कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

अराजकताको दुई तिहाइ मोल

युग पाठक

काठमाडौँ — प्रधानमन्त्री ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याइदिने गफ दिए । मान्छे गलल्ल हाँसे । डेढ वर्षपछि गोबरग्यास उद्घाटन गर्दै उनले घरघरमा ग्यास पुर्‍याउने काम सुरु भएको भाषण गरे । मान्छे झन् धेरै हाँसे । आखिर चुलोचुलोमा पाइपबाट पुर्‍याउने भनेको गोबरग्यास थियो कि पेट्रोलियम ग्यास ?

अराजकताको दुई तिहाइ मोल

छल यसरी गरियो, तैपनि हामीलाई छल नै ठट्टाजस्तो लागिरह्यो । त्यो विद्रुप ठट्टाभित्रको अराजकता हाँसोको रुमालले कतिन्जेल छोप्ने ?

उनले रेल र पानीजहाजको गफ छाँटे । देश हाँस्यो । कार्टुनिस्टहरूले कार्टुन कोरेर हाँसोमाथि व्यंग्य थपे । बर्खामा हिलाम्य काठमाडौंका सडकमा जहाज कुदाउने ठट्टा सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूले पनि हास्यव्यंग्य पस्किरहे । संसद्मा प्रधानमन्त्रीले जवाफ दिए– सडकका खाल्डामा यो सरकारको कुनै योगदान छैन । सांसदहरू पनि हलल्ल हाँसे । बाढीले घरबस्ती डुबायो ।

फेरि प्रश्न उठ्यो– बाढीपहिरोपिडितको उद्धारमा सरकारले किन प्रभावकारी कदम चाल्दैन ? प्रधानमन्त्रीले संसद्लाई ज्ञान दिए– खोला सरकारले ल्याइदिएको होइन । शून्य समयलाई महाशून्य पारेकै थिए, पुरै संसद्लाई विवेकशून्य पनि पारिदिए उनले । यो हास्य प्रस्तुति हो कि अराजकता ?

देशको नेतृत्व गरिरहेको व्यक्ति जब अराजक ठट्टाको थाँक्रो लगाएर खडा हुन खोज्छ, उसको नेतृत्वमा काम गर्ने एकसे एक नेता, मन्त्री, प्रशासक, प्रहरी सबै अराजक लहराजस्तो जताततै बेरिन पुग्दारहेछन् । अमेरिकाका डोनाल्ड ट्रम्पले त्यसै गरिरहेछन् । भारतका नरेन्द्र मोदी झन् एक कदम अगाडि बढेर हरेक विरोधको स्वर निकाल्ने घाँटीमा फाँसीको रस्सी कस्न लागेका छन् । यो मुलुकका ओली पनि आफ्ना कार्यकर्तालाई अरिङ्गाल बनेर फरक मत र विरोधका स्वरलाई चिल्न आदेश दिइरहेछन् ।

प्रधानमन्त्री ओलीसँग दुई तिहाइको शक्ति छ तर त्यही शक्ति दुई तिहाइको अराजकता भयो भने के हुन्छ ? जब समृद्धि र राष्ट्रवादको अराजक विचारको जगमा दुई तिहाइको शासक जन्मिन्छ, त्यसको प्रभाव जराजरासम्म उग्र अराजकता बनेर पुग्छ । अरिङ्गाल बन्न निर्देशन आउनासाथ नेकपाकै अर्का नेता घनश्याम भुुसालले अरिङ्गाल बन्न पूर्वाधार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पूरा नगरिदिएको गुनासो गरे तर अरिङ्गाल बन्न अस्वीकार गरेनन् । समृद्धिको कोकोहोलोलाई फासीवादको संज्ञा दिने भुसाल पनि प्रधानमन्त्री ओलीको अरिङ्गालमा अलंकारै देखिरहेका थिए ।

अराजकताको दुई तिहाइ मोल नेकपा र सरकारको र्‍याङ्क एन्ड फाइलमा प्रकट भएका अनेक उदाहरण छन् । समृद्धिको फुक्को भाष्यकै कुरा गरौं । नेकपा नेता सुवास नेम्वाङले एक दिन पहाडपर्वत रेल कुदेको र नेपाल ब्रान्डको पानीजहाज चलेको सपना देख्ने गरेको सुनाए । मन्त्री रवीन्द्र अधिकारीले कोसीमा भन्दा पहिला नारायणीमा पानीजहाज चलाउने उद्घोष गरे । अर्का मन्त्री वर्षमान पुनले स्याटेलाइटबाट तारन्तार बिजुली बेचेर धनी हुने ठट्टा जोसका साथ सुनाए । कोभन्दा को कम ? प्रधानमन्त्री स्वयम्ले चीनबाट आउने रेलमा चढाएर बोतलका बोतल पानी बेच्ने योजना सुनाए ।

अराजक गफको आतंक छँदै छ । साँच्चै गर्न चाहिँ के गर्लान्, यति शक्तिशाली प्रधानमन्त्रीले भन्ने उत्सुकता जनतामा ठूलै थियो । श्री ३ राणा प्रधानमन्त्रीले झैं रवाफ झार्दै प्रधानमन्त्री बालुवाटारमा आफ्नो जन्मदिनमा दर्जनौं केक काटिरहेका देखिए । अनि लटालट कर बढाए उनका विज्ञ अर्थमन्त्रीले । जनताको सुविधाका निम्ति माखो नमार्ने बजेटले कर र महँगी बढाउने मामलामा ह्वेलमाछाकै रौरव प्रस्तुत गर्‍यो ।

कालो धनप्रति उदार प्रधानमन्त्रीले जनतालाई करका नाममा किचकिच नगर्न उर्दी जारी गरे । कहिले नरेन्द्र मोदी त कहिले सी चिनफिङको दैलोमा समृद्धिको भिक्षा माग्न पुग्ने नै भए । बालुवाटारमा ओली वंश भेला गरे । खैर, समृद्धिको गफलाई आजकल उनले घाममा सुकाइसकेका छन् । बरु शिक्षा र स्वास्थ्यजस्तो जनताको मौलिक हकलाई बजारमा बेच्न छाडिदिएर उनी डोजर–धन्दालाई प्रोत्साहन
गर्न लागेका छन् ।

सरकारी अराजकताको सबैभन्दा नांगो खेल देखियो निर्मला हत्याकाण्डको कसीमा । २०३८ सालको नमिता–सुनिता काण्ड झल्झली सम्झाउने गरी यो हत्याकाण्डलाई सरकारले गुमराहमा राखेको दुई महिना हुन लाग्यो । नमिता–सुनिता काण्डले भित्रभित्रै तत्कालीन दरबार र पञ्चायताको चरित्र उदांगो पारिदिएको थियो । निर्मला हत्याकाण्डको अनुसन्धान कचपल्टिँदै जाँदा ओली सरकारको चरित्र उसैगरी उदांगो हुँदै छ ।अनुसन्धानका नाममा ऐतिहासिक कलंकको मञ्चन भइरहेको छ ।

अपराधीलाई जोगाउन प्रहरी स्वयम् निर्मलाको शव धोइपखाली गर्छ, रगत लतपतिएको कपडा फोहोर पानीमा धुन्छ । संसारले देखिसकेको त्यो भिडियोभन्दा हत्याकाण्डको विरोधमा उत्रिएका सर्वसाधरणको जुलुस प्रधानमन्त्रीका आँखामा धेरै बिझ्छ । सिंगो दुई तिहाइको सरकारभन्दा बलात्कारी बलवान् देखापरेको छ । तथ्यहरू स्पष्ट छन् । अपराधीभन्दा प्रहरी महानिरीक्षक कमजोर । बलात्कारीभन्दा गृहमन्त्री लाचार । हत्याराभन्दा प्रधानमन्त्री निरीह । यो दुई तिहाइको अराजकता नभएर के हो ?

निर्मलाको परिवारका निम्ति हत्याराभन्दा डरलाग्दो प्रहरी छ, बलात्कारीभन्दा खतरनाक बलात्कारीको संरक्षण गरेर बसेको अदृश्य हात छ । कमजोर मानिसलाई पक्रेर हत्यारा साबित गर्न खोज्ने प्रहरी संगठनका महानिरीक्षक आश्वासन दिन कञ्चनपुर पुग्छन् तर आफ्नै संगठनका शंकास्पद सदस्यहरूलाई पक्राउ गर्न सक्दैनन् ।

अदालतले पटकपटक रिहा गरिदिएका एक राजनीतिक कार्यकर्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई अदालत परिसरबाटै दर्जनौंपटक पक्राउ गरेर बहादुरी देखाउने गृहमन्त्री दिनदहाडै निर्मलाका हत्यारा जोगाउन लागेका प्रहरीलाई पक्रने आदेश दिन सक्दैनन् ।

देशभरि निर्मलालाई न्यायको माग गर्दै जुलुस प्रदर्शन भएका छन् । हातमा कुची हुनेहरू क्यान्भास लिएर सडकमा आएका छन् । कविहरू कविताको स्वर बोकेर चोकमा उभिएका छन् । मिडियामा दिनहुँ यही हत्याकाण्डका विविध पक्ष सार्वजनिक भइरहेका छन् । प्रहरीले मेटेका, लुकाएर र पखाल्न खोजेका प्रमाण सार्वजनिक बहसमा ल्याइएको छ । सामाजिक सञ्जाल सरकारको अकर्मण्यता र अपराधी चरित्रको विरोधमा हजारौं हजार वाक्य, चित्र र संकेतले भरिएका छन् । कार्टुनिस्टहरू कार्टुनमा व्यंग्य खोज्दाखोज्दै हास्य हराएर हैरान छन् तर अराजक नेतृत्वको सघन छायामा नेकपाका नेतादेखि मन्त्रीसम्म मदहोस देखिन्छन् ।

जनताको विरोधको स्वरमा प्रचण्ड अदृश्य शक्तिको षड्यन्त्र खोजिरहेका छन् । आफ्नै घरछेउमा घटेको जघन्य बलात्कार र हत्याको विरोधमा सडकमा ओर्लने अपेक्षा गरिएका भीम रावल कुनै राजनीतिक दाउपेच देखिरहेछन् । अरू त अरू, नेकपाका महिला सांसदहरू नै अपराधका घटनामा सरकार विरोधी षड्यन्त्र फेला पारेर चुरचुर छन् । के हो आखिर राजनीति ? कुर्सी पाउने, कुर्सी जोगाउने र कुर्सी गुम्ने डरमा अपराधको समेत बचाउ गर्ने कुटिल खेल ? राजनीतिको यो अराजक परिभाषाका अघिल्तिर प्रधानमन्त्री ओलीको नेतृत्वमा सम्पूर्ण नेकपाले घुँडा टेकेको हो ?

मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्क्याइयो । रायमाझी आयोगको प्रतिवेदन उसैगरी गुमनाम पारियो । यस्ता आयोग कति बने, कति प्रतिवेदन लुकाइए, त्यसको हिसाब छैन । आन्दोलनको रापताप बाँकी रहँदासम्म आयोग बनाएर टार्ने र अपराधमाथि अपराधको चाङमा राज्य चलाउने चरित्र राजनीतिमा हावी भइरहनु दु:खद होइन, आक्रोशको कुरा पनि हो । प्रत्येक राजनीतिक आन्दोलनले जन्माएका नयाँ नेतृत्व र एजेन्डालाई राज्यको यही चरित्रले निलिरहेको र समाज पुन: पुरानै ठाउँमा थाकेर सुस्ताइरहेको दृश्य सुखद छैन । वाइड बडी जहाज किन्ने नाममा ठूलो भ्रष्टाचार भएका समाचार सार्वजनिक भए तर सरकार चुपचाप अपराधका चाङमा टेकेर अपराधी राज्यलाई मजबुत पार्ने उपक्रममा छ ।

अझ दु:खद पक्ष के भने अराजकताको यो खेलमा प्रतिपक्ष पनि चुपचाप सामेल छ । समाज पुन: एकपटक विस्फोटक यथार्थमाथि उभिएको छ । कुन विस्फोट कहाँबाट फुट्छ, हेर्न त्यत्ति बाँकी छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?