यौनिक अल्पसङ्ख्यकको पहिचान

आफ्नो लैंगिक फरकपनामा स्पष्ट नभएर धेरैले मानसिक समस्या भोग्नु परिरहेको छ ।
प्रतिभा पन्थी

काठमाडौँ — लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको लैङ्गिक पहिचान अभिमुखीकरण तथा अभ्यास समाजका बहुसङ्ख्यक मानिसको भन्दा फरक हुन्छ । अर्थात उनीहरूमा महिला र पुरुषभन्दा अलग पहिचान हुन्छ । सामान्यतया ५ खाले पहिचान भएका व्यक्तिलाई लैङ्गिक अल्पसङ्ख्यकका रूपमा बुझिन्छ ।

क) लेस्बियन : महिला जसको आकर्षण महिलाप्रति हुन्छ । ख) गे : पुरुष जसको आकर्षण पुरुषप्रति हुन्छ । ग) बाइसेक्सुअल : पुरुष र महिला दुवैप्रति आकर्षण हुने व्यक्ति । घ) ट्रान्ससेक्सुअल : आफू जन्मेको भन्दा फरक शारीरिक लिङ्ग पहिचान गरेको व्यक्ति । ङ) इन्टरसेक्स : जैविक लिङ्ग पुरुष र महिला दुवै विशेषता रहेको व्यक्ति ।


Yamaha

कुनै लैङ्गिक अल्पसङ्ख्यक जन्मदै त्यस सम्बन्धी विशेषता लिएर जन्मेका हुन्छन् । कोहीमा उमेर बढ्दै जाँदा स्वअनुभूति हुन्छ । शारीरिक, भावनात्मक परिवर्तनबाट पनि स्वपहिचान हुन्छ । विभिन्न अध्ययनले जन्मदाको लिङ्गको आधारमा मात्र व्यक्तिको लैङ्गिक पहिचान कायम नहुने र मस्तिष्कमा रहेको चरित्रले पनि यसमा प्रभाव पार्ने निष्कर्ष निकालेको देखिन्छ । यसर्थ यो प्राकृतिक कुरा हो । यसलाई त्यसै अनुसार स्वीकार गर्नुपर्छ भन्ने तर्क उपयुक्त छ ।


मानव अधिकारको विश्यव्यापी घोषणापत्रको प्रस्तावनामा ‘सबै मानव जाति मर्यादा र अधिकारका सम्बन्धमा स्वतन्त्र र समान हैसियतमा जन्मेका हुन्छन् र समान आत्मसम्मानका साथ बाँचेका हुन्छन्’ भनिएको छ । यो वाक्यांशले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको लैङ्गिक पहिचान गराउने सन्दर्भमा महत्त्वपूर्ण छ । तर धेरै देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समाजमा सहज रूपमा स्थापित भई जीवनयापन गर्न मुस्किल परिरहेको देखिन्छ ।


लैंगिक अल्पसंख्यकमा पहिचानको समस्या छ । समाजमा जैविक लिङ्गका आधारमा मात्र लैङ्गिक पहिचान स्थापित गर्न सहज छ । समाजको रुढिवादी सोचाइ र कमजोर मूल्य प्रणालीका कारण लैंगिक अल्पसंख्यकलाई परिवार तथा समाजबाट विभेद हुने गरेको छ । सशक्तीकरण र मूलप्रवाहीकरणको अभावमा उनीहरूले राज्यका संरचना तथा व्यवस्थाबाट समान लाभ लिनसकेका छैनन् ।


यस्तै उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा लगायतमा समस्या सामना गरिरहेको देखिन्छ । आफ्नो लैङ्गिक फरकपनामा स्पष्ट नभएर व्यक्ति विशेष मानसिक समस्या पनि भोग्नु परिरहेको छ । समलिंगी विवाहका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नहुँदा विवाह तथा पारिवारिक सम्बन्धबारे अधिकारबाट बञ्चित हुनुपर्छ ।


लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार सम्बन्धमा नेपालमा गरिएका सम्बोधन प्रगतिशील मानिन्छ । संविधानको धारा १२ मा लैङ्गिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था छ । धारा १८ मा लिङ्गको आधारमा भेदभाव नगर्ने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएका नागरिकको संरक्षण र सशक्तीकरण वा विकासमा सकारात्मक विभेद नीति अपनाउने भनिएको छ । धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई समावेशी सिद्धान्तका आधारमा सहभागिताको अवसर हुने भनिएको छ ।


विद्यालय शिक्षामा यो विषयमा जानकारी दिने गरिएको छ । विभिन्न राजनीतिक दलको घोषणापत्रमा यसबारे सम्बोधन गरिएको छ । राहदानीमा लैङ्गिक पहिचान (अन्य) उल्लेख गरिएको छ । सरकारी तथा गैरसरकारी संस्था यो विषयमा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।


लैंगिक तथा यौनिक अल्पसंख्यकबारे सामाजिक चेतनाको विस्तार तथा बुझाइमा सकारात्मकता ल्याउने प्रयासलाई निरन्तरता दिन जरुरी छ । व्यक्ति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भनी पहिचान भएदेखि नै उसका भावना तथा आवश्यकता सम्बोधन गर्ने गर्नुपर्छ । सो समुदायका व्यक्तिले असुरक्षित पेसा अपनाउनुपर्ने बाध्यता छ । यसको व्यवस्थापनमा ध्यान जानुपर्छ ।


प्राकृतिक रूपमा मानवको पहिचान प्राप्त व्यक्तिलाई मानव अधिकार उपभोगमा संकुचन वा बञ्चित गर्नु हँुदैन । यसका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने दायित्व राज्यको हो । हक उपभोगको सहज वातावरण पनि तयार गरिदिनुपर्छ । यसमा नागरिक समाज लगायतले सहकार्य गरे सामाजिक न्यायपूर्ण समृद्ध समाज निर्माण हुनसक्छ ।


लेखक सामाजिक विकास मन्त्रालय प्रदेश ५ की महिला विकास अधिकृत हुन् ।

प्रकाशित : भाद्र २८, २०७५ ०८:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डोटीको रुवसकाँडामा बस दुर्घटना, २४ जना घाइते

मोहन बुढाऐर

धनगढी — दार्चुलाबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ९११४ नम्वरको बस डोटीकाे जोरायल गाउँपािलका–२ अन्तर्गत भीमदत्त राजमार्गको रुवसकाँडा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा ४ गम्भीरसहित २४ जना घाइते भएका छन् । 

क्षेत्रिय ट्राफिक कार्यालय अत्तरियाले दिएको जानकारीअनुसार बिहान ३ बजे बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १ बालक, २ महिलासहित २२ जनाको सेती अञ्चल अस्पताल धनगढी र अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते बसचालक पदम पन्त र बसधनी गंगादत्त जाेशीलाई थप उपचारका लागि भारतीय अस्पताल रिफर गरेकाे छ।

घटनास्थल पुगेका ट्राफिक प्रहरी सहायक निरीक्षक लोकबहादुर पालका अनुसार सडकबाट २५/३० मिटर तल भीरमा ठूलो रुखमा बस अड्किएको छ। ‘बस रुखमा अड्किदा यात्रुको ज्यान जोगिएको देखियो,’ उनले भने, ‘नत्र धेरै यात्रुको घटनास्थलमै ज्यान जान सक्थ्यो।’ बस रुखमा अड्किदा यात्रु भुइमा खसेर बाँचेको उनले बताए।



यात्रुहरुलाई उदृत गर्दै असई पालले चालकको लापरवाहीले बस दुर्घटनामा परेको बताए। दुर्घटनाको एक घण्टाभित्र प्रहरी र उद्धारकर्मी घटनास्थल पुगिसकेका थिए। समयमै उद्धार गरिएकोले घटनामा ज्यान जोगाउन सकिएको पालले बताए।

प्रकाशित : भाद्र २८, २०७५ ०७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT