आना चलान, घर ढलान

सम्पादकीय

काठमाडौँ — हामीले हेर्दाहेर्दै काठमाडौंको काँठ मासिँदै छ र योजनाबद्ध बस्ती विकासको अवसर पनि गुम्दै । बीसौं शताब्दीमा विश्वभर जहाँ–जहाँका बस्तीमा रेल र रोडका सञ्जाल बने, त्यहाँ–त्यहाँका सहरले काँठलाई धकेलिरहे । काँठ परपर सरिरह्यो । काठमाडौंमा पनि । चक्रपथ बन्नुअघि भित्रकै बस्ती काँठ थिए ।

आना चलान, घर ढलान

सडकले सहर घेर्‍यो, काँठ बाहिर पार्‍यो । अंग्रेज लेखक क्वेन्टिन क्रिस्प भन्छन्, ‘यो विस्तारित ब्रह्माण्डमा समय निर्वासितका पक्षमा छ । जो एकपटक काँठमा बस्छ, ऊ आफ्नो ठेगाना नबदलीकनै महानगरवासी भइसक्छ ।’

सहर र गाउँको संक्रमणमा बाँच्ने थलो हो काँठ । जुन ठ्याक्कै सहर बन्न सक्दैन, गाउँ बाँकी रहँदैन । अमेरिकी राजनीतिज्ञ मोलिसा बिन भन्छिन्, ‘पहिचानको चोरी देशको सबैभन्दा तीव्र गतिमा बढिरहेको अपराध हो, खासगरी काँठमा ।’

काँठले गाउँको मूल्यप्रणाली छोड्न र सहरको अँगालिहाल्न सक्दैन । गाउँका अगाडि काँठ स्मार्ट हुँ भन्ने ठान्छ, सहरका अगाडि केही न केही । पुरै सहरी मूल्यप्रणाली अपनाउन स्रोत चाहिन्छ । सहर र पहाडको ‘बफर जोन’ काँठ । काठमाडौंको काँठको खास पहिचान छैन । पहाडका डाँडामा तामाङ । त्यसको फेदीमा बाहुन क्षेत्री, दलित, ती पनि मूलत: पृथ्वीनारायण शाहले उपत्यका जितेपछि बसाइँ सरेका । मैदानमा नेवार । काँठको मान्छे बसाइँ पनि सरेन । धेरै पछिसम्म त्यहाँ बसाइँ सरेर पनि कोही आएन । बाहिरी समुदायसँग घुल्न पनि पाएन ।

काँठ भौतिक विकासका हिसाबले मात्र सहरजस्तो देखिन थालेको हो । बाटो बन्यो । ढलान घर बने । होटल–पसल खुले । सामाजिक विकासले भने लायक केही छैन । शिक्षा, स्वास्थ्य, सरकारी सेवामा पहुँच सबै हिसाबले । काँठले रूढिवाद छाडिहाल्न पनि गाह्रो मान्छ । पुरुषप्रधान प्रवृत्ति व्याप्त छ । महिला मेहनती छन्, उत्पादन सहर लगेर बेच्छन् । घर धान्छन्, छोराछोरी पढाउँछन् । कति महिलाले वृद्धभत्ता लिने बेला मात्र नागरिकता बनाउँछन् ।

सरकारी जागिर पनि सानोतिनोमै सन्तुष्ट । सहरको मात्र वरिपरि भयो काँठ, सत्ताको होइन । विद्रोह पनि कहिल्यै गरेन, जीविका चलेकै छ भनेर । जे छ, त्यसैमा सन्तुष्ट भएर । एक मानो खान कहिल्यै दु:ख भएन । जग्गा धेरै भएर होइन, धेरै फलेर । त्यही मलिलो ठाउँ सहरीकृत हुँदै छ । कुनै योजना छैन । भित्री सहरभन्दा पनि कुरूप हुँदै छ ।

तीन वर्षअघिको भूकम्पपछि जग्गा बेच्ने होडबाजी झन् बढेको छ । आहान चलिसकेको छ– आना चलान, घर ढलान । यो प्रवृत्ति नरोकिए भविष्यमा काँठका बासिन्दाले ठूलो दु:ख पाउँदै छन् । खेतीबाट विस्थापित हुनेछन्, नयाँ अवसर पाइहाल्न सक्नेछैनन् । जानेको त्यही खेती थियो, जग्गा बेची खाइसकिनेछ । जग्गा बेचेर शिक्षामा लगानी गर्नेहरू त तैबिसेक टिक्लान्, घरगाडी र फुर्मासमा लाग्नेहरू पछुताउनेछन् ।

काँठमा गर्नुपर्ने दुई काम छन्, रूढिवाद हटाउने र व्यवस्थित बस्ती बसाल्ने । योजनाबद्ध सहरका लागि पहल गर्नुपर्ने जनप्रतिनिधिहरू दिशाहीन देखिन्छन् । कति त जग्गा दलालका प्लटिङ साझेदार छन् । अवैध बालुवाखानी धमाधम कति, भित्रभित्रै कति चलिरहेका छन्, चलाइरहेका छन् । काँठ ध्वस्त पार्न उनीहरू आफैं काफी छन् ।

काठमाडौंका काँठहरू बाँकी छन् कि छैनन् जस्तो भइसके पनि गाउँको गुण अलिअलि बाँकी छ तर खेतपातीसँगै हरियाली हराउँदै छ । मौलिकता गुम्दै छ । स्मार्ट सिटीको उद्देश्य जग्गाको भाउ बढाउने मात्रै देखिन्छ । बस्तीको बीचबाट बाटो लगिन्छ । बासिन्दाको उठिबास । व्यवस्थित बसोबासबाट मौलिकता जोगाउने बलियो अभियान नहुनु चिन्ताको विषय हो । जथाभावी प्लटिङ रोक्नु, स्थानीय मौलिकता जगेर्ना गर्नु र मास्नै नमिल्ने गरी हरित पेटी तोक्नु काँठलाई सास फेर्न दिनु हो र काठमाडौंलाई ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?