भान्छाको बाह्रखरी

डेटलाइन तराई
थालीको परिकारमा आयातीत व्यञ्जनहरू पस्किएसंँगै भान्छामाथि मातृसत्ताको वर्चस्वमा घटोत्तरी भएको छ ।
चन्द्रकिशोर

काठमाडौँ — भान्छाको स्वरुप कस्तो छ ? त्यसमाथि स्वामित्व कसको छ ? भान्छाको संरचनामा के फेरबदल हुँदै गएको छ ? भान्छाहरूबीच भिन्नता के हो ? के भान्छामा समता ल्याउन सकिन्छ ? यी प्रश्नबारे खोजखबर नगरीकन समाजको राजनीति, समाजशास्त्र वा अर्थशास्त्रको लेखाजोखा राख्न सकिँदैन  । कुनै परिवारको स्तरमापनका निम्ति भान्छाकोठा एउटा सूचक हुनसक्छ  ।

त्यसैगरी कुनै समाज विशेषको भान्छामा हुँदै गरेको बदलावले त्यो समाजको गतिलाई संकेत गरिरहेको हुन्छ । भान्छा कुनै परिवार वा समाजको भए पनि त्यसमा के कुन पक्षले हस्तक्षेप गर्दै गएको छ र त्यसले गर्दा त्यो परिवार र समाजको स्वायत्तता गुम्दै गएको त छैन ? त्यसको पनि हिसाब–किताब यहींबाट भेटिन्छ ।


भान्छा सामान्यत: भोजन निर्माणको स्थल भए पनि सामाजिक संरचनाको प्रतीकसमेत हो । भान्छा राज्य र नागरिकबीच सम्बन्धका आधार पहिल्याउने इकाइ पनि हो । सरकारले लिएको ‘समृद्धि सपना’लाई कतिपयले यिनै सन्दर्भमा ‘टाउको दुखेको ओखती नाइटोमा’ भनेर रद्द गरिसकेका छन् । तिनीहरूको तर्क छ, ठूला परियोजनाहरूले भुइँतहका भान्छामा कुनै फेरबदल ल्याउन लागेका छैनन् ।

Yamaha


हामीले आफ्नो सुविधाका खातिर काल वा इतिहासलाई खण्ड–खण्डमा बाँडेका छांै । तर काल वा इतिहास आफैमा अखण्ड हो । काल एउटा सतत प्रवाह हो र त्यसैगरी इतिहास पनि निरन्तर बढ्दै जान्छ । काल वा इतिहास दशक वा शताब्दीको हिसाबले अगाडि हिँड्दैन । प्रत्येक दशकको आफ्नै खालका समस्या र चुनौती हुन्छन् ।


तर ऊ अखण्ड काल वा अनवरत इतिहासकै सिर्जना हुन्छ । एउटा दशकको समस्या अर्को दशकमा संक्रमित भएर त्यसलाई प्रभावित गर्छ । त्यसैगरी एउटा दशकको उपलब्धिले अगाडिको दशकको राम्रोपनलाई प्रभावित गरिरहेको हुन्छ । बदलाव निरन्तर हिँड्ने प्रक्रिया हो । यो बदलाव कहिलेकाहीं यति विस्तारै हुँदै गर्छ कि लाग्छ, एक दशक बिते पनि एक वर्ष बितेको छ । कहिलेकाहीं यस्तो पनि हुन्छ कि बदलावको विस्तार यति तीव्र हुन्छ, एक वर्ष पनि एक दशकजस्तो लाग्छ । भान्छाको बार्‍हखरी बुझ्न यो पृष्ठभूमि जान्न जरुरी हुन्छ ।


भान्छामा सामन्तवाद, पुँजीवाद र समाजवाद तीनै संस्कृतिको घालमेल भेटिन सकिन्छ । भोजपुरीमा आहान छ, ‘मकरा के जालसे बेढल हई चुल्हा के मुँह ।’ (माकुराको जालोले चुल्होको मुख बेरिएको छ) । आशय के हो भने कसैको चुल्हो बिहान–बेलुका नबलेपछि माकुराको जालो लाग्छ । यस्तो बञ्चितीको अवस्था अहिले पनि पिँंधमा भेटिन्छ । बनिबुतो गरेर दानापानीको बन्दोबस्ती भए पनि ती परिवारलाई दाउराको थप जोहो गर्नुपर्ने हुन्छ । अर्को रूप पनि छ, केही पहिलासम्म मधेसी समाजमा भान्छामा महिलाको वर्चस्व थियो । त्यो भनेको भान्छाको काम महिलाले मात्र गर्ने हो । बिहान–बेलुका के पाक्ने, कुन महिला सदस्यले के सघाउने घरकी ज्येष्ठ महिलाको हातमा हुन्थ्यो ।


घरको बाकसको चाबी जुन महिलाको हातमा हुन्थ्यो, ती महिलाको घरभित्र शासन चलेको मानिन्थ्यो । दही, घ्यु, गुड–चिनी, अचार, फलफूल यिनैको कव्जामा हुन्थ्यो । वितरणमा भने तिनले महिलामाथि नै अन्याय गरिरहेकी हुन्थिन् । अर्थात प्राय:गरी बढिया सब्जी, ताजा दही वा गाढा दाल महिलाको हिस्सामा पर्दैन्थ्यो । प्राय: पुरुष सदस्यहरू अतिरिक्त पोषाहारबाट लाभान्वित हुन्थे । महिला सदस्यहरू बचेखुचेको जे छ, त्यसैमा सन्तुष्ट हुनुपथ्र्यो । प्रसुता महिलाले अलि विशेष छुट पाउँथे । यो घरभित्रको सामन्ती अवस्था थियो । सामन्तवादले परिवारभित्रका सदस्यहरूलाई पनि विभाजित तुल्याएको थियो ।


बजारले भान्छा घरको ढङ्ग र ढाँचा फेर्दैछ । मधेसी समाज अनेक धार्मिक विश्वास, कर्मकाण्ड, परम्परा र रीतिरिवाजका साथ बाँच्दैछ । सञ्चारको बढ्दो प्रभावले देशी–विदेशी उपभोक्ता कम्पनीहरूको ‘बजार रणनीति’ले पनि भव्य धार्मिकताको यस उभारलाई असर पुर्‍याएको छ । दसैं, दिवाली, छठ, इद, होलीमा पहिला पनि कम्पनीहरू आफ्नो विशेष विज्ञापन प्रबद्र्धन गर्थे । सुदूर देहातका हाटबजार र मेला यिनका निसानामा थिए ।


अब त इन्टरनेटको फैलिँदो सञ्जालले पौराणिक कथाहरूमा वर्णित तीज, जितिया, करवाचौथ जस्ता स–साना पर्व, व्रत वा अनुष्ठानमा पनि बजारको नजर परेको छ । वाट्सप विश्वविद्यालयले त परिकार कसरी बनाउने खुला कक्षा नै सञ्चालन गरेको जस्तो देखिन्छ । सहरिया मात्र होइन, इन्टरनेट सुविधा भएको गाउँघरतिर पनि गृहिणीहरू यसको अनुशरण गर्दै नयाँ–नयाँ प्रयोग भान्छामा भित्र्याउँदै गएका छन् । भान्छामा नयाँ व्यञ्जन, नयाँ स्वादले प्रवेश पाएको छ ।


भान्छा माथिको आत्मनिर्भरता भने घट्दै गएको छ । पछिल्ला केही दशकभित्रै यो क्रम ह्वात्त बढेको छ । पहिला नुन बाहेक सबै थोक आफ्नै उत्पादन हुन्थ्यो । तेल आफ्नै उब्जनीको हुन्थ्यो । चिनीभन्दा गुडको बढी प्रयोग हुन्थ्यो । अहिले सबै थोक किन्नुपरेको छ । पहिले भान्छामा बहुअन्न हुन्थे, शुद्ध दूध, दही र घ्यु हुन्थे । अब बजारको नियन्त्रण बढ्दै गएपछि भिन्नता र गुणस्तरमा छनोट गर्ने सुविधा रहेन । पहिला वनस्पतिको घ्युमा पकाएर धार्मिक अनुष्ठानमा नत परिकार पाक्थे, न अतिथिका थाली नै सजाइन्थे । अब यो एकादेशको कथाजस्तै भएको छ । हामी पुँजीवादको निकै तल्लो र विशिष्ट अवस्थामा छौं ।


मधेस अन्नको माइती थियो । व्यञ्जनहरू मौलिक थिए । स्वाद यहाँको हावापानी अनुसार हुन्थ्यो । खाजा र खानाका परिकार प्रशस्त थिए । विभिन्न पर्वमा मौसम अनुसारको उत्पादित सामग्री प्रयोग गरिन्थ्यो । भनिन्छ, जनकपुरमा अयोध्याबाट रामको जन्ती आउँदा यिनको सम्मानमा ‘चूडा दही’ले स्वागत गरिएको थियो । भनिएको पनि छ, ‘दधी चिउरा उपहार अहारा ।’ यस क्षेत्रका वासिन्दा अचारका प्रेमी हुन्थे र दर्जनौं प्रकारका अचार बनाउने पारम्परिक तरिका थिए ।


अहिले मधेसका हाटबजारमा पारम्परिक खाजा विस्तारै लोप हँुदै गएको छ । रेडिमेड अचारले स्थान पाउँदै गएको छ । भान्छाकोठाको बनोट र व्यञ्जनमा आएको फेरबदलले पारम्परिक परिकार र भाँडाकुँडासंँग जोडिएका शब्द हराउन थालेका छन् । नयाँ पुस्ताको जिब्रोले पुरानो परिकारको स्वादको चाल पाउँदैनन् । भान्छाले विस्तारै आफ्नो नयाँ बार्‍हखरी संयोजन गर्दै गएको छ ।


पहिला घरमा उसिना चामलको भात पकाइन्थ्यो । अतिथि सत्कारका लागि अरवा चामल पकाइन्थ्यो । अहिले अरवाकै चलन बढेको छ । यस क्षेत्रमा उब्जिने बालीलाई तीन भागमा विभक्त गर्न सकिन्छ, जसले भान्छालाई विविधता प्रदान गथ्र्यो– अगहनी, रब्बी र भदई । मंसिर–पुसतिर हुने बालीलाई अगहनी भनिन्छ र यिनमा धान प्रमुख हो । चैत–वैशाख महिनामा तयार हुने गहुँ, चना, खेसारी, रहर, जांै, आलस, कुरथी, केराउ, मटर, सस्र्यु, राई आदिलाई रब्बी भनिन्छ । साउन–भदौतिर तयार हुने आसु, ठेलई, कोदा, मकै, कउन, सामा आदिलाई भदई भनिन्छ । यिनका अतिरिक्त गम्हरी, मुँग, मसुर, जनेर, उखु, सख्खरखण्ड आदिका बाली पनि लगाइन्छ । खेतीमा घट्दो निर्भरताले अब यो लाभ पाउने स्थिति रहेन ।


पारम्परिक भान्छाघरमा प्रयोग हुने भाँडाकुँडा पुस्तैनी विरासतमा राखिएका हुन्थे । परिवारको सदस्यको बिहानको काम हुन्थ्यो– भान्छाघर लिप्ने, भाँडाकुँडा सफा गर्ने, काठको पिँंढीमा खाने, त्यसलाई पखाल्ने । अब ग्यास, फ्रिज, प्रेसरकुकर र स्टेनलेस स्टीलका बर्तन आइसकेका छन् । संयुक्त परिवारमा आउँदै गएको विघटनले पनि भान्छाको व्यवस्थापनमा हेरफेर ल्याएको छ । रेमिटेन्स अर्थतन्त्रले झन् त्यसमा हस्तक्षेप गरेको छ ।


अर्कोतिर थालीको परिकारमा आयातित व्यञ्जनहरू पस्किएसँंगै भान्छामाथि मातृसत्ताको वर्चस्वमा रहेको श्रेणीक्रममा घटोतरी भएको छ । दुई–तीन पिंँढीका सासुबुहारी एकै भान्छामा प्राय: कमै हुन्छन् । पहिला भान्छामा रुचि नलिने पुरुषहरूले सरकारी वा गैरसरकारी सेवाबाट निवृत्त भएपछि सघाउन थालेका छन् । नयाँ पुस्तासँंगै पुरानो पुस्ताका पुरुषहरूले ‘रसोइघर’मा प्रवेश पाएका छन् । घरका सबै सदस्यले समान भोजन सामग्री पाउन थालेका छन् । भान्छाघरको दुनियाँ लोकतान्त्रिक हुँदै गएको छ । तर अहिले पनि यस्ता भान्छाघर छन्, जहाँ बिहान वा बेलुका के पकाउने निधो छैन ।


राज्यले आर्थिक र सामाजिक संरचनामा फेरबदल नगरीकन विकास खोज्ने प्रक्रिया सुरु गर्‍यो भने पिँंधका चुल्हाहरूमा आगो नबल्ने स्थिति रहिरहन्छ । जनजीवनसंँग प्रत्यक्ष सरोकार राख्ने यस्ता समस्या उठाउँदा जनताले यिनलाई सहजै बुझ्छन्, यिनको समाधानमा सक्रिय भएर जुट्छन् र आखिरमा सरकारमा उत्तरदायित्वको बोझ बढ्छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अन्त्यहीन प्रहरी अनुसन्धान !

निर्मलाको बलात्कार तथा हत्याबारे राजनीतिक तहबाट भइरहेका भाषणबाजीले समस्यालाई गिजोल्ने देखिन्छ ।
कुशुमलता सिंह

काठमाडौँ — २०३९ वैशाखमा पोखरामा नमिता–सुनिता दिदीबैनीलाई बलात्कारपछि हत्या गरेर सेती नदीमा फ्याँकियो  । त्यो सबै कर्तुत बुझेका तथा अपराधी चिनेका वनपालेलाई प्रहरीले बयान दिन बोलायो  । तर दिनभरि बयान लिइएन र अन्त्यमा ‘भोलि आउन’ भनी फर्काइयो । त्यही रात उनलाई पनि हत्या गरी फालियो । त्यस घटनाको दोषी कहिल्यै पत्ता लगाइएन, सार्वजनिक गरिएन ।

नमिता–सुनिता काण्डको साढे तीन दशकपछि भएको निर्मला पन्तको बलात्कार र हत्या घटनामा पनि सत्य–तथ्य लुकाउने प्रपञ्च गरिँदैछ । घटना भएको अढाई महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्नसकेको छैन । अनेक समिति बनाएर अनुसन्धानमाथि अनुसन्धान गर्ने शृंखला चलिरहेको छ र यो अन्त्यहीन रूपमा चलिरहने देखिन्छ ।


नमिता–सुनिता काण्ड भएका बेला मानिस सत्य बोल्न डराउँथे । अहिले महिलामा जागरुकता आएको छ । ‘सहने होइन, कहने’ भन्ने मान्यता स्थापित हुँदै गएको छ । निर्मला पन्तको बलात्कार र हत्या गर्ने व्यक्ति पत्ता लगाउन र कारबाहीको माग गर्दै देशव्यापी आन्दोलन चलिरहेको छ ।


भारतीय नारीवादी अभियन्ता कमला भासिनले गत भदौमा नेपाल आएका बेला भनेकी थिइन्, ‘महिलाको इज्जत गयो भनिदिन्छन्, के इज्जत भन्ने कुरा हाम्रो योनिमा हुन्छ ?’ आफूमाथि भएको अन्याय र अत्याचार सम्बन्धित ठाउँमा बताउँदा इज्जत जाँदैन, बरु न्यायले इज्जत र शक्ति बढाउँछ । यो मान्यता समाजमा स्थापित हुनुपर्छ, हुँदै गएको छ । त्यसले आफूमाथि हुने हिंसा उजागर गर्न उत्प्रेरित गर्छ ।


महिलाउपर बलात्कार र हिंसा केवल पीडितको समस्या होइन । यसले मानव सभ्यता र सम्बन्धित समाजलाई कलंकित बनाउँछ । यसलाई साझा सार्वजनिक मुद्दाका रूपमा लिनुपर्छ । बलात्कार, यौन दुव्र्यवहार, नारी विरुद्धको हिंसा, बेचबिखन वा दुव्र्यवहार विश्व समाजकै लागि अत्यन्त संवेदनशील र गम्भीर विषय हुन् । आफूमाथि भएको यौन दुव्र्यवहार उजागरका लागि प्रेरित गर्न र दोषीलाई कारबाही गराउन ‘मि टु’ अभियान चलिरहेको छ । यसले हलिउडदेखि बलिउडसम्म हलचल ल्याएको छ ।


निर्मला पन्तको बलात्कार र हत्याका सन्दर्भमा जनसमुदायले स्वस्फुर्त प्रदर्शन गरेर सरकारलाई अपराधी पत्ता लगाउन घचघच्याइरहेका छन् । उनीहरूले अपराधी पत्ता लगाउ, पीडितलाई न्याय तथा क्षतिपूर्ति देऊ एवं पीडकलाई हदैसम्मको दण्ड–सजाय देऊ भनेर आवाज उठाइरहेका छन् । पछिल्लो समय प्रहरी महानिरीक्षक, गृहमन्त्रीको राजीनामाको माग पनि आउन थालेको छ । उनीहरूको राजीनामा वा परिवर्तनले अपराधी पत्ता लाग्ने ग्यारेन्टी हुन्छ–हुँदैन, त्यो पनि हेर्नुपर्छ । अपराध विरुद्धको कारबाही अपराधीलाई राहत पुग्ने वा उसको शिर उठाउने कारक कहिल्यै हुनुहुँदैन भन्नेमा सबै पक्ष सजग बन्नुपर्छ ।


अपराधीले कुनै ‘वाद’ पढेर अपराध गरेको हुँदैन । अपराधीको न कुनै ‘तन्त्र’ वा ‘वाद’ हुन्छ, नत कुनै धर्म वा जात । अपराधीको पहिचान केवल ‘अपराधी’ हो र उसलाई गर्नुपर्ने उचित व्यवहार कसुर अनुरुपको दण्ड–सजाय हो । ‘वाद’ वा मानिस हेरी सजाय होइन, कसुर हेरी सजाय नै विधिको शासनको अनिवार्य आधार हो ।


नेपाल प्रहरीले २० वर्षअघि अपराध गरेका अपराधीलाई फेला पार्ने दक्षता देखाएको छ । तर प्रहरीको दक्षतालाई व्यावसायिक अनुशासनमा बसेर स्वतन्त्रतापूर्वक काम गर्न दिने वातावरण राजनीतिक तहबाट नि:सृत हुनुपर्छ । राजनीतिक संरक्षण वा अभयदान पाएको अपराधीका हकमा सुरक्षा निकाय लाचार हुनुपर्ने परिस्थितिको अन्त्य गरिनुपर्छ । नत्र अपराध र दण्डहीनताले मलजल पाउँछ ।


अपराध नियन्त्रण, दण्डहीनताको अन्त्य र सुशासनका लागि सरकार कटिबद्ध भएको पहिलो प्रमाण सुरक्षा निकायहरूको गैरराजनीतिक स्वरुप र व्यावसायिक दक्षतालाई असर पुग्ने कुनै हस्तक्षेप वा राजनीतीकरण नगर्नु हो । अपराधीले कानुनमा राजनीतिक संरक्षण पाउन सक्ने छिद्र रहन दिनु हुँदैन । अपराधीमा कानुनको डर जगाउनैपर्छ ।


निर्मला पन्तको बलात्कार तथा हत्याकाण्ड बारे राजनीतिक तहबाट जेजस्ता भाषणबाजी भइरहेका छन्, त्यसले अपराधी पत्ता लगाउन सहयोग पुग्ने देखिन्न, उल्टो समस्यालाई गिजोलेर झन् अन्योलपूर्ण बनाउन सक्छ । दण्डाधिकारी पक्षमा विवाद र अन्योल चर्किरहोस्, अपराधका प्रमाण नष्ट हुँदै जाउन् र कानुनको कठघरामा पुग्नुपर्ने सम्भावना झिनो बन्दै जाओस् भन्ने अपराधीको चाहना हुन्छ । सरकार र नागरिकका बोली र व्यवहारले अपराधीलाई राहत नपुगोस् भन्नेमा सचेत हुनैपर्छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT