खेल होइन भन्दाभन्दै पदक

सम्पादकीय

काठमाडौँ — जमिनबाट हावामा छलाङ मार्नु । हावामा कावा खाँदै फेरि जमिन टेक्नु । त्यसरी नै नेपाल छोटो तयारीमा एसियाड गयो । प्याराग्लाइडिङलाई पनि समावेश गर्ने भनिएपछि गत माघदेखि तयारी थालिएको मात्र थियो, पहिलो खेपमै रजत पदक आयो ।

व्यावसायिक उडानका ग्लाइडर नै यसका व्यावसायिक खेलाडी । नेपाल पाराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका पदाधिकारीकै उत्साहमा नेपालले सहभागी हुने निर्णय गर्‍यो । सबै ग्लाइडर आफ्नै ग्लाइडरसहितको सरसामानसहित जकार्ता उडे ।

त्यसो त एसियाली खेलकुदका डेब्यु खेलमा नेपालले कुनै न कुनै पदक जित्ने गरेको छ । सन् १९९६ सोल एसियाडमा तेक्वान्दो र बक्सिङले पदक जिते । सन् १९९४ का हिरोसिमा एसियाडमा कराँते । तेक्वान्दो, बक्सिङ र कराँतेमा एसियाड पदक हामीले जित्यौं तर अरू देशले आफूलाई सुधार्दै लगे, हामी जहीँको तहीँ ।

Yamaha

यसपटक पनि नेपालले पहिलो ‘इन्ट्री’ मै बाजी मार्‍यो । त्यस्तो खेलमा जसलाई हिजोसम्म खेल नै होइन भन्ने गरिन्थ्यो । बीस वर्षअघि त हो, केही विदेशी पारासुट बोकेर सराङकोटबाट पोखरातिर हामफाले । चिलजस्तै एकनासले उड्दै फेवा किनार ओर्लिए । पोखराका पर्यटन व्यवसायीले सोचे, यस्तो पनि सम्भव छ ? बिरु बम्जन त्यतिखेर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष थिए ।

बेलायती पर्यटक एडम हिलले सराङकोटबाट पाराग्लाइडिङ गर्न सकिने सम्भावना देखाए । उनीहरू मिलेर पदयात्रारत विदेशी पर्यटकलाई पाराग्लाइडिङ गराए । सन् २०१० तिरबाट पाराग्लाइडिङ व्यावसायिक बन्यो । सराङकोटसँगै तोरेपानी र मान्द्रेढुंगाबाट । अब त धरान, स्याङ्जा, बन्दीपुर, पाल्पा, काठमाडौं र सुर्खेतमा पाराग्लाइडिङलाई अनुमति ।

पोखरामै ६२ व्यावसायिक पाराग्लाइडिङ कम्पनी भइसकेका छन् । ती कम्पनीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अस्थायी लाइसेन्स प्राप्त ३ सय पाइलट छन् । खेलकुदमा सहभागी हुन नेपाल हवाई खेलकुद संस्था (ना) बाट छुट्टै लाइसेन्स लिनुपर्छ । त्यसरी लाइसेन्स लिने पाइलट २५ मात्रै छन् । उदयपुरको बेलका नगरपालिकाले त पाराग्लाइडिङ तालिम प्रशिक्षण केन्द्र सञ्चालनका लागि स्कुल स्थापना गरिसकेको छ ।

धन्य हो, सन् २००४ देखि युवा पुस्ता आकर्षित भए । देशभित्रै पाइलट उत्पादन भएपछि सन् २०१० यता यो साहसिक खेलमा दरियो । अहिले बाह्यभन्दा पनि आन्तरिक पर्यटकले पाराग्लाइडिङ धानेका छन् । विदेशी पाइलटलाई पनि नेपालीले विस्थापित गरेका छन् । २००८ सम्म यसलाई खेल नै होइन भनिन्थ्यो, राखेपबाट मान्यता नपाउन्जेल ।

चासो त सरकारले अझै दिएको छैन । व्यवसायीले नै रकम उठाएर खेलाडी पठाउँदै आएका छन् । एसियाडमा मात्रै केही सक्रियता देखियो । केही महिनाअघि चीनमा भएको प्रि–वल्र्डकपमा विशाल थापाले तेस्रो स्थान हासिल गरेका थिए । इन्डोनेसियामै भएको प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको थियो । यसबारे सरकारी नीति छैन भन्दा पनि हुन्छ । राज्यको लगानीबिनै पहिलोपटक यति ठूलो पदक जितिएको हो ।

पर्यटकलाई आकर्षण गर्ने गरी खेल पर्यटन विकास गर्न सकिन्छ । राज्यले व्यवसायीलाई प्याराग्लाइडिङ गरेर कमाएका छन् भनेर मात्र सोच्नु हुँदैन । प्याराग्लाइडिङ कहाँ–कहाँ सम्भव छ भनेर व्यवसायीहरू आफैंले अनुसन्धान गरेका छन् । राज्यले सुको खर्च गरेको छैन । नागरिक उड्डयन प्राधिकरणको काम विमानस्थल मात्र बनाउने होइन, हवाई व्यवसाय विस्तार गर्ने पनि हो ।

पर्यटन व्यवसाय र खेलका लागि हवाई क्षेत्र छुट्टै तोकिदिनुपर्ने भइसकेको छ । सुन्दर देशमा यस्तो साहसिक खेल हेर्न को आउँदैन ? निश्चित क्षेत्र निर्माण गरियो भने विदेशी खेलाडी पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनुअघि अभ्यास गर्न यहाँ आउन सक्छन् । यतै मनोरञ्जन गर्छन् । उनीहरूको आगमनले अरू पर्यटकलाई पनि लोभ्याउन सक्छ । व्यवसायीहरूले देखेको यस्तो सपना सम्भव छ । राज्यले होस्टे गरिदिने हो । होम स्टे जनताले गराउँछन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महिला उद्यमको उल्झन

