पूर्वाधार विकासमा अतिवाद

सुबोध ढकाल

काठमाडौँ — पूर्वाधार विकासका सन्दर्भमा नेपालमा दुई खाले अतिवाद देखिएका छन् । एउटाले भौगर्भिक, भौगोलिक, जैविक, वित्तीय, सामाजिक, सांस्कृतिक र वातावरणीय जस्ता कुरालाई महत्त्वको ठान्दैन । पूर्वाधार विकास देश विकासको मेरुदण्ड भएकाले जति नकारात्मक प्रभाव परे पनि यस्ता कुरा गौण ठान्नुपर्छ भन्छ ।

पूर्वाधार विकासमा अतिवाद

अर्को अतिवादले प्रकृतिलाई चलाउनै हुँदैन, रुख काटेर विकास गर्न पाइँदैन, जलविद्युत् आयोजना भन्नासाथ वातावरणीय विनाश हो, देश विकासका नाममा विनाश भयो जस्ता तर्क अघि सार्ने गर्छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनैपर्छ भन्नेहरू र विमानस्थल निर्माणले वातावरण सखाप पार्छ भन्दै यसको विरोध गर्नेहरू अतिवादका पछिल्ला उदाहरण हुन् ।

यस सन्दर्भमा विकासपछि र वातावरणमा पर्ने प्रतिकूल प्रभावको परिदृश्य कस्तो भन्ने विषयमा वैज्ञानिक विश्लेषण जरुरी हुन्छ । त्यस्तै वातावरणीय प्रतिकूल प्रभाव के साँच्चिकै अपरिवर्तनीय हो भन्नेमा पनि बिनापूर्वाग्रह र नि:स्वार्थ ढंगले सूक्ष्म अध्ययन गर्न आवश्यक छ । विकासका कारण वातावरणमा पर्ने प्रतिकूल प्रभावको भर्पाइ किन जरुरी छ, भर्पाइ गर्ने तरिका के हो र कति समयसम्म भर्पाइ हुन्छ भन्ने विषयमा वैज्ञानिक खाका र योजना विकासका सबैखाले परियोजनाले विस्तृत अध्ययनका बेला बनाइसकेको हुनुपर्छ ।

हामीकहाँ परियोजना सुरु हुनुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन अथवा यस्तैखाले प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ तर के यस्ता प्रतिवेदन सम्बन्धित विषयमा ज्ञान, अनुभव र कुशलता प्राप्त विज्ञले अनि उपयुक्त विधिअनुसार तयार पार्ने गरेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जनधनको सुरक्षा, समृद्धि र देश विकासका साथै वातावरणको संवेदनशीलतासँग जोडिएका दूरगामी प्रभाव पार्ने आयोजनामा केटाकेटी पाराका वातावरणीय प्रभाव मूल्याङ्कनका कुरा सतहमा आउनुलाई त्यस्तै अतिवाद प्रोत्साहन गर्ने र दिगो विकास हुन नदिने षड्यन्त्रका रूपमा लिनुपर्ने हुन्छ ।


यतिसम्म कि, एउटा आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा अर्कै आयोजनाको नाम र ठाउँ साभार गरिएको पाइएको समेत सुनिने गरेको छ । यस्ता प्रतिवेदनलाई कसरी सदर गरिन्छ अनि त्यसलाई कसले र कसरी पत्याउने भन्ने गहन प्रश्नको उत्तर कसले दिने ? यस्ता काम गर्ने संस्था र व्यक्तिहरू दण्डित हुने गरेका छन् ? वातावरण प्रभाव मूल्याङ्कन गर्ने व्यक्ति र संस्थाका लागि लाइसेन्स व्यवस्था गर्ने र उनीहरूको प्रतिवेदनमा कमजोरी भेटिए लाइसेन्स खारेज गर्ने प्रावधान राख्नसके बेथिति अन्त्य हुन सक्थ्यो ।

भौगर्भिक अध्ययनबिना पूर्वाधार विकासका काम अघि बढाउनु, सम्बन्धित सबै क्षेत्रका साँच्चिकै विज्ञहरूसँग अन्तक्र्रिया नगरी सहमति दिनु, दिगो विकास र कम वातावरणीय प्रभावका लागि उपयुक्त प्रविधिमा ध्यान नदिनु, सम्बन्धित विषयका प्राविधिक बन्दोबस्त नगरी विकासका काम गर्नुजस्ता कुरा वातावरण र दिगोपनमा संवेदनहीनता हुन् ।

विकास र वातवरणजस्ता संवेदनशील र दूरगामी प्रभावका विषयमा दलगत राजनीतिक गन्ध आउनु लज्जास्पद छ । प्राविधिक र वैज्ञानिकले आफ्नो निहित स्वार्थका लागि अर्थात कुनै राजनीतिक पार्टीलाई खुसी बनाउन वर्षौं लगाएर आर्जन गरेको ज्ञान र बुद्धि तिलाञ्जली दिन तम्तयार हुने प्रवृत्ति छ । सम्बन्धित विषयको ज्ञान र अनुभवबिना आफूलाई विज्ञका रूपमा प्रस्तुत गर्नेहरू पनि छन् । त्यही आधारमा उनीहरूलाई ‘महान् विज्ञ’ ठहर्‍याउनु विडम्बनापूर्ण छ । साँच्चिकै देशको दिगो विकास गर्ने हो भने नक्कली प्राविधिक र विज्ञलाई बिदा गर्नुपर्छ । कुनै राजनीतिक पार्टीमा आबद्ध नभएका तर सम्बन्धित विषयमा विद्वत्ता हासिल गरेका विज्ञ पहिचान गरी रोस्टर बनाउनुपर्छ र परेका बेला उनीहरूलाई परिचालन गर्नुपर्छ ।

वातावरणका अतिवादीहरूलाई मेरो सुझाव छ– पहिला विषयको संवेदनशीलता अनि गाम्भीर्यलाई बुझ्ने गर्नुस् । विकासको कुरा आउनासाथ वातावरणको हवाला दिँदै नकारात्मक प्रतिक्रिया नदिनुस् । सस्तो लोकप्रियताभन्दा पनि साँच्चिकै अपरिवर्तनीय वातावरणीय र दिगो प्रभावबारे सूक्ष्म अध्ययन गरेर मात्र धारणा बनाउनुस् ।


वातावरणको कुरा खालि विकासविरोधी एजेन्डा हो भन्ने अतिवादीलाई मेरो सुझाव छ– विकासको सर्वस्वीकार्य मान्यताअनुसार वातावरणमा अपरिवर्तनीय र दूरगामी प्रभाव पर्ने परिदृश्य देखिन्छन् भने त्यो विकास नभएर विनाश नै हो भन्ने बुझ्नुस् । वातावरणीय प्रभाव मूल्याङ्कन संवेदनशील विषय भएकाले यसलाई औपचारिकताका हिसाबमा नगराउनुस् । भर्पाइ गर्न सकिने वातावरणीय प्रभाव भए कसले, कसरी र कहिलेसम्म भर्पाइ हुने हो स्पष्ट खाका र योजना तयार पार्नुस् ।


सरोकारवालालाई चित्त बुझाउनुस् । नेपाल भौगर्भिक हिसाबले अति गतिशील छ भन्ने कुरा सदैव याद गर्नुस् । प्राविधिक कुरामा कुन राजनीतिक पार्टी वा को मान्छे भन्ने कुराबाट कहिल्यै प्रभावित नहुनुस् । प्रकृतिसँग लाप्पा खेल्ने अनि पहाडको अस्तित्व मेटाएर विकास गर्छु भन्ने जस्ता सोच दिमागमा कहिल्यै नल्याउनुस् । विश्वप्रसिद्ध नयाँ प्रविधि प्रयोग र दिगो विकासको अवधारणालाई सदैव बढाउनुस् ।

विकास र वातावरणका कुरामा सरकार र राजनीतिक पार्टीहरूलाई मेरो सुझाव छ– यो देश हामी सबैको हो, विकास भएको देश भोलि म पनि चलाउन पाउनेछु । देश विकास हुनु भनेको मेरो पनि विकास हुनु हो । विकास गर्न नदिएर होइन, उसले भन्दा धेरै विकास म गर्छु भन्ने जस्ता सकारात्मक सोच र कदमले मात्र देश समृद्ध बन्न सक्छ ।

सरकारमा हुँदा त्यही कुरा ठीक अनि सरकारबाहिर हुँदा त्यही कुरा बेठीक जस्तो दहीचिउरे कुराले तपाईंको अनि तपाईंको पार्टीको लोकप्रियता बढ्दैन, बरु घट्छ । आफ्नै पार्टीमा लागेका बुद्धिजीवी र विज्ञ भनिनेहरूको मात्र विश्वासमा नपर्नुस् । तिनीहरूकै कारण तपाईंको राजनीति दाउमा पनि पर्न सक्छ । प्राविधिक र इन्जिनियार अनि वैज्ञानिकलाई गलत कामका लागि कहिल्यै दबाब नदिनुस् ।


लेखक इन्जिनियरिङ भूगर्भविद् हुन् ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?