबैका आँखा भइदिए कति जाती हुन्थ्यो, सबैका पखेटा भइदिए कति वेश हुन्थ्यो ।

तर यहाँ छोरीहरूलाई फुल्नै नपाई बलात्कार गर्ने ब्वाँसाहरूको बिगबिगी छ । छोरीहरू दिनदिनै अकालमै मारिने क्रम बढेको छ । यौनपिपासुले नाबालिकादेखि वृद्धा आमालाई समेत छाडेका छैनन् । स्त्री जातिलाई सधैं भोगको रूपमा परिभाषित गरियो, त्यही रूपमा संस्कारमा बुझियो र बुझाइयो ।

Yamaha

महिला भएर जन्मिनु एक अर्थमा अभिशापजस्तै बनाइयो छ । हाम्रो मानसिकतामा थोरै फेरबदल आए पनि पुरानै सोचविचारले हामी ग्रस्त छौं । छोरा जन्मिए हर्षित हुन्छौं, छोरी जन्मिए बाहिर अनुहारमा नदेखाए पनि भित्र मनको एक कुनामा खल्लोपनको आभास गरिरहेका हुन्छौं । आखिर किन ?

हाम्रो आफ्नै मानसिकतामा परिवर्तन गर्नु आवश्यक छ । सन्तान जुन लिंग जन्मे पनि प्रसव वेदना उस्तै हुन्छ, समय उत्तिकै लाग्छ, हुर्काइमा उत्तिकै समय खर्चनुपर्छ । अनि किन भेद गरिरहेका छौं, हामी ? सन्तान जन्माउनु मात्र ठूलो कुरा होइन, उसको हुर्काइ कस्तो वातावरणमा भएको छ, त्यही अनुसार उसको चेतना यावत कुरा विकसित हुँदै जाने हो ।

छोरा र छोरी या अन्य लिंग लिएर जन्मिँदैमा आफैंमा नराम्रो हुँदैन । नराम्रो त अभिभावकत्वको मानसिकतामा छ । केहीलाई छाडेर अधिकांश अभिभावकको मनमा के हुन्छ भने सन्तानभन्दा छोराको चाह बढी हुन्छ, यो मानसिकता हाम्रो समाज, देशमा मात्र होइन, विकसित समाज र देशमा पनि रहेको पाइन्छ ।

किनभने भौतिक रूपमा जतिसुकै विकासको चरम चुली उक्लिए पनि मानिसको सोच र विचारमा अझै भेदमुक्त समाजको परिकल्पना गर्न सकिएको छैन भन्ने कुराको प्रमाण बेलायतको राजपरिवारभित्र छोराले विवाह गरेकी बुहारीले पालना गर्नुपर्ने नियमले स्पष्ट पारेको छ । यहाँसम्म कि बुहारीले आफूले लाउने वस्त्रहरू पनि राजदरबारबाट तोकिएको मात्र लगाउनुपर्ने आफूलाई मनपरेका वस्त्रहरू लाउन नपाउने नियम लादिएको छ । त्यसको ठाउँमा कुनै पुरुष हुन्थ्यो भने उसलाई पनि यस्ता खालका नियमहरू लाइन्थ्यो त ?

विश्व समुदायको मानसिकता हेर्दा पुरुषप्रधान सोचविचारमै चलेको देखिन्छ । यसले पनि के देखाउँछ भने सारा विश्व एक लिंगीय परम्परा, सोच र विचारमै चलेको स्पष्ट हुन्छ । यस सन्दर्भमा हेर्दा नेपालजस्तो अल्पविकसित मुलुकमा स्त्री जातिको समग्र अवस्था मूल्यांकन गर्दा दयनीय नै छ ।

यस्तो अवस्थामाथि छोरीहरू जबर्जस्ती बलात्कृत हुने, अपहरित हुने, उनीहरूको चरित्रमाथि प्रश्न उठ्ने र दाग लाग्ने घटना दिनदिनै भइरहेका छन् । यी घटना आम मानिसका लागि सामान्य बन्दै गइरहेका छन् । वर्तमान सरकारले यस्ता घटनाका दोषीहरूलाई निष्पक्ष छानबिन गरेर कारबाही गर्छु भने पनि दोषीहरूले आम जनताले चाहेजस्तो खोइ के कारणले सजाय पाइरहेका छैनन् ।

