१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घर हाम्रो पोखरा

सम्पादकीय

काठमाडौँ — पोखराको पर्याय प्रकृति । फेवातालमा माछापुच्छ्रे छाया । चुन माटो भएको जमिन र ढुंगाका छाना भएका घर । पर्यटन नगरी । तर अब पहिचान हराउँदै छ । हिमालको होइन, गगनचुम्बी घरहरूका छाया तालमा तैरिनेछन् । ताल किनारका होटलबाट हिमाल देखिएन भने छत चढ्नुपर्ने हुँदै गएको छ ।

घर हाम्रो पोखरा

हिमाल छेकिने गरी अग्ला घर धमाधम बन्दै छन् । नबनुन् पनि किन ? सहरीकरण बढ्दो छ, जनसंख्या थपिँदो । जमिनमाथिको अतिक्रमणले उपत्यका जटिल भइसकेको छ । महानगरभित्र अहिल्यै १ लाख २५ हजार घर छन् । वार्षिक करिब १० हजार घर थपिन्छन् । जमिनको सुरक्षा गर्न पनि ठूला संरचना बनाउनुपर्ने भइसकेको छ । ठूला संरचनाले जमिन हल्लिन रोक्छ । आकाशको पनि उपयोग गर्नुपर्छ ।


तर समस्या नियम, कानुन, प्रक्रिया र मापदण्डमाथि मनपरी हो । एक अनुमानअनुसार करिब १५ प्रतिशत घरले उचाइ मापदण्ड मिचेका छन् । तिनमा प्राय: व्यापारिक भवन छन् । लेकसाइडमा २४ फिट (दुईतले) र अन्यत्र ३५ फिट अग्ला घर बनाउन दिने मापदण्ड भए पनि ९ तलासम्मका घर बनिरहेका छन् । १८ तलासम्मको अपार्टमेन्ट निर्माणका लागि एउटा कम्पनीले जमिन सम्याउन थालेको छ । महानगरसँग स्वीकृति नलिईकनै । प्रदेश मुख्यमन्त्रीले फेवातालनजिकै बन्ने त्यस्तो बहुतले व्यापारिक संरचनाको ‘प्रि–लन्च’ गर्दै सहयोगको आश्वासन दिए ।


महानगरले भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड तयार पार्न वैशाखमा विज्ञ टोली गठन गरेको थियो । समिति संयोजकको जिम्मा लेकसाइडमा मापदण्डविपरीत ९ तले होटल निर्माण गरिरहेका व्यवसायीलाई दिइयो । समितिले भुइँ क्षेत्रको अनुपातमा उचाइ बढाउँदै लैजान सकिने प्रावधान ल्याउन प्रस्ताव गरेको छ ।


उचाइ बढाउने भनेर हुँदैन । जमिनले कति थेग्न सक्छ, भौगर्भिक अध्ययन हुनुपर्छ । यहाँको भूगर्भ र मापदण्डको विषय उठ्दा विज्ञ र प्राविधिक दुईतिर हुने गरेका छन् । एकाथरी पोखरा बलियो मान्छन् अर्काथरी कमजोर । खानी तथा भूगर्भ विभाग र जर्मन भूगर्भशास्त्रीको टोलीले सन् १९९८ मा अध्ययन प्रतिवेदन सार्वजनिक गर्‍यो ।


‘पोखरा उपत्यकाको इन्जिनियरिङ र वातावरणीय भौगर्भिक नक्सा सन् १९९८’ मा सम्भावित जोखिम औँल्याइयो । नभन्दै बीस वर्षपछि अर्मला भास्सियो ।


त्यस्ता धेरै ठाउँ छन्, जहाँको माटामा भारवहन क्षमता कम भएकाले ठूला संरचना नबनाउन सुझाव दिइएको छ । समग्रमा पोखरा क्षेत्रमा साढे ३ तलाभन्दा अग्ला घर नबनाउन भनिएको छ । उपत्यकामा विभिन्न भौगर्भिक संरचना भएका क्षेत्र छन् । केही क्षेत्र २५ लाख वर्ष जति पुराना छन् । केही अति संवेदनशील । पोखरा ८–१० हजार वर्षपहिले सेती नदीले बगाएर ल्याएको ढुंगा र माटोको रचना हो । चुनयुक्त पुरुवा ग्राभेलले बनेको माटो यहाँको यथार्थ । भूगर्भविद्हरू जमिनको माथिल्लो भाग राम्रोसँग जमिसकेको छैन भन्छन् । यो प्रक्रिया अझै लामो समय चल्नेछ ।


यहाँको गेगरमा चुनढुंगा छ । चुनढुंगा पानीमा घोलिएको छ । बाहिर नदेखिए पनि जमिन खोक्रो छ । त्यसको ‘ट्रिटमेन्ट’ नगरी, सम्बन्धित जमिनको अध्ययन नगरी घर बनाउन खुला गर्नु अवैज्ञानिक हो । कति अग्ला, कस्ता घर बनाउन मिल्छ मापदण्ड तोक्नेमात्र होइन त्यसको पनि पुनरावलोकन भइरहनुपर्छ । जमिनको संरचना सम्मान नगर्नु प्राकृतिक सम्पदाको हेलचेक्र्याइँ हो ।


जमिन परीक्षण गरेर, इन्जिनियरिङ प्रक्रिया पुर्‍याई मापदण्डबमोजिम मात्र घर बनाउन दिँदा पनि वातावरणीय पक्ष विचार गर्न जरुरी छ । हिमालै छेक्ने गरी पोखरामा घर बन्न दिनु सहरको आँखा बन्द गर्नु हो । कुनै कविले कतै लेखेका छन्, कति सौन्दर्य त हामीले हेर्न छाडेपछि पनि आँखामा बसिरहने गर्छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?