आइमाईको बुद्धि !

बुद्धि लैङ्गिक पहिचान गरेर पुरुषकै शरीरमा मात्र स्वचालित एवं अनियन्त्रित ढङ्गले पलाउने र विस्तार हुने ऐंजेरु होइन होला ।
लीला लुइँटेल

काठमाडौँ — परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो ।

यसको समाप्तिपछि महिलालाई मानवभन्दा तल्लो स्तरमा राखेर व्याख्या र व्यवहार गर्न प्रारम्भ भयो ।

पाश्चात्य साहित्यशास्त्रका चिन्तक एरिस्टोटलले ‘केही गुणको कमीका कारण नारी नारी भएको हो’ भन्दै महिलाका त्रुटि एवं कमजोरीतर्फ सङ्केत गरेका छन् । सेन्ट टमस एक्विनसले नारीलाई ‘अपूर्ण मानिस’ भनी नारीकै खोट देखाउन परिश्रम गरे । अर्काेतिर मनोविश्लेषक फ्रायडले नारीमा पाइने ‘शिश्न ईश्र्या’को सन्दर्भ उल्लेख गर्दै नारीको नियतिलाई शारीरिक बनोटगत अपूर्णताको परिणाम भनी व्याख्या गरे ।

Yamaha

फ्रायडले गरेको शिश्न ईष्र्याको सन्दर्भचाहिँ समाजमा कतै–कतै देखिन सक्छ । तर यस प्रकारको शिश्न ईष्र्या नारीभित्र रहेको प्रकृति प्रदत्त गुण वा अवगुणका कारण नभई परिवार एवं समाजद्वारा गरिने लैङ्गिक विभेदले उत्पन्न हुनसक्ने ईष्र्या हो भन्ने नबुझ्ने कोही छैन होला । यसरी अधिकांश दार्शनिक, चिन्तक, वैज्ञानिक, नेता, विद्वान्ले पुरुष भएकैले नारीलाई पुरुषभन्दा हीन ठानेर व्याख्या गरेको स्पष्टै देखिन्छ ।

पूर्वीय एवं पाश्चात्य क्षेत्रमा भएका अनुसन्धानले सन्तानका लागि बुद्धि निर्माण, विकास र विस्तार गर्ने कोषमा बाबुको कि आमाको अंश बढी हुन्छ भनेर निक्र्याेल गर्नसकेको जानकारी कतै पाइँदैन । भू्रण निर्माणमा बाबुको शुक्रकीट अनिवार्य भए पनि यसको विकास र विस्तारमा सम्पूर्ण भूमिका आमाकै रहने ध्रुवसत्य हो ।

भ्रूणका रूपमा रहँदा महिलाकै रगतको भरणपोषणबाट शरीर निर्मित हुन्छ । मानवका रूपमा जन्मिसकेपछि लामो समयसम्म ऊ महिलाकै सेतो रगतमा आश्रित हुन्छ भनी यहाँ व्याख्या गरिरहनु पर्दैन । यस्तो प्रत्यक्ष सत्य दृष्टिगोचर हुँदाहुँदै पुरुषहरूले कुन विवेकलाई साक्षी राखेर ‘आइमाईको बुद्धि हुँदैन’ भन्छन् । बुद्धि लैङ्गिक पहिचान गरेर पुरुषकै शरीरमा मात्र स्वचालित एवं अनियन्त्रित ढङ्गले पलाउने र विस्तार हुने ऐँजेरु होइन होला ।

नेपाली समाजमा पनि महिलाबाट हुने झिनामसिना गल्तीलाई स्वीकार्न नसकेर वा नचाहेर ‘आइमाईको बुद्धि हुँदैन’ भनेर होच्याउने अभीष्टले क्षूद्र टिप्पणी गरिएको जताततै सुनिन्छ । अर्काेतिर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भनेर सन्तानको बुद्धिमा आमाको प्रत्यक्ष प्रभाव रहने कुरा व्यक्त गरिएको पाइन्छ । तर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भन्ने उखान पनि कुनै सन्तानले गलत बाटो पहिल्यायो भने आमालाई होच्याउन मात्र प्रयोग गरिन्छ ।

सन्तानले सुमार्ग रोज्यो भने आमालाई श्रेय दिन यस्तो टिप्पणी गरिँदैन । अझ सन्तानले झिनामसिना कुनै गल्ती गर्दा बाबुले ‘हाम्रो छोरो/हाम्री छोरी’ नभनी ‘तेरो छोरो, तेरी छोरी’ भन्दै आमातिरै औँला ठड्याएको देखिन्छ । तिनै सन्तानले राम्रो काम गरेको आभास हुनासाथ नाक फुलाउँदै ‘देखिस्, मेरो छोरो, मेरी छोरी’ भन्दै आमालाई इख्याउँछन् । यसरी लामो समयदेखि नै पुरुषले सकारात्मक सन्दर्भका जशजति आफ्नो भागमा पार्दै नकारात्मक सन्दर्भका दोषजति महिलाकै टाउकोमा खन्याएर आफू महान हुन खोजेको स्पष्टै देखिन्छ ।

विद्युतीय सञ्चारको युगमा पुरुषले गरेका र गर्नसकेका प्रत्येक काम महिलाले सफलतापूर्वक सम्पन्न गरिरहेका उदाहरण प्रशस्तै छन् । तर हाम्रा कतिपय विधिव्यवहार सूक्ष्म रूपमा हेर्ने हो भने महिलाले सहजतापूर्वक गरिरहेका काम सहजतापूर्वक गर्न पुरुषलाई हम्मे परिरहेको पाइन्छ ।

बुद्धि लगाउनुपर्ने भनिएका कुनै पनि काममा पुरुषजत्ति नै अवसर प्राप्त महिलाको सहभागिता उत्साहजनक देखिन्छ । महिला संलग्न भएकै कारण त्यस्ता काम असफल भएको देखिँदैन । सफलता र असफलताको निर्धारण लिङ्गका आधारमा नभएर व्यक्तिले पाएको अवसर तथा उसको लगन एवं परिस्थितिमा भर पर्ने यथार्थ सबैले बुझेकै हुनुपर्छ । अवसर पाएका पुरुषले आफूलाई महान देखाउनकै लागि अवसरबाट वञ्चित आफ्नै आमालाई होच्याउने अभीष्टले यस्तो टिप्पणी गर्नु सभ्य व्यक्तिलाई कत्तिको सुहाउँछ, त्यो व्यक्ति स्वयंले अनुभूत गर्ने कुरा हो ।

लामो समयदेखि फुक्काफाल भएर महिलालाई मानवभन्दा तल्लो स्तरमा राखी शासन गर्ने अवसर पाएको पुरुषले महिलालाई कमजोर ठानेर उसलाई होच्याउन यस्ता टिप्पणी गरेको स्पष्टै देखिन्छ । यस्ता उखानको विरोध गर्नु यस लेखको अभीष्ट होइन ।

विज्ञान सम्मत नभएका अनि व्यवहारले पनि पुष्टि गरिसकेका सत्य–तथ्यलाई समेत बेवास्ता गर्नु र सकारात्मक सन्दर्भका जशजति पुरुषका भागमा पार्न खोज्दै नकारात्मक सन्दर्भका अपजशजति महिलामाथि थोपर्न खोज्ने पितृसत्तात्मक मानसिकताका उपजलाई समाजले त्याग्न ढिलो भइसकेको छ ।

महिला हिंसा शारीरिकमात्र नभई मानसिक पनि हुन्छ । यस खाले टिप्पणी नगरे महिला हिंसा न्यूनीकरण मात्र होइन, स्वस्थ एवं समतामूलक समाज निर्माणमा सघाउ पुग्थ्यो कि?

प्रकाशित : भाद्र २१, २०७५ ०८:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दलित आन्दोलनको लय

सबैजना लागेको विभेद अन्त्यकै लागि हो । समस्याको हल एउटा मात्रै छैन, अनेक छन् ।
किरण विक

काठमाडौँ — प्रगतिशील र धेरै समस्याको समाधान दिएको भनिएको ‘नेपालको संविधान’ दलितको सवालमा भने पहिलेभन्दा अनुदार छ । मूलधारको राजनीति समृद्धिको यात्रामा लागेको छ ।

अब राजनीतिक मुद्दा सकियो, सामाजिक मुद्दा कहिल्यै सकिँदैनन्, तिनलाई हल गर्दै जाऔंला भन्दै । ठूला राजनीतिक मुद्दा सकिए पनि दलित सवाल उठानमात्र भएको थियो, उचित बैठान हुनै पाएन ।

२०६२/६३ सालदेखि संविधान जारी हुनु अघिसम्म दलित मुद्दाले अलिकति गति लिएको थियो । यसलाई दलितहरूले सन्तोषजनक उपलब्धि मानेका थिए । अचानक राजनीतिले कोल्टे फेर्‍यो । राजनीतिक दलले यस मुद्दालाई लरतरो तरिकाले समाइरहे, तर मूल मुद्दा अरूलाई नै बनाएर । यसकारण मुद्दा लावारिसजस्तै देखिएको छ । एक समयका दलित आन्दोलनका चर्चित अनुहार ‘दलित मुभमेन्ट बढ्न सकेन’ भन्दै निराशा पोखिरहेका छन् । के अब दलित आन्दोलन सकिएकै हो ?गैरदलित भने दलित मुद्दा आवश्यकताभन्दा बढ्ता चर्को भएको ठान्छन् । दलितहरूले प्रशस्त अवसर लिइसकेको भन्छन् । दलितको अवस्था हिजोको जस्तो नरहेको बताउँछन् ।

सावधानीपूर्वक ‘ह्यान्डल’ गर्नुपर्ने अवस्थामा आइपुगेको छ, दलित सवाल । दलितहरूले नाम मात्रको देखावटी अवसर पाइरहेका बेलामा पनि गैरदलितले भाग खोसिएको ठान्दै असन्तुष्टि जनाउन सुरु गरेका छन् ।

हिजो एउटा ठूलो समूहले जानाजान भेदभाव गरेको थियो । आज त्यही समूह नजानी–नबुझी भेदभाव गर्दैछ । दलित आन्दोलनलाई छिटपुट गैरदलितको सहयोग र सद्भाव थियो । अब झन् ठूलो गैरदलित समूहले दलित समस्या सुल्झाउन अपनत्व लियो भनेमात्र यो छिटो सफल हुनेछ । जसरी महिला अधिकारको आन्दोलन पुरुषको ब्यापक समर्थनमा मात्र सफल हुन्छ, त्यसरी नै दलित आन्दोलनले पनि अन्य जातिको समर्थन र सद्भावमा मात्र गति लिन सक्छ । दलितहरू पछि पर्दासम्म समाज पछि पर्छ ।

सबै कुराको फैसला राजनीतिले गर्छ । नेपालमा दलित सवाललाई गति दिने काम भने एनजीओले गरेको छ । मार्टिन लुथर किङ जुनियरले भनेझैं एक ठाउँको अन्याय दुनियाँको जुनसुकै कुनाको न्यायको लागि खतरा हो । अहिलेको दलित आन्दोलनमा मूलत: दलितमात्रै छन् ।

प्राज्ञिक र बौद्धिक स्तरमा भने गैरदलितको पनि समर्थन छ । एउटा समय यस्तो थियो, दलितसँंगको सामुहिक भोजन र मन्दिर प्रवेशलाई पनि ठूलो क्रान्तिकारी कदम मानिन्थ्यो । तर त्यतिले पुग्दैन । राजनीतिक नेताहरूको छुट्टै बुझाइ छ । एनजीओकर्मीको छुट्टै । दलित एकेडेमिकहरूको झन् अर्कै । सबैजना लागेको विभेद अन्त्यकै लागि हो । समस्याको हल एउटामात्रै छैन, अनेक छन् । यही एउटा तहसम्मको समान बुझाइ भयो भने आन्दोलनले गति लिन्थ्यो कि ? बुझाइ समान भएपछि एक प्रकारको मोर्चा बन्थ्यो । अनि देखिने धक्का दिन सकिन्थ्यो कि ?

पछिल्लो समय एउटा प्रश्न धेरै सुनिन्छ– दलित समस्या कसको मुद्दा हो ? राजनीतिक दलको कि एनजीओको ? दलहरूले आफ्नो मुद्दा एनजीओले खोसिदिएको भेउ नै पाएनन् भन्ने पनि छन् । एनजीओले धेरै सम्भावनायुक्त राजनीतिज्ञहरू खाइदिए भन्ने आरोप पनि छ ।

एकथरी भन्छन्, एनजीओले दलित मुद्दालाई पातलो बनाइदियो । दलितको नाममा पैसामात्र कमाए । समुदायलाई केही दिएनन् । आफू मात्र बने । यस्तो आरोप बढ्दो छ । दलित भित्रकै ठूलो तप्का एनजीओकर्मीसँंग असन्तुष्ट छ । यो बेलैमा ख्याल गरिएन भने असन्तोष विस्फोट हुनेछ । र दलित आन्दोलन आलोचित हुनेछ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT