कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बलात्कारको ‘क्याटलिस्ट’

काठमाडौँ — ४३ वर्षकी राधिका केसी (नाम परिवर्तन) लाई चार/पाँच वर्ष अघिसम्म जीवनप्रति खासै गुनासो थिएन । छोरा अध्ययनको सिलसिलामा अष्ट्रेलिया छन् । छोरी पनि ‘प्लस टु’ सकेर विदेशतिरै जाने तयारी गर्दैछिन् । सत्र वर्षको उमेरमा मागी बिहे गरेकी उनका श्रीमान अहिले ४५ वर्ष पुगे ।

बलात्कारको ‘क्याटलिस्ट’

पुख्र्यौली घर धादिङ भएका उनका श्रीमान कुनै गैरसरकारी संस्थामा राम्रो तहमा काम गर्छन् । काठमाडौँमा बसोबास राम्रो छ ।

बिहेको बीस वर्षसम्म उनको यौन जीवन राम्रै थियो । एक–अर्काप्रति गुनासो थिएन । कहिलेकाहीँ आफ्नो मन नभए पनि श्रीमानको लागि हुन्छ भनिदिनुलाई उनले कहिल्यै नराम्रो ठानिनन् । कहिले आफ्नो चाहना हुँदा श्रीमानले मन नलगाइदिँदा पनि गुनासो गरिनन् । चार/पाँच वर्षयता भने उनको यौन जीवन खल्बलिएको छ । जब छोराछोरी हुर्किए, तब उनका श्रीमानमा ‘पोर्न फिल्म’ हेर्ने लत लाग्यो । आफूले हेर्नेमात्र होइन, सँगै हेरिदिनु पनि पर्ने । र फिल्ममा गरेजस्तै आफूले पनि गरिदिनुपर्ने ।

श्रीमानको यो व्यवहारले उनलाई आजित बनाइसक्यो । मनले नस्वीकारे पनि ‘नाइ’ भन्न सक्दिनन् । यस उमेरमा चुपचाप हिंसा सहिरहेकी छन् । वैवाहिक बलात्कार नसुनेकी होइनन् । तर पनि यो उमेरमा उनलाई प्रहरीकोमा जानुभन्दा बरु आत्महत्या गरुँ जस्तो लाग्छ । भन्छिन्, ‘पहिले त्यस्ता थिएनन्, ल्यापटपमा के–केजाति हेर्न थालेपछि त्यस्ता भए ।’

काठमाडौँको एक निजी कम्पनीमा काम गर्ने २६ वर्षकी रोशनी थापा (नाम परिवर्तन) ले ‘पोर्न फिल्म’ नहेरेकी होइनन् । सात/आठ वर्षअघि केटी साथीमात्र बसेर पहिलोपल्ट हेर्दा फिल्म गतिविधिले सबैलाई ‘वमिटिङ’ भएको थियो रे । पछि–पछि पनि एकाधपटक हेरेकी छन् । यौन सम्बन्धको मिठास पनि उनलाई थाहा छ । यसै वर्ष भदौमा कार्यालयबाट ‘रिफ्रेस समेन्ट’का लागि धुलिखेल गएका थिए । साथीहरूसँग अलिअलि पिइन् पनि । तर होश गुमाउनेगरी होइन ।

मिल्ने एक जनासँग प्रेमपूर्ण रात बिताउने उनको समझदारी थियो । तर ऊसहित कार्यालयका दुई सहकर्मीले ‘पोर्न फिल्म’कै शैलीमा उनीसँग सम्बन्ध राखे । उनले नकार्न भ्याइनन् । त्यो नमिठो पलले उनलाई नराम्ररी झस्काएको छ । अहिले त्यस्ता फिल्ममात्र होइन, यौन सम्बन्ध र पुरुष सहकर्मीहरूप्रति नै घृणा लागेको छ, उनलाई ।

दिनहुँ समाचार बनिरहेका बलात्कारका प्रकृति र संख्याबारे सोच्दा यस्तो लाग्छ, हामी बर्बर युगको उत्कर्षमा बाँचिरहेका छौँ । यौनको सामान्य आभाससम्म नभएका नानीहरूदेखि ७० प्लसका हजुरआमासम्म बलात्कृत भैरहेका छन् । यस्ता घटना बढ्नुका विविध कारणमध्ये सहजै उपलब्ध हुने ‘पोर्न फिल्म’को प्रभाव पनि हो । पछिल्ला दिनमा पोर्न फिल्म प्रभावित यौन दुव्र्यवहारको उजुरी लिई प्रहरीमा आउनेको संख्या बढेको छ । सार्वजनिक नभएका अझ होलान् ।

यस्ता फिल्मको नकारात्मक प्रभावबारे आम स्वीकारोक्ति छ । तर हेर्ने क्रम पनि ह्वात्तै बढेको छ । यस्ता फिल्महरूको वेबसाइट ‘पोर्नहव’को वार्षिक समीक्षा अनुसार सन् २००१ मा यस्ता फिल्म विश्वभरमा वार्षिक १० लाखले हेर्थे । सन् २०१७ मा झन्डै साढे २८ अर्बपटक पोर्न साइट चहारिए । यस हिसाबमा दैनिक औसतमा ८ करोड, एक मिनेटमा ५० हजार र एक सेकेन्डमा ८ सयभन्दा बढी मान्छेले यस्ता साइट हेरे । इन्टरनेटप्रति बढ्दो पहुँचले यो संख्या बढाएको हो ।

पोर्नहवका अनुसार अमेरिका र बेलायतपछि त्यस्ता फिल्म धेरै हेरिने देश भारत हो । नेपालका युवायुवतीमा पनि यो लत व्याप्त छ । आजभन्दा ५ वर्ष अघिको एक अध्ययनले इन्टरनेटमा पहुँच भएका ६८ प्रतिशत किशोर–किशोरीले नियतवश वा झुक्किएर पोर्न फिल्महरू हेर्ने देखाएको थियो । इन्टरनेटको पहुँच वृद्धिसँगै यो तथ्यांक बढेको अनुमान गर्न सकिन्छ ।

किशोर–किशोरीमा यौनप्रति चासो र उत्सुकता बढ्नु स्वाभाविक हो । अधिकांश नेपाली अभिभावक त्यो चासोलाई सम्बोधन गर्न कञ्जुस देखिन्छन् । अनि चाहेर–नचाहेर उनीहरू सहजै उपलब्ध हुने यस्ता फिल्मतिर पुग्छन् । यस्ता फिल्ममा केटीहरूलाई कुनै भावना नभएको ‘सेक्स टोय’ जसरी प्रस्तुत गरिन्छ भने केटाहरूलाई उग्र र उद्दण्ड ।

त्यो हेरेर यौनप्रतिको मनोविज्ञान बनाएको कुनै युवाले यौन सम्बन्धप्रति कस्तो दृष्टिकोण राख्छ ? यस्तो स्कुलिङबाट यौनसम्बन्ध भनेको माया, प्रेमको उच्च अभिव्यक्ति हो भन्ने भावना आउँछ र ? आजभोलि केही युट्युव च्यानलमा युवतीहरूलाई ‘तपाईँ कस्तो सेक्स पार्टनर चाहनुहुन्छ ?’ जस्ता प्रश्न सोधिन्छ । युवतीहरू सहजै भन्छन्, ‘वाइल्ड एन्ड एग्रेसिभ’ । यो त्यस्तै फिल्मले दिमाग भरिदिएको ‘रेडिमेड’ उत्तर हो । पुरुषसत्ताले दमित समाजमा हुर्किएकी केटी जब त्यस्ता फिल्ममा आफूजस्तै अर्को केटीको भूमिका देख्छे, स्वभावैले ‘इन्फेरिअर’ महसुस गर्छे । उसले यौनलाई त्यसरी नै बुझ्छे र स्वीकार्छे ।

