कलिलो दिमागमा मोबाइल आक्रमण

मोबाइलबाट अलग्याउँदा बच्चाले खानै मान्दैन । खुवाउन फेरि त्यही मोबाइलमा कार्टुन देखाउनुपर्ने बाध्यता छ ।
मञ्जु भट्ट

काठमाडौँ — स्कुल पढ्ने विद्यार्थीले सिक्ने धेरै कुरा उसको परिवार, छरछिमेक र ऊ बस्ने समाजमा हुन्छन् । तर ऊ स्कुलमा बाहेक मोबाइल फोनमै झुन्डिरहेको हुन्छ । नर्सरीमा पढ्ने बच्चा मोबाइलमा कार्टुन हेरेर रमाइरहेको हुन्छ । उसलाई आमाको ममताको परवाह हुँदैन । बुबाको वात्सल्य प्रेमको चासो हुँदैन ।

कलिलो दिमागमा मोबाइल आक्रमण

हजुरआमाका मिठा–मिठा कथाको मतलब हुँदैन । कसरी उसले ठूलो भएर आमाबुबालाई माया गर्ला, जबकि माया–ममता सिकेकै छैन ? कसरी ऊ सिर्जनशील हुनसक्छ, जबकि हजुरआमाका कथा सुनेर कल्पना गर्न जानेकै छैन ।


मोबाइल भेट्टाएपछि केटाकेटीलाई न खान मन हुन्छ, न सुत्न । मोबाइलबाट अलग गर्ने हो भने रिसाएर खाना खानै मान्दैनन् । बच्चालाई खाना खुवाउन फेरि त्यही मोबाइलमा कार्टुन लगाउनुपर्ने बाध्यता हुन्छ ।


मेरो छिमेकमा कक्षा नौमा पढ्ने विद्यार्थी छ । घरमा पढ्दैन, गृहकार्य गर्दैन । स्कुलबाट ल्याएको झोला एकचोटि नखोली स्कुल पुग्छ । अभिभावकले स्कुलमा बुझ्दा गृहकार्य गरेकै देखियो । यो कसरी सम्भव भयो भनेर खोज्दा शिक्षकले पढाइराखेको बेला उसले अर्को विषयको गृहकार्य गरिरहेको हुँदोरहेछ । स्कुलमै गृहकार्य गर्नुको उद्देश्य घरमा मोबाइल चलाउनु रहेछ । शौच जाँदा पनि मोबाइल फोन सँगै लाने बानी छ । स्कुलले अतिरिक्त क्रियाकलापका लागि स्कुल बाहिर लगेमा ऊ जाँदैन । किनभने मोबाइल चलाउन पाइँदैन ।


मोबाइल फोनमा यस्तो लत अरू केटाकेटीमा पनि हुनसक्छ । घरमा विद्यार्थीले पढाइमा कति समय बिताउँछन् भनेर सोध्दा धेरैजसो अभिभावकले ‘मोबाइल चलाउन बाहेक केही गर्दैन, एकचोटि सम्झाइदिनुहोला’ भन्ने जवाफ आउँछ ।


केटाकेटीलाई घर बाहिर कतै घुमाउन लाँदा बसमा दायाँ–बायाँ हेर्ने, कुन ठाउँ पुगियो बुझ्ने गर्दैनन्, मोबाइल फोनमै व्यस्त हुन्छन् । पार्कतिर घुम्न जाँदा बुबाआमाले बढी रमाइलो गरेको देखिन्छ । छोराछोरी भने मोबाइल मागिरहेका वा त्यसमा खेलिरहेका भेटिन्छन् । उनीहरू देश–दुनियाँसँग बेखबर हुन्छन् ।


अध्ययनअनुसार मोबाइल फोनको लतले केटाकेटी डिप्रेसनको सिकार हुने जोखिम हुन्छ । नाडी, पाखुरा, गर्धन तथा कम्मरको समस्या हुने सम्भावना हुन्छ । अश्लील भिडियो, फिल्म हेर्ने बानीले समय अगावै परिपक्वता आउन सक्छ । उनीहरूमा एक्लोपना बढ्छ । साथी तथा अन्य मानिससँग निर्धक्क भई बोल्न र घुलमिल हुन हिच्किचाउने हुन्छन् । आँखा जुधाएर कुरा गर्न डराउँछन् ।


केटाकेटीले मोबाइलमा काम लाग्ने कुरा खोजेका हुँदैनन् । तर महत्त्वपूर्ण समयमात्र बर्बाद गरिराखेका हुन्छन् । खाना खाँदाखेरी के खाएँ, कति खाएँ भन्ने उनीहरूलाई थाहै हँुदैन । यसले उनीहरूमा कित पौष्टिक तत्त्वको कमी हुन्छ वा मोटोपनको सिकार । शारीरिक विकासका लागि महत्त्वपूर्ण खेल खेल्न छाडेका हुन्छन् । त्यसैले उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन् । मोबाइल फोनको सानो स्क्रीनबाट लामो समयसम्म आउने रेडियो तरङ्गले आँखालाई असर गर्ने चिकित्सकहरू बताउँछन् । मोबाइलसँग सम्बन्ध टुटेका बेला उनीहरूले लाचार भएको अनुभव गर्छन् । उनीहरूमा केही गर्ने साहस हुँदैन ।


प्रत्येक दिन एक घन्टामात्र मोबाइलमा भिडियो गेम खेल्ने हो भने विद्यार्थीले योजना बनाएर काम गर्न सिक्छन् । सिर्जनात्मक बन्न सक्छन् । दिनमा तीन घन्टाभन्दा बढी मोबाइलमा भिडियो गेम खेल्दा विद्यार्थी बढी सक्रिय (हाइपरएक्टिभ) हुन्छ । यसका कारण कक्षामा पढाउँदा ध्यान दिन सक्दैन । आफूले गर्ने महत्त्वपूर्ण काम बिर्सन सक्छ । साथी, घर र समाजमा अरूले बोलेको कुरामा छिटो प्रतिक्रिया दिन्छ ।


हामी सामाजिक सञ्जालसँग जुन हिसाबले जोडिएका छौं, भोलिका दिनमा मोबाइल, इन्टरनेट हाम्रालागि नभई नहुने माध्यम बन्न सक्छन् । उच्च शिक्षा अध्ययनमा यो एउटा महत्त्वपूर्ण माध्यम हो । इन्टरनेटको माध्यमबाट जुनसुकै विषयसँग सम्बन्धित ज्ञान हासिल गर्न सक्छौं । तर साना केटाकेटीलाई यस्ता कुराको मतलब हुँदैन ।


हामी अभिभावकले आफ्ना छोराछोरीलाई मोबाइलको लत नलागोस्, उनीहरू सिर्जनशील होउन् भनेर होश पुर्‍याउनु जरुरी छ । अभिभावकले बच्चालाई घरभित्र खेलिने बिभिन्न खेलमा व्यस्त राख्नुपर्छ । चित्र कोर्न सिकाउन सकिन्छ । बाल साहित्यका किताब पढ्न प्रेरित गरे, समय मिलाएर रमाइला ठाउँ घुमाए, गायन, संगीत, नृत्यजस्ता क्रियाकलापमा संलग्न गराए राम्रो हुन्छ ।

[email protected]

प्रकाशित : आश्विन ९, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?