जबसम्म सबै उमेरका स्त्री जातिलाई जबर्जस्ती बलात्कार गर्नेहरूलाई कडा सजाय दिन सकिँंदैन, तबसम्म हाम्रा कलिला नानीहरूदेखि आमा, हजुरआमाहरूको समेत अस्मिता संकटमा परिरहन्छ र यस्ता यौनपिपासुहरूको यौनभोक मेट्ने साधन बनिरहन्छन् । हाम्रा कलिला शिशुहरूदेखि आमा, हजुरआमाहरू यिनको सुरक्षाका लागि सरकारदेखि सडकसम्म आवाज पनि नउठेका होइनन् ।

यी उठेका आवाजको सम्मान गर्न सबै तहतप्काका चेतनशील मानिस एक हुन आवश्यक छ र यस्ता अपराधीहरूलाई दण्डित गर्न सामाजिक तहबाट पनि पहल गर्नु आवश्यक छ । तब त्यस्ता घटना न्यून हुन्छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साफ च्याम्पियनसिप: फेरि निराशाजनक सुरुआत

नेपाल १–२ पाकिस्तानबंगलादेश २–० भुटान
हिमेश, कञ्चन अधिकारी

ढाका — एसियाली खेलकुदमा नेपालले पाकिस्तानविरुद्ध बेहोरेको हार संयोग मात्र थिएन । बरु नमिठो संयोग के रह्यो भने नेपालले साफ च्याम्पियसिपको उद्घाटन खेलमा पनि त्यही अन्तरको हार बेहोर्‍यो ।

जाकार्तामा हारसँगै नेपालको नकआउट चरण प्रवेशको सम्भावना टुंगिएको थियो । यता ढाकामा नेपालको सेमिफाइनल पुग्ने समीकरण जटिल बनेको छ । इन्डोनेसियामा बेहोरेको हारको नेपालले शिक्षा लिन सकेन र महँगो हार आत्मसात् गर्न बाध्य रह्यो । अन्तिम समयमा बराबरीको स्थितिमा रहेर पनि नेपाल पराजित रह्यो ।

यो हार किन पनि साह्रै नमिठो रह्यो भने पाकिस्तानी राष्ट्रिय टिमले साढे दुई वर्षपछि औपचारिक खेल खेलिरहेको थियो । त्यसमाथि केही प्रमुख खेलाडी बिरामी थिए । अधिकांश खेलाडी खेल्ने मानसिकतामै थिएनन् । ‘साँचै हामी ठूलै समस्यामा थियौं, तर पनि जित निकाल्न सक्यौं ।

त्यसमा खुसी हुनेबाहेक अरू के नै हुन सक्छ र ? यो जितको पाकिस्तानी फुटबलमा लामो दिनसम्म प्रभाव हुनेछ,’ पाकिस्तानका ब्राजिली प्रशिक्षक एन्टोनियो नोगुराले भने ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्ध, आन्तरिक विवाद र पूरा देशको फुटबलप्रति कमजोर रुचिका बाबजुत पनि पाकिस्तान बंगलादेश आएको थियो र सबैको अपेक्षाविपरीत पूरा तीन अंक बटुल्न सफल रह्यो ।

अर्कोतर्फ यो हारले नेपालका लागि अबको बाटो कठिन भएको छ । सार्क गोल्डकप र साफ च्याम्पियनसिपको इतिहासमै नेपालले आफ्नो पहिलो खेलमा दुई अवसरमा मात्र जित निकालेको छ । पहिलो खेल गुमाएको सात अवसरमा नेपाल लिग चरणमै रोकिएको छ । इतिहासको यो प्रवृत्ति रहे पनि नेपालका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन भने अझै आशावादी छन् ।

उनको दाबी थियो, ‘खेलमा जे पनि हुन सक्छ । आजको हार त्यस्तै रह्यो । तर हामी यसमै निराश रहने छैनौं । हाम्रो अगाडि अब दुई खेल छन् र त्यसमै केन्द्रित हुनेछौं । मलाई पूरा विश्वास छ, अबको दुई खेलमा हामी राम्रो गर्न सक्छौं ।’ उनको दाबी थियो, अन्तिम दुई खेलमा नेपाल आफ्नो पक्षमा अनुकूल नतिजा निकाल्न सक्षम पनि छ । समूह ‘ए’ कै अर्को खेलमा आयोजक बंगलादेश भुटानमाथि सजिलै विजयी रह्यो । अब नेपालले बिहीबारको खेलमा भुटानको सामना गरेयता लिगको अन्तिम खेल आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।

