हत्केलामा संसार

समाज प्रविधि पछ्याउँदै गतिशील भइरहेको छ । राजनीतिले त्यो गति समात्न नसक्दा समाजभन्दा पृथक् भइरहेको छ ।

काठमाडौँ — जगत आज त्यो छैन, जो थियो । इन्टरनेट र टचस्क्रिनसँगै सामाजिक सञ्जालमार्फत धारणाको व्यापक लोकतन्त्रीकरण भएको, भइरहेको छ । पहिलेका सिद्धान्त पन्छिँदै विचार पातलिँदै गएका छन् । यिनको ठाउँ नयाँ छवि, नयाँ विचारले लिइरहेको छ । अक्षर चिन्ने र नचिन्ने, सबै थरीका धारणा सार्वजनिक भइरहेका छन् ।

हत्केलामा संसार

क्रिया, प्रतिक्रिया कति हो कति । शिक्षित र शिक्षाबाट वञ्चित एउटै प्लेटफर्ममा छन् । अक्षर, तस्बिर, संवाद र लाइभ प्रवाहमार्फत विश्वभर मानिस आपसमा जोडिएका छन् । साना–ठूला सबै खाले घटना सम्बन्धी सूचनाले घर–घरको सरहद पार गरेका छन् ।


कुन अखबारमा के लेखियो, कुन टिभी च्यानलमा के देखियो, कुन हलिवुड स्टारले के भन्यो, संयुुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कसको, कसरी ‘इज्जत अथवा बेइज्जती’ गरे, नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली व्यंग्य–विनोदमा कसरी रमाउँछन्, यावत् सूचना टचस्क्रिनमा औंला चलाए भेटिन्छ । गुगलको बोलेर खुल्ने एप पनि व्यापक प्रयोगमा छ । हत्केलामा आएको भर्चुअल संसारमा अनेकानेक नित्य नयाँ संस्करणहरू आइरहेका छन्, गनिसाध्य र भनिसाध्य छैन ।


२ दशकपूर्व कल्पनै गर्न नसकिने प्रविधि यतिखेर जीवनको अभिन्न अंग भएको छ । पढ्ने, पढाउने तरिका प्रविधिमैत्री नभई धरै छैन । मोबाइलमै ‘लभ’ पर्ने र मोबाइलमै ‘लभ’ टुट्ने अथवा केटाकेटीको भेट त्यहीं हुने र मोबाइलबाटै लगन जुराउने प्रसंगहरू भइरहेका छन् । नेपालबाट अमेरिका पुगेकी छोरीसँग आमा अचेल कत्ति पनि टाढा छैनन् ।


अस्ट्रेलिया गएको छोरो उतै गोरीसित पो लाग्यो कि भनेर दिनैपिच्छे आमाको नसिहत सुन्न छोरो अभ्यस्त भइसकेको छ । अरब पुगेको श्रीमान्ले तत्कालै श्रीमतीलाई रकम ट्रान्सफर गरिदिन सक्छ । बिरामी परेकी छोरीको मुख उसले मोबाइलमै प्रत्यक्ष हेर्न सक्छ, ऊसित प्रत्यक्ष कुरा गर्न सक्छ । जन्मदिनको पार्टी र तीजका गीतहरू एउटा समुदायमा सीमित रहेका छैनन् । एका ठाउँका शृंगारित दृश्यहरू निमेषभरमै विश्वव्यापी हुन्छन् । कतिसम्म भने ‘कुटुमा कुटु सुपारी दाना’ तमिल बोल्नेहरूको मुखले गुनगुनाउने गरी लोकप्रिय भएको छ ।


एउटा लेखक घरैमा बसी–बसी लेख्छ अथवा जहाँकहीं भए पनि आफ्ना आलेख अखबारमा पठाउन सक्छ, छापिन्छ, वितरित हुन्छ । साथै अनलाइनमार्फत संसारभर फैलिन्छ । अखबारको कार्यालय देख्दै नदेखे पनि ऊ करार गर्न र आबद्ध हुनसक्छ, पारिश्रमिक पाउन सक्छ । अनलाइन पोर्टलहरू दिनानुदिन पत्रकारितालाई नयाँ ढंगले सम्परिभाषित गरिरहेका छन् । बौद्धिक कर्मका लागि एउटा मोबाइल, ट्याब होस् अथवा ल्यापटप भए, विश्व त्यहीं भेटिन्छ । अरू पनि उपकरण छन् ।


सूचना संकलन र प्रवाहमा आमूल परिवर्तन आएको छ । व्यापार, रोजगार अथवा जीवन चक्रका यावत् पक्ष सञ्चार प्रविधिसँग जोडिएका छन् । लाइभ स्ट्रिममा कुनै देशको राष्ट्रपतिमात्र होइन, सामान्य मानिस पनि आफ्ना कुरा सुनाइरहेको हुन्छ । बलिवुडका हिरो–हिरोइनमात्र होइन, हरेक मानिस आफ्नालागि आफैं सेलिब्रेटी भएको छ । विज्ञान र प्रविधिले बनाएको चमत्कृत पार्ने यो दुनियाँ तर चुनौतीरहित छैन । ती चुनौतीबारे पछि कुनै बेला चर्चा गरौंला ।


