बलात्कारी पुरुष होइन, अपराधी

प्रतिमा भट्टराई

काठमाडौँ — अचेल अखबारका पाना पल्टाउन डर लाग्न थालेको छ । बलात्कार र यौन दुव्र्यवहारका कुनै न कुनै समाचार छापिएका हुन्छन् । त्यस्ता अपराधमा बुबा, हजुरबुबा, दाजुभाइ र आफन्त संलग्न भएका विवरण हुन्छन् । यस्तो लाग्छ, यी समाचार पढ्दा–पढ्दै हाम्रा छोरी पुरुष आफन्तसँंग नजिकिनै छाड्ने दिन आउँदैछ । छोरीको सुरक्षा अब आमाको एकल दायित्व बन्ने स्थिति उत्पन्न भएको छ ।

बलात्कारी पुरुष होइन, अपराधी

बलात्कारका एकपछि अर्को घटना सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा पुरुषप्रति घृणा जगाउने स्टाटस आइरहेका छन् । हाम्रो सामाजिक संरचनामा पक्कै थुप्रै प्रश्न छन्, तर ती समस्या समाधानको यो बाटो उपयुक्त लाग्दैन ।

के पुरुष बलात्कारी हुन् ? तसलिमा नसरिनले भनेझैं के सबै पुरुषको नजर बलात्कारी हुन्छ ? अनि लंैगिक असमानताको मुद्दा महिलाको मात्र हो ? मलाई लाग्छ, बलात्कार गर्ने व्यक्ति पुरुष हैन, ऊ विशुद्ध अपराधी हो । अपराधीको कुनै लिङ्ग हुँदैन । जात वा धर्म हुँदैन । जसरी कुनै हत्या भयो भने अपराधीको परिचयमा पुरुष, जाति वा धर्म गौण बनिदिन्छ, उसैगरी बलात्कारीलाई पुरुषभन्दा अपराधीको नजरबाट मात्र हेरिनुपर्छ ।

यति धेरै बलात्कारका घटना भइरहनुको कारण के हुनसक्छ ? मथिंगल घुमाउने खालका घटनालाई मैले धेरै कोणबाट विश्लेषण गरेँ । लैंगिक भेदभावपूर्ण व्यवहार बलात्कारको स्रोत हो भन्नेमा म विश्वस्त भएँ । किनभने हामीले छोरा र छोरीमा भेदभाव गरिरह्यौं । सार्वजनिक खपतका लागि समानताको भाषण गरिए पनि व्यवहारमा खासै परिवर्तन भएको देखिँदैन । स्वास्थ्य मन्त्रालयका भर्खरैका तथ्यांकले छोरीभन्दा छोराको जन्मदर वृद्धि भइरहेको देखाउँछ । त्यसको मुख्य कारण पनि लिङ्गका कारण हुने भ्रूणहत्या हो भन्नेमा शंका छैन ।

महिलालाई होच्याउने प्रवृत्ति घर–घरमै छ । उनीहरूको क्षमतामाथि सधैं नजरअन्दाज गरिन्छ । बोलीवचन र व्यवहारले हेलाहोँचो र दुव्र्यवहार गरिन्छ । त्यो मान्यता हुर्किंदै जाँदा महिलालाई कमजोर ठान्ने र उसलाई निर्बल ठान्ने प्रवृत्तिले प्रोत्साहन पाइरह्यो । त्यस्ता मान्यतालाई पुरानो पुस्ताका आमा, हजुरआमाले पनि सही थाप्दै जानुभयो । त्यसले महिलालाई चाहेको बेला जतिबेला जे पनि गर्न सकिन्छ भन्ने आपराधिक मनोबल वृद्धि भइरहेको देखिन्छ । महिलामाथि हुने जबर्जस्तीलाई त्यही मनोरोगले सहज बनाइदिएको छ ।

कञ्चनपुरकी स्कुले किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा महिला सरोकारमा प्रहरीको बेवास्ता छरपस्ट भयो । किशोरी हराएको सूचनाप्रति प्रहरी संवेदनशील भएन । उल्टै भनेछ, ‘यति राति कहाँ खोज्न जाने ? भोलि बिहानै निवेदन लिएर आउनु ।’ किशोरी हराएका अधिकांश घटनामा प्रहरीमात्र हैन, आफन्त र छिमेकीको पनि पहिलो अनुमान हुन्छ, ‘पक्कै पोइल गई होली ।’ यो अर्को बेवास्ता हो । मानिलिउँ, कम उमेरकी छोरीले भागेरै बिहे गरिन् । त्यो पनि गैरकानुनी भयो । उनीसंँग सहमतिमै हुने भनिएका सम्बन्ध पनि बलात्कारै हुन् ।

पत्रपत्रिकामा प्रकाशित समाचार पढ्दा धेरै प्रश्न अनुत्तरित लागे । यो घटना किन यति धेरै रहस्यमय भयो वा बनाइयो ? प्रहरीले अपराधी पत्ता लगाउन सकेन वा पत्ता नलागोस् भनेर जालझेल गर्‍यो ? घटनाका प्रमाण मेट्न खोजिए जस्तो देखियो । प्रहरीको असक्षमताकै कारण यति जघन्य अपराधमा समेत सरकार लाचार बन्नुपर्‍यो । प्रधानमन्त्री र गृहमन्त्री निरीहजस्ता देखिए । उनीहरू जति संवेदनशील हुनुपर्ने हो, भएको देखिएन ।

निर्मलाको न्यायका लागि बरु सर्वसाधारण सडकमा उत्रिएर गोली सामना गरे । यति दु:खद घटनाले एउटा जबर्जस्त सन्देश दियो, निर्मलाको न्यायका निम्ती ज्यान दिने पनि पुरुषै निस्किए । न्यायको खोजीमा काठमाडौं आएका निर्मलाका बुबाआमालाई शनिबार माइतीघर मण्डलामा साथ दिने ठूलो संख्या पुरुषकै थियो । अनि हामी कसरी ‘पुरुष बलात्कारी हुन्’ भनेर अपराधलाई सामान्यीकरण गर्न सक्छांै ?

एउटा कोणबाट हेर्दा छोरीको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैलाई अर्को कोणबाट हेर्‍याँै भने छोराको सुरक्षा त्योभन्दा ठूलो चुनौती बनेको छ । अभिभावकले छोरीको मात्र हैन, छोराको पनि चिन्ता गर्नुपर्ने बेला आएको छ । हामीले छोरीको तुलनामा छोरालाई स्वच्छन्द छाडेका छौं । छोरीलाई राम्रो संस्कार सिकाउँछौं । राम्रो बोलीचाली सिकाउँछौं । राम्रो व्यवहार र संगत गर्न सिकाउँछौं । ती सबै छोराका हकमा लागू हुँदैनन् । छोरा कहाँ गइरहेको छ ? के गरिरहेको छ ? उसको संगत को–कस्तासँंग छ ? धेरैले वास्ता गरिरहेका हुँदैनन् । छोरा लागूऔषधको कुलतमा फसेपछि मात्र अभिभावक झल्यास्स हुन्छन् । बलात्कारीका रूपमा हत्कडी लागेपछि मात्र छोरालाई सुरक्षित राख्न नसकेकामा पछुताउँछन् ।

अब सवाल उठ्छ, छोरी सुरक्षाको दायित्व कसको हो ? जब हामी हरेक हजुरबुबा, बुबा, काका, मामा, दाजुभाइ र आफन्तलाई बलात्कारी देख्छौं भने एक्ली आमाले मात्र के छोरीको सुरक्षा गर्न सक्लिन् ? पक्कै सक्दिनन् । त्यसैले घटनालाई सामान्यीकरण गर्नुभन्दा अपराध विशेषका रूपमा लिनु उपयुक्त हुन्छ । महिला हिंसा, दुव्र्यवहार, भेदभावजन्य सामाजिक–सांस्कृतिक व्यवहारमा सुधार ल्याउन पुरुष र महिला दुबैको हातेमालो जरुरी छ ।

प्रकाशित : आश्विन १, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?