१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

छेपारा मानिसका साथी

छेपारोले हाम्रो वातावरण र पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न, हानिकारक किरा र मुसा नियन्त्रण गर्न भूमिका खेल्छ ।
रामचन्द्र अधिकारी

काठमाडौँ — कुनै काम गर्छु भन्दै थाती राख्दै गइयो भने भनिन्छ– ‘छेपाराको कथा’ । कुनै राजनीतिक, धार्मिक वा अन्य प्रकारको आस्थामा परिवर्तन गरिरहनेलाई छेपारे प्रवृत्ति या ‘छेपाराले रंग बदलेझैँ’ भन्ने गरिन्छ । नेपाली लोकगीत, लोककथा अनि दन्त्यकथाका पात्रका रूपमा छेपारा आउने गरेका हुन्छन् ।

छेपारा मानिसका साथी

छेपारासँग किन हाम्रो समाज, साहित्य र संस्कृति जोडियो ? यो जनावर मानव जातिका लागि मित्र पो हो कि या कुनै बिगार नगर्ने भएकाले यिनलाई मानिसले शत्रुवत् व्यवहार गरेनन् । अथवा वरिपरि पाइने भएकाले राम्रो अवलोकन गरेर यससँग सम्बन्धित उखान, कहावत आदि बनेका हुन् कि !

घरको भित्तामा घुम्न आउने भित्तीदेखि करेसाबारीमा हुने छेपारा हुँदै ढुंगामुनि बस्ने माउसुली र गोहोरो तथा ड्रागन सबै छेपारा वर्गमा पर्छन् । पानीमा नजाने, ढाड भएका जनावरहरूको समूह अन्तर्गत सरिसृप वर्गमा पर्ने छेपाराका संसारमा पाँच हजार छ सय प्रजाति छन् । अन्टार्कटिकामा समेत छेपारो पाइन्छ । कुनै छेपारा किराफटेङ्ग्रा मात्र खान्छन् भने कुनै अरु साना जीवलाई पनि खाने अनि कुनै त घाँस र मासु दुबै खाने पनि हुन्छन् ।


प्रायश: छेपाराको आपत् परेका बेला वा शत्रुको फन्दामा परेको बेला उम्किन पुच्छर चुँडिने गर्छ । यतिविघ्न प्रजाति अस्तित्वमा रहे पनि मात्र दुइटा प्रजाति विशालु छन् । एउटा गिला मोन्स्टर (हेलोडर्मा सस्पेक्टम) र अर्कोचाहिँ बिडेड छेपारो (हेलोडर्मा होरिडम) ।


नेपालमा छेपाराका जम्मा ३९ प्रजाति पाइएको कालुराम राई, हर्पेटोलोजिष्ट ख्यास्ले र स्लेइखको अनुसन्धानले प्रमाणित गरेको छ । ती सबै प्रजातिको सचित्र वर्णन उनीहरूद्वारा लेखिएको नेपालका उभयचर तथा सरिसृपका लागि स्थलगत निर्देशिका भन्ने पुस्तकमा गरिएको छ ।


छेपाराको मानवसँगको सम्बन्ध दुबैको क्रमविकासका साथमा घनिष्ठ बन्दै आएको छ । कतिपय देशमा यसलाई मानिसले घरमा पाल्ने गरेका छन् । मूलत: चार प्रजातिका छेपारा मानिससित पुरै घुलमिल भइसकेका छन् । तिनीहरू सुन्दर र लजालु पनि छन् । मध्य अमेरिका, इराक र साउदी अरेबिया लगायतका देशमा युरोमास्टिक्स नाम गरेको छेपाराको मासु खाने गरिन्छ ।


धेरै देशमा छेपारालाई बगैँचा–फूलबारीको शोभाका रूपमा लिन्छन्, किनकि यिनीहरू रंगीबिरंगी हुन्छन् । बुझेर वा नबुझेर मान्छेले छेपारासँग दुश्मनी गरेका छैनन् । यो मित्रजीव हो । यसले एकै दिनमा केही मुसा र सयौँ किरा खाइदिएर हाम्रा बालीनाली तथा फूल–बगैँचाको सुरक्षा गरिरहेको हुन्छ । गोहोरोको छालाबाट डमरु, मादल, ढोलक आदि बनाउने गरिन्छ । सुनगोहोरो मार्नु कानुनत: दण्डनीय हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यसलाई संरक्षित जनावरको सूचीमा राखेको छ ।


विष ग्रन्थि नहुने र अरु पनि रक्षाकवच तथा हतियार नभएकाले प्रकृतिमा अरुबाट सुुरक्षित रहन यसले केही उपाय उपहारस्वरुप पाएको छ । जस्तो बासस्थानमा रहन्छ, शरीरको रंग पनि उस्तै बनाउँछ । जसले गर्दा शत्रुले ठम्याउन सक्दैन । छालामा प्रशस्त रंग निर्धारक कणहरू (क्रोमाटोफोर्स) हुन्छन् । ती कणहरूको मात्रालाई घटबढ गराउने र रंगमा परिवर्तन गराउने हर्मोन हुन्छ, जसको उत्पादन उसको इच्छामा भर पर्छ । रंग परिवर्तन गर्ने यस प्रक्रियालाई ‘केमोफ्लेज’ भनिन्छ ।


यसले आँखाभरि रगत पारेर डरलाग्दो भइकन अत्याउँछ । कहिलेकाहीं आपत्कालीन स्थितिमा पुरै टाउको रातै बनाउँछ । कुनैको टाउको जन्मजात रातो हुन्छ । शत्रु वा सिकारबाट फाइदा उठाउन यसले जीउ फुलाउर डरलाग्दो हुन जानेको छ । यस प्रक्रियालाई ‘मिमिक्री’ भनिन्छ ।


पानीमा पस्दै नपस्ने, सधैं धरतीमा बस्ने बरु रुखमा चढ्ने अनि हावामा उड्ने यो जीवका साह्रै सानादेखि अजंगको जीउ हुने प्रजाति छन् । सबैभन्दा सानो छेपारो ‘ब्रुकेसिया माइक्रा’ एक सय मिलिग्राम तौल र आधा इन्च लम्बाइको हुन्छ । सन् २०१२ मात्र हो, प्रजातिको पहिचान भएको हो । सबैभन्दा ठूलो कोमोडो ड्रागन १० फिट लामो र तीन सय पाउन्ड तौलधारी हुन्छ । फुल पारेर बच्चा कोरल्ने यो जनावरको पेटमा प्रतिकूल अवस्था आए एक वर्षसम्म फुल रहिरहने गर्छ । अन्डा फुटेर निस्किएको बच्चा स्वतन्त्र र स्वावलम्बी हुन्छ र ५० वर्षसम्म बाँच्न सक्छ ।


नेपालमा छेपाराबारे गहिराइसम्म अध्ययन, अनुुसन्धान गर्न बाँकी छ । हालसम्मको अध्ययन अनुसार सात प्रजातिका छेपारा रैथाने हुनसक्ने अनुमान छ । उनै अनुसन्धाता राई, ख्यास्ले र स्लाइखले उल्लेख गरेका छन् कि महोत्तरी जिल्लामा मात्र फेला परेको सिताना फुस्का, शुक्लाफाँटामा मात्र भेटिएको सिताना स्लेइखी, इलाममा मात्र पाइएको काइर्टोडक्टाइलस मार्कुसकोम्बाई (धर्के भित्ती) सम्भवत: नेपालका पेवा हुन् । धरानबाट रिपोर्ट गरिएको लाइगोसोमा पन्टाटम, विराटनगर र घोडाघोडी कैलालीबाट रिपोर्ट गरिएको हेमिडक्टाइलस बउरिंगी, सुदूर पश्चिममा मात्र पाइएको काइर्टोडक्टाइलस नेपालेन्सिस रैथाने हुन् भन्ने अनुमान छ । महाभारत पर्वत क्षेत्रमा भेटिएको एसाइम्ब्लेफारस महाभारतस प्रजाति पनि शुद्ध नेपाली हो भनेर भन्ने आधार पाइएको छ ।


छेपारोले हाम्रो वातावरण र पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न, हानिकारक किरा र मुसा नियन्त्रण गर्न भूमिका खेल्छ । हिजोआज विषादीका कारण छेपारो कम हुँदै गएको छ । छेपाराका विषयमा जनचेतना जगाई यिनको संरक्षण गर्न आवश्यक छ । खेतबारीमा छेपारो र माकुरामात्र जोगाउन सक्ने हो भने यी विषादीको स्थायी विकल्प हुन सक्छन् ।


लेखक त्रिवि प्राणीशास्त्र विभाग, स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

[email protected]

प्रकाशित : भाद्र २८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?