प्रविधि अघि–अघि यो समाज, यो दुनियाँले त्यसैलाई पछ्याइरहेको छ । प्रवाह एकदमै गतिमान छ । मान्छेका प्राथमिकता फेरिएका छन् । तर यो तिलस्मी जगतमा यो देशको राजनीति के गर्दैछ ? एकैछिन राजनीतितिर हेर्नुहोस्, राजनीतिक मानसिकताले भने एक्काइसौंलाई छुन त परै उन्नाइसौं शताब्दीलाई समेत उछिन्नसकेको छैन । मैले अरू–अरू होइन, अरू–अरूका कुरा अरूतिरै भइरहेका छन् । यहाँ आफ्नैको कुरा गरेको, विदेश यात्रातिर गएका, गरेर फर्किरहेका, ओहोर–दोहोरमा व्यस्त आकृतिहरूको चहल–पहललाई भनेको । नेताहरू, तिनका कार्यकर्ताहरू माला भिरेर प्राय: दिनहुँ विदेश गइरहेका हुन्छन् ।


विदेशबाट के जानेर आउँछन्, के सिक्छन्, के बुझेर आउँछन्, कि लखर–लखर घुमेर, खाएर मात्र आउँछन् ? यिनको भ्याइ–नभ्याइ दौडाहाबाट देशमा केही उल्लेख्य प्रभाव (सकारात्मक) परेको त देखिँदैन । परेको भए पार्टी सञ्चालनको शैली उही पुरातन नहुनुपर्ने, कथा उनै पुराना र गुनासाहरू जमानादेखि उस्तै नहुनुपर्ने हो । सरकार सञ्चालनको ढंग देखिइरहिएकै छ । बेढंगाको बेढंगै छ । त्रिशंकु संसद् हुँदा भन्ने ठाउँ थियो, अस्थिरता छ । अहिले दुई तिहाइको बहुमत सरकार पनि आज गयो कि भोलिमा झुन्डिरहेको देखिनु दुर्भाग्य हो । तर देखिन्छ त्यस्तै ।


जस्तै– केही दिनपूर्व सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ मध्येका एक नेता माधवकुमार नेपालले संसद्मा सरकारको कार्यशैलीप्रति चिन्ता प्रकट गरे । बेथितिको खुलेर आलोचना गरे । त्यो आलोचनाले देशभित्र त चर्चा पायो नै, न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीको मुटुसमेत हल्लियो । माधव नेपाल निश्चय नै सत्ताधारी दलका नेता हुन्, तर उनी जनप्रतिनिधि पनि हुन् । जनताले उनीसित गरेका प्रश्नहरू अरू कहाँ पुर्‍याउनु, पुर्‍याउने ठाउँ संसद् नै हो । चिन्ता प्रकट गर्ने र समाधान खोज्ने ठाउँ विधायिका नै हो । माधव नेपालका व्यक्तिगत कुण्ठा पनि होलान् । तर त्यतिमै त्यतिका हल्लीखल्ली हुनु र न्युयोर्कबाटै प्रधानमन्त्रीले व्यंग्यवाण प्रहार गर्नु आवश्यक थिएन ।


आवश्यक थिएन, तर प्रधानमन्त्री ओलीलाई लाग्यो आवश्यक छ, किनभने शरीर एक्काइसौंमा डुलिरहेको भए पनि मन त उन्नाइसौं शताब्दीमै कैद भएको छ । शासक हुनु मालिक हो भन्ने भ्रमबाट उनी मुक्त छैनन् । जो प्रधानमन्त्री, उही जान्ने । आलोचनामाथि मनन गर्नु त कताकता चाटुकार, चाकडीबाजको फौज बनायो, तिनैका कुरा सुन्यो, रमायो । कसैका कुरा सुन्नु आवश्यक ठान्दैनन् । बाहिर असन्तुष्टि, दलभित्रै भागबन्डाको किचलो । एउटाको पालामा भए त हो भन्नु, हरेकको पालमा उस्तै । गफ ठूलठूला, कार्यकौशल शून्य । साधन नपुगेर होइन, माध्यम नभएर होइन ।


साधनको, माध्यमको सही उपयोग नगरेर, व्यवस्थापकीय कौशल नभएर बेथिति निरन्तर रहेको हो । काम नभइरहेको प्रमुख कारण शासकीय कुर्सीमा बस्न पुग्नेको अहंकार हो । चित्त सफा नभएर हो । नागरिकले कर दिएर सुविधा सम्पन्न बनेका राज्याधिकारीहरू किन मात्तिन्छन्, नमात्तिने औषधि के छ र यसको उपचार के हो, यसको खोजी लरतरो तरिकाले नहुने रहेछ ।


यी प्रश्नको उत्तरका लागि सम्भवत: आध्यात्मिक अनुसन्धानकै आवश्यकता पर्छ । किनभने पद्धति, राज्यशक्तिको विभाजन जति गरे पनि शासनमा पुगेपछि दुरुपयोग गर्ने मनोवृत्ति हुनेहरूले गरेरै छाड्दा रहेछन् । यहाँ यो पार्टी राम्रो र त्यो नराम्रो भनिहाल्न नमिल्ने सबैका सामु छर्लंग छ । हिजो जो सत्तामा थिए, तिनीहरूको स्वभाव आज उन्नाइसको बीस होला, तर यस्तै थियो । उनीहरूलाई पनि सुन्न मञ्जुर थिएन, उनीहरूकै एकोहोरो प्रलाप सुन्नुपथ्र्यो । यो सबै उनीहरूसँग सूचना संकलन र आदान–प्रदानका साधन नभएर होइन ।


नभएर होइन, किनभने सुरुमा मोबाइल, त्यसपछि सेटलाइट फोन आउँदा व्यापारी सँगसँगै राजनीतिज्ञले त्यो सुविधा पाएका हुन् । पहिला उपकरण र सुविधा उनीहरूकै काखमा पुग्छ । आज पनि लाखभन्दा कम पर्ने मोबाइल कमैमात्र सांसदले बोकेका होलान् । तर उनीहरू लोकहितमा पाँच हजारको मोबाइलले गर्नेजति कामसमेत लिइरहेका छैनन् । नपुग्दो भन्नु केही छैन, तर उनीहरूलाई पुगिरहेको छैन ।


त्यस्तै केही समयपूर्व प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई कागजविहीन (पेपरलेस) बनाउने उद्योग गरे । मन्त्रीहरूका हात–हातमा ल्यापटप दिए (उनी आफैंचाहिँ के गर्छन्, सार्वजनिक छैन) । भौतिक साधन–संसाधन र मानसिकताबीच न्यूनतम मेलसमेत छैन भने त्यो कार्यकौशलमा रूपान्तरित हुन नसक्ने यहीं देखिइरहेको छ । किनभने त्यसपछिका घटनाहरू हेर्नुहोस्, मन्त्रिपरिषद् पेपरलेस तर न सडकका खाल्डो पुर्न सक्छ, न त ‘हातोहात’ भइरहेका भ्रष्टाचार न्यून पार्न सक्छ । नागरिकलाई कति सुरक्षा प्रदान गर्न सक्छ, त्यसको फेहरिस्त प्रशासनसँग मागिरहनु नपर्ने भएको छ । हरेक दिन भइरहेका जघन्य कृत्यहरू आफैं बोलिरहेका छन् ।


मन्त्रिपरिषद् बैठकको एजेन्डा पढ्नमात्र अत्याधुनिक ल्यापटप किन चाहियो ? प्रदर्शनकै लागि लाइभ हटलाइन किन ? वास्तवमा सूचनालाई एकै क्लिकमा पाउन, सुरक्षित राख्न र शासनमा गत्यात्मकता ल्याउन आधुनिक साधन संसाधन चाहिने हो, चाहिन्छ नै, तर प्रदर्शनका लागि होइन । प्रदर्शनकै लागि त सो रुममा किसिम–किसिमका ल्यापटप राखिएकै छन् । राज्यका संयन्त्रलाई प्रविधिमैत्री बनाउनु भनेको शासनलाई तत्पर, लोकसेवामा तम्तयार र तत्काल सेवा आपूर्ति गर्नलाई हो । स्वास्थ्य, शिक्षा, नागरिकको जीउधन र सीमाको सुरक्षा, यी यावत् यदि कुनै क्षेत्रमा तत्परता देखिँदैन भने काखमा प्रविधि भए पनि त्यो निरर्थक हुन्छ । अहिले यहाँको शासन प्रशासनमा त्यही भइरहेको छ ।


तात्पर्य हो, प्रविधि स्तरीय भइरहेको छ तथा समाजले राज्यबाट त्यसै अनुरुप तत्परता चाहिरहेको छ । समाज प्रविधि पछ्याउँदै गतिशील भइरहेको छ । तर राजनीतिले भने त्यो गति समात्न त परै अनुमान गर्न पनि सकिरहेको छैन । राजनीति समाजभन्दा पृथक भइरहेको छ । स्तरीय प्रविधिका माध्यमबाट लिनु र दिनुपर्ने सेवाका ठाउँमा सरकारी संयन्त्रका लागि, फेरि दोहोर्‍याउँछु, प्रविधि प्रदर्शनीजस्तो मात्र छ ।


समाजले लिइरहेको गति, उसको मागको मर्म र राजनीतिबीच तादात्म्य स्थापित भएको कतै देखिइरहेको छैन । दलहरू उन्नाइसौं, धेरै भए मध्य बीसौं शताब्दीका विम्बमा रुमल्लिइरहेका छन् । राज्यका पदाधिकारीहरू अत्याधुनिक वाहनमा सवार, ती वाहनमा सवार हुनुको प्रयोजनचाहिंँ लोकहितमा होइन, प्रदर्शनमा सीमित छ । तर ख्याल रहोस्, हत्केलामा देखिने संसारमा यो शैलीको राजनीतिले काम गर्दैन ।

प्रकाशित : आश्विन १९, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?