१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मौलिकता हरायो

गीता शर्मा (ढुंगाना)

काठमाडौँ — पहिले–पहिले व्रतको दिन पेट अडिलो होस् भनी बिहान कुखुरा नबासुन्जेल दर खाने गर्थे । तर अहिले महिनादिन अघिदेखि दर खाने चलन बसेको छ । अहिलेको दरमा परिकार फेरिएका छन् । आधुनिक खानाको साथमा मदिरा पनि जोडिएको छ ।

मौलिकता हरायो

पहिले–पहिले तीजमा चेलीले गीत गाएर घर–माइतका व्यवहारका तिता अनुभूति प्रकट गर्थे । अहिले तडक–भडकले भरिएका भडकिला गीतमा नाचगान गर्ने गरेको पाइन्छ । सबैभन्दा बढी गीत र दरले तीजलाई विकृत बनाएको छ ।


सामाजिक सञ्जालमा देखिने तस्बिर र भिडियो अनुसार विदेशमा रहेका नेपाली चेलीबेटीले आफ्नै मौलिक परम्परामा तीज मनाएको देखिन्छ । तर आफ्नै देशमा भने तीज विकृतितर्फ उन्मुख भएको देख्दा मन खिन्न हुन्छ । आधुनिकताको नाममा परम्परालाई भुलेर समाज सांस्कृतिक अतिवादतर्फ ढल्कँदैछ । यसले हाम्रो संस्कृतिलाई ठूलो असर पर्छ । चाडपर्व भनेको आफन्त, साथीसंगीसँग मिलनको अवसर हो ।


कामको चापले गर्दा आफन्त, साथीसंगी टाढिँदै गइरहेका छौं । पुराना स्मृति बिर्सिंदै गइरहेका हुन्छौं । चाडपर्वको माध्यमबाट सबैसँग भेट गर्ने अवसर प्राप्त गर्छौं । अरुको देखासिकी गरेर विकृत्ति भित्र्याउनुभन्दा आफ्नै परम्परा जगेर्ना गर्दै मनाउनु राम्रो हुन्छ । भड्किलो चाड हुनगयो भने आर्थिक रूपले सम्पन्न परिवारले मात्र तीजपर्व मनाउन सक्छन् । विपन्न वर्गले टुलुटुलु हेरेर मात्र बस्नुको विकल्प हुँदैन । त्यसपछि उनीहरूका लागि यसको कुनै औचित्य र महत्त्व रहँदैन ।


व्रत/उपवास बसेर परिवारको सुस्वास्थ्य, दीर्घायु हुने कामना गर्ने यो पर्वमा अहिले लत्ताकपडा, गरगहना र दर खाने प्रतिस्पर्धाको होड छ । तीजको अघिल्लो दिन शुद्घ शाकाहारी खाएर व्रत बस्ने चलन थियो । तर अहिले यसमा विकृति आएको छ । तीज पर्व नभएर दर पर्वको रूपमा रूपान्तरण हुन्छ । सहर–बजार र आर्थिक सम्पन्न महिलालाई घरको कामकाज र बुहार्तन बेहोर्नुपरेको छैन । बच्चा मन्टेसरी जाने र सासू–ससुराले पनि आफै काम गर्ने भएपछि सहरका नारी स्वतन्त्र छन् । उनीहरूले बुहार्तन खप्न नपरेकैले तीजको मौलिकता हराउँदै गएको हो ।


बिहे गरेर दिएका चेलीबेटी माइत जाने फुर्सद र समय नभएको हुनाले त्यसको मौलिकता थियो । अहिले त्यस्तो छैन, दिनमा एकपटक माइत पुग्न सम्भव छ । वैदेशिक रोजगारमा रहेका अधिकांशका श्रीमती माइतै बस्छन् । त्यस्ता चेलीलाई न लिन जानुपर्ने न बोलाउनुपर्ने भयो । त्यसैले तीजको मौलिकता हराउँदै गएको हो । अझै कतिपय ठाउँमा बिहे गरेपछि बुहारीकै रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका दिदीबहिनीहरू छन् । उनीहरूलाई मात्र यसको मौलिक महत्त्व हुन्छ ।


ग्रामीण तथा दुर्गम ठाउँमा आर्थिक अभावकै कारण महिला दिदीबहिनीहरूले राम्रो लाउन, मिठो खान पाएका हुँदैनन् । महिना दिनदेखि महङ्गो पार्टी प्यालेस, होटलहरूमा गहनाको प्रदर्शन गरेर दर खानुको सट्टा आर्थिक रूपमा विपन्न महिलाहरूलाई सीप प्रदान गरी स्वरोजगार बनाउँदा राम्रो हुन्छ । कति महिलालाई सीप प्रदान गरेर स्वरोजगार बनाएँ भन्ने प्रतिस्पर्धा गर्दा राम्रो हुन्छ । तिनीहरूसँगै रमाइलो गर्दै दर खाने कार्यक्रम गर्दा भोलिका चेलीबेटीले दु:ख पाउँदैनन् ।


अब यसका लागि महिला सचेत हुनुपर्छ । सम्पन्न वर्गका महिला दिदीबहिनीले विपन्न वर्गका दिदीबहिनीलाई हातेमालो गर्दै तीज मनाउनसके यो पर्वको महत्त्व रहिरहनेछ । सबै दिदीबहिनी मिलेर दर खाउँ, नाचगान गरौँ, रमाइलो गरौँ । तर ३ दिनको चाडलाई महिनादिन नबनाऊँ । फजुल खर्च नगरौँ । सभ्य र सम्मुन्नत समाज अनि सांस्कृतिक पहिचान निर्माण गरौँ ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?