२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निर्मला र निर्भया

निर्मलाको नाममा मैनबत्ती बलेका छन् । अपराधीलाई सजायको माग गरी कति ठाउँमा पूजाआजा गरिएको देखिन्छ । भनाइ छ, भगवानको घरमा देरी हुन सक्छ, अँध्यारो हुन सक्दैन ।
सुशीला कार्की

काठमाडौँ — भारतमा २०१२ डिसेम्बर १६ को राति गुडिरहेको बसभित्र निर्भयामाथि बलात्कार र सांघातिक आक्रमण भयो । उनका पुरुष मित्र अबिइन्द्रप्रताप पाण्डे पनि हमलाका सिकार भए । राति ८ बजेसम्म सिनेमा हेरेर निर्भया र उनका मित्र घर फर्कन बस चढेका थिए ।

निर्मला र निर्भया

त्यसमा अरू ६ जना थिए । तिनले निर्भयाविरुद्ध आक्रमण गरे । पालैपालो बलात्कार गरे । तिनीहरूविरुद्ध निर्भयाले लड्ने र भिड्ने संघर्ष गरिन् । उनका पुरुष मित्रले उनलाई बचाउन भरमग्दुर प्रयास गरेका थिए । तर सफल भएनन् । ती ६ जनाले निर्भया र उनको पुरुष मित्रको रगतले लतपतिएको शरीरलाई बसबाट बाहिर फाली कुल्चाउने प्रयास गरेका थिए । तर अचेत निर्भयालाई उनका मित्रले तानेर बचाए ।


निर्भयाको निडर भन्ने अर्थ लाग्छ, कसै–कसैले उनलाई दामानी पनि भनेर नामकरण गरेका छन् । निर्भयाको मित्रको बयान अनुसार जब उनीहरू नाङ्गै अवस्थामा फालिए, उनका पुरुष मित्रले सडकमा हिँड्ने यात्रुहरूसंँग सहयोगको याचना गरी शरीर ढाक्ने कपडा र अस्पताल पुर्‍याउन सहयोग मागेका थिए । तर सबैले उनीहरूलाई हेरे, अनि गए । कसैले सहयोग गरेनन् । पछि प्रहरी आयो र एम्स अस्पतालमा पुर्‍याएर उपचार गरियो ।

निर्भयाको असली नाम के थियो ? कहिल्यै खोलिएन । उनको फोटो कहिल्यै कतै प्रकाशित भएन । यो वारदातले विश्वलाई दु:खी बनाएको थियो । भारतीय जनताले यस घटनाको व्यापक विरोध गरेका थिए । ६ जना अपराधी पक्राउ परे । तीमध्ये १ जना नाबालक भएकाले उसलाई ३ वर्षमात्र कैद गरियो । १ जना रामसिंह भन्नेले थुनुवा अवस्थामै आत्महत्या गरे । ४ जनालाई भारतको सर्वोच्च अदालतले फाँसीको सजाय तोकिसकेको छ ।

निर्भया फिजियोथेरापी पढाइ सकेर ‘इन्टर्न’ गर्दै थिइन् । उनका बाबुआमा साधारण हैसियतका थिए । तर परिश्रम गरी छोरीलाई चिकित्सक पढाएका थिए । भारत सरकारले घटना भएको ११ दिनपछि उनलाई उपचार गर्न सिंगापुर पठायो । तर २९ डिसेम्बरमा उनको मृत्यु भयो ।


निर्भयाको शव स्वदेशमा ल्याइका बेला हवाई मैदानमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र सोनिया गान्धी पुगेका थिए । शव दाहसंस्कार गर्ने बेला शिला दीक्षित श्मशानघाट पुगेकी थिइन् । त्यस घटनापछि भारत सरकारले बलात्कारको मुद्दालाई द्रुतमार्गबाट हेर्ने व्यवस्था गर्‍यो । यस्ता मुद्दामा फाँसीको सजाय दिने कानुनमा व्यवस्थासमेत गरेको छ ।


भारतमा भएको यो घटनाको ६ वर्षपछि नेपालको कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । निर्भया हत्या हुँदा २३ वर्षकी थिइन्, तर निर्मला १३ वर्षकी मात्र । साउन १० गते पढ्न र गृहकार्य गर्न भनी साथी रोशनी बमको घरमा गएकी उनी घर फर्किनन् ।


