कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

येँया पुन्ही

सम्पादकीय

काठमाडौँ — अर्थात् इन्द्रजात्रा । एउटा ठूलो अमूर्त सम्पदा । यस क्रममा य: सिं (इन्द्रध्वजोत्थन) गरिन्छ । नालाबाट काटेर ल्याएको रूख ठड्याएर । काठमाडौंको भित्री सहरका सात डबलीमा ज्यापू गुठीले नाच प्रदर्शन गर्छन् ।

येँया पुन्ही

मृतकका नाममा बत्ती दिँदै हिँडेर उपाकु मनाइन्छ । कुमारी, गणेश र भैरव रथयात्रा हुन्छ ।


आठ दिन मनाइन्छ । चौथो दिन राष्ट्रप्रमुख, सरकार प्रमुखलगायत कुमारी दर्शन र जात्रा हेर्न आउँछन् । सार्वजनिक बिदा दिइन्छ । धेरैलाई लाग्छ, इन्द्रजात्रा यही एक दिन हो । तर होइन । जात्रा त्यसअघि पनि हुन्छ, पछि पनि चल्छ । यसपालि शुक्रबारसम्म । यही बेला भक्तपुरमा १७ टोलमा लिंगो उठाउने गरिन्छ ।


जात्रा हाम्रा ऐतिहासिक संस्कृतिका विरासत । मूर्त र अमूर्त सम्पदा एकै सिक्काका दुई पाटा हुन् । यी सम्पदाले सहरलाई जीवन्त बनाएका छन् । जात्राले समाजलाई राष्ट्रिय, धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले जोडेका छन् । के हिन्दु–के बौद्ध, के शैव–के वैष्णव एउटै जात्रा मनाउँछन् । कुममा कुम, काँधमा काँध । सामूहिक भावना अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर ।


प्राचीन लिच्छविकालीन संस्कृति उस्तै गरी कायम रहिरहनु गौरवयोग्य हो । इतिहासको नासोलाई आफ्ना सन्ततिको भविष्यका लागि पनि ज्युँकात्युँ राखिरहनु हाम्रो कर्तव्य हो । क्षति गरे हामी अयोग्य हुनेछौँ ।


विश्वव्यापी रूपमै समाजहरू एक्ला भइरहेका छन् । एक–अर्काको वास्ता गर्ने फुर्सद सहरमा कसैलाई छैन । यस्तो ‘निर्जन’ सहरमा यिनै जात्रा त छन्, जसले सामूहिकतालाई प्रोत्साहन गर्न सबैलाई उत्साही बनाइरहेका छन् ।


स्मार्टफोन र सोसल मिडियाले एउटै सोफामा बसेकालाई पनि अलग–अलग बनाइरहेका बेला यी जात्राले आमने–सामने अन्तक्र्रिया बढाएका छन् । यी पर्व तथा उत्सव जन्म–सहरमा मात्र सीमित छैनन् । मानिससँगै बसाइँ पनि सर्दै छन् । देशभित्रका अरू सहर मात्र होइन, विदेशमा पनि सामूहिकता फैलाएका छन् ।


यी अमूर्त सम्पदाले यस्तो अवसर जुटाइदिन्छन्, हाम्रा मूर्त सम्पदाले पनि काँचुली फेर्छन् । एक हिसाबले सहरकै नवीकरण हुन्छ । जब जात्रा आउँछ, तब मन्दिर र चोकहरूमा तोरण टाँगिन्छ, ध्वजापतंगाले सिंगारिन्छ । सडक र डबलीहरू धोइपखाली गरिन्छ ।


सानातिना मनमुटाव भुलेर टोलवासी सँगसँगै जात्रा भर्न पुग्छन्, आआफ्ना बाजागाजासहित । आपसमा ऊर्जा थप्ने गरी एक किसिमको प्रतिस्पर्धा हुन्छ । यसले सामाजिक घुलमिल बढाउँछ । स्थापित सामाजिक पहिचान हो यो ।


सहर र जात्राको साइनो सजीव छ । साँघुरो बाटो अघि बढ्नेबित्तिकै अलि फराकिलो चोक आइपुग्छ । जात्रा त्यहीँ हुन्छ । जसरी गल्लीले खुला चोक भेट्छ, त्यसैगरी यस्ता उत्सवले आफ्नो सामाजिक छाती निकै ठूलो गरी फैलाउँछन् । यिनले कुनै रुट छुटाउँदैनन् । सामाजिक विभेद कायम रहेको समाजमा पनि सबै समुदायलाई समेट्छन् । जात्राका जिम्मेवारीबाट
कसैलाई वञ्चित गर्दैनन् । सबै जातिलाई कुनै न कुनै भाग पुर्‍याएर समेट्छन् । र, सबैको अपनत्व कायम गर्छन् । महिलालाई पनि सशक्तीकरण गर्दै लगेका छन् । पहिले–पहिले महिला झ्यालमा बसेर जात्रा हेर्थे । अहिले आफैं झ्याली पिट्न आइपुग्छन् ।


यस्ता सम्पदाको भविष्यबारे सरकारी र सार्वजनिक क्षेत्रले कस्तो नीति लिन्छन् अब प्रश्न छ । सरकारले गुठी प्रणाली भंग गरेपछि यस्ता संस्कृतिको जगेर्नाका लागि विकल्प सोचिएको छैन । सार्वजनिक बिदाले जात्रा मनाउन र सहरी सवारी कम गर्न सहयोग गर्छ । जात्रा सञ्चालन गर्न चाहिने स्रोतप्रति राज्य कन्जुस बन्नु हुँदैन । केही वर्षअघि एक प्रधानमन्त्री संवेदनशील नबन्दा पूरै देशले विरोध गर्‍यो । राज्यको सहयोग सांकेतिक हो । समाजकै अग्र सक्रियता कायम राखिराख्नुपर्छ । यहाँको सामाजिकताको सौन्दर्य यही हो ।


अर्को प्रश्न छ, बाहिरबाट आएका मूकदर्शक बन्ने कि भागिदार हुने ? अगुवाहरूले नयाँ कदम चाल्नुपर्छ, उनीहरूलाई समेट्नुपर्छ । उनीहरू पनि समेटिइनुपर्छ । सर्त एउटै हो– जात्राको मर्म उही रहनुपर्छ ।


अझ अर्को प्रश्न छ, सांस्कृतिक नाच र परम्पराले हाम्रो सडक अतिक्रमण गरेका छैनन्, जीवनशैली बिगारेका छैनन् । बरु हाम्रो आधुनिक जीवनशैलीले मौलिक पहिचान अतिक्रमण गर्दै छ । जात्रा गर्ने डबलीमा सडक बनाइएको छ । जात्राका लागि डबली, सम्पदाका लागि संरक्षणको दायित्व, संस्कृतिका लागि सभ्यताको चेतना । आधुनिकता शून्यमा सुरु हुँदैन ।
हामी सभ्य हुनु भनेको संस्कृतिको सम्मान गरेर हो, न कि आफ्ना विकासे वा बतासे स्वार्थप्रति समर्पित भएर । हरेक जात्रासँग केही न केही मिथ छन् ।


केही न केही प्रतीक । आशय उही छ– सत्यको जित । सबैको कल्याण होस् भन्ने भावना । हामीलाई चाहिएको त्यही छ । इन्द्रजात्रा जारी छ ।

प्रकाशित : आश्विन ११, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?