कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

हाम्रा वनस्पति कति ?

काठमाडौँ — वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गतको ‘डिपार्टमेन्ट अफ फरेस्ट रिसर्च एन्ड सर्भे’ ले सन् २०१५ मा प्रकाशित गरेको ‘स्टेट अफ नेपाल्स फरेस्ट्स’ अनुसार नेपालको ४४.७४ प्रतिशत भाग वनजंगलले ढाकेको छ तर यी वनमा कति प्रकारका वनस्पति प्रजाति छन् ? थाहा छैन ।

हाम्रा वनस्पति कति ?

देश विशेषले वनस्पतिको विवरण ‘फ्लोरा एकाउन्ट’ प्रकाशन गर्ने चलन छ । कुनै देशको वनस्पति पहिचान गर्न अध्ययन अनुसन्धानकर्ताले ‘फ्लोरा एकाउन्ट’ नपल्टाई पूरा हुँदैन । चीनले ‘फ्लोरा अफ चाइना’ र भुटानले ‘फ्लोरा अफ भुटान’ डेढ दशकअघि प्रकाशन गरिसकेको छ ।

भारतको भने ‘फ्लोरा अफ ब्रिटिस इन्डिया’ सन् १८७६–१८९७ मा ७ भोलममा प्रकाशन भएको थियो । छुटेका वनस्पति समेटेर समसामयिक संरचनामा पुन: ‘फ्लोरा अफ इन्डिया’ प्रकाशन गर्ने क्रम जारी छ । ‘फ्लोरा एकाउन्ट’ वनस्पतिको संविधान हो । ‘फ्लोरा अफ नेपाल’ नहुनु भनेको नेपालमा के कस्ता वनस्पति छन्, तिनलाई कसरी उपयोग गर्न सकिन्छ आदि थाहा नहुनु हो ।

नेपालबाट निकासी हुने जडीबुटी के कति महत्त्वका हुन्, राम्रो पहिचान हुन सकेको छैन । केही वर्षयता पश्चिम नेपालबाट वन लसुन अत्यधिक निकासी हुँदै आएको छ । वनस्पतिविज्ञलाई नेपालमा पाइने वन लसुन प्रजातिबारे राम्रो हेक्का छैन । नेपालका अन्य महत्त्वपूर्ण जडीबुटी पनि बेनामे अवस्थामा निर्यात हुँदै आएका छन् ।

अनुसन्धानको इतिहास बेलायतले काठमाडौं उपत्यकाबाट सन् १८०२ मा वनस्पति संकलन अध्ययन सुरु गरेको थियो । जापानले सन् १९५२ मा नेपाली वनस्पति खोज अनुसन्धान थाल्यो ।

नेपालका लागि समरबहादुर मल्ल र समनबहादुर राजभण्डारीले काठमाडौं उपत्यकाबाट सन् १९६२ मा वनस्पति संकलन गरे । त्यसपछि तीर्थबहादुर श्रेष्ठ, पुष्परत्न शाक्य, केशवराज राजभण्डारी, महेशकुमार अधिकारी, नारायणप्रसाद मानन्धर, महेन्द्रनाथ सुवेदी, रामप्रसाद चौधरी, कृष्णकुमार श्रेष्ठ, निर्मलकुमार भट्टराई, मधुसूदन विष्ट, दामोरप्रसाद जोशी, राजेशकुमार उप्रेती, विद्या मानन्धर, साजन दाहाल आदिले विभिन्न जिल्लाबाट वनस्पति संकलन गरेको पुस्तक तथा लेखहरूबाट थाहा पाइन्छ । वन मन्त्रालयअन्तर्गत वनस्पति विभागका कैयौं अनुसन्धानकर्ताले पनि वनस्पति संकलन तथा अध्ययन गरे, गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभाग र स्नातकोत्तर क्याम्पस विराटनगरले पनि यो काम गर्दै आएका छन् ।

