कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छिटै चिने बाथ निको

सुरुको ३ महिनामै सही पहिचान गरेपछि बायोलोजिकल औषधि प्रयोगबाट बाथरोग नियन्त्रण गर्न सकिन्छ ।
डा. विनित वैद्य

काठमाडौँ — पछिल्लो दशकमा बाथरोगको जाँच र उपचार पद्धतिमा धेरै अन्तर आएको छ । बाथ दीर्घरोग हो । यो शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरका बिभिन्न अङ्ग तथा जोर्नीलाई असर गरेपछि देखापर्छ । बाथरोगका दीर्घकालीन असरहरू मानव शरीरमा निकै नकारात्मक हुन्छन् ।

छिटै चिने बाथ निको

बाथका कारण हातखुट्टाका औंलाहरू बाङ्गिन, कुप्रो तथा कुँजो हुनसक्छ । बाथले छालामा निको नहुने घाउ, दिसामा रगत, सेतो रगतको कमी र आँखाको समस्या गराउँछ । कहिलेकाहीं त बाथले बारम्बार गर्भ खेर जाने समस्या पनि गराउन सक्छ ।


पछिल्लो समय बाथको औषधि ढिलो प्रयोग गर्ने चलन थियो । औषधिले रोग निरोधक शक्तिलाई दबाउने हुनाले रोगले कडा रूप नलिएसम्म प्रयोग गरिँदैन थियो । तर आज यो समय छैन । बाथरोगमा अनुसन्धान बढ्दै गएपछि नयाँ तथ्य पत्ता लाग्दै गएका छन् । बाथको उपचार जति सुरुवातमा गरियो, त्यत्ति सहज हुने गर्छ । बाथले अङ्गहरू बिगारेपछि थामथुम गर्ने प्रवृत्ति त्याग्नुपर्ने देखियो । हातका जोर्नीहरूको एमआरआई स्क्यान तथा नयाँ प्रविधिका रगत जाँचले बाथको सुरुवाती अवस्थामै पहिचान गर्न सकिने भयो, सुरुवातमै औषधि गरेपछि ठिक भएको पनि देखियो, ठिक नहुनेको अङ्गभङ्ग जोगियो ।


तर यी प्रविधि साह्रै महंँगा थिए र अझै छन् । सर्वसुलभ छैनन् । सस्तो प्रविधिको अनुसन्धान हुँदै जाँदा अल्ट्रा साउन्ड डोप्लर स्क्यान भने सस्तो र सुलभ देखियो । यसले रोगको पहिचान चाँडै गर्न मद्दत गर्ने देखियो ।


विकसित मुलुकमा बाथरोगको पहिचान सुरुको ३ महिनामै गर्ने प्रयास गरिन्छ । सही पहिचानपछि बायोलोजिकल औषधि प्रयोग गरेर नियन्त्रण गरिन्छ । के यो उपचार पद्धति नेपालमा अपनाउन सकिन्छ ? हाम्रो स्वास्थ्यमा सेवा भर्खरै सुरुवाती अवस्थामा छ, हामी बल्ल सरुवा रोगबाट नसर्ने रोगतर्फ ध्यान दिँदैछौं । सरोकारवालाको ध्यान बाथमा अन्तिम चरणमा जान्छ । यस्तो अवस्थामा हामीले विकसित मुलुकमा प्रयोग हुने सबै प्रविधि र उपचार सहज रूपमा प्रयोग गर्न सक्दैनौं ।


भएका प्रविधिको सही उपयोग र नयाँ प्रविधिलाई जनमानसको पहुँचमा पुर्‍याउने कोसिस हामी सधैैं गर्दैछौं र धेरै मात्रामा सफल पनि भएका छौं । पछिल्लो ६ महिनादेखि पावर डप्लरको प्रयोगले धेरै कडा बाथरोगको पहिचान सुरुवातको ३ महिनामै गर्न सक्षम भएका छौं । पहिचानसँंगै बाथरोगको सही उपचार अपनाउँदा बाथरोगीको सुधार पनि पहिलेभन्दा निकै सन्तोषजनक देखिएको छ ।


बाथरोगको प्रारम्भिक लक्षण भनेको हातखुट्टा, मेरुदण्ड वा कम्मरको जोर्नी बिहानपख दुख्न थाल्नु हो । जोर्नी तथा शरीर बिहान अररो हुने, कक्रिने वा सुन्निने हुनसक्छ । सुरुवातका अन्य लक्षण भनेको मुखमा घाउ आइरहने, बारम्बार आँखा रातो हुने, पानी चलाउँदा औंला पहेँलो वा निलो हुने हुन् । लक्षण सुरु भएका बिरामीको उमेर र लक्षण अनुसार रगत, सूक्ष्म नसा तथा पावर डप्लरले जाँच गरिन्छ । पछि जटिल हुँदै जाने वा नहुने खालको बाथ भनेर पत्ता लगाइन्छ । त्यही अनुसार जीवनभर सेवन गर्नुपर्ने दबाइ सुरुवात पनि गर्नुपर्ने हुन्छ ।


बाथरोगका औषधि दुई थरी हुन्छन् । दुखाइ र सुन्निने कम गर्ने पेनकिलर र स्टेटोरड औषधि जुन केही समयभन्दा बढी प्रयोग गर्न हँुदैन । अनुचित प्रयोगले समस्या निम्त्याउन सक्छ । अर्को हुन्छ– डिजिज मोडिफाइङ ड्रग्स । यो समूहको औषधि बाथको प्रकार अनुसार फरक हुन्छ । यो औषधिको कसै–कसैमा नकारात्मक असर देखिन सक्छ र समय–समयमा रगत परीक्षण गर्नुपर्छ ।


यो समूह अन्तर्गत बायोलोजिकल औषधि पनि पर्छ । यो बाथरोगको उपचारमा आएको नवीनतम औषधि हो । यसको मूल्य अत्यधिक भएकाले नेपालमा यसको प्रयोग धेरैले गरेको पाइँदैन । सामान्यतया बाथरोगीले खाने कुरा बार्न पर्दैन । युरिक एसिड अथवा आमबाथको बिरामीले मात्र रातोमासु, जाँडरक्सी, गेडागुडी, टमाटर आदि बार्नुपर्छ । अरु धेरै प्रकारका बाथ भने चुरोटको धुवाँ र चिसो हावापानीका कारण बढ्ने गरेको पाइन्छ ।


लेखक नेसनल बाथरोग सेन्टरमा कार्यरत छन् ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?