कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्याग्रहको शक्ति

डेटलाइन तराई
संविधान कार्यान्वयन र निर्वाचनोत्तर विमर्शलाई गान्धीका अन्तरदृष्टिको सम्झनाले बाटो देखाउन सक्छ ।
चन्द्रकिशोर

काठमाडौँ — महात्मा गान्धीको चर्चा उनको मुलुक भारत र बाहिर बढ्दै छ । तात्कालिक कारण केही वार्षिकीको संयोग हुँदै गएकाले हो । सन् २०१५ लाई उनको स्वदेश फिर्तीको शताब्दी वर्षका रूपमा मनाइयो । उनी दक्षिण अफ्रिकाबाट स्वदेश फर्केका थिए ।

सत्याग्रहको शक्ति

गान्धीले सन् १९१७ मा विहार राज्यको चम्पारण जिल्लामा निलको खेती गर्ने किसानको पक्षमा आन्दोलन गरे, जहाँ भारतीय भूमिमा गान्धीबाट पहिलोपटक सत्याग्रह प्रयोग गरियो । सन् २०१७ लाई चम्पारण सत्याग्रह शताब्दी वर्षका रूपमा मनाइयो । यतिखेर उनको १५० औं जन्मजयन्ती मनाइँदैछ । विश्वले अहिले भोगिराखेका चुनौती र संकट निदानको बाटो गान्धीतिर डोरिएको पाइँदैछ । नेपालमा गान्धी सम्झिनुपर्ने कारण छन् ।


नेपालमा आजको पुस्ता गान्धीबारे परिचित छैन । उनीहरूका लागि गान्धी फगत भारतीय स्वतन्त्रता संग्रामका एक अगुवा हुन् । भारत र भारतीय सन्दर्भ आउने बित्तिकै एउटा वृत्तमा पूर्वाग्रही दृष्टिकोण छ, त्यसकारण पनि गान्धीप्रति फराकिलो विमर्श हुन पाउँदैन । नेपालको जुन राजनीतिक र सामाजिक पक्षले गान्धीसंँग सहयोग लिन खोजेको थियो, तिनले पनि मुखर भएर गान्धीलाई सम्झिदैनन् । कुनै एउटा भूगोल विशेषमा जन्मिए पनि गान्धीले देखाएको बाटोले विश्वका कुनै कुनामा रहेका नागरिक र समाजलाई पथप्रदर्शित गरिरहेको छ ।


उनलाई वैश्विक नेताका रूपमा आदर गर्नु पर्छ । गान्धीलाई बुझ्न कम कठिन छैन । बरु माक्र्सवादी र राष्ट्रवादी हुनु सजिलो छ, नेपालमा । गान्धीको अनुयायी हुन कठिन । यसका लागि स्वयंलाई बदल्नुपर्छ । जो सर्वथा दुष्कर कार्य हो । गान्धी विना बल मिच्याइँ वा फगत उपदेश दिई आफैले आफैलाई प्रयोगका रूपमा उभ्याएर अरुलाई प्रेरित गर्थे ।


नेपालमा गणेशमान सिंह बाहेक अर्को नाम छैन, जसले सत्ता पाएर पनि त्याग गरेको छ । आन्दोलन गर्दा गान्धीको बाटोमा हिँड्छु भन्नेहरूले प्रधानमन्त्री बन्ने मोह त्याग्नसकेका छैनन् । गान्धीले आफूलाई सत्तारोहणबाट जहिले पनि अलग राखे ।


गान्धीले विश्व समाजको कुनै पनि दमनकारी नीतिको विरोध शान्तिपूर्ण तरिकाले गर्नुपर्ने व्यावहारिक रूपमा देखाए । उनी हिंसा कुनै पनि समस्याको सम्पूर्ण एवं स्थायी समाधान होइन भन्ने मान्यता राख्थे । असहमत पक्ष चाहे त्यो आफ्नै दलभित्रका हुन् वा अर्को दलका, तिनलाई उपहास गर्ने, निषेध गर्ने वा आक्षेपित गर्ने जुनसुकै सत्ताको चरित्रलाई उनी जायज मान्दैनथे । वैचारिक विमतिका बाबजुद पनि व्यक्तिगत सम्बन्धलाई आत्मीय बनाउँदै संवाद गर्नुमा जोड दिन्थे ।


यसै सन्दर्भमा अमेरिकी विद्वान थ्योडोर रोजाकले भनेका छन्, ‘मानिसहरू अहिंसालाई प्राय: साताभरि व्यवहारमा ल्याउन खोज्छन्, जब यसले तत्काल परिणाम दिँदैन, तब हिंसातर्फ फर्किन्छन् ।’ हामीकहाँ पनि शान्तिपूर्ण भनिएका आन्दोलनमा ढुङ्गामुढा, आगजनी र तोडफोड गर्ने आदतमा विराम लागेको छैन । हामी शान्तिपूर्ण प्रतिरोधले तुरुन्त प्रभाव पारोस् भन्ने ठान्छौं । शान्तिपूर्ण संघर्षका लागि साहस, संयम र धैर्य महत्त्वपूर्ण हुन्छन् ।