सन् १९९९ मा ‘फ्लोरा अफ नेपाल’ प्रकाशन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, द युनिभर्सिटी अफ टोकियो, जापान, द न्याचुरल हिस्ट्री म्युजियम लन्डन, युके र रोयल बोटानिकल गार्डेन इडिन्बर्घ, युकेबीच समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअघि वनस्पति विभागले प्रारम्भिक रूपमा सुरु गरिसकेको थियो । उन्यू तथा फूल फुल्ने वनस्पति १० भोलममा १० वर्षभित्र प्रकाशन गरिसक्ने समझदारी थियो । सन् २०११ मा मात्र ‘फ्लोरा अफ नेपाल’ भोलम ३ प्रकाशन भयो । त्यस भोलममा पंक्तिकारमध्ये कमल मादेन मार्क वाटसन र कोलिन पेन्ड्रीसँग २ वनस्पति परिवारका प्रजाति लेखनमा संलग्न छन् । त्यस खण्डमा फूल फुल्ने ६ सय वनस्पतिको विवरण समेटिएको छ । अन्य भोलम कहिले प्रकाशन होलान्, आकलन गर्न सकिँदैन ।

सन् २०२० सम्म ‘फ्लोरा अफ नेपाल’ को १० भोलुम प्रकाशन गरिसक्ने ‘नेपाल नेसनल बायोडाइभरसिटी स्ट्राटेजी एन्ड एक्सन प्लान : २०१४–२०२०’ (पृष्ठ ९८) मा उल्लेख छ । नेपालले सन् २०२० सम्ममा मुलुकमा रहेका जैविक स्रोत अभिलेखन गरिसक्ने प्रतिबद्धता ‘कन्भेन्सन अन बाइलोजिकल डाइभरसिटी १९९२’ मा गरेको थियो । त्यहीअनुसार रणनीतिक कार्ययोजनामा समयसीमा लेखिएको हो । अग्निप्रसाद सापकोटा वनमन्त्री रहँदा ‘फरेस्ट्री सेक्टर स्ट्राटेजी : २०१६–२५’ जारी भयो । त्यसमा ‘फ्लोरा अफ नेपाल’ सन् २०२५ सम्ममा प्रकाशन गरिसक्ने भनिएको छ ।

‘फ्लोरा अफ नेपाल’ प्रकाशन गर्ने मुख्य जिम्मा रोयल बोटानिकल गार्डेन इडिन्बर्घ, युकेको हो । उसले ‘फ्लोरा अफ नेपाल’ को भोलम ४, भोलम ७, भोलम १० (दुुई खण्ड) २०१५ अघि प्रकाशन भइसक्ने जनाएको थियो तर अहिले संस्था अर्कै कामतिर लागेको तिनका पछिल्ला गतिविधिले छर्लंग पार्छन् । सरकारका सरोकारवाला निकायले ‘फ्लोरा अफ नेपाल’ प्रकाशनमा काम के भइरहेछ भनेर जवाफ लिने चेष्टासम्म गरेको देखिँदैन । सरकारी प्रतिनिधिहरू ‘फ्लोरा अफ नेपाल प्रकाशन गरिदिन्छु भनेकै हो, अब गरिदेला नि’ भन्ने ढंगले ढुक्क देखिन्छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा राजनीति भागबन्डामा उपकुलपति र कार्यकारी सदस्य सचिव नियुक्त हुने प्रवृत्ति छ । त्यहाँ नियुक्त हुनेहरूले राजनीति बढी, बौद्धिक काम कम गर्ने भएकाले ‘फ्लोरा अफ नेपाल’ प्रकाशन अधुरो बनेको हो ।

अबको बाटो नेपालमा फूल फुल्ने वनस्पति ५५ सय प्रजाति छन् भनेर करिब ४ दशकअघि अनुमान गरिएको थियो । त्यसबाहेक करिब ६ सय प्रजातिका उन्यू पहिचान भएका छन् । राष्ट्रिय हर्बारियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा करिब ४५ सय प्रजाति फूल फुल्ने वनस्पतिका नमुना पहिचान गरिएको छ । यीसहित त्यहाँ १ लाख ६० हजार वनस्पतिका नमुना संगृहीत छन् । यी नमुना र जापान तथा बेलायतमा संग्रह गरिएका नमुना अवलोकन गरेर नेपालले आफैं ‘फ्लोरा अफ नेपाल’ लेख्न
सक्छ । ‘फ्लोरा अफ नेपाल’ भोलम ३ मा केशवराज राजभण्डारी र कृष्णकुमार श्रेष्ठ सम्पादक मण्डलमा थिए ।

अञ्जना देवकोटा र प्रमोदकुमार झाको ‘बोटानिस्ट इन नेपाल : एन ओभरभ्यु’ (सन् २०१६) शीर्षक लेखअनुसार नेपालमा करिब २६ सय जनाले वनस्पतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् १ सयभन्दा बढीले वनस्पतिशास्त्रमा विद्यावारिधि गरेका छन । तीमध्ये ११ जनाले ‘फ्लोरा अफ नेपाल’ का वनस्पति समूह वा निश्चित वनस्पतिका केही जातिमा अध्ययन अनुसन्धान गरी विद्यावारिधि गरेका हुन् । विदेश गई अध्ययन अनुसन्धान गरेर उहीं बसेका कैयौं नेपाली मूलका विज्ञलाई यो परियोजनमा सामेल गराउन सकिन्छ । यसकार्यमा विदेशी विज्ञको सहयोग लिनुपर्छ । ‘फ्लोरा अफ चाइना’ मा चिनियाँ अघि र विदेशी पछि रहने संरचना छ । नेपालमा त्यस्तै संरचना हुनु राम्रो हुन्छ ।

‘फ्लोरा अफ नेपाल’ परियोजनाका लागि १० जना वरिष्ठ र १० जना कनिष्ठ वनस्पतिविज्ञको टोलीले संयुक्त रूपमा काम गर्दा सबै भाग ३ देखि ४ वर्षमा प्रकाशन गर्न सकिन्छ । वरिष्ठ र कनिष्ठ १–१ जना मिलेर दैनिक २ वनस्पतिको पूर्ण विवरण तयार गर्न सकिन्छ । यस हिसाबले महिनामा २० दिन काम गर्दा १० समूहले प्रतिमहिना ४ सय प्रजातिको विवरण तयार गर्छन् । ६ हजार वनस्पतिको विवरण तयार गर्न १५ महिना लाग्छ । यो कामलाई परिष्कृत गर्न थप एक, डेड वर्ष समय छुट्याउनुपर्छ । यसमा केही जटिल समस्या छन् । सबै नेपाली वनस्पतिको नमुना संग्रह यहाँ छैन । जापान, बेलायत तथा भारतबाट हाम्रा वनस्पतिका नमुना झिकाउनुपर्छ । केही स्थलगत रूपमै संकलन गर्नुपर्ने हुन सक्छ । यो काम समय छुटयाउनुपर्छ । वनस्पतिका रेखाचित्र कोर्ने, विज्ञसँग अन्तरक्रिया, सेमिनार, प्रुफ रिडिङ, ढाँचा तयारी, छपाइ आदि काम गर्दा बढीमा ४ वर्षमा ‘फ्लोरा अफ नेपाल’ प्रकाशन गर्न सकिन्छ ।

‘फ्लोरा अफ नेपाल’ प्रकाशनमा हल्ला मात्र भएको छ । अब कामलाई सही दिशामा ल्याउनुपर्छ । यसका लागि वन मन्त्रालयअन्तर्गत वनस्पति विभागले समन्वय गर्नुपर्छ ।

लेखकद्वय वनस्पतिविद हुन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?