खेलाडीको तारिफ
प्रशिक्षक महर्जनले हारको तीतो सत्यबीच पनि आफ्ना खेलाडीको प्रशंसा भने गरे । उनको दाबी थियो, ‘सबै खेलाडीले राम्रो गरे, आफ्नो भूमिका निभाए । नेपालले राम्रो सुरुआत गरेको थियो, तर अन्तिम समयमा सम्हाल्न सकेन । हाम्रा खेलाडीको प्रदर्शनमा मलाई गर्व छ ।’ उनले युवा लेफ्ट ब्याक सुमन अर्याललाई डेब्युको अवसर दिए र उनलाई नेपाली फुटबलको भविष्य रहेको बताए । ‘उनी निकै प्रतिभाशाली खेलाडी हुन्,’ उनको भनाइ थियो ।

एन्फा एकेडेमीका उत्पादन अर्याल उमेर समूहको चरण पार गर्दै नेपालको राष्ट्रिय टिममा प्रवेश पाउन सफल भएका हुन् । महर्जनले पाँच वर्षयता नेपाली टिममा नरहेका नीराजन खडकालाई पनि पुनरागमनको मौका दिए र उनले केही हदसम्म आफ्ना प्रशिक्षकलाई निराश पनि पारेनन् । उनी नवयुग श्रेष्ठको स्थानमा ६७ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनले मध्यपंक्ति सम्हालेपछि विमल घर्तीमगरले अगाडि खेल्ने अवसर पाएका थिए ।

यसै क्रममा विमलले ८२ औं मिनेटमा बराबरी गोल गरे । सुनील बलको कर्नरमा नीराजनले हेडर फ्लीक गर्दै स्थिति तयार पारेपछि विमलले नजिकको दूरीबाट गोल गरेका हुन् । उनको यस गोलसँगै नेपाल खेलमा फर्केको थियो र लागेको थियो, इतिहास दोहोरिनेछ । सन् २०१३ को साफ च्याम्पियनसिपमा पनि यस्तै एक गोलले पछाडि रहेको स्थितिमा गोल गर्दै खेल बराबरी गरेका थिए । तर यसपल्ट फरक इतिहास लेखिने तय थियो, त्यसैले नेपालका लागि विमलको सातौं गोलले काम गरेन ।

जादुयी जित
ब्राजिली प्रशिक्षक नोगुराका लागि भने पाकिस्तानको जित जादुयी थियो । जुन स्थितिमा पाकिस्तानले यो जित निकालेको थियो, त्यसका लागि सायद जादु शब्द नै बढी उपयुक्त हुन्छ । ‘यो जितले पाकिस्तानी खेलाडीलाई हामी पनि फुटबल खेल्न सक्छौं भने विश्वास बढाउनेछ,’ उनले भने । प्रशिक्षक नोगुराले नेपाली खेलाडीको प्रशंसा गर्न पनि बिर्सेनन् । उनको भनाइअनुसार नेपालले छिटो र छरिटो खेलेर उनको पनि मन जित्यो, तर जित भने पाकिस्तानकै नाममा लेखिएको थियो ।

पाकिस्तानले पेनाल्टीबाट ३६ औं मिनेटमा अग्रता लिएको थियो । हसन नविदको प्रहारलाई नेपाली गोलरक्षक किरण लिम्बूले सही अनुमान लगाउन सकेनन् र बलले सजिलै पोस्टको दिशा लियो । नेपालका लागि ६८ औं कीर्तिमानी क्याप जितिरहेका विराज महर्जनले पेनाल्टी एरियामा मोहम्मद रियाजलाई लडाएपछि पाकिस्तानको पक्षमा निर्णय गएको थियो । जोर्डनका रेफ्री मोहम्मद अराफको निर्णय सायद केही हदसम्म सहानुभूति बटुल्ने खालको थिएन ।

यसमा नेपाली प्रशिक्षक महर्जनले खासै प्रतिक्रिया दिन चाहेनन् । पाकिस्तानको दोस्रो तथा निर्णायक गोल भने इन्ज्युरी समयको पनि अन्तिम अवसरमा सम्भव भएको थियो । मोहम्मद अदिलको क्रसलाई सदुल्लाहले सटिक पास मिलाएपछि मोहम्मद अलीले हेडबाट गोल गरे र यो उनको शक्तिशाली प्रहार थियो । यो गोलपछि जहाँ पाकिस्तानी खेलाडीबीच ठूलो खुसियाली छाएको थियो, त्यहीं नेपाली खेलाडी निराश रहे । यो निराशा कति धेरै थियो भने नेपाली खेलाडी सिधै ड्रेसिङ रुम लागे ।

नेपाली टिम : किरण लिम्बू, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, अञ्जन विष्ट, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तीमगर, भरत खवास (सुनील बल ७३), नवयुग श्रेष्ठ (नीराजन खड्का ६७)

प्रकाशित : भाद्र २०, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT