चुरेमा चाहिँदो नचाहिँदो

सम्पादकीय

काठमाडौँ — ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने २० वर्षे गुरुयोजना एकातिर छ । अर्कातिर पूर्व–पश्चिम १२ सय किलोमिटर लोकमार्ग बन्दै । गाउँबस्ती खासै नभएका, खनजोत र गोठ रहेका यस क्षेत्रका लागि ‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति’ ले बस्ती पनि बरु सार्ने र जंगल स्याहार्ने नीति लिएको छ । सरकारले भने यहींबाट सडक धमाधम लगिरहेको छ ।

चुरेमा चाहिँदो नचाहिँदो

सत्तारूढ दलका लोकप्रिय नेताको नाममा बन्दै गरेको लोकमार्गप्रति असन्तोष जनाउँदै चुरेप्रति चिन्तित पूर्वराष्ट्रपति रामवरण यादवले त्यसै भनेका होइनन्, ‘मदन भण्डारीको नाम किन बदनाम गर्नुहुन्छ ?’


उसै पनि चुरे कोमल छ । फुसफुस जाने किसिमको । बनावट र वातावरण दुवै कमजोर । जति चलायो, उति समस्या । माटो, बालुवा र गेगर निस्कन्छ । अनि पहिरो जान्छ । यसले तराईका नदीहरूको सतह थप्दै लान्छ । बाढीको सतह बढ्छ । राजमार्गका पुलहरू अहिले नै पुरिन लागिसके । नदी माथिबाट बग्छ, गाउँ तल छ । प्रतिवर्ष २०, २५ सेन्टिमिटर पुरिँदै छ ।


सडक खन्ने शैली चुरेमा निकै घातक छ । हामी डोजर चलाउँछाैं, माटो काटेर तलै फाल्छौं । त्यो माटो जाने उही तराईका नदीमा । हामी ‘कट एन्ड फिल’ मोडल अपनाउँदैनौं । जसमा खनेको माटो नफालीकन त्यहीँ भरिन्छ । आधा खनिन्छ, आधा उचालिन्छ । यसमा क्षति कम हुन्छ । खन्दाखेरि पहाड हल्लिन्छ । पहिरोकै डर । अलि स्थिर मानिएको मुग्लिङ–नारायणगढ खण्डमा त त्यस्तो छ, अन्तको के भर ?


चुरेमा यति ठूलो राजमार्ग चाहिने बस्ती छैनन् । यस्तो पूर्वाधारबाट लागत अनुपातमा लाभ पनि छैन । न यसको व्यापारिक महत्त्व छ, न औद्योगिक । राष्ट्रिय एकीकरण र रणनीतिक दृष्टिकोणले त पूर्व–पश्चिम राजमार्ग वा हुलाकी राजमार्गको अर्थ छ । भविष्यमा यसको उपयोगिताको सम्भावना पनि भूबनोटका कारण छैन । अन्तर्राष्ट्रिय पूर्वाधारसित जोडिने अवस्था पनि छैन । उत्तर–दक्षिण सडकहरूले चीन र भारत जोड्छन् । पूर्व–पश्चिम राजमार्ग एसियन हाइवेसित जोडिन्छ ।


स्थिर नभएको भूबनोट छ । भूकम्पको जोखिम छ । बाटो बनेपछि जनसंख्यासँगै स्रोत दोहन बढ्ने छ । कतिपय स्थानमा अहिल्यै स–साना चिया पसल र बजार छन् । सडक बनिरहेको क्षेत्रमा खोलाखोल्सी छन् । कमलो माटो बगेर तलतिरको मलिलो जमिन पुरिन्छ । माटो बगेर गए बाँकी अन्नभण्डारसमेत प्रभावित हुन्छ । चुरे दोहनले कोसी, वाग्मतीजस्ता नदीसाथै स–साना खोला र खोल्सीमा गेग्रानको मात्रा थपिन्छ । गेग्रानले जमिन, पुल, पुलेसा र बस्तीसमेत पुर्न सक्छ ।


जथाभावी खनिने सडकले चुरे क्षेत्रको जैविक विविधतालाई समेत नामेट पार्छ । राजमार्ग बनाउने क्रममा मकवानपुर, उदयपुर, सिन्धुली, दाङ, सुर्खेत, डोटी र डडेलधुरामा सबैभन्दा बढी चुरे विनाश हुन्छ । चुरेमा अहिले नै पहिरोको संख्या अत्यधिक छ । त्यहीँ डोजर चलाउँदा थामिनसक्नु हुन्छ । चुरेका लागि योग्य सडक बनाउनै नहुने होइन तर संवेदनशील स्थान पहिचान गर्न नसकिए लामो समय हामी पिल्सिरहने छौं । त्रिविको वातावरण तथा विज्ञान केन्द्रीय विभागको अध्ययनअनुसार २२ जिल्लाका चुरे क्षेत्रमा करिब १० हजार हाराहारी पहिरो छन् । यी पहिरो गत सत्र वर्षका हुन् ।


तराईका लागि पानी सोस्ने पहरेदार हो चुरेको जंगल । सखाप भएपछि तराई आकुल हुन्छ । जंगल नासिए वर्षाको पानी रोकिँदैन । बाढी जान्छ । पहिरो खसेर नदीको सतह बढ्छ, त्यसले डुबान बढाउँछ । पर्यावरणमा असर पुग्नु त अवश्यम्भावी । यो योजना तराईलाई काकाकुल बनाउने नियत त पक्कै नहोला तर नियति त्यही हुन पुग्नेछ ।

प्रकाशित : भाद्र २८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?