भारतका इतिहासकार रामचन्द्र गुहाले मुख्यत: चारवटा कुरा गान्धीबाट लिन सकिने बताएका छन् । पहिलो, जनविरोधी सरकार वा कानुनको खिलाफ अहिंसक प्रदर्शन । दोस्रो, एकअर्काको धर्मलाई बुझ्ने र सम्मान गर्ने । तेस्रो, यस्तो आर्थिक नीति बनाउने जसमा सबैको विकास होस् र प्रकृतिको कमभन्दा कम नोक्सानी होस्् । चौथो, व्यवहारमा शिष्टाचार र जनतासंँग जोडिएका कार्यमा पारदर्शिता होस् ।


नेपाली समाजले गान्धीका मौलिक मार्गप्रति रुचि देखाउन सक्छ । अहिंसक हस्तक्षेप गरेर समाज र राज्यको रूपान्तरण गर्न सकिन्छ । गान्धीको सत्याग्रहको गुण भयवाट मुक्त रहनु हो । सत्ता चाहे त्यो शासकीय सत्ता होस्, धार्मिक होस्, कारोबारी वा जातीय । हाम्रैमाझ डा. गोविन्द केसीको संघर्ष र तिनको सार्थकता निकट अतितको उदाहरण हो । सत्याग्रहको भनेको अन्याय, अत्याचार, विभेद, दमनकारी, भ्रष्ट र शोषक व्यवस्थाप्रति असहयोग तथा समाजमा असल चिन्तन र अभ्यास गर्नेहरूमाझ समन्वय र सहकार्य हो । सत्यमाथि अडिग भएर पनि हुँदैन, साधनको शुद्धिमाथि भरोसा र लोकहितप्रति अर्जुनदृष्टि पनि त्यतिकै चाहिन्छ । सत्याग्रह समाजलाई प्रगतिशील, आधुनिक एवं वैज्ञानिक बनाउन हो । पहिलो सर्त हो, आफैभित्रका कमी–कमजोरी न्यून गर्दै जानु ।


गान्धीले सन् १९०९ मा लेखेको ‘हिन्द स्वराज’ मा केवल कुनै देशको स्वतन्त्रताको कुरा छैन । उनी स्वराजका कुरा गर्दै थिए । स्वराजको मतलव प्रत्येक मान्छे आफ्नो जीवनमा कसैमाथि निर्भर नरहोस्, स्वयंमाथि उसैको स्वामित्व होस् । पुस्तकमा उनले विकासका प्रक्रियाबारे लेखेका छन् ।


भूमण्डलीकरणको जमानामा अब राज्य उपनिवेशको ठाउँमा बहुराष्ट्रिय कम्पनीहरूको उपनिवेशवादले आकार फैलाउँदै गएको छ । हामीले राणा र राजाशाहीलाई त फाल्यौं, अब हाम्रो संघर्षले बहुराष्ट्रिय उपनिवेशवादको सामना गर्नुपरेको छ । भूराजनीतिक देखासिकी वा चेपुवाभन्दा पनि आफ्नो माटो सुहाउँदो उन्नति हामीलाई चाहिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष वा दाता राष्ट्रहरूको प्राथमिकता र प्रलोभनभन्दा पनि हाम्रो आवश्यकताका आधारमा हामीले आफ्नो समृद्धिको गन्तव्य निर्धारण गर्ने हो । प्रकृति संरक्षणसंँग जोडिएर जति हाम्रो विकास हुन्छ, त्यही अनुपातमा हामी अरुभन्दा फरक र उदाहरणीय हुन सक्छौं । गान्धीको दृष्टि त्यही थियो, विकासका लागि आफू स्वयं सबल बन्ने, आन्तरिक संसाधनमाथि बढी निर्भर हुने, निर्णय लिने अधिकार सम्बन्धित सरोकारवाला पक्षकै हातमा हुनुपर्ने ।


गान्धीको प्रकृति संरक्षणप्रतिको प्रसिद्ध कथन छ, ‘हाम्रा खाँचोका निम्ति पर्याप्त संसाधन उपलब्ध छन् । तर हाम्रो लोभका लागि होइन ।’ आयातित विकासका मोडलको चकाचौंधमा यो कुरा स्मरण गराइराख्दा कतिपयले अव्यावहारिक भन्न सक्छन् । नेपालसँग दुई महत्त्वपूर्ण सम्पदा छन्– प्रकृति र जनशक्ति । प्रकृतिलाई चरम दोहन गर्‍यो भने छोटो अवधिमै भुइँसतहमा त्रासदी देखिन थाल्छ । जनशक्ति भित्रको विविधता हाम्रो अमूल्य निधि हो । तिनको सम्मान, स्वतन्त्रता र सामञ्जस्य चाहिन्छ । गाउँ र गरिबलाई केन्द्रमा राखेर अगाडि बढ्ने कि केही सीमित व्यक्ति र शक्तिको स्वार्थका लागि योजना ल्याउने ? संविधान कार्यान्वयन र निर्वाचनोत्तर विमर्शलाई गान्धीका कतिपय अन्तरदृष्टिको सम्झनाले बाटो देखाउन सक्छ ।

प्रकाशित : आश्विन १८, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?