कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लिमीको विकास आकांक्षा

मोफसलमा विकास ल्याउने हो भने केन्द्रले आफ्नो पकड छाड्नुपर्छ ।
अमिशराज मुल्मी

काठमाडौँ — सिमिकोट विमानस्थलको रनवे छोटो भए पनि व्यस्त छ । बिहान उडान अनुमति पाउने बित्तिकै आकाश हेलिकप्टरको रोटरको आवाजले गुञ्जिन्छ । केही हेलिकप्टर साँझ साढे ६ बजेसम्म पनि अवतरण गरिरहेका हुन्छन् । यी हेलिकप्टरले कैलाश मानसरोवर जान आएका भारतीय तीर्थयात्री बोकेका हुन्छन् ।

लिमीको विकास आकांक्षा

चीनसँगको नाका हिल्सा २० मिनेट हवाई यात्राको दूरीमा छ । झन् धेरै पर्यटकको आगमन सुनिश्चित गर्न पर्यटन सेवा दिने कम्पनीहरूले यात्रीलाई सकेसम्म छिट्टै सिमिकोटबाट हिल्सा उडाउने आश्वासन दिएका हुन्छन् । केही वर्षयता हुम्ला कैलाश जाने सबैभन्दा सहज निकासस्थल बनेको छ । पोहोर झन्डै १२ हजार ९ सय पर्यटक यही बाटो कैलाश तीर्थयात्रामा गएका थिए । एक महिनाअघि हामी सिमिकोटमा छँदा यस वर्ष झन्डै १० हजार तीर्थयात्री कैलाशतर्फ गइसकेको तथ्यांक थियो । यति धेरै तीर्थयात्री आउनु पर्यटनका लागि लाभदायक होला । सिमिकोट र हुम्लामा भने यसको प्रभाव कस्तो होला ?


प्राय: मानिसका अनुसार कैलाश तीर्थयात्राले सिमिकोटलाई खासै लाभ दिएको छैन । तीर्थयात्रीले एक रात सिमिकोटमा बिताउन चाहने हुनाले केही गेस्टहाउस खुलेका छन् । हुम्लाको लिमी उपत्यकाजस्ता अन्य ठाउँमा पर्यटनको लाभ पुग्नसकेको छैन । पर्यटकीय सम्भावनाले प्रचुर लिमी पर्यटक र पर्यटन व्यवसायीको नजरमा परिसकेको छैन ।


लिमी उपत्यका नाम्खा गाउँपालिकामा पर्छ । दुर्गम स्थानमा रहे पनि यो चीनसँगको निकटताका कारण सम्भावना र अवसरले भरिपूर्ण छ । हिल्साबाट ३० किलोमिटर दूरीमा पर्ने र नेपालमा ताक्लाकोट भनेर चिनिने चिनियाँ सहर पुराङमा स्थानीय बासिन्दा व्यापार तथा रोजगारीका लागि जाने चलन छ । तर त्यो अभ्यास अनौपचारिक छ र चीन सरकारको इच्छामा निर्भर छ । त्यसैले केही विशेष क्षेत्रमा लक्षित हस्तक्षेप आवश्यक छ, जसले हिमाली क्षेत्रका समुदायको जीविकोपार्जनमा परिवर्तन ल्याउन चाहिने अध्ययनका रूपमा पनि काम गरोस् ।

गाउँपालिका अध्यक्षको जोश
हल्जी उपत्यकामा चिसो स्याँठ ल्याउने सिमसिम वर्षा परिरहे पनि नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा ‘तामाङ’ (उनको गलत थर ‘तामाङ’बारे छुट्टै कथा छ) बिहानैदेखि गाउँमा यताउता दौडिरहेका छन् । विशिष्ट अतिथिहरूको सत्कारमा तयार रहन स्थानीयलाई निर्देशन दिँदैछन् । भदौ १९ र २० गते चल्ने सीमापार यात्रा तथा व्यापार मेला उद्घाटन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, स्थानीय सांसद आदि हेलिकप्टरबाट आउँदैछन् । स्थानीय बासिन्दाले सामना गर्नुपरेको समस्याप्रति ध्यानाकर्षण गराउँदै संघीय तथा प्रदेश सरकारबाट समाधान खोज्नु मेलाको उद्देश्य थियो । लिमी उपत्यका र नाम्खाका लागि मेला महत्त्वपूर्ण छ ।


एउटा उवाबारीको माझमा सेतो कपडाका टुक्राटाक्रीलाई अंग्रेजी अक्षर ‘एच’ आकारमा सजाएर हेलिप्याड बनाइएको छ । सत्कार टोली तम्तयार छ । भीआईपीको आगमनमा ढिलाइ भएको छ । अघिल्लो दिन म र लामा घाम ताप्दै गफिँदै थियौं । ‘नाम्खामा जैविक विविधता, कृषि र पर्यटन क्षेत्रमा म एकदमै धेरै सम्भावना देख्छु,’ उनले सुनाएका थिए । उनले लाप्चा भञ्ज्याङबारे भने, ‘नेपालभरिमा यहींबाट मात्रै कैलाश पर्वत र मानसरोवर दुवै देखिन्छन् ।’


११ औं शताब्दीमा बनेको र अहिले हिमताल फुट्ने सम्भावनाले जोखिममा रहेको रिन्चेन्लिङ गुम्बाबारे जानकारी दिए । अहिले चिनियाँ बजारमा एक किलोको १६ हजार रुपैयाँसम्ममा बिक्ने वन लसुनजस्ता जडिबुटीबारे बताउँदै गर्दा जोशिए । घुमिफिरी चीन पुग्ने भए पनि यता जम्मा हुने सबै जडिबुटी दलालमार्फत नेपालगन्ज पुर्‍याइन्छ । यी जडिबुटी संकलनबाट गाउँपालिकाका परिवारहरूको आम्दानी वर्षमा एकदेखि डेढ लाख रुपैयाँसम्मले बढाउन सकिने लामाको आँकलन छ । ‘हाम्रै गाउँपालिकामा एउटा संकलन केन्द्रमात्रै भइदिए †’ लामाले झिनो आशासहित भने ।


नाम्खामा कृषिको व्यवसायीकरणबारे छलफल गर्दा लामा सबैभन्दा दृढ सुनिन्थे । तिब्बत र लिमी मुनिका भेगबीच नुनका लागि अन्न साटासाट गर्ने प्रचलन सुनाउँदै उनले भने, ‘कृषि तथा पशुपालन सधैं हाम्रो आम्दानीका मुख्य स्रोत रहेका छन् ।’ अहिले फेरि लामाको दृष्टि उत्तरतर्फ नै फर्केको छ । ‘हामीले यहाँ कृषिलाई व्यवसायीकरण गर्नसक्ने हो भने ताक्लाकोटलाई आफ्नो प्राथमिक बजार बनाउन सक्छौं । त्यहाँ चल्तीमा रहेको भाउभन्दा निकै कममा सामान बेच्न सक्छौं । ताक्लाकोटमा आलु एक किलोको १७० रुपैयाँ पर्छ । हामी १०० रुपैयाँमा निर्यात गर्न सक्छौं ।’


त्यसो भए समस्या के छ त ? ‘हामीले स्थानीय तहमा चिनियाँसँग वार्तालाप गरिरहेका छौं । हाम्रो उत्पादनलाई बजारसम्म पुर्‍याउन उनीहरू सहमत छन् । तर हिल्सामा क्वारेन्टाइन चेकपोस्ट नबनाई हामीले कृषिजन्य उत्पादन वा पशुपन्क्षी निर्यात गर्न नमिल्ने अडान उनीहरूले लिँदै आएका छन् । हामीले संघीय सरकारसामु कुरा राखेका छौं । भोलि मुख्यमन्त्रीसँग यही विषय उठाउने विचारमा छौं,’ उनले भने ।

मोफसल भर्सेस केन्द्र
व्यापार मेलामा लिमी तथा नाम्खा गाउँपालिकाका बासिन्दाले धेरै मिहिनेत र आशा खर्चेका थिए । सबै वडाध्यक्ष आफूले सामना गरिरहेका समस्याबारे छलफल गर्ने तयारीसाथ आएका थिए । हल्जीसम्म यात्रा गरेका सरकारी अधिकारीहरूसँग विभिन्न विषयमा गहन छलफल भएको थियो । पूर्वाधार तथा सडक सम्पर्क अभावले यस क्षेत्रमा पर्यटन विकासमा अवरोध पुगेको छ । तर त्यसलाई चीनसँग निकट हुनुले सजिलै जित्न सक्छ । विशेषगरी चिनियाँ पदयात्रीलाई लक्षित गरेर हिल्सा र लाप्चाबीच आधारभूत पूर्वाधारसहित पदयात्रा सर्किट विकास गर्न सकिन्छ । लिमीमा सन् १९५० पहिलेको तिब्बतको सांस्कृतिक अवशेष बाँकी छन् । यो संस्कृतिले यात्रीका लागि विशिष्ट महत्त्व राख्न सक्छ ।


आफै बाँकी नेपालसँग राम्रो सम्पर्कमा नभएका बेला हुम्ला जिल्लाले अर्को देशसँग सम्पर्क विस्तार गर्न खोज्नु अचम्म लाग्ला । हुम्लाका सबै सडक सिमिकोटसँग जोडिन्छन्, तर सिमिकोट आफै राष्ट्रिय सडक सञ्जालसँग जोडिन धेरै वर्ष कुर्नुपर्ने अवस्था छ । ‘नेपालगन्जमा १० रुपैयाँ पर्ने साबुनलाई हामीले ८० देखि १०० रुपैयाँसम्म तिर्नुपर्छ,’ लामाले भने । सागसब्जी जस्ता आधारभूत सामान पनि सिमिकोट पुग्दा भाउ अकासिन्छन् । एक किलो गोलभेँडालाई २६० रुपैयाँसम्म पर्छ भने हरियो खुर्सानी, अदुवा र लसुन एक किलोको ४०० रुपैयाँ पर्छ । हवाइमार्गबाट समान ढुवानी गर्दा सरसामानको भाउ दोब्बरभन्दा धेरै पुग्ने अवस्थामा लिमी उपत्यकाका लागि ताक्लाकोटलाई आफ्नो आर्थिक केन्द्र मान्नुको विकल्प छैन ।


यस क्षेत्रमा सबै सरसामान हवाइमार्गबाट ढुवानी हुनाले सबैभन्दा ठूलो खर्च यातायातमै हुने गर्छ । सडक सञ्जाल विस्तारबारे वार्तालाप गर्दा उत्तरतर्फको छिमेकीकै चर्चा हुन्छ । हुम्लामा एक्स्काभेटरहरू चीनबाट ल्याइएका छन्, तर तिनलाई सञ्चालन गर्न चाहिने डिजेल अभाव छ । पेट्रोलियम पदार्थ आपूर्ति गर्न चिनियाँ पक्ष सहमत भएको लामा बताउँछन् । उनीहरूले कुनै पेट्रोल पम्पबाट आफूकहाँ सिफारिस अनिवार्य पठाउनुपर्ने बताएका छन् । ‘हामीले यस क्षेत्रमा पेट्रोल पम्प निर्माण गर्ने माग पेस गरेका छौंै, तर त्यसतर्फ केही काम भएको छैन,’ लामाले भने ।


विकास र राष्ट्रिय तहमा सम्पर्क निर्माणबारे कुनै पनि बहस सीमावर्ती क्षेत्रलाई केन्द्रसँग जोड्ने विषयमा मात्रै केन्द्रित हुने गर्छ । हिमालपारिका क्षेत्रहरूले चीनको आर्थिक विकास तथा पूर्वाधार निर्माणबाट लाभ लिनसक्ने कुनै विकल्प छ कि ? चीनको सापेक्ष लिमी क्षेत्रको स्वाभाविक प्रतिस्पर्धात्मक श्रेष्ठतालाई नकार्नु भनेको यहाँका बासिन्दाको जीविकोपार्जनमा सुधार आउनुबाट रोक्नु हो । हिमाली क्षेत्रमा सीमा वारपार व्यापार सधैं भएकै हो ।


दुवैतर्फका समुदायले हजाराैं वर्षदेखि एकअर्कासँग व्यापार गरेरै जीविकोपार्जन गर्दै आएका थिए । आधुनिक भूराजनीतिको संवेदनशीलताले विगतको व्यापार सम्बन्ध र सम्पर्क शिथिल भएका हुन् । विगतमै फर्केर जाने अभिलाषा नराखे पनि नयाँ अवसर खोज्ने दायित्व भने बाँकी रहन्छ । लिमीका लागि नयाँ अवसरहरू सीमापारि छन् । मोफसलमा विकास ल्याउने हो भने केन्द्रले आफ्नो पकड छाड्नुपर्छ ।

प्रकाशित : आश्विन १९, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?