यस्ता फिल्मले पुरुषलाई बलात्कार गर्न उक्साउँछ भने महिलालाई स्वीकार्न । बलात्कारको कारण यस्तो फिल्ममात्र होइन, बलियो कारण भने हो । मनोविद तथा अपराधशास्त्रीहरू ‘पोर्नमुभी’ र बलात्कारबीच सम्बन्ध हुने स्वीकार्छन् ।

मानव सभ्यताको इतिहासमा सिकारी युगसम्म सबै कुरा सामूहिक हुन्थ्यो । समूहमा सिकार गर्ने, बाँडेर खाने अनि समूहमै बस्ने । यौन जीवन पनि सामूहिक हुन्थ्यो । यौनजोडी छान्न सबै स्वतन्त्र हुन्थे । भर्खर जन्मिएको बच्चालाई समूहको नयाँ सदस्यको रूपमा लिइन्थ्यो । उसको हेरविचार पनि सामूहिक रूपमै हुन्थ्यो । सिकारी युगबाट कृषि युगमा प्रवेश गर्नु मानव सभ्यताको एउटा कोसेढुंगो थियो ।

कृषि युगसँगै मानिसको स्थायी बसोबास, पारिवारिक जीवन सुरु भयो । र त्यहीँबाट निजी सम्पत्तिको अवधारणा सुरु भयो । विस्तारै समाजमा वर्गीय असमानता सुरु भयो । महिला–पुरुषमा कामको बाँडफाँड भयो । लैंगिक भेदभावको जग बस्यो । फ्रेडरिक एंगेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ पुस्तकमा वर्गीय तथा लैंगिक विभेदका यिनै जरालाई खोतलेका छन् ।

औद्योगिक क्रान्तिपछि उद्योगधन्दाको विकास भएका देशमा महिला–पुरुष दुबै औद्योगिक श्रमिकको रूपमा काममा जान थाले । यस्तो सहकार्यले महिला–पुरुषबीच समानताको सम्बन्ध कायम गर्न केही सघायो । तर उद्योगधन्दा विकास नभएका देशमा पुरुष रोजगारीको लागि घर बाहिर जाने र महिला बच्चाको हेरविचार र खेतीकिसानी गरी घरतिरै बस्न थाले ।

बाहिरफेर हिँड्ने हुनाले पुरुष महिलाभन्दा बढी जान्ने–बुझ्ने भए । औद्योगिक उत्पादनसँगै व्यापार फस्टाउन थाल्यो । मुद्राको महत्त्व बढ्न थाल्यो । यसले महिलाले उब्जाएको अन्नपातको भन्दा पुरुषले बाहिरफेर कमाएको पैसाको महत्त्व उच्च मानियो । यसरी महिला र पुरुषको श्रमबीच विभेद सुरु भयो । यो नै सामाजिक लिंगको निर्माण र पुँजीवादले मलजल गरेको लैंगिक विभेदको आधार थियो ।

सुरुदेखि नै काममा लागेका कारण उत्पादन प्रविधि र व्यवस्थापन क्षेत्रमा पुरुष अगाडि भए । विस्तारै यस क्षेत्रमा महिलाको प्रवेश भयो । तर उनीहरूलाई उत्पादनको बजारीकरणमा बढी सहभागी गराइयो । आकर्षक महिला र उत्पादनलाई समानान्तर रूपमा बजारमा पठाइयो । अहिले उत्पादनका हरेक सामानसँग आकर्षक महिलाको उपस्थिति अविभाज्यजस्तै बनेको छ । यसले महिलालाई उपभोग्य वस्तुको हाराहारीमा पुर्‍याएको छ । महिलाको सन्दर्भमा मापदण्डजस्तै बनेको आकर्षक पहिरन र मेकअपको अन्तर्यमा सुन्दर ‘प्याकेजिङ’को अदृश्य भाव त लुकेको छैन् ?

पुँजीवादको उत्कर्षमा महिला, सुन्दरता र यौनप्रति पुरुष मनोविज्ञान यस्तो बन्यो । यो व्यक्ति पुरुषको भन्दा पनि सभ्यताको खोट हो । यौन प्रकृति हो । सभ्यता मानव निर्मित । सभ्यता सापेक्ष हुन्छ । सभ्यता र समाजसित जीवविज्ञान छुटाउन मिल्दैन । जीव विज्ञानका सामान्य तथ्यलाई छोडेर जब गलत मान्यता बन्छन्, तब त्यहाँ समस्या सुरु हुन्छ । सृष्टिको आदिकालदेखि नै महिला र पुरुषबीच हुने सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध भनेकै यौनसम्बन्ध हो । यौनबारे कुरा नगरी बाँकी सभ्यताको चर्चा गरिन्छ भने त्यो अपुरो हुन्छ, फगत बकवास ।

जीवविज्ञान अनुसार यौन प्रजननसँग सम्बन्धित विषय हो । अन्य जीवजन्तुको जस्तै मानिसको हकमा पनि यौन वंशवृद्धि र निरन्तरताको लागि अपरिहार्य हुन्छ (त्यसो त प्रजननका लागि प्राकृतिक यौन सम्बन्धमा मात्र भर पर्नुपर्ने अवस्था अब छैन) । तर अन्य जीवमा सामान्य जसरी घटित हुँदै आएको यौन मानिसको सन्दर्भमा भने सरल र जटिलको माझधारमा फँसेको छ । मानिसका हकमा यौनले प्रजनन प्रक्रियाभन्दा बढी मनोरञ्जनका रूपमा ठाउँ लियो । मनोरञ्जन पक्ष हावी हुँदै गएपछि यौनलाई व्यवस्थित गर्न बनाइएका विवाहजस्ता संस्था पनि कमजोर हुँदै गएका छन् ।

जब परिवार नियोजनका साधन तथा ज्ञानले व्यापकता पायो, तब यौन मनोरञ्जनको माध्यम बढी हुँदै गयो । यसले देहव्यापारको ‘स्पेस’ बढाउँदै लग्यो । यसैलाई व्यवसायीकरण गर्न ‘पोर्न फिल्म’ उद्योग सफल हुँदै गए । अवास्तविक र ‘लार्जर देन लाइफ’ दृश्यहरू खिचिएका पोर्न फिल्मले यौनप्रतिको धारणामा परिवर्तन ल्याउन थाल्यो ।

भर्चुअल र डिजिटल यौनमा अभ्यस्त हुँदै गएको पुस्ता जैविक र वास्तविक यौन सम्बन्धसँग असन्तुष्ट हुँदै गएको छ । यस्ता फिल्मका ‘म्याग्निफाइड’ दृश्यहरूले व्यक्तिमा हीनता, कुण्ठा तथा आवेशहरू भर्दै गयो । परिणामस्वरूप शरीर र मन एक हुने कोमल र प्राकृतिक यौनसम्बन्ध रुखो, आवेगपूर्ण कृत्रिम र हुँदै गयो । बलात्कारको जरोमा ती फिल्मका प्रभाव हावी छ ।

बलात्कार अस्वस्थ समाजको ‘बाइ–प्रोडक्ट’ हो । अस्वस्थ समाजको मुहान विकृत राजनीति हो । विकृत राजनीतिले अस्वस्थ समाजलाई मलजल गर्छ र सभ्यता धमिल्याउँछ । धमिलिएको सभ्यतामा पीडितको मनोबल कमजोर हुन्छ भने पीडकको उच्च । पोर्न फिल्म त ‘क्याटलिस्ट’ मात्र हो । समाज स्वच्छ बनाउन मुहानबाटै सफाइ गर्नुपर्छ ।

प्रकाशित : आश्विन २, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?