कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

माध्यम फेरियो, शैली उही

मधु राई

काठमाडौँ — विराटनगर महानगरपालिकाका केही सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरे । निजी विद्यालय छाडेर आउनेको संख्या ह्वात्तै बढ्यो । विद्यार्थीको चाप थेग्न सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिनुपरेको छ ।

माध्यम फेरियो, शैली उही

विराटनगर महानगरभित्र ५५ सामुदायिक र २० वटा धार्मिक विद्यालय छन् । यसै वर्षदेखि महानगरपालिकाले तीनवटा सामुदायिक र दुइटा धार्मिक विद्यालयलाई नमुना बनाउने भनेर डेढ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसका लागि ९ वटा विद्यालयले निवेदन दिएकामा आदर्श मावि, पोखरिया मावि र मिल्स माविलाई ३५–३५ लाख तथा ताजुल स्लामलाई २२ लाख र लक्ष्मीनारायणलाई २१ लाख रुपैयाँ उपलब्ध गराइएको छ । पोखरिया मावि शिक्षण सिकाइमा जिल्लामा उत्कृष्ट मानिन्छ । अंग्रेजी माध्यमसँगै भौतिक पूर्वाधारमा आदर्श मावि नमुना मानिँदै आएको छ ।

सत्यनारायण मावि र राधाकृष्ण माविले पनि कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन । सरस्वती उच्च मावि र गोग्रा माविले ८ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । जनपथ उच्च मावि र मिल्स माविले ५ कक्षासम्म अंग्रेजी माध्यममा पढाउँछन् । नगरक्षेत्रका दुई दर्जन सामुदायिक विद्यालयले कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरेका छन् ।

निजी विद्यालयप्रतिको वितृष्णा र सामुदायिकतिर आकर्षण बढ्दै जानु समग्र सरकारी शिक्षाप्रति जनविश्वास वृद्धि हुँदै जानु पनि हो । तथापि माध्यम मात्र अंग्रेजी भएर नहुने निजी विद्यालयहरूको लामो अभ्यासले देखाउँछ किनभने निजी विद्यालयहरूले उत्पादन गर्दै आएका अधिकांश विद्यार्थीको पहिलो रोजाइ भनेको विदेशी शिक्षा र विदेशी भूमि हो । निजी विद्यालयले नेपाल र नेपाली भूमिका लागि नभई विदेश र विदेशीका लागि जनशक्ति उत्पादन गर्दै आएका छन् भन्दा अन्यथा हुँदैन ।

कतिपय विकसित मुलुकमा अंग्रेजी भाषालाई समृद्धि र विकासको संवाहकका रूपमा मानिन्छ । हामीकहाँ अंग्रेजी भाषाको माध्यमबाट शिक्षा प्रदान गर्दै आएका निजी विद्यालयले दुई थरी विद्यार्थी उत्पादन गर्दै आएका छन् ।

स्कुले जीवनमा उत्कृष्टता हासिल गर्दै आएका अधिकांश विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गरी उतै बसाइँ सरेका छन् । औसत विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाए पनि पढाइअनुसारको काम र अवसर पाउने सम्भावना न्यून छ । दुई थरी विद्यार्थी उत्पादन गर्दै आएका निजी विद्यालयको अभ्यासलाई सामुदायिक विद्यालयले अन्धाधुन्ध अनुसरण गर्नु कति ठीक हो, मननीय छ ।

अंग्रेजी भाषालाई शिक्षाको माध्यम बनाउँदा देशको विकास र समृद्धिमा कतिको योगदान पुग्छ भन्ने विषयमा त्यति धेरै अध्ययन अनुसन्धान भएको छैन । माध्यम मात्र अंग्रेजी भए पुग्छ भन्ने सोचाइ सही नहुन सक्छ । शिक्षाका सरोकारवाला र शिक्षाविद्को दीर्घकालीन सोच र दृष्टि अपुग भएकैले निजी विद्यालय पढेका हाम्रा छोराछोरी विदेशी भूमिमा भविष्य खोज्न बाध्य छन् । थोरैले राम्रो शिक्षा र अवसर पाए पनि धेरैका छोराछोरीको दैनिकी सोचेजस्तो छैन । रहरै रहरमा विदेशमा उच्च शिक्षा हासिल गर्न पुगेका विद्यार्थीलाई आज उता बस्नु बाध्यता बनेको छ । आफ्नै मातृभाषा र राष्ट्रभाषामा शिक्षा प्रदान गरिरहेका जापान, चीन, स्पेन र फिनल्यान्डको विकास र समृद्धिले विश्वको ध्यानाकर्षण गराउँदै आएको सर्वविदितै छ ।

अमेरिकी शिक्षक तथा शिक्षाविद् जोन हल्टले आफ्नो पुस्तक ‘असफल स्कुल’ मा स्कुले जीवनमा बालबालिकालाई असल शिक्षा चाहिने उल्लेख गरेका छन् । उनका अनुसार असल शिक्षाले तीनवटा ज्ञान दिनुपर्छ । पहिलो, आफू वरिपरिको दुनियाँलाई राम्रोसँग चिन्ने र बुझ्ने । दोस्रो, आफू स्वयंलाई विकसित गर्ने । तेस्रो, आफ्नो विशेष रुचि र कुशलता प्रयोग गरेर आफू वरिपरिको दुनियाँका असली समस्यासँग जुध्न सक्ने र मानव समुदायको भलो गर्न सक्ने । तर ती तीनै ज्ञान दिन हाम्रा शिक्षालयहरू असफल छन् ।

हिजोका दिनमा उपरोक्त ज्ञान बाँड्न निजी विद्यालय चुकेको दुष्परिणाम आज देशले भोगिरहेको छ । यसको प्रत्यक्ष र परोक्ष मूल्य हामी अभिभावकले चुकाउनुपरेको छ । निजी विद्यालय पढेका छोराछोरी विदेशमै आफ्नो भविष्य सुरक्षित देख्छन् । अंग्रेजी भाषा सिक्नु भनेको नेपाली भुल्नु हैन । तर शिक्षालयले त्यो सिकाएनन् ।

मुलुकले आफ्नो विकास र समृद्धिको संवाहक बन्ने जनशक्ति तयार गर्नुपर्छ । हामीकहाँ भने व्यक्तिवादी चिन्तन हावी भएको छ । हामीकहाँ शिक्षित हुनु भनेको सम्पन्न हुनु भन्ने पुरातन मान्यता स्थापित छ । हाम्रा शैक्षिक संस्थाहरूले आफ्नो देशलाई चाहिने जनशक्ति उत्पादनमा केन्द्रित हुने हो भने विकास र समृद्धि टाढा छैन । शिक्षाविद् जोन हल्टले भने जस्तै हाम्रा शैक्षिक संस्थाहरूले माध्यम भाषाभन्दा पनि विद्यार्थीलाई उपयुक्त ज्ञान दिने शिक्षण पद्धतिमा जोड दिनुपर्छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?