कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तुच्छ हतियारका मतियार

सम्पादकीय

काठमाडौँ — एसिड आक्रमणमा पर्नेहरू प्राय: किशोरी/युवती हुन्छन् । अपराधी मनोवृत्तिका पुरुषलाई लाग्दो हो, अनुहार महिलाको ऐना हो । यसको यातनापछि जीवनलाई थप संघर्षमा होम्नेमध्ये कतिका साहसिला पंक्ति संसारमा पाइन्छन् । एउटी भन्छिन्, ‘म पीडित होइन, जीवित हुँ । जसले मलाई एसिड आक्रमण गर्‍यो उसले मुख छोप्नुपर्ने भयो, मैले होइन ।’

तुच्छ हतियारका मतियार

एसिडले छाला मात्र होइन, हड्डीसमेत जलाउँछ । शरीर धेरै जलेमा ज्यानै जोखिममा पर्छ । अनुहार जल्ने भएकाले प्लास्टिक सर्जरीबाट पनि उपचार सम्भव हुँदैन । आँखामा परे तत्कालै ज्योति गुम्न सक्छ । हत्या गर्ने, अङ्गभङ्ग गर्ने उद्देश्यले आक्रमण गर्नु जघन्य अपराध हो । प्राय: यस्ता आक्रमण अनुहारमा हुने गरेकाले कुरूप बनाउने नीच अभिप्राय देखिन्छ । यो अरू आक्रमणभन्दा सांघातिक हो । सहज सामाजिक जीवनबाट बर्जित गरिदिने नियतले हुने यस्तो प्रहारले दीर्घकालसम्म पीडा दिइरहन्छ ।


नेपालमा महिला हिंसाको पछिल्लोक्रममा एसिड एउटा तुच्छ हतियार बनेको छ । जति निन्दा गर्‍यो उति कम । रौतहटकी किशोरी सम्झना दासले दस दिन लामो अस्पताल संघर्षपछि आइतबार ज्यान गुमाउनुपर्‍यो । उनकी बहिनी अझै उपचाररत छिन् । सोमबार नवलपरासीमा अर्की युवतीमाथि यस्तै प्रहार भएको छ । कसैको अनुहारमा एसिड छ्याप्नु समाजकै चेतना र हृदयमाथि हिलो छ्याप्नु, सभ्यतालाई बदनामी दिनु, परिवारजनलाई यातना र वेदना ।


एसिड आक्रमण खासगरी प्रेम/यौन/विवाह प्रस्ताव नमानेपछि बदला लिने उद्देश्यले हुने गरेको छ । एसिड बिक्री वितरणबारे नियम कानुन छैन । यो सहजै सबैको पहुँचमा छ । यसरी दुरुपयोग हुनेमा सल्फ्युरिक, नाइट्रिक र हाइड्रोक्लोरिक एसिड छ । यस्ता एसिड सुनचाँदी पसल र विभिन्न उद्योगमा उपयोग गरिन्छ । अपराधी आफैंले बनाउन सक्ने यो रसायन होइन । हामीकहाँ यसको कारखाना पनि छैन । जो–कोहीले आपूर्ति गर्न पनि पाउँदैनन् । इजाजत प्राप्त सप्लायर्स कम्पनीलाई मात्र यसको अधिकार छ । उनीहरूसँग पनि जो–कोहीले किन्न पाउँदैनन् । कलेजका विज्ञान विभागले चिठी लेखेर मात्र किन्न सक्छन् । तैपनि किन दुरुपयोग भइरहेको छ ? कहाँबाट हुन्छ चुहावट ? यसका छिद्रहरू तुरुन्त टाल्नुपर्ने भएको छ । नियमन, नियन्त्रण तथा कारबाहीमा कडाइ जरुरी छ ।


नत्र बंगलादेशमा जस्तै भयावह हुने छ । बंगलादेशले आक्रमणकारीलाई आजीवन काराबासको सजाय व्यवस्था गरेको छ । बजारमा सजिलै किन्न नपाइने बनाएको छ । व्यापक जनचेतनाको अभियान पनि । हाम्रोमा मुलुकी अपराध ऐनले तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेमा पाँचदेखि आठ वर्षसम्म कैद तोकेको छ, त्यत्ति हो । अरू अभियान छैन, न बजार कसिकसाउ ।


सरकारले जनसाधारणको एसिडमा सहज पहुँच रोक्न खतरनाक रसायन किन, कसरी, केका लागि उपयोग गर्ने विस्तृत जानकारीपछि मात्र सम्बन्धित व्यक्तिलाई बेच्नुपर्छ । जो पायो त्यहीले कसरी एसिड हात पार्छन् ? एसिड पाइने मुख्य स्रोत केमिकल आपूर्तिकर्ता हुन् । त्यसपछि कलेज र उद्योग । एसिड प्रयोग गर्नेले अनिवार्य ‘लग बुक’ राख्ने व्यवस्था गरिनुपर्छ । उसले कहाँबाट कति एसिड किन्यो ? कति एसिड केमा प्रयोग गर्‍यो ? अब कति बाँकी छ ? जसरी औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बेच्न पाइँदैन, यस्ता रसायन पनि प्रयोजन नखुलाई, अनधिकृत व्यक्तिलाई बिक्री गर्न मिल्दैन । यसलाई रोक्न बिक्री संहिता तुरुन्त बनाउनुपर्छ । दुरुपयोग गर्नेहरूका लागि यो ‘साइलेन्ट गोली’ जस्तै खतरनाक हतियार हो ।


अनधिकृत बन्दुक बोक्नु जति घातक हो, कानुनको दृष्टिमा त्यस्तै घातक बनाउन सकिन्छ यसको गैरकानूनी पहुँचलाई पनि । त्यसैगरी एसिडको आपूर्ति, भण्डारण, खरिद, बिक्री तथा वितरणमा नियमनकारी मापदण्ड ।


एसिड आक्रमण धेरै मुलुकको समस्या हो । विश्वभर बर्सेनि १ हजार ५ सय एसिड आक्रमणका घटना हुन्छन् । ८० प्रतिशत पीडित महिला । त्यस्तै अर्की एउटी साहसिली महिला आफ्नो संघर्ष थपिएको जनाउन भन्छिन्, ‘उसले मेरो अनुहार बदलिदियो, हृदय होइन । उसले मेरो अनुहारमा एसिड छक्र्यो, मेरो सपनामाथि होइन ।’

प्रकाशित : आश्विन १०, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?