निर्मलाकी आमा दुर्गादेवीले छोरी खोजिदिन प्रहरीसँग पटक–पटक अनुनय–वियन गरे पनि उनीहरूले दिलचस्पी दिएनन् । स्थानीयको भनाइ अनुसार उजुर परेकै दिन खोजिदिएको भए सायद निर्मला ज्युँदै फेला पर्न सक्ने थिइन् । प्रहरीले चासो देखाएन । किनकि निर्मला धनीमानी, पहुँचवाला परिवारकी छोरी थिइनन् । पानीपुरी र चटपटे बेच्ने आमाबाबुकी छोरी थिइन् । नेपालमा अधिकांश प्रहरी महिला र गरिब मैत्री छैनन् ।


११ गते निर्मलाको शव उखुबारीभित्र फेलापर्‍यो । युट्युबमा राखेको निर्मलाको अर्धनग्न शरीरको मृत दृश्य देख्दा सकिन्छ । जो कोहीको आँखा रसाउँछ । एउटा महिला प्रहरीले उनको विर्य र रगत लागेको कपडा (सुरुवाल) पानीले धुन्छे । अनि फेरि योनिलाई पखालिदिन्छे । जबकि ती कपडा प्रमाणका निम्ति दशी हुन् । त्यसमा रगत र विर्य लागेको हुन्छ, जुन शव परीक्षणको निम्ति काममा आउने हुँदा त्यसलाई सुरक्षित रूपमा राख्नुपर्ने हो । घटनास्थलमा प्राप्त सबै प्रमाण कपी, कलम, साइकल, लुगा वरपर जे–जे देखापर्छ, त्यसलाई सुरक्षित रूपमा कसैलाई छुन नदिई राख्दा हत्याराको हातको रेखाचिन्ह फेला पर्न सक्थ्यो ।


ज्यान सम्बन्धी महलको (तत्कालीन मुलुकी ऐनमा) २ नम्बरमा हत्याराको सूचना पाएपछि प्रहरी र स्थानीय निकायका पदाधिकारीले के गर्ने भन्ने कानुनी व्यवस्था छ । सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ मा पनि ज्यान सम्बन्धी महलको ३ नम्बरमा वारदात स्थलको सुरक्षाको व्यवस्थाबारे उल्लेख छ । जस अनुसार लास रहेको स्थानभन्दा पर हेर्न आउनेलाई राख्ने र सुरक्षाकर्मीले पनि लासको वरपर हातखुट्टाको वा केही किसिमको चिन्ह वा जमिन घस्टिएको, माडिएको वा घिसारिएको चिन्ह दशीलाई नमासिनेगरी सुरक्षित रूपमा प्रमाण संकलनका निम्ति राख्ने गर्नुपर्छ ।

त्यसको फोटो खिची मुचुल्का गरी लासलाई पोष्टमार्टमको निम्ति लगेपछि मात्र वारदात स्थल खुला गर्न सकिन्छ । अनुसन्धान पूर्व त्यस्ता प्रमाण संकलन गर्ने र छेडखानी हुन नदिनुपर्नेमा लासको वरपर सबैको आवत–जावत र भिड लागेको देखिन्छ । प्रहरी जसले वारदातको अनुसन्धान गर्छ, उसलाई यी सब कुराको तालिम दिएको हुन्छ, तापनि प्रमाण संकलनको क्रममा किन गैरकानुनी काम भयो ? मौकामा प्रमाण संकलन गम्भीर रूपमा नगरी प्रमाण मेटाउन उद्यत रहने प्रहरीलाई कर्तव्यनिष्ठ भन्ने कि कर्तव्यहीन भन्ने ? प्रश्न उब्जेको छ ।


मृतक हराएकै भोलिपल्ट लास भेटिएको छ । मौकामै राम्रो नियत चिताएर अनुसन्धान गरेको भए अपराधी फेला पर्ने थियो । मौकामा कुकुरद्वारा अपराधी पत्ता लगाउने प्रयास गरेको भए, लासलाई अभियुक्त फेला नपरेसम्म नजलाएको भए, मृतकको लुगा नजलाएको भए, सीसी क्यामेराको फुटेज समयमा हेरेको र वारदात स्थललाई तत्काल छेडखानी नगरी बम दिदीबहिनीको घर मौकामा खानतलासी गरेको भए अपराधी पत्ता लाग्ने थियो । तर जसरी लासलाई टाढाको दाजुभाइ साइनो पर्नेको सहारा लिएर हतार–हतार जलाउने काम भयो, त्यो नै शंकास्पद छ ।


लास जलाउने पनि कानुनी प्रक्रिया छ । लास नजिकको नातेदारलाई बुझाउँदा कानुन बमोजिम सदगदको निम्ति नजिकको हकदारलाई कागज गराई बुझाइन्छ । लास टाढाको मामा पर्नेलाई जिम्मा लगाउने कारण के परेको थियो ? किन हिन्दु संस्कृतिको दुहाइ दिँदै स्वयम् स्थानीय प्रशासकले आमाबाबुलाई लास जलाउन दबाब दिएका थिए ?

जबकि हत्यारा फेला नपरेसम्म हामी लास सदगत गर्दैनौं भनी बाबुआमाले भनिरहेका थिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी, सेनाका अधिकारी, स्थानीय निकायका मानिसलाई लास जलाउन र मृतकको कपडा डढाउन किन हतारो ? त्यसको उत्तर एउटै देखियो, प्रमाण जतिसक्दो छिटो मेटाउनु । अर्थात् कुनै शक्तिशाली व्यक्तिलाई जेलनेलबाट बचाउनु थियो । प्रमाण अभाव भएपछि बलात्कारी हत्यारा कसरी पत्ता लाग्ने ? प्रमाण संकलनकर्ता नै यो मुद्दालाई दबाउने पक्षमा देखिन्छन् । अन्दोलन गर्ने स्थानीयमाथि निर्ममतासाथ गोली चलाइयो ।


निर्मला हत्याकाण्डमा सरकारका प्रभावशाली व्यक्तिले शंकाका घेरामा रहेका बम दिदीबहिनीलाई सफाइ दिँदै निर्दोष भनी भाषण गर्न छाडेनन् । प्रहरीले शंका भएका उनीहरूको घरमा खानतलासी पनि गरेन र जबर्जस्ती यातना दिएको भरमा कुनै कृत्रिम अभियुक्त खडा गर्न उद्यत रहेको देखियो । एउटाले गरेको अपराधमा अर्कोलाई जबर्जस्ती फँसाउनु अनि तिनलाई सामाजिक रूपमा बदनाम गर्नु फेरि तिनलाई यातना दिनुले प्रहरीको छवि कहाँ पुग्यो ?

हुँदाहुँदै अपराधीले मारेको छोरीका बाबुआमाले ज्यान जोगाउनलाई लुक्नुपर्ने तर अपराधी भने स्वतन्त्र विचरण गर्नेसम्मको वातावरण बन्यो । यसले संविधानले व्यवस्था गरेको सामाजिक सुरक्षाको प्रत्याभूति के भयो ? त्यति मात्र होइन, प्रधानमन्त्रीलाई भेटेर गुहार माग्न आएका निर्मलाका बाबुआमा प्रधानमन्त्रीको अभिव्यक्तिबाट निराश भएर फर्किनुपर्‍यो ।


नेकपाका प्रभावशाली एक नेताले हाल भएका बलात्कारी घटना एकमना सरकारलाई ढाल्ने षड्यन्त्र मात्र हो भने । त्यो भनाइ कति न्यायोचित हो ? सरकारले के–के नै गरेजस्तो
देखाएर एक, दुई, तीन गरी अनुसन्धान टोलीमाथि टोली कञ्चनपुर पठाइरहेको छ । अब जनता मूर्ख छैनन् । सबैले कुरा बुझेका छन् । अब कुनै पनि बलात्कारको वारदातका अभियुक्त पत्ता लगाई सजाय दिने र पीडितले न्याय पाउनेछन् भन्ने शंकै छ । तापनि देशभरि निर्मलाको नाममा मैनबत्ती बलेका छन् । अपराधीलाई सजायको माग गरी कति ठाउँमा पूजाआजा
गरिएको देखिन्छ ।

भनाइ छ, भगवानको घरमा देरी हुनसक्छ, तर अँध्यारो भने हुन सक्दैन । ईश्वर नमान्नेले नमान्लान्, तर प्रकृति पनि भगवान नै हो, उनी वलिष्ठ छन्, न्याय र अन्यायलाई प्रकृतिले पनि छुट्याउने गर्छ । किन हिंस्रक बाघ जसले जीवनभर अरु जीवको हत्या गर्छ, उसको अन्त्य दर्दनाक हुन्छ । त्यस्तै अरु निरीह पन्क्षीको बचेरा खोसेर खाने बाज र चिलको मृत्यु पनि त्यति नै पीडादायी हुन्छ ।

निर्मलारूपी फक्रिनसम्म नपाएको कोपिलालाई च्यातेर, कुल्चेर फाल्ने अन्यायीको कठालोसम्म सम्भवत: कानुन र नियमको हात नपुग्ला तर जसरी निर्मलाको असामयिक अनि पीडादायक मृत्यु जो जसले गरायो, उसका भोलिका दिन सुरक्षित र स्वस्थ्यकर नभई दर्दनाक अन्त्य हुने निश्चित छ । यो प्रकृतिको नियम हो ।


लेखिका पूर्व प्रधानन्यायाधीश हुन् ।

प्रकाशित : आश्विन १०, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?