सम्पादकीय

काठमाडौँ — छोरीहरू जो सपना देख्छन्, ठूली भएपछि भिजन भएका महिला बन्छन् भन्ने पश्चिमा लोकोक्ति छ । पूर्वमा पनि त्यही हो । छोरीका लागि सजिलो छैन । सानी होउन् कि ठूली । सानीका समस्या सानै होलान्, आम नेपाली महिलाका समस्या पुरुषका तुलनामा ठूला छन् ।

त्यसकारण हाम्रो समाज अझै पनि असमान छ । लोकतन्त्र औपचारिक छ । नरनारी समान नभएसम्म भेदभाव रहिरहन्छ ।

काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन, २०७५ हुँदा पनि विषय त यिनै हुन् । २७ देशका दुई सय उद्यमी महिलाको भेलामा व्यवसाय गर्न अझै पनि महिलालाई विश्वास जित्न गाह्रो पर्छ, सम्बन्ध विस्तार गर्न पनि भन्ने सवाल उठेका छन् । अर्को लोकप्रिय भनाइ छ, ‘एउटी महिलाको सबभन्दा ठूलो सुरक्षा उनको हकको आफ्नै पैसा हो ।’

हाम्रोजस्तो अर्थ राजनीतिक र सामाजिक दृष्टिकोण भएको समाजमा त्यो अझ बढी सत्य हो । महिलाका हातमा पैसा पर्नु बढी आवश्यक छ । महिला आर्थिक रूपमा सक्षम छैनन् किनभने उनीहरूको नाममा सम्पत्ति छैन । सम्पत्तिमा पहुँच छैन । घरपरिवारले विश्वास गर्दैन । लगानीको वातावरण जुटाउन सघाउँदैन । बैंकमा धितो राखेर कर्जा लिन पनि कठिनाइ छ ।

छोरीले उद्योग सञ्चालन गर्न खोज्दा परिवारले बिहेमा जोड दिन्छ । बुहारीलाई अझ गाह्रो छ । परिवारको मन जितेर र आउन सक्ने समस्या समाधानका विकल्प पहिल्यै खोजेर मात्रै एउटी महिला घरबाट पसल वा उद्योगसम्म पुग्नुपर्छ । ऋणका लागि सासूससुरा या श्रीमान्को मुख ताक्नुपर्छ । व्यवसाय छनोट गर्न परामर्श गर्ने ठाउँ छैन । अँध्यारोमा ढुंगा फालेसरह व्यवसायमा हात हाल्नुपर्छ ।

सरकार कनिकाझैं पैसा बाँड्छ तर महिला आत्मसम्मान बढ्ने आत्मनिर्भरताका ठोस काममा निर्दिष्ट छैन । उद्यम/व्यवसाय गर्न चाहने महिलालाई बिनाधितो सहुलियत ब्याजमा कर्जा लगानी गर्न नचाहनुको कारण महिला आन्दोलन अझै अपूरो, अधुरो रहनु हो । न्याय र समानताको बुझाइको अभाव हो । महिलाले सञ्चालन गरेका उद्योगलाई निश्चित रकम ब्याजमा कर्जा दिने भन्छ सरकार तर त्यसको प्रक्रिया झन्झटिलो छ ।

महिला उद्यमशीलता विकास कोषले महिला उद्योगीलाई ३ वर्षका लागि ६ प्रतिशत ब्याजमा १ देखि ५ लाख रुपैयाँ उपलब्ध गराउने गरेको थियो । २०७२ मा दस जिल्लाबाट बिनाधितो सुरु भएको यो कार्यक्रम यो वर्षको बजेटमा हटाइएको छ । महिला उद्यमशीलताप्रतिको बुझाइ र सम्मानको सर्वथा अभावको यही प्रमाण हो ।

बरु निजी क्षेत्रबाट महिला उद्यमी महासंघले एक वर्षमा ४ सय ३५ जना अनौपचारिक उद्यम गरिरहेका महिलालाई औपचारिक उद्यमी बनाए, कर प्रणालीअन्तर्गत ल्याएर । कर तिरेपछि पहिचान बन्छ । आत्मविश्वास बढ्छ । देशको आयमा सहयोग पुर्‍याएकामा आत्मसन्तुष्टि बढ्छ । महिला उद्यमशीलताका लागि सामाजिक तगारा त छन् नै, आर्थिक पहुँचको अभाव र बजारीकरणका कठिनाइ पनि उत्तिकै ।

लोकतन्त्र साकार पार्न महिलालाई समान अवसर सुनिश्चित गर्नुपर्छ । त्यसका लागि सरकारले यो वर्ष यति महिलालाई यो स्तरको उद्यमी बनाउँछु भन्ने खाका ल्याउनुपर्छ । सरकार त सधैं नारामा सीमित रहन रुचाउँछ । आज बिचौलिया राज छ, नाम पनि उनकै, फाइदा पनि उनलाई नै । उद्योगी महिला झन् पीडित छन् ।

उद्यमशीलता विकास कोष स्थापना गरेर के गर्नु ? सरकारले हात झिक्यो, बैंकले फाइदा देखेन । हाम्रो लोकतन्त्र समानताका लागि हो भने व्यापक मन्थन जरुरी छ । पहिले त महिला आफैंले संघर्ष गर्नु, अमेरिकी लेखिका आयन र्‍यान्डले भनेजस्तो, ‘तपाईंलाई कसले गर्न दिन्छ भन्ने प्रश्न होइन, कसले रोक्छ भन्ने हो ।’

प्रकाशित : भाद्र २०, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT