तीजको सतही व्याख्यान

संस्कृतिलाई मार्क्सवादी चस्माले हेर्दाहेर्दै कतै हामी मौलिकताबाट विमुख हुँदै त छैनौं ?
डा. साधना प्रतीक्षा

काठमाडौँ — तीज पर्व तडक–भडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी–धर्मका नाममा गरिने अतिवादी व्रत–पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय बन्दै आएको छ । हरेक पर्व तथा उत्सवको आफ्नै महत्त्व हुन्छ । तीज, दसैँ–तिहार, छठ, गौरा, ल्होसार, इद, साकेला जस्ता पर्व नमनाइने हो भने हाम्रो सांस्कृतिक पहिचान कसरी रहला ?

मौलिक सांस्कृतिक पहिचान बोकेका पर्वहरू उल्लासपूर्वक मनाइने वातावरण बनिरहनुपर्छ । आधुनिकता र उत्तरआधुनिकतासँगै देखिएका विकृति–विसङ्गति हटाउँदै अनि रूढी र अन्धविश्वास मेटाउँदै स्वस्फुर्त रूपमा यस्ता पर्व र उत्सवले निरन्तरता पाइरहनुपर्छ ताकि भावी पुस्ताले ती पर्व र उत्सवलाई आफ्नो पहिचानका रूपमा ग्रहण गर्न सकोस् ।

अबका महिलालाई अभिव्यक्ति स्वतन्त्रताका लागि तीज कुर्नु पर्दैन, आजका चेलीलाई मिठो–मसिनो खान अनि एकसरो फरिया फेर्न माइत जानु पर्दैन, अझ अब त चेली र माइतीको भेटघाटका लागि न माइतै जानुपर्छ नत वर्षदिनको तीज कुर्नुपर्छ । त्यसैले अब तीजको सान्दर्भिकता के रह्यो र ? यस्तै तर्कका साथ तीज पर्वमाथि प्रश्न उठाउने गरिन्छ ।

Yamaha

यसमा प्रतिप्रश्न हो– हाम्रो देशमा अहिले पनि वर्षदिनभरि मिठो–मसिनो खान पुग्ने, जब मन लाग्यो माइत जान सक्ने, इच्छा लाग्दैमा नयाँ फरिया–चोली फेर्न सक्ने अनि आफ्नो मनका भाव खुलेर पुरुषका सामुन्ने व्यक्त गर्नसक्ने महिला कति छन् ? जागिरकै कारणले भए पनि सहरमा बसेका, दुई–चार अक्षर पढेका, मन लागेका बेला मिठोचोखो खाइहाल्न पनि सक्ने अनि दाम्पत्य जीवनमा आपसी समझदारीका कारण हिंसा र उत्पीडनबाट मुक्त महिलाका हकमा तीजले खासै अर्थ नराख्ला । तर यतिमात्र हौँ, हामी महिला ? यतिमात्र हो त हाम्रो समाज ?

आज पनि ग्रामीण अनि विपन्न परिवेशमा महिनौंदेखि तीजको पर्खाइ हुने गर्छ, चेलीलाई मात्र होइन, माइतीका लागि पनि । किनभने यो चेली र माइतीको आपसी प्रेम र सद्भावको पर्व हो । चेली माइत जान नपाउँदा दु:खी हुनेमात्र होइन, ऊ माइत नआउँदा माइतीलाई पनि उत्तिकै पीडा हुने गर्छ ।

छरिएर रहेका चेलीबेटी जम्मा भएर आपसमा दु:खसुख बिसाउने, पारिवारिक झमेलाबाट केही दिन भए पनि मुक्त भएर रमाउने परम्परा कायमै छ । त्यहाँको तीजमा विकृति–विसङ्गति र तडक–भडक देखिँदैन । महिना दिनदेखि पालो लगाएर पार्टी प्यालेसमा तीज मनाउने महिलाका लागिभन्दा पनि आफ्नो अति व्यस्तताबीच एकदिन दिदीबहिनी जम्मा भएर दर खाने महिलाका लागि तीज उत्तिकै लोकप्रिय छ ।

तीजमा महिलाले गर्ने व्रत तथा शिवपूजाको सन्दर्भमा भइरहेको आलोचना सतही व्याख्यान मात्र हो । किनभने महिलाले तीजमा शिवको मात्र होइन, पार्वतीको पनि पूजा गर्छन् भन्ने तथ्यको साक्षी उनीहरूले चढाउने शौभाग्य–सामग्रीले प्रस्तुत गरेको छ । सिन्दूर–पोते, चुरा–टीका आदि शिवका लागि नभएर पार्वतीका लागि चढाइन्छ ।

निराकार ईश्वरलाई जब मानिसले साकार रूपमा कल्पना गर्छ, त्यस सम्बन्धी मिथक निर्माण हुने गर्छन्, अनि कालान्तरमा अपव्याख्या सुरु हुन्छ । तीजमा पतिको दीघार्युका लागि व्रत बसी उनीहरूको चरणामृत पिउने, अविवाहित महिलाले शिवजस्तै पति प्राप्तिका लागि व्रत बस्ने, विवाहित महिलाले अनिवार्य निर्जला व्रत गर्नुपर्ने, त्यसो नगरे पाप लाग्ने जस्ता प्रसङ्ग कर्मकाण्डीय पद्धतिद्वारा विकसित मान्यतामात्र हुन् ।

शिव–पार्वतीको पौराणिक प्रसङ्गसँग जोडिनुले यस पर्वलाई नारी–पुरुष अझ, पति–पत्नी बीचको समानता र सहअस्तित्वको पर्वका रूपमा मनाउनुपर्ने सन्देश दिएको छ । पौराणिक प्रसङ्गमा शिव र सती बीचको प्रेम, शिवको अपमान सहन नसकेर सतीले आत्महत्या गर्नु, त्यस घटनाले विक्षिप्त भएर शिवले सतीको मृतदेह बोकेर वर्षौंसम्म पृथ्वीको भ्रमण गरिरहनु जस्ता घटनाले पति–पत्नी बीचको सहअस्तित्व, समर्पण र त्यागलाई प्रतिविम्बित गर्छन् । आजको कर्मकाण्डीय व्याख्यामा पत्नीको मृत्युमा पतिले काजकिरिया गर्न नपर्ने मात्र होइन, घाटसम्म पनि जानु पर्दैन । केही दिनमै ऊ दोस्रो बिहेका लागि तत्पर देखिन्छ ।

शिव–पार्वतीको प्रसङ्गमा पनि दुवै एकअर्काका परिपूरकका रूपमा देखिन्छन् । शिवले पार्वतीलाई आफ्नो शक्ति मानेर उनीबिना आफ्नो पृथक अस्तित्वको कल्पना नगरेको प्रसङ्ग पनि पौराणिक कथाहरूमा पाइन्छ ।

स्त्री (प्रकृति) रूपी पार्वतीलाई पुरुषरूपी शिवले आत्मनिर्णयको स्वतन्त्रता दिनुका साथै दुष्प्रवृत्ति विरुद्ध प्रतिकार तथा प्रतिरक्षा पनि स्वयम्ले गर्नुपर्ने भन्दै नारी अस्तित्व र नारीशक्तिको आत्मबोध गराएको कथाप्रसङ्ग पनि पाइन्छ । नारीस्वरूप पार्वतीप्रति कुदृष्टि राख्दै दैत्यहरूले उनलाई प्रताडित गरिरहेको अवस्थामा दैत्यसंहारका लागि उनी स्वयम्लाई महाकाली स्वरूप धारण गर्न प्रेरित गरेको तथा दैत्य संहारपछि अनियन्त्रित भएकी महाकालीको शक्ति सन्तुलनका लागि आफ्नो छातीमा पाउ राख्न दिएको प्रसङ्गले यसको पुष्टि गर्छ ।

पछिल्लो समयमा पौराणिक व्याख्याताहरूले यस्ता कुराको प्रसङ्ग उल्लेख नगरी केवल कर्मकाण्डीय आधारमा नारीलाई होच्याइएका प्रसङ्ग उल्लेख गरेको देखिन्छ । यथार्थमा शिवजस्तो उदार अनि नारीमैत्री पति हुने हो भने नारीले लैङ्गिक विभेद र उत्पीडनको सिकार भैरहनु पर्दैन । अविवाहित महिलाले शिवजस्तो उदार तथा सहयोगी पतिको कामना गर्नुलाई अस्वाभाविक रूपमा लिनु आवश्यक देखिँदैन । पति तथा परिवारको दीघार्युको कामनासहित उपबास बस्ने परम्परा छ, ‘सर्वे भवन्तु सुखिन:...’ को सनातन परम्परामा पोषित महिलाले पति, परिवार मात्र होइन, समग्र मानव जातिकै कल्याणको कामना गर्ने गर्छाैँ ।

शिक्षा र चेतनाको विकाससँगै पारिवारिक संरचना तथा सामाजिक मूल्य–मान्यतामा आएको परिवर्तनले नाता सम्बन्ध र पारिवारिक भूमिकामा उल्लेख्य बदलाव आएको देखिन्छ । तीजलाई पारिवारिक र सामाजिक सद्भावको पर्वका रूपमा विकसित हुनुपर्छ । विगतमा पौराणिक मिथकको अपव्याख्या गर्दै तीजलाई महिला अस्तित्व विरोधी पर्वका रूपमा प्रस्तुत गरियो भने आज पुँजीवादी संस्कृतिसँग जोडेर नारी उत्पीडनको कारकका रूपमा हेरिँदैछ ।

तीज पुँजीवादी संस्कृतिको उपज कसरी हुनसक्छ ? यो पर्व अस्तित्वमा आउँदा नेपाली समाजमा पुँजीवाद थिएन होला π तीज पर्वलाई होइन, यसका नाममा देखिने तडक–भडकलाई पुँजीवादी प्रभावको परिणामका रूपमा लिन सकिन्छ । तीजभित्र मात्र पुँजीवाद देख्नु अर्को दृष्टिदोष हो । वर्तमानमा पुँजीवाद कहाँ छैन र π पुँजीवादको व्यापकता यति विस्तृत छ कि प्रत्येक व्यक्तिको चुलोचौकामा पुँजीवाद पाकिरहेको छ ।

हाम्रो घरको धाराबाट आउने पानीको प्रत्येक थोपामा पनि पुँजीवाद प्रतिविम्बित हुन्छ । हाम्रो परिवारको आकार–प्रकार तथा लक्ष्यको निर्धारण यसैले गरेको हुन्छ । यतिसम्म कि हामीले प्राप्त गर्ने ज्ञान र हाम्रो चेतनालाई पनि यसैले गाँजेको देखिन्छ । पुँजीवादकै कारण आज बहुसंस्कृतिमा आधारित विश्व एकल विश्व संस्कृतितर्फ उन्मुख देखिन्छ ।

माक्र्सवादीहरूले नारी उत्पीडनलाई उत्पादन सम्बन्धसँग जोडेर गरेको व्याख्यालाई एउटा कोणबाट स्वाभाविक रूपमा लिन सकिए पनि यस पर्वलाई नारी उत्पीडनको कारक भने मान्न सकिँदैन । संस्कृतिलाई माक्र्सवादी चस्माले हेर्दाहेर्दै अन्जानवश कतै हामी मौलिकताबाट विमुख हुँदै त छैनौं ? हरेक कुरामा पुँजीवाद देख्ने संकीर्ण मानसिकताले हाम्रा चाडपर्वलाई व्याख्या–विश्लेषण गर्दै असान्दर्भिक घोषित गर्नुभन्दा सनातन परम्परामा देखिएको विचलनको पुनव्र्यख्या गर्दै संस्कृतिमाथि भैरहेको पुँजीवादी अतिक्रमण विरुद्ध बौद्धिक वर्गबाट प्रतिरक्षात्मक पहल आवश्यक भैसकेको छ ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ओसाकालाई पहिलो ग्रान्डस्लाम

एएफपी

न्युयोर्क — जापानकी नाओमी ओसाका अमेरिकी सेरेना विलियम्सलाई यूएस ओपन टेनिसको फाइनलमा सोझो सेटबाट पराजित गर्दै ग्रान्डस्लाम उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् ।

ओसाकाले आदर्श मान्ने सेरेना खेलक्रममा चेयर अम्पायरसँग वादविवादमा उत्रिँदा फाइनल भने खल्लो बन्न पुग्यो । २० वर्षीया ओसाकाले ६–२, ६–४ को जित दर्ता गर्दै सेरेनालाई २४ औं उपाधि जित्नबाट वन्चित गराइन् ।

अम्पायर कार्लोस रामोसले दोस्रो सेटका क्रममा विलियम्सलाई प्रशिक्षण लिएको भन्दै चेतावनी दिएपछि उनी बेखुस देखिएकी थिइन् । विलियम्सले त्यसपछि र्‍याकेट फालेका कारण अम्पायर रामोसले दोस्रो चेतावनीसँगै एक अंक पेनाल्टी लगाएपछि विलियम्स विवादमै उत्रिइन् ।

उनले आँसु झार्दै अम्पायरलाई ‘चोर’ दोषको आरोप लगाइन् र रिसाउँदै माफीसमेत माग्नुपर्ने माग राखिन् । यसलगत्तै रामोसले विलियम्सलाई अपशब्द बोलेको भन्दै एक गेम पेनाल्टी लगाए । नतिजास्वरुप ओसाका ५–३ ले अगाडि रहन पुगिन् । सेरेनाले अर्को गेम जिते पनि परिवर्तनको समय आफ्नो विरोध भने अर्का पदाधिकारीसामुन्ने जारी राखिन् ।

यसका बाबजुत ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रका लागि पहिलो उपाधि जितिन् । ‘अहिले मलाई यो सबै वास्तविक हो जस्तो लागिरहेको छैन । सायद केही दिनमा मैले के गरें भन्ने थाहा पाउँछु होला,’ ओसाकाले भनिन् । उनले कोर्टमा धेरै हल्ला भएको र आफू खेलमा एकीकृत भएका कारण सेरेनाको वादविवादबारे खासै ध्यान नदिएको बताइन् ।

‘मैले उता फर्केर हेर्दा स्कोर ५–३ देखें । त्यो बेलामा म केही अलमलमा परें,’ उनले भनिन्, ‘मलाई खेलमा ध्यान दिनुपर्छ भन्ने लाग्यो । सेरेना एक च्याम्पियन खेलाडी हुन् र उनी कुनै समय पनि खेलमा फर्कन सक्छिन् भन्ने मलाई थाहा थियो ।’

गत सेप्टेम्बरमा छोरी जन्माएपछि विलियम्सको पहिलो ग्रान्डस्लाम जित्ने लक्ष्य पूरा हुन सकेन । उनले समग्रमा २४ औं उपाधि जित्दै मार्गरेट कोर्टको कीर्तिमान बराबरी गर्ने अवसर पनि गुमाइन् । विलियम्सका समर्थनमा रहेका दर्शकले ट्रफी प्रदान गर्ने क्रममा उद्घोषकलाई गिज्याए पनि सेरेनाले ओसाकालाई सम्मान दिन आग्रह गरिन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT