३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

न सबुद न संवाद

सम्पादकीय

काठमाडौँ — प्रहरी आफूलाई बर्दीसहितका नागरिक र नागरिकलाई बर्दीबिनाका प्रहरी भन्छन् । उनीहरू समाजको शान्तिसुरक्षाका अभिन्न अंग हुन् । जनविश्वास नै उनीहरूको आत्मविश्वास हो । प्रहरी सेवा पवित्र मनको पेसा हो भन्ने मनन हुनसके समाजमा कानुन पालना प्रभावकारी हुन्छ । समाजमा प्रहरी छन्, देशमा कानुन छ भन्ने विश्वास स्थापित हुन्छ ।

न सबुद न संवाद

समाजमा सबै एकै धारणा र स्वार्थका सदस्य हुँदैनन् । शक्ति र आसक्तिका व्यसनी, अपराधी मनोवृत्तिका व्यक्तिहरू पनि हुन्छन् । अपराध कहीँ पनि निर्मूल हुन सक्दैन, नियन्त्रण वा रोकथाम मात्र गर्न सकिन्छ । कसैले ज्यादती गर्‍यो भने पनि प्रहरीले पीडितलाई साथ दिन्छ, प्रमाण बटुलेर दोषीलाई कठघरामा उभ्याउँछ । कसैले अर्घेल्याइँ गर्‍यो भने पनि प्रहरी छ भन्ने डर हुन्छ र प्रहरीकै डरका कारण समाज निडर । त्यसकारण प्रहरी हाम्रो साथी ।


कञ्चनपुरकी अभागी बालिका निर्मला पन्तका अभिभावकले त्यस्तो कुनै भरथेग पाउन सकेनन् । प्रहरीको न आड न आश्वासन । उल्टै हप्कीदप्की, मानसिक यातना र अब त न्याय पाउन नसक्ने विक्षिप्तता । हराएकी छोरी खोजिदिन नजिकको प्रहरीचौकीमा हारगुहार गर्न पुगेका अभिभावक छोरीको बलात्कारपछि हत्यासँगै प्रहरी भूमिका र रवैयाबाट झन्डै दुई महिनासम्म हायलकायल भए । केही सिप नचलेपछि शोकमग्न परिवार प्रधानमन्त्री भेट्न राजधानी ।


यो घटनाको शंकाको केन्द्रमा प्रहरी कसरी पर्‍यो भन्नेमा कुनै शंका गर्नुपर्ने रहेन । पीडित परिवार मात्र होइन, छरछिमेक र समाजका निर्भीक महिलाले यसबीच जेजस्ता भुक्तमान र त्रासदी बेहोरे, त्यसका विवरण आफैँ ऐनाझैँ प्रस्ट छन् । यसले नेपाल प्रहरी संगठनकै कार्यशैली र संस्कारमा भित्रभित्रै हुर्किरहेको प्रवृत्ति हो कि होइन भनेर जाँच्नुपर्ने बनाएको छ । प्रवृत्ति होइन भने यस घटनाको सुरुदेखिकै स्थानीय प्रहरीको व्यवहारप्रति प्रधान कार्यालयले कान ठाडो र आँखा चनाखो पार्नुपर्ने थियो ।


जनता किन प्रहरीलाई विश्वास गरिरहेको छैन, किन झन् प्रहरी कार्यालय घेर्न आउँदै छ, किन निहत्था प्रदर्शनकारीलाई गोली हानिँदै छ र बालकको घटनास्थलमै मृत्यु भएको छ, केही गम्भीर घाइते भएका छन्, पीडित परिवारले खोजेको के हो भनेर किन प्रधान कार्यालयले चासो दिन सकेन ? उल्टै प्रहरी छानबिन टोलीहरूले नक्कली आरोपी खडा गरे, गृहमन्त्री र प्रधानमन्त्रीले काठमाडौंमा गलत जानकारी र विचार प्रवाह गरिरहे, महानिरीक्षकले दिएको सान्त्वनाको कुनै असर परेन ।


किन ? सुरुवातदेखि नै प्रहरी भूमिका शंकास्पद छ । न उसले पीडित परिवारसँग संवाद गरेको छ न सबुद संकलन । अपराध भएको थाहा पाउनासाथ प्रहरीले सुरुदेखि मिहिन अनुसन्धान गर्छ । बलात्कार–हत्या त्यो स्थानमा भएको हो कि होइन ? संघर्ष भएको छ कि छैन ? झाडी माडिएको छ कि छैन ? प्रमाणका लागि सम्पूर्ण भौतिक सबुत संकलन गर्छ । सानोभन्दा सानो रौं पनि छुटाउँदैन । ‘सिन अफ क्राइम’ लाई प्रमाणका लागि नियन्त्रणमा राख्छ ।


निर्मलाको शव फेला परेपछि प्रहरी अधिकृत भने प्रमाण सुरक्षा गर्न होइन, नष्ट गर्न महिला सहकर्मीलाई अह्राउँछन् । सुरुवाल पखालेर निचोर्न र यौनाङ्गमा पानी छ्याप्न लगाउँछन् । प्रहरीको काम दसी प्रमाण संकलन गर्ने र मुद्दा प्रयोजन रहेसम्म त्यसलाई यथास्थितिमा संरक्षण गर्ने हो । मुचुल्का बनाई सिलबन्दी गर्ने ।


आफूले अनुसन्धान गरिरहेको कुनै घटना वा मुद्दामा जब प्रहरीले नागरिकको विश्वास जित्दैन र सर्वसाधारणले भरोसा गर्न छाड्छन्, उसले आफूलाई गम्भीर समीक्षा गर्नैपर्छ । नागरिकको विश्वास नजिती प्रहरीको कर्तव्यपरायणता पूरा हुँदैन, प्रहरीको परायणता समाजको ऐनामा देखिन्छ । निर्मलाका लागि न्यायको संघर्ष दोषी पत्ता लगाउने त छँदै छ, प्रहरी सुधार्ने पनि एउटा प्रमुख नागरिक अठोट बन्नेछ ।

प्रकाशित : भाद्र २९, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?