छिटै चिने बाथ निको

सुरुको ३ महिनामै सही पहिचान गरेपछि बायोलोजिकल औषधि प्रयोगबाट बाथरोग नियन्त्रण गर्न सकिन्छ ।
डा. विनित वैद्य

काठमाडौँ — पछिल्लो दशकमा बाथरोगको जाँच र उपचार पद्धतिमा धेरै अन्तर आएको छ । बाथ दीर्घरोग हो । यो शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरका बिभिन्न अङ्ग तथा जोर्नीलाई असर गरेपछि देखापर्छ । बाथरोगका दीर्घकालीन असरहरू मानव शरीरमा निकै नकारात्मक हुन्छन् ।

बाथका कारण हातखुट्टाका औंलाहरू बाङ्गिन, कुप्रो तथा कुँजो हुनसक्छ । बाथले छालामा निको नहुने घाउ, दिसामा रगत, सेतो रगतको कमी र आँखाको समस्या गराउँछ । कहिलेकाहीं त बाथले बारम्बार गर्भ खेर जाने समस्या पनि गराउन सक्छ ।

Yamaha

पछिल्लो समय बाथको औषधि ढिलो प्रयोग गर्ने चलन थियो । औषधिले रोग निरोधक शक्तिलाई दबाउने हुनाले रोगले कडा रूप नलिएसम्म प्रयोग गरिँदैन थियो । तर आज यो समय छैन । बाथरोगमा अनुसन्धान बढ्दै गएपछि नयाँ तथ्य पत्ता लाग्दै गएका छन् । बाथको उपचार जति सुरुवातमा गरियो, त्यत्ति सहज हुने गर्छ । बाथले अङ्गहरू बिगारेपछि थामथुम गर्ने प्रवृत्ति त्याग्नुपर्ने देखियो । हातका जोर्नीहरूको एमआरआई स्क्यान तथा नयाँ प्रविधिका रगत जाँचले बाथको सुरुवाती अवस्थामै पहिचान गर्न सकिने भयो, सुरुवातमै औषधि गरेपछि ठिक भएको पनि देखियो, ठिक नहुनेको अङ्गभङ्ग जोगियो ।

तर यी प्रविधि साह्रै महंँगा थिए र अझै छन् । सर्वसुलभ छैनन् । सस्तो प्रविधिको अनुसन्धान हुँदै जाँदा अल्ट्रा साउन्ड डोप्लर स्क्यान भने सस्तो र सुलभ देखियो । यसले रोगको पहिचान चाँडै गर्न मद्दत गर्ने देखियो ।

विकसित मुलुकमा बाथरोगको पहिचान सुरुको ३ महिनामै गर्ने प्रयास गरिन्छ । सही पहिचानपछि बायोलोजिकल औषधि प्रयोग गरेर नियन्त्रण गरिन्छ । के यो उपचार पद्धति नेपालमा अपनाउन सकिन्छ ? हाम्रो स्वास्थ्यमा सेवा भर्खरै सुरुवाती अवस्थामा छ, हामी बल्ल सरुवा रोगबाट नसर्ने रोगतर्फ ध्यान दिँदैछौं । सरोकारवालाको ध्यान बाथमा अन्तिम चरणमा जान्छ । यस्तो अवस्थामा हामीले विकसित मुलुकमा प्रयोग हुने सबै प्रविधि र उपचार सहज रूपमा प्रयोग गर्न सक्दैनौं ।

भएका प्रविधिको सही उपयोग र नयाँ प्रविधिलाई जनमानसको पहुँचमा पुर्‍याउने कोसिस हामी सधैैं गर्दैछौं र धेरै मात्रामा सफल पनि भएका छौं । पछिल्लो ६ महिनादेखि पावर डप्लरको प्रयोगले धेरै कडा बाथरोगको पहिचान सुरुवातको ३ महिनामै गर्न सक्षम भएका छौं । पहिचानसँंगै बाथरोगको सही उपचार अपनाउँदा बाथरोगीको सुधार पनि पहिलेभन्दा निकै सन्तोषजनक देखिएको छ ।

बाथरोगको प्रारम्भिक लक्षण भनेको हातखुट्टा, मेरुदण्ड वा कम्मरको जोर्नी बिहानपख दुख्न थाल्नु हो । जोर्नी तथा शरीर बिहान अररो हुने, कक्रिने वा सुन्निने हुनसक्छ । सुरुवातका अन्य लक्षण भनेको मुखमा घाउ आइरहने, बारम्बार आँखा रातो हुने, पानी चलाउँदा औंला पहेँलो वा निलो हुने हुन् । लक्षण सुरु भएका बिरामीको उमेर र लक्षण अनुसार रगत, सूक्ष्म नसा तथा पावर डप्लरले जाँच गरिन्छ । पछि जटिल हुँदै जाने वा नहुने खालको बाथ भनेर पत्ता लगाइन्छ । त्यही अनुसार जीवनभर सेवन गर्नुपर्ने दबाइ सुरुवात पनि गर्नुपर्ने हुन्छ ।

बाथरोगका औषधि दुई थरी हुन्छन् । दुखाइ र सुन्निने कम गर्ने पेनकिलर र स्टेटोरड औषधि जुन केही समयभन्दा बढी प्रयोग गर्न हँुदैन । अनुचित प्रयोगले समस्या निम्त्याउन सक्छ । अर्को हुन्छ– डिजिज मोडिफाइङ ड्रग्स । यो समूहको औषधि बाथको प्रकार अनुसार फरक हुन्छ । यो औषधिको कसै–कसैमा नकारात्मक असर देखिन सक्छ र समय–समयमा रगत परीक्षण गर्नुपर्छ ।

यो समूह अन्तर्गत बायोलोजिकल औषधि पनि पर्छ । यो बाथरोगको उपचारमा आएको नवीनतम औषधि हो । यसको मूल्य अत्यधिक भएकाले नेपालमा यसको प्रयोग धेरैले गरेको पाइँदैन । सामान्यतया बाथरोगीले खाने कुरा बार्न पर्दैन । युरिक एसिड अथवा आमबाथको बिरामीले मात्र रातोमासु, जाँडरक्सी, गेडागुडी, टमाटर आदि बार्नुपर्छ । अरु धेरै प्रकारका बाथ भने चुरोटको धुवाँ र चिसो हावापानीका कारण बढ्ने गरेको पाइन्छ ।

लेखक नेसनल बाथरोग सेन्टरमा कार्यरत छन् ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीलाई प्रश्न

प्रधानमन्त्रीज्यू, तपाईंलाई सब कुराको ज्ञान छ, तर तिनलाई व्यवहारमा लागु गर्न सक्नुहुन्न भने कसरी सफल बन्नुहुन्छ ?
राेजिना पाेखरेल

काठमाडौँ — निजामती कर्मचारीलाई राज्यको सक्षम र दिगो एवं स्थायी सरकार मानिन्छ । तर निजामती कर्मचारीमाथि अल्छी, भ्रष्टाचारमा लिप्त, कामचोर प्रवृत्तिको भनेर लाञ्छना लगाउने गरिन्छ । तर किन कर्मचारी यस्ता भए ? सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसबारे के–के रणनीति बनाए ?

कर्मचारीलाई सकारात्मक उत्तप्रेरणाका लागि के–के गरे ? कर्मचारी समायोजन गर्न किन सकेनन् ? कर्मचारीलाई हप्काएर, दाषी देखाएर, हाजिर छड्के गरेर के परिवर्तन आयो र आउँछ ? नकारात्मक उत्प्रेरणा र सस्तो लोकप्रियताले के प्रगति देखियो ?

विकासे मन्त्रालयका मन्त्रीले विभाग, आयोजना, डिभिजनमा प्रमुख लगायत अन्य कर्मचारी खटाउँदा कस्तो प्रक्रिया अपनाउँछन् ? विभागीय प्रमुख, आयोजना प्रमुख बनाउँदा रकम मागियो कि मागिएन ? आर्थिक वर्ष समाप्तपछि कार्यालय, डिभिजन, विभाग हुँदै मन्त्रालयसम्म कमिसन आइपुग्यो कि पुगेन ?

अर्थ मन्त्रालयमा असार महिनामा थप बजेट निकासा गर्दा गत वर्षहरूझैं प्रिपेडमा १.५ देखि ३ प्रतिशतसम्म कमिसन मागियो कि मागिएन ? कमिसन नबुझाउनेको पनि रकम निकासा दिनु भनी अर्थमन्त्रीले निर्देशन दिए त ? आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका राजस्वका कार्यालय, विभागबाट उठाइएकोदाम सहितका मुठाहरू अर्थमन्त्रीकामा पुग्योकि पुगेन ?

विभिन्न समूह, एसोसिएसन, समिति, स्वार्थ समूहले आफ्ना हितका लागि नीतिगत निर्णय गराउँदा रकमको प्रभाव पर्‍यो कि राष्ट्रहितको ? संस्थान, कम्पनी, समितिमा सञ्चालक, सदस्य, प्रमुख नियुक्तिको मापदण्ड के कायम गरियो र गरिँदैछ ? निष्पक्षताको आधार के छ ?

डन, तस्कर, कालोबजारीसँगको सम्बन्धमा प्रहरी, इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा केही परिवर्तन आयो ? तस्कर, कालोबजारीले प्रहरी, प्रशासनलाई दाम चढाउन छाडेको छन् ? उठेको दाम कहाँसम्म पुग्दैछ ? के त्यो जालो तोडियो ?

मालपोत, नापी, भूमिसुधार, जिल्ला प्रशासन, यतायात लगायतका जनसम्पर्क बढी हुने कार्यालयमा दलाल, रकमी सहयोगी, एजेन्टलाई प्रवेश निषेध गरियो ? त्यहाँको ठड्डामा सोझै पहुँच
पुर्‍याउने दलालहरू आउनछाडे ? दिनहुँ कार्यालय, कर्मचारीले पाउने, उठाउने घुसमा कमी आयो ? अध्यागमनमा सुधार आयो कि आएन ? त्यहाँकोमानव तस्करीको सेटिङ तोडियो कि तोडिएन ? सेटिङमा कमिसन उठ्न बन्द भयो ?

उपभोक्तामार्फत गरिने कार्य, विकासका काममा ठेकदारी प्रथा बन्द गरियो ? ठूला विकासे निर्माण गराउँदा, सेवा खरिद गर्दा अलिअलि लागत अनुमान बढाउने, ठेक्का सम्झौतापछि मोबिलाइजेसन दिँदा १ देखि २ प्रतिशतसम्म, प्रत्येक बिल भुक्तानीपछिको कमिसन र समग्र निर्माणको ६ देखि २० प्रतिशतसम्म कमिसन लिने चलन छाडेर सम्झौता अनुसारकार्य भयो भएन भनेर चनाखो हुन थालियो ?

ठेक्का अवधिको पटक–पटक म्याद थप गर्ने चलन तोडियो ? पुरस्कार, पदक प्रदान गर्दा तिनको मान राखियो कि भागभन्डा र अफन्तवादमै सीमित गरियो ? ससाना जलविद्युत आयोजना प्राथमिक सेयर जारी हुँदा कैयौं गुना आवेदन पर्छ । सरकार अग्रसर भएर आफ्नो नेतृत्वमा सर्वसाधारणको सेयर प्रतिशत बढी हुनेगरी आयोजना निर्माण गराउन किन लाग्दैन ?

कुल गार्हस्थ उत्पादनको अधिक हिस्सा राख्ने कृषिलाई व्यावसायिक र सम्मानित बनाउन के गरिँदैछ ? युवाका लागि वैदेशिक रोजगारको नयाँ गन्तब्य खोज्ने कि कृषि पेसालाई मर्यादित, सम्मानजनक बनाउन पहल र प्रेरणा गर्ने ? मिठा भाषण हैन, काम र सबल नेतृत्व चाहियो सरकार । मन्त्री मन्त्रालयमा गएर फाइलमा सदर लेख्नमात्र गएका हुन् त ? दैनिक प्रशासन चलाउन मन्त्रालयमा सचिव हुन्छन् ।

मन्त्री ठोस निर्णय गर्ने, परिवर्तन र अग्रगामी नीति ल्याउन भूमिका खेल्ने व्यक्ति हैन र ? अधिकार केन्द्रीकृत गर्ने नै हो भने किन संघीयता चाहियो ? स्थानीय, प्रदेशलाई अधिकार दिन किन कञ्जुस्याइँ ?

प्रधानमन्त्रीज्यू, मन्त्री र कर्मचारीले कमिसन लिनमात्रै छाडे आयोजना गुणस्तरीय हुनेछन्, समयमा सकिनेछन् । कर्मचारी, प्रहरी, प्रशासनलाई सकारात्मक उत्प्रेरणाका योजना चाहिन्छ । तपाईंलाई सब कुराको ज्ञान छ, तर तिनलाई व्यवहारमा लागु गर्न सक्नुहुन्न भने कसरी सफल बन्नुहुन्छ ?

rniraula39@gmail.com

प्रकाशित : आश्विन २६, २०७५ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT