आधुनिक नहुँदै उत्तर–आधुनिक

देउवाको विकल्पमा शशांक आउनु भनेको नेपाली कांग्रेसका लागि तातो कराहीबाट उम्केर तातो जस्ताको छतमा हामफाल्नु हो ।
विष्णु सापकोटा

काठमाडौँ — नेपाली कांग्रेसको अहिलेको नेतृत्व इतिहासमै कमजोर हो भनेर अब सभापति शेरबहादुर देउवा स्वयम्ले मात्र भन्न बाँकी छ  । न कुनै भिजन तथा नीति दिन सक्ने, न कार्यकर्तालाई प्रेरित गर्न सक्ने, न आफ्नो जीवनशैलीबाट कुनै आदर्शलाई प्रतिनिधित्व गर्ने, नत प्रतिपक्षीकै रूपमा खरो उत्रेर आफूलाई वैकल्पिक सरकारका रूपमा प्रस्तुत गर्न सक्ने  ।

आधुनिक नहुँदै उत्तर–आधुनिक

कांग्रेसको अहिलेको नेतृत्व र प्रतिपक्षीका रूपमा समेत प्रभावहीन भूमिकाबारे अब थप चर्चा आवश्यक छैन । उक्त दलबारे अबको महत्त्वपूर्ण छलफल भनेकै यसपछिको नेतृत्व कस्तो व्यक्ति र समूहमा जाला भन्ने हो । नयाँ नेतृत्व आइहाल्ने कुरा त्यति नजिक त छैन । तर हालैका दिनहरूमा अहिलेका महामन्त्री तथा बीपीपुत्र शशांक कोइरालाले अबको नेतृत्व तीनजना कोइरालामध्ये एकले गर्नेछ भनेर आफै सभापतिको उम्मेदवार हुने प्रस्ट संकेत गरेका छन् ।

को व्यक्ति सभापति हुन्छ र अरु को के–के हुन्छन् भन्नेमा मेरो धेरै रूचि र चासो छैन । व्यक्तिकै नाम लिएर चर्चा गर्नु यसै पनि त्यति रुचिकर विषय होइन । तर कुन व्यक्तिले नेपाली समाजको कस्तो मनोविज्ञान र चिन्तनलाई कसरी प्रतिनिधित्व गर्छ भन्ने कुराले हाम्रो राजनीति कता जाँदैछ भन्ने दिशाबोध गर्न भने धेरै अर्थ राख्छ ।


यो विषयमा प्रवेश गर्न र कांग्रेसको अबको नेतृत्व कोइरालामध्ये वा बाहेकबाट कस्तो र कसरी आउला भनेर विमर्श गर्न जोड्नैपर्ने केही आधारभूत सन्दर्भ छन् । नेपाली समाजको राजनीति एउटा ‘उत्तर–आधुनिक’ समय प्रवाहमा पुगिसकेको छ । नेपालको ‘आधुनिकता’वाला कालको लोकतान्त्रिक र बौद्धिक समय प्रवाहका नायक बीपी कोइराला थिए । तर बीपीको वंश भएका आधारमा उनको राजनीतिक उत्तराधिकार सम्हाल्छु भनेर दाबा गरिरहेकाहरूको समय–चेत उत्तर–आधुनिक त के त्यही पुरानो आधुनिक कालसम्म पनि आइपुगेको छैन । यी आधुनिक र उत्तर–आधुनिक राजनीतिक चेतले कुन चिन्तनलाई कसरी प्रतिनिधित्व गर्छन् र यसमा नेपाली समाजको लोकतन्त्रसँंगको सम्बन्धको प्रवृत्ति कस्तो छ भन्ने चर्चाको लागि पात्र र प्रवृत्तिका रूपमा माथि उल्लेख गरिएका लगायतका व्यक्तिहरूलाई जोड्न आवश्यक छ ।


चाल्र्स डार्बिनको ‘सर्भाइबल अफ द फिटेस्ट’को सिद्धान्तले भन्छ– प्रकृतिको स्वभावै यस्तो छ कि जीवहरूमध्ये जो योग्य छ, ऊ नै बाँच्ने हो । यसरी हेर्दा प्रकृतिको चरित्र लोकतान्त्रिक होइन कि जस्तो लाग्छ । तर गहिरिएर सोच्दा प्रकृति लोकतान्त्रिक नै ठहर्छ । धनीमानीको सन्तान स्वत: राम्रो विद्यालयमा पढ्न जान पाउँछ । व्यक्तिगत क्षमता धेरै नभए पनि उसले अरु गरिब विद्यार्थीको तुलनामा अगाडि बढ्ने राम्रो वातावरण पाउँछ । कुनै ठूलो राजनेताको छोरा वा छोरीले राजनीतिमा ठाउँ बनाउन साधारण जनताले जस्तो संघर्ष गर्नै पर्दैन । त्यहाँ ‘प्राकृतिक’ प्रतिस्पर्धा हुनै पाउँदैन । तर सँगसँगै प्राकृतिक न्यायको सिद्धान्त पनि आफै लागु भइरहेको देखिन्छ । कुनै प्रकाण्ड विद्वानका छोरा वा छोरी पटमुर्ख भएको देखिएकै छ । र कुनै विद्वता वा ज्ञान नभएका छोराछोरी विद्वान पनि भएकै छन् । लोकतन्त्र भनेको सैद्धान्तिक रूपमा ठ्याक्कै यही हो ।


दोस्रो जनआन्दोलनसँगै गिरिजाप्रसाद कोइरालाको एकछत्र नेतृत्व छाएका बेला दोस्रो–तेस्रो तहका धेरै नेता अब कांग्रेस नेतृत्व गिरिजापुत्री सुजातामा जाने भयो भनेर तर्सिन्थे । तर जब तिनै सुजाता केही अन्टसन्ट बोल्थिन्, कतिपय कांग्रेसी नै चिन्ता गर्ने गर्थे– सुजाताको बुद्धि छैन । त्यतिबेला मेरो धारणा के हुन्थ्यो भने– कम्तीमा लोकतन्त्रलाई आदर्श मानेर लडेका नेताहरूले बुझिदिए हुन्थ्यो कि प्रकृति लोकतान्त्रिक छ । बुद्धि जति पनि नेताहरूकै छोराछोरीमा स्वत: जाने हुन्थ्यो भने ‘प्राकृतिक न्याय’ भन्ने कहाँ हुन्थ्यो होला र ? नेता वा कुनै विद्वानका छोराछोरीका बुद्धि नै नहुने भन्ने होइन । तर त्यो बुद्धि कसैको छोराछोरी भएकाले आउने होइन । बुद्धि, विवेक, सिर्जनशीलता आदि कसैका पैतृक सम्पत्ति होइनन् । बुद्धि र विवेकको वितरणका सन्दर्भमा प्रकृति त्यति सारो अन्यायपूर्ण छैन ।


अब एकैछिन ‘नेता’लाई माफ गरेर हाम्रो बृहत सामजिक चरित्र, अर्थात् हामी आफैतर्फ फर्केर हेरौं । हामी मध्ये कतिले सोची–नसोची आफ्ना बुबा, हजुरबुबा वा पुर्खा यस्ता ‘खतरा’ थिए, तसर्थ म पनि ‘खतरा’ नै छु भन्ने आशयका कुरा गरेका छौं ? आफूलाई गणतन्त्रवादी भन्ने तर आफ्नो थर क्षत्री भएका कतिले आफूलाई कसैले ‘राजा’ भनेर सम्बोधन गरिदिँदा भित्रभित्रै दंग परेका छौं ? अर्थात आफू त गणतन्त्रवादी तर कसैले ‘राजा’ भनिदिँदा भित्रभित्रै किन खुसी भएको हुँला भनेर सोचेका छौं ? कोही केटी मान्छेलाई राम्री भन्नुपर्दा ‘राजकुमारी’ वा ‘प्रिन्सेस’ भन्यो भने मक्ख सबै पर्छौं । त्यसोभन्दा हामीमध्ये कतिले सोचेका हुन्छौं– साँच्चै ‘राजकुमारी’जति सबै राम्रैमात्रै हुन्छन् ? कति कुरूप राजकुमारी थिए र छन्– तिनलाई के भन्ने ? ‘दलित भएर पनि राम्री रहिछे’ भन्ने कुराजस्तै सौन्दर्य भनेको सम्भ्रान्तले सिर्जना गर्ने डिस्कोर्स वा पुराना दन्त्यकथाबाट बन्ने ‘इमेज’मात्र हो ? आफूलाई लोकतान्त्रिक भन्ने सबैले आफू लोकतान्त्रिक छु कि छैन भनेर आफ्नै परीक्षा लिनका लागि यी अति जरुरी प्रश्न हुन् । यी प्रश्न आधुनिकतावादकै समयमा सम्बोधन भइसकेका हुन् । तर प्राविधिक रूपमा ‘उत्तर–आधुनिक’ कालखण्डमा पार्टीको नेतृत्व गर्छु भन्नेहरू स्वयम्को बौद्धिक चेत आधुनिकता कालको भन्दा पुरानो छ ।


मूल कुरा के हो भने २००७ सालको वरिपरि नै कांग्रेस नेतृत्वको चिन्तन जति ‘आधुनिक’ थियो, त्यति अहिले नेतृत्व गर्ने वर्ग वा अब मूल नेतृत्वमा आउँछु भन्नेको छैन । अरु त अरु, आफ्नो समय–चेत फेर्न र बदलिएको समय बुझ्न गिरिजाप्रसाद कोइरालाले आफूलाई जति परिवर्तन गर्नसकेका थिए, अब नेतृत्व लिन्छु भन्नेहरू गिरिजाले गल्ती गरेका थिए र त्यसभन्दा पछाडि फर्कनुपर्छ भन्नेहरू छन्, खासगरी कोइराला परिवारमै । आधुनिकतावाद मूलत: एउटा सांस्कृतिक विचार भए पनि त्यसको प्रसंग अहिलेको कांग्रेसले नेतृत्व गरेको चेतनाको पक्ष बुझ्न महत्त्वपूर्ण छ । बीपीको युग–चेतनालाई ‘सेप’ गर्ने बौद्धिक चिन्तनमध्ये आधुनिकतावाद एउटा प्रमुख थियो, जुन कुरा उनका साहित्यिक र बौद्धिक कृति र अभिव्यक्तिमा प्रशस्त देखिन्छ । यो भनेको के थियो भने मान्छे व्यक्तिका रूपमा महत्त्वपूर्ण हुन्छ, ऊसँग आफ्नो स्वतन्त्र विवेक हुन्छ । मान्छे आफैले ‘रासनल’ भएर सोच्न सक्छ, उसको लागि कुनै दैवीशक्तिले सोचिदिनु पर्दैन । यो चेतका लागि लोकतन्त्र एउटा संयन्त्र हो– सबै मान्छे समान हुन्छन् । तसर्थ पछिल्लो कालखण्डमा बुझिने लोकतन्त्र आधुनिक चिन्तन प्रणाली अन्तर्गतको एउटा राजनीतिक यन्त्र हो । उत्तर–आधुनिकताले कुनै एउटा सत्यको आधिपत्यलाई स्वीकार्दैन । आधुनिकतावादले सत्यको एउटा केन्द्रलाई स्वीकार्छ । तर उत्तर–आधुनिकता त्यसभन्दा पर गएर एउटामात्र केन्द्रलाई शक्तिशाली मान्दैन ।


नेपाल अहिले सिद्धान्तत शक्तिको बहुकेन्द्रतर्फ लम्कँदैछ । यत्रो लामो सशस्त्र द्वन्द्व, आन्दोलन र राजनीतिक संक्रमणको एकमात्र उपलब्धि के हो भन्दा त्यो समावेशी चरित्रको राज्य हो । समावेशी भनेकै लोकतन्त्र हो । पहिलेको केन्द्रीकृत राज्य प्रणालीको एकल केन्द्रलाई नेपालले भत्काइसकेको छ । उत्तर–आधुनिकताले भनेको जस्तो नयाँ–नयाँ र धेरै केन्द्र बन्ने प्रक्रियामा हाम्रो समाज छ । अब एउटा धर्म विशेषलाई राज्यको आधिकारिक चरित्र बनाइनुपर्छ भन्नु आफ्नो चेत आधुनिकतासम्म पनि नपुग्नु हो, जसको प्रतिनिधित्व अहिले शशांकले गर्छन् । समाजले राजनीतिलाई होइन, राजनीतिले समाजलाई डोर्‍याउने हो । तसर्थ राजनीति गर्नेहरू समयको चेतमा आम समाजभन्दा अगाडि हुने अपेक्षा गरिने हो । हुन त अहिलेको भन्दा पुरानो समाज ठिक थियो भनेर राजनीति गर्नेहरूले पनि आफ्नो पेसा चलाएकै छन् । त्यस्तो धार पक्रन नपाइने भन्ने पनि भएन । तर ती धारले कुन समय र कस्तो राजनीतिक चरित्रलाई प्रतिनिधित्व गर्छन् भनेर विवेचना गरिनु महत्त्वपूर्ण हुन्छ ।


अन्त्यमा, गणतन्त्रवादी हुँ भन्ने तर ‘राजा र राजकुमारी’वाला मनोविज्ञानबाट आफूलाई मुक्त गर्न नसकेकाहरू नेपाली समाजमा धेरै छन् । हुनसक्छ, नेपाली कांग्रेसमा त्यस्ता अझ धेरै छन् । शेरबहादुर सभापति हुन्जेल कांग्रेस के भएर रहँुला भन्ने त आफ्नो ठाउँमा छँदैछ । तर देउवाको विकल्पमा शशांक आउनु भनेको उक्त पार्टीका लागि तातो कराहीबाट उम्केर तातो जस्ताको छतमा हामफाल्नु नै हो । उक्त पार्टीका सदस्यहरूको मनोविज्ञान र सामाजिक परिवेश हेर्दा यथार्थ फेरि कस्तो देखिन्छ भने आगामी महाधिवेशनबाट आउने परिणाम भनेको देउवा र शशांकमध्ये एकको नेतृत्व हो । किनकि अधिकतम सदस्यका लागि बुद्धि र विवेक भनेको स्वतन्त्र हुन्छ भन्ने लाग्दै लाग्दैन । यो कि दैवी हुन्छ की वंशजकै आधारमा आउँछ भन्ने लाग्छ, आधुनिकता पूर्वको समयमा जस्तो । तसर्थ केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खास पार्टी बन्न बाँकी नै होला । तल्ला तहमा समितिहरू गठन गर्न बाँकी होला । दुई वर्षपछि सत्ताको आन्तरिक फेरबदल र पार्टी महाधिवेशनमा बिभिन्न किचलो आउन सक्लान् । सरकार सञ्चालनको तरिकाले जनतामा झन् निराशा बढ्ला । तर देउवा र उनको विकल्पमा शशांक आउने सम्भावनाबीच जहिलेसम्म कांग्रेस अल्झिराखेको हुनेछ, नेकपासँग आफूले चाहे अनुसार चल्नका लागि जति पनि समय छ– अर्को चुनावसम्म पनि ।

प्रकाशित : आश्विन २४, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?