कहाँ चुक्दै छ कांग्रेस ?

कांग्रेस आफ्नै परम्परासँग डराए जस्तो देखिएको छ । परिवर्तनलाई खुला हृदयले आत्मसात् गर्न सकिरहेको छैन ।
सुमित शर्मा समीर

काठमाडौँ — भारतीय साहित्यकार निर्मल बर्माले भनेका छन्, ‘भविष्यप्रति दासभाव र अतीतप्रति सम्मोहन एउटै सिक्काका दुई पाटा हुन् । भविष्यप्रति समर्पण प्रगतिशील हुँदैन, किनभने ऊसंँग इतिहासको कसौटी छ ।

अतीतप्रति लगाव गौरवपूर्ण हुँदैन, किनभने ऊसंँग परम्पराको कवच छ । दुबैको मूलमा एउटै अभिशाप छ– मनुष्यको स्वयम् आत्मा र समयसँंगको निर्वासन । यही आत्मनिर्वासनका कारण हामी कहिले भविष्यमा आफ्नो मुक्ति खोज्छौं, कहिले अतीतमा आफूले गुमाएका महिमा र गौरव पाउने सपना देख्छौं ।’

नेपाली कांग्रेस यस्तै भविष्यप्रति दासभाव र अतीतप्रति सम्मोहनका कारण आफ्नो वर्तमानसँंग ज्यादती गर्दैछ ।अतीतप्रति सम्मोहन र बोध दुई अलग कुरा हुन् । विगतमा कांग्रेसका दिग्गज नेताहरूले आफ्नो उमेर, समय, परिस्थिति र विश्व राजनीतिक परिवेशबाट प्रभावित भएर उत्पादन गरेका राजनीतिक सिद्धान्त र व्यवहार र उनीहरूले भावी पुस्ताका निम्ति गरेको त्याग र संघर्षलाई सम्झिनु, धन्यवाद दिनु ऐतिहासिक बोध हो ।

Yamaha

उनीहरूले ६० वर्षअघि प्रतिपादन गरेका सिद्धान्तलाई पत्थरको लकिर मान्नु ऐतिहासिक सम्मोहन हो । ऐतिहासिक सम्मोहन दक्षिणपन्थ हो । ऐतिहासिक बोध परम्पराप्रति सम्मान हो । कांग्रेस ऐतिहासिक बोधमा होइन, ऐतिहासिक सम्मोहनमा फँसेको छ ।

संसारभरि दक्षिणपन्थको उदय यही ऐतिहासिक सम्मोहनले हुँदैछ । परम्परा र रुढताबीच अन्तर ठम्याउन नसक्दा विश्वब्यापी राजनीति आक्रान्त छ । ऐतिहासिक सम्मोहनमा पँmसेको विश्व राजनीतिले इतिहासलाई स्वर्णकालीन समयको दृष्टिकोणबाट मात्र व्याख्या गरिराखेको छ ।

अर्थात् जताततै इतिहासमा जे भए, ती सबै उम्दा भए भन्ने तर्क गर्न थालिएको छ । कांग्रेसमा यस्तै रुढता छ । बीपी कोइरालालाई मानव रहन नदिएर ‘महामानव’ बनाइदिनु ऐतिहासिक सम्मोहन हो । ऐतिहासिक सम्मोहनमा फँसेको समाज या संस्था गतिशील हुन सक्दैन । कांग्रेसको अर्को समस्या भविष्यप्रति आशक्ति हो । भविष्यप्रतिको उत्साह र आशक्ति दुई अलग कुरा हुन् ।

पञ्चायतकालीन समयमा कांग्रेसी नेता–कार्यकर्ता भविष्यप्रति उत्साहित थिए । उनीहरूका सामुन्ने नयाँ समाजको कल्पना थियो । त्यसैले प्रजातन्त्र प्राप्तिको संघर्षले उनीहरूलाई सुवासित गथ्र्याे । संघर्षमा तिनले जीवनको सार्थकता पाउँथे । २०४६ पछिका दिनमा त्यो उत्साह आशक्तिमा परिणत भयो ।

सिद्धान्त स्खलनले कांग्रेससामु नयाँ समाजको कल्पनै बाँकी रहेन । द्रुतगतिमा बदलिँदो समाजका निम्ति कांग्रेसले नयाँ संकथन निर्माण गर्न सकेन ।

पार्टी र सत्तामा पकड जमाउने खेल माथिदेखि तलसम्म प्रारम्भ भयो । सत्ता संघर्षले कांग्रेसीलाई ‘चौहत्तरे’ र ‘छत्तिसे’मा रूपान्तरित गर्‍यो । यही ‘चौहत्तरे’ र ‘छत्तिसे’मा अनेक शाखा र उपशाखा थपिएका छन् । यिनका अलग–अलग पहिचान छन् । कांग्रेस हुनुको सामुहिक पहिचान छैन ।

सिद्धान्तमा आएको स्खलनले २०४६ पूर्वको उत्साह आशक्तिमा परिणत भएको थियो । त्यही आशक्तिले ऐतिहासिक रूढतालाई आधार बनाएर परम्पराका धरोहरहरू समाप्त पार्दै गयो । त्यसले विगतको जीवनधारालाई आधुनिकता विरोधी ठहर गर्‍यो । अनि कलुषित राजनीति प्रारम्भ भयो, जहाँ मूल्यको कुनै स्थान थिएन ।

कलुषित राजनीतिले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्रनारायण निधि र शेख इद्रिसजस्ता परम्पराका धरोहरहरूलाई विस्थापित गर्‍यो । विगतको धरोहरका रूपमा कांग्रेससंँग आज जे छ, त्यो २०४६ पछिको राजनीतिक संस्कारले स्थापना गरेको मूल्य पद्धति हो ।

यही मूल्य पद्धतिमा कांग्रेसभित्र बिभिन्न शाखा र उपशाखा बर्चस्वको लागि प्रतिस्पर्धी छन् ।

सभापतिमा शेरबहादुर देउवा बाहेक जोसुकै पदासिन भए पनि यो मूल्य पद्धतिलाई जरैदेखि उन्मूलन नगरी कांग्रेसले भविष्यलाई वर्तमानको आशक्ति बाहेक केही नयाँ दिन सक्दैन । यो भनेर देउवाको निरन्तरताको तर्क अघि सारिएको होइन ।

७० वर्ष उमेर काटेका सभापति देउवालाई मेरो धेरै भन्ने हैसियत छैन । यति भनौं, सम्पूर्ण निकाय र विभाग अनि भ्रातृ संस्थाहरूको अधिवेशन गराएर चलायमान बनाउँदै पार्टी राजनीतिबाट विदा हुन सक्नुभयो भने इतिहासले उहाँको राजनीति र राजनीतिक जीवनमाथि धेरै कठोर भएर समीक्षा नगर्ला कि ?

उसो भए कहाँ चुक्दैछ, कांग्रेस ? कांग्रेस फगत व्यक्तिमा अड्केको छ । एक वा अर्को व्यक्तिमा । तर कांग्रेसको आवश्यकता भनेको जरैदेखिको प्रस्थान हो । कांग्रेसले स्थापना कालदेखि आजसम्म आइपुग्दै गर्दा आफ्नो एक अध्याय सकेको छ । सबै खाले दललाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको ठूलो छातामुनि गोलबद्ध गर्नसक्नु चानचुने होइन ।

कांग्रेसले यो सफलतामा गर्व गर्न कञ्जुस्याइँ आवश्यक छैन । तर नयाँ चुनौती थपिएको छ । नेपालका कम्युनिस्टहरू राष्ट्रवादी र प्रजातन्त्रवादी भइसके । संविधानलाई समाजवाद उन्मुख भनिसकियो । अब कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कम्युनिस्टको भन्दा कसरी फरक हुन्छ ? समाज र व्यक्तिवादी मनुष्यका समस्या सम्बोधन गर्न विगतको सामाजिक परिवेशका लागि प्रतिपादित लेफ्ट, राइट र सेन्टरका सर्वाधिकारवादी सिद्धान्त अहिलेको समाजका निम्ति काम नलाग्ने भएका हुन् ? के हुन् त अहिलेका समस्या र एजेन्डा ?

कांग्रेस आफ्नै परम्परासँग डराएजस्तो देखिएको छ । निरन्तरको परिवर्तनलाई खुला हृदयले आत्मसात् गर्न सकिरहेको छैन । परम्परा र निरन्तरको परिवर्तनलाई समन्वय गर्न चाहिने ज्ञान र शक्ति नै कांग्रेसको मूल शक्ति हो । सत्ता, शक्ति र पैसाको लोभमा कांग्रेसको मूल शक्ति कहीं लुप्त भएको छ । त्यसको खोजी कांग्रेसले गर्नुपर्छ ।

कांग्रेसले यतिबेला गम्नुपर्ने केही सवाल छन् । सैद्धान्तिक रूपमा सामाजिक परिवर्तनका मुद्दाहरूमा कांग्रेसले उभिन खोजेको राजनीतिक धरातल कस्तो हो ? संविधानले समावेशिताको मुद्दालाई धेरै हदसम्म सम्बोधन गरे पनि विभिन्न क्षेत्र र जातिबीच मानसिक विभाजनको खाल्डो निर्माण भएको छ, त्यसलाई पुर्ने कसरी ?

सांस्कृतिक विविधतालाई सम्मान गर्दै देशलाई कसरी एकीकृत गर्ने ? सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा नेपाली कांग्रेस हुनुको अर्थ के हो ? सरकारमा पुगेका बेला देशका १० वटा महत्त्वपूर्ण समस्या तत्काल सम्बोधनका लागि चाहिने तयारी गर्न प्रतिपक्षमा हुँदाभन्दा उपयुक्त समय कहिले हो ?

यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ कांग्रेसभित्रको कुनै एक वा अर्को गुटले मात्र खोज्ने होइन । पार्टी सभापति देउवाले विभिन्न गुट र उपगुटमा संलग्न रहेका पार्टीको ठूलो पंक्तिलाई विभिन्न विभाग र अरु रिक्त ठाउँमा जिम्मेवारी दिएर यी प्रश्नको खोजीमा एकीकृत कांग्रेसलाई लगाउन सक्नुपर्छ । त्यसले पार्टीको आउँदो महाधिवेशनसम्म कांग्रेसको सग्लो सैद्धान्तिक मानचित्र तयार हुन्छ । यो सामुहिक प्रयासले कांग्रेसको सामुहिक पहिचान जन्माउन सक्छ । त्यसपछि मात्र भारतीय साहित्यकार बर्माले सुझाएझैं कांग्रेसले आफ्नो आत्मा र वर्तमान समयसँंग स्वयम् निर्वासित हुनुपर्दैन ।

ट्वीटर : @Sumitsameer1

प्रकाशित : भाद्र २१, २०७५ ०८:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आइमाईको बुद्धि !

बुद्धि लैङ्गिक पहिचान गरेर पुरुषकै शरीरमा मात्र स्वचालित एवं अनियन्त्रित ढङ्गले पलाउने र विस्तार हुने ऐंजेरु होइन होला ।
लीला लुइँटेल

काठमाडौँ — परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो ।

यसको समाप्तिपछि महिलालाई मानवभन्दा तल्लो स्तरमा राखेर व्याख्या र व्यवहार गर्न प्रारम्भ भयो ।

पाश्चात्य साहित्यशास्त्रका चिन्तक एरिस्टोटलले ‘केही गुणको कमीका कारण नारी नारी भएको हो’ भन्दै महिलाका त्रुटि एवं कमजोरीतर्फ सङ्केत गरेका छन् । सेन्ट टमस एक्विनसले नारीलाई ‘अपूर्ण मानिस’ भनी नारीकै खोट देखाउन परिश्रम गरे । अर्काेतिर मनोविश्लेषक फ्रायडले नारीमा पाइने ‘शिश्न ईश्र्या’को सन्दर्भ उल्लेख गर्दै नारीको नियतिलाई शारीरिक बनोटगत अपूर्णताको परिणाम भनी व्याख्या गरे ।

फ्रायडले गरेको शिश्न ईष्र्याको सन्दर्भचाहिँ समाजमा कतै–कतै देखिन सक्छ । तर यस प्रकारको शिश्न ईष्र्या नारीभित्र रहेको प्रकृति प्रदत्त गुण वा अवगुणका कारण नभई परिवार एवं समाजद्वारा गरिने लैङ्गिक विभेदले उत्पन्न हुनसक्ने ईष्र्या हो भन्ने नबुझ्ने कोही छैन होला । यसरी अधिकांश दार्शनिक, चिन्तक, वैज्ञानिक, नेता, विद्वान्ले पुरुष भएकैले नारीलाई पुरुषभन्दा हीन ठानेर व्याख्या गरेको स्पष्टै देखिन्छ ।

पूर्वीय एवं पाश्चात्य क्षेत्रमा भएका अनुसन्धानले सन्तानका लागि बुद्धि निर्माण, विकास र विस्तार गर्ने कोषमा बाबुको कि आमाको अंश बढी हुन्छ भनेर निक्र्याेल गर्नसकेको जानकारी कतै पाइँदैन । भू्रण निर्माणमा बाबुको शुक्रकीट अनिवार्य भए पनि यसको विकास र विस्तारमा सम्पूर्ण भूमिका आमाकै रहने ध्रुवसत्य हो ।

भ्रूणका रूपमा रहँदा महिलाकै रगतको भरणपोषणबाट शरीर निर्मित हुन्छ । मानवका रूपमा जन्मिसकेपछि लामो समयसम्म ऊ महिलाकै सेतो रगतमा आश्रित हुन्छ भनी यहाँ व्याख्या गरिरहनु पर्दैन । यस्तो प्रत्यक्ष सत्य दृष्टिगोचर हुँदाहुँदै पुरुषहरूले कुन विवेकलाई साक्षी राखेर ‘आइमाईको बुद्धि हुँदैन’ भन्छन् । बुद्धि लैङ्गिक पहिचान गरेर पुरुषकै शरीरमा मात्र स्वचालित एवं अनियन्त्रित ढङ्गले पलाउने र विस्तार हुने ऐँजेरु होइन होला ।

नेपाली समाजमा पनि महिलाबाट हुने झिनामसिना गल्तीलाई स्वीकार्न नसकेर वा नचाहेर ‘आइमाईको बुद्धि हुँदैन’ भनेर होच्याउने अभीष्टले क्षूद्र टिप्पणी गरिएको जताततै सुनिन्छ । अर्काेतिर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भनेर सन्तानको बुद्धिमा आमाको प्रत्यक्ष प्रभाव रहने कुरा व्यक्त गरिएको पाइन्छ । तर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भन्ने उखान पनि कुनै सन्तानले गलत बाटो पहिल्यायो भने आमालाई होच्याउन मात्र प्रयोग गरिन्छ ।

सन्तानले सुमार्ग रोज्यो भने आमालाई श्रेय दिन यस्तो टिप्पणी गरिँदैन । अझ सन्तानले झिनामसिना कुनै गल्ती गर्दा बाबुले ‘हाम्रो छोरो/हाम्री छोरी’ नभनी ‘तेरो छोरो, तेरी छोरी’ भन्दै आमातिरै औँला ठड्याएको देखिन्छ । तिनै सन्तानले राम्रो काम गरेको आभास हुनासाथ नाक फुलाउँदै ‘देखिस्, मेरो छोरो, मेरी छोरी’ भन्दै आमालाई इख्याउँछन् । यसरी लामो समयदेखि नै पुरुषले सकारात्मक सन्दर्भका जशजति आफ्नो भागमा पार्दै नकारात्मक सन्दर्भका दोषजति महिलाकै टाउकोमा खन्याएर आफू महान हुन खोजेको स्पष्टै देखिन्छ ।

विद्युतीय सञ्चारको युगमा पुरुषले गरेका र गर्नसकेका प्रत्येक काम महिलाले सफलतापूर्वक सम्पन्न गरिरहेका उदाहरण प्रशस्तै छन् । तर हाम्रा कतिपय विधिव्यवहार सूक्ष्म रूपमा हेर्ने हो भने महिलाले सहजतापूर्वक गरिरहेका काम सहजतापूर्वक गर्न पुरुषलाई हम्मे परिरहेको पाइन्छ ।

बुद्धि लगाउनुपर्ने भनिएका कुनै पनि काममा पुरुषजत्ति नै अवसर प्राप्त महिलाको सहभागिता उत्साहजनक देखिन्छ । महिला संलग्न भएकै कारण त्यस्ता काम असफल भएको देखिँदैन । सफलता र असफलताको निर्धारण लिङ्गका आधारमा नभएर व्यक्तिले पाएको अवसर तथा उसको लगन एवं परिस्थितिमा भर पर्ने यथार्थ सबैले बुझेकै हुनुपर्छ । अवसर पाएका पुरुषले आफूलाई महान देखाउनकै लागि अवसरबाट वञ्चित आफ्नै आमालाई होच्याउने अभीष्टले यस्तो टिप्पणी गर्नु सभ्य व्यक्तिलाई कत्तिको सुहाउँछ, त्यो व्यक्ति स्वयंले अनुभूत गर्ने कुरा हो ।

लामो समयदेखि फुक्काफाल भएर महिलालाई मानवभन्दा तल्लो स्तरमा राखी शासन गर्ने अवसर पाएको पुरुषले महिलालाई कमजोर ठानेर उसलाई होच्याउन यस्ता टिप्पणी गरेको स्पष्टै देखिन्छ । यस्ता उखानको विरोध गर्नु यस लेखको अभीष्ट होइन ।

विज्ञान सम्मत नभएका अनि व्यवहारले पनि पुष्टि गरिसकेका सत्य–तथ्यलाई समेत बेवास्ता गर्नु र सकारात्मक सन्दर्भका जशजति पुरुषका भागमा पार्न खोज्दै नकारात्मक सन्दर्भका अपजशजति महिलामाथि थोपर्न खोज्ने पितृसत्तात्मक मानसिकताका उपजलाई समाजले त्याग्न ढिलो भइसकेको छ ।

महिला हिंसा शारीरिकमात्र नभई मानसिक पनि हुन्छ । यस खाले टिप्पणी नगरे महिला हिंसा न्यूनीकरण मात्र होइन, स्वस्थ एवं समतामूलक समाज निर्माणमा सघाउ पुग्थ्यो कि?

प्रकाशित : भाद्र २१, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT