कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पार्टीका खाना कति स्वस्थ ?

महिलाले अलिकति बढी लाउँदा, खाँदा र मनोरञ्जन लिँदा तडक–भडक भयो भनी कोकोहोलो मच्चाउन जरुरी छैन ।

काठमाडौँ — काभ्रेको पाँचखालमा गत शनिबार तीजको दर खाँदा झन्डै चार सयजना बिरामी परे । स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज कार्यक्रममा केराउको अचार खानेहरू बिरामी भएका थिए ।

पार्टीका खाना कति स्वस्थ ?

तीज पर्वमात्र होइन, विवाह, व्रतबन्ध, पास्नी लगायतका भोजमा खाना खाँदा मानिस बिरामी परेका समाचार बेला–बेला आइरहेकै हुन्छन् । भोजका लागि होटल, रेष्टुराँ र पार्टी प्यालेसमा खुवाइने खानामा प्राय: समस्या देखिने गरेको छ । तर सर्वसाधारणको स्वास्थ्यमा यसरी खेलवाड भइरहँदा नियन्त्रण र निगरानीमा सम्बन्धित निकाय गम्भीर देखिँदैन ।


तीज पार्टीमा छरछिमेक, संघ–संस्था र कार्यालयमा पकाइने खाना प्राय: कमसल हुन्छन् । यसको भुक्तभोगी म पनि हुँ । तीज विशेष कार्यक्रममा ठूलो समूहका लागि तयार पारिने मासु, पुलाउ, तरकारी तथा मिठाइ प्राय: सडेगलेका हुन्छन् । सरसफाइमा ध्यान दिइएको हुँदैन । कतिपय महिला आफ्ना बालबच्चा लिएर यस्ता पार्टीमा पुगेका हुन्छन् । अखाद्य परिकार खानाले ती बालबच्चाको समेत स्वास्थ्यमा असर पर्छ । पार्टी प्यालेस, होटलहरूले चाडपवको अवसर पारेर बासी, दूषित र मिसावटयुक्त खाद्य परिकार खुवाउने प्रवृत्ति रोक्न सरकारले ध्यान दिनुपर्छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच वर्षअघि तीजका नाममा तडक–भडक गर्नेलाई जरिवाना लिने सामाजिक सुधार ऐन २०३३ लागू गर्ने भनेको थियो । पार्टी प्यालेस तथा होटल बुक गरेर महिनादिन अघिदेखि महँंगा खान्की तथा कपडा र गरगहनामा महिलाले अत्यधिक खर्च गरेको भन्दै अख्तियारको आँखा दरको चढ्दो आर्थिक खाकातिर समेत मोडिएको थियो । त्यसपछि पार्टी प्यालेसमा भेला भई दर खाने कार्यक्रम केही समय मत्थर देखियो । तर आआफ्नो कार्यस्थल र गाउँ/टोलमा महिला भेला भई सामुहिक दर खाने कार्यक्रम रोकिएन ।


तीज कार्यक्रम महिलाले कपडा र गहना प्रदर्शन गर्ने माध्यम बनेको छ । राजनीतिक दलहरूका लागि प्रचार–प्रसारको माध्यम पनि हो । तीजमा गीत–संगीतको व्यापार उकालो लाग्छ ।


चन्दा उठाएर होस् वा आफू–आफू बीचमै रकम संकलन गरेर, सामुहिक रूपमा दर खाने र नाचगान गर्ने चलन सहर–बजारबाट गाउँमा पनि फैलँदैछ । कनीकुथी केही रकम जम्मा गर्दै आलोपालो आफन्तकहाँ दर खान जाने र रमाइलो गर्ने प्रचलन बढ्दैछ । तीज समाज, देश र विदेशसम्मै पिँmजारिन पुगेको छ । तीजमा दिदीबहिनीलाई माइती बोलाएर मिठो–मसिनो खुवाउने र घर फर्कने बेला कपडा किनेर पठाउने चलन परम्परादेखिकै हो । गीतै छ नि,

आमाले पकाएको मिठो दर
माइती पुगी खानेछ रहर
बुबाले किन्देको सारी
लगाइ नाच्छु सबैको मेख मारी

जागिरे महिला बढ्दैछन् । उद्योग, व्यापार व्यवसाय तथा राजनीतिमा महिला संलग्नता बढेको छ । महिला स्वावलम्बी बन्दैछन् । गाउँघरमा पशुपालन तथा खेतीपाती गरी महिलाले आर्जन गर्छन । सहर–बजारमा मकै पोल्नेदेखि तरकारी बेच्ने, कपडा सिलाउने तथा भवन निर्माणका कार्यमा सघाउने लगायत सीप तथा श्रमजन्य काममा महिला क्रियाशील देखिन्छन् ।


राजनीतिक चेतना पनि बढेको छ । पर्वका बेला महिलाले अलिकति बढी लाउँदा, खाँदा र मनोरञ्जन लिँदा तडक–भडक बढ्यो भनी कोकोहोलो मच्चाउन जरुरी छैन । बरु खानपानको स्वच्छता र स्वस्थताका लागि सजग गराउनुपर्छ । पार्टी प्यालेस तथा होटलहरूमा अनुगमन गर्नुपर्छ । सरकारले महिलालाई तीज पेस्की उपलव्ध गराउने व्यवस्था जरुरी छ ।


महिला सभ्यता पहिचान र संस्कृति संरक्षणका पहरेदार हुन् । तीज मान्ने परम्परामा परिवर्तन देखिए पनि तीजको धार्मिक आस्था हिन्दु महिलामा उत्तिकै छ । पतिभक्तिको पर्व भन्दै तीज पर्वप्रति टिप्पणी गर्नेहरू पनि छन् । तर तीज हिन्दु महिलामा मात्र सीमित नभई सबै महिलाको साझा पर्व बन्दै जाँदैछ ।

[email protected]

प्रकाशित : भाद्र २७, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?