कसैको नहोस् यस्तो मरण

सम्पादकीय

काठमाडौँ — बसभित्र खुट्टा टेक्ने ठाउँ नभेटेपछि परिचालक छतमा चढ्ने भर्‍याङमा झुन्डिए । एक घन्टापछि बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्री झरेर आआफ्नो घर लागे । बस चालक पनि झरे । परिचालकलाई खोजे, भर्‍याङ र छतमा पनि खोज्दा नभेटेपछि बसपार्क चाहारे । 

असोज २३ गते साँझ पुरानो बसपार्कबाट भक्तपुर सरस्वतीखेल जाने बस छुटेको थियो । बसपार्कमै भरिएको बस ठाउँ ठाउँका बिसौनीमा पनि रोकेर यात्री चढाउँदै अघि बढ्यो । बस खचाखच भरिनलाई चाडबाड आउनै पर्दैन । यो हरेक दिनको कहानी हो ।

Yamaha

भोलिपल्ट बिहान महानगरीय प्रहरी वृत्त थिमीले चालकलाई बोलायो । प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याएर शव देखायो । उनकै सहयोगी भएको सनाखत भयो । तर चालकलाई परिचालकको नाम, ठेगाना केही थाहा थिएन ।

सिन्धुपाल्चोक, बाह्रबिसे, खनियाबासका १८ वर्षीय मनिष तामाङ तीन महिनाअघि मात्र उक्त बसमा परिचालक भएका थिए । उनी त्यस साँझ छत उक्लने भर्‍याङबाट खसेर सडकमा बज्रेको यात्री र चालक कसैले पत्तै पाएनन् । करिब ७ मिनेट उनी सडकमा छट्पटिइरहे । सडकमा आवतजावत गर्नेहरूले पनि वास्ता गरेनन् ।

सेवामा खटिँदा यसरी कसैको मरण नहोस् ।

चालक सवारी साधनको अगाडिको आरामदायी सिटमा बस्छन् । परिचालक दिनको १२ घण्टा अर्थात् बिहान झिसमिसेदेखि झम्के साँझसम्म उभिएर आधा ज्यान बसभित्र टाउको सहित आधा ज्यान झ्यालबाट निकालेर यात्रीसित भाडा उठाउने गर्छन् । उनीहरू स्थायी जागिरे होइनन् । फेरिइरहन्छन् । रुखो र कडा मिजासका हुनसक्छन् किनकि, तिनलाई जसरी हुन्छ बढी यात्री चढाउने, पैसा उठाउने, साहुलाई बुझाउने, तेल हाल्ने र बचेको पैसाबाट चालक र आफू बाँड्ने प्रतिस्पर्धा हुन्छ । मौका मिले अलिअलि जोगाउँछन्, बाँकी फुर्मास गर्छन् ।

उनीहरूको कुनै पहिचान हुँदैन । पोसाक पनि हुँदैन । न कागजात नै । न नियुक्ति पत्र न परिचयपत्र । गुमनाम जीवन । न स्वास्थ्य जाँच न सुरक्षा प्रशिक्षण । उनीहरूको जीवनलाई सडकका अप्ठ्यारा मोड र खाल्डाखुल्डीले हरेक दिन जिस्क्याउने गर्छ ।

सामान्यतया एक दिनमा कति घण्टा उभिन हुन्छ ? पानी पिउने र पिसाब फेर्ने रुटिन के हुनुपर्छ ? शरीर बङ्ग्याएर बस्दा त्यसबाट स्वास्थ्यमा पर्नसक्ने असर के के हुन् ? धूलो, धूवाँको कुइरीमण्डलमा हराएर बेगमा हुइँकिएका सवारी साधनमा झुन्डिएर यात्रा गर्दा परिचालकको भविष्य के होला ? के बस व्यवसायी र सरकारले केही सोचेका छन् ?

परिचालक सुरक्षाबारे अहिलेसम्म कसैले केही गरेको छैन । ट्राफिक प्रहरीले गर्ने भनेको सम्झाइ बुझाइ हो । कहिलेकाहीँ चिट् थमाइदिने । बसको ढोका बन्द गरेर चलाउनुपर्ने, झ्यालबाट टाउको र शरीर बाहिर निकाल्न नपाउने, झुन्डिएर यात्रा गर्न नपाउने नियम पालना गराउन खोज्छ, सक्दैन । ट्याक्सी चालक माइक्रोबसका चालक र परिचालकको पोसाक सुरु भएकोलाई दुर्घटना घटाउने उपाय मानिएको छ ।

सरकारले गर्नुपर्ने काम भने प्रस्टै छन् । पञ्जीकरण नगरी यातायात सवारी साधनमा परिचालक राख्न नपाउने नीति कार्यान्वयन भएको छैन । चालक परिचयपत्र अर्थात् लाइसेन्स दिँदा निजी र सार्वजनिक यातायात कुन चलाउने भनी छुट्टिएको छैन । सार्वजनिक यातायातको साधन चलाउने र सहयोग गर्नेलाई नैतिक र व्यावहारिक शिक्षा दिएर व्यावसायिक रूपमा सवारी साधन चालक परिचयपत्र दिने व्यवस्था छैन ।

छोटो दूरीमा चल्ने यातायातका परिचालक एक जनामात्र हुन्छन्जसले यात्रीसँग भाडा उठाउने, चालकको सेवा सुश्रुसा गर्ने र गाडी सफाइसमेत गर्छन् । उनीहरू बढी पेलिन्छन् । सुरक्षित भए, आँट गरे भने उमेर चढ्दै जाँदा लामो दूरीका साधनका परिचालकझैं आफ्नाचालकसित गाडी चलाउन सिक्छन् । त्यही भएर त चालकलाई ‘गुरुजी’ भन्ने नाम काड्न थालियो ।

परिचालकको रोजगारीबापत सेवा सुविधा सुनिश्चित गर्ने, सामाजिक सुरक्षा र पहिचान स्थापित गर्ने प्राथमिकता परेको छैन । पेसा पनि अमर्यादित जीवन पनि असुरक्षित । परिचालकको सुरक्षामा यातायात व्यवसायीहरू नै जिम्मेवार हुनुपर्छ । त्यसको निगरानीको जिम्मेवारी सरकारको । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको ।

हरेकको जीवनको उत्तिकै मूल्य हुन्छ, अरूको सेवामा खटिनेको अझ बढी । उनीहरूलाई पहिचान नगर्दा हाम्रो राज्यको अनुहारमा धूवाँ पोतिन्छ ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

म र मेरो नेपाल

जनसंख्या वृद्धि र त्यसभित्रको चलखेल, भूउपयोगमा फेरबदल तथा जलवायु परिवर्तनको प्रभावले हिमाल पग्लन थालेको छ । पहाड भत्कन थालेको छ । तराई मरुभूमि बन्दैछ ।
तीर्थबहादुर श्रेष्ठ

काठमाडौँ — मेरो सम्पूर्ण जीवनकाल १९९४ देखि २०७५ सालसम्म संक्रमण राजनीतिको छत्रछायामै बितेको जस्तो अनुभव भइरहेको छ । शैशव कालका बेला १९९७ सालको सहिद काण्ड सम्झनामा छैन । २००७ साल पनि ‘जिन्दावाद’ र ‘मुर्दावाद’ भनेर उफ्रने बाहेक अरू केही भएन । त्यसपछि २०१७ सालसम्म पढाइतिर लागेंँ । २०१७ सालमा बीपी कोइरालाको सरकारले जागिरे बनाइदियो ।

२०४७ सालमा गिरिजाप्रसादले ढाक्रे बनाइदिए । ३० वर्षको जागिरे अवधिमा नेपाल घुमेर हेरेँ । नेपाली दिदीबहिनी, दाजुभाइलाई भेटेरै ढोगभेट गरियो । आजका दिनमा फर्केर हेर्दा त्यो नेपाल कहाँ पुग्यो र ती नेपाली कहाँ छन् भन्ने प्रश्नहरू मगजमा खेलिबस्छन् ।

मेरो शैशव कालमा जति जनसंख्या नेपालभित्र थियो, अहिले उत्तिकै नेपाली नेपाल बाहिर छन् । किन ? काम र मामको खोजीमा अरूको सेवा गर्न, नोकरी गर्न, चाकरी गर्न, गुलामी गर्न । उत्तम खेती, मध्यम व्यापार र निर्धन चाकरी भन्थे हाम्रा पूर्वज । त्यसको अर्थ जति सेवा क्षेत्रबाट कमाइ हुन्छ, त्योभन्दा बढी वाणिज्य र उद्योगबाट हुनुपर्छ । त्यसभन्दा अझ बढी आम्दानी कृषि र वन क्षेत्रबाट हुनुपर्छ । अर्थ व्यवस्थाको यो तीनतले मन्दिर (आर्थिक पिरामिड) स्थायी र दिगो विकासको मूल स्तम्भ बन्न सक्छ ।

हामीले हाम्रै भूमि व्यवस्था र आफ्नै माटोको उब्जनीबाट समृद्धि भित्र्याउन सक्नुपर्छ । हाम्रा स्रष्टा एवं द्रष्टाले राष्ट्रिय विकासका लागि कृषि क्षेत्रलाई अगाडि सार्दा तराई–मधेसमा अन्नबाली, पहाडमा फलफूल र तरकारी एवं हिमालमा पशुपालनको विकासलाई निर्देशित सिद्धान्तका रूपमा अवलम्बन गर्न सिफारिस गरेका हुन् । यिनै तराई, पहाड र हिमाललाई अझ नियालेर हेर्न–बुझ्न सकेनौं र तिनका प्रकृति, परिवेश र प्रवृत्ति सम्मत विकास निर्माण गर्न सकेनौं भने हाम्रो राष्ट्रको भौतिक स्थिरतामा संकट आउन थाल्छ ।

हिमाली क्षेत्र
नेपालको २३ प्रतिशत भूभाग ५ हजार मिटरभन्दा उच्च भागमा छ । त्यहाँ सामान्यतया बाहै्र महिना हिउँ जम्छ । हिउँकै घर भएकाले यसलाई ‘हिमालय’ (हिम+आलय) भनिएको हो । यही घरमा रहस्यमय प्राणी यती बस्छ भन्ने धेरैको विश्वास छ । कतिपय वैज्ञानिक यतीको अस्तित्वलाई स्वीकार्दैनन् । यतीको अस्तित्व स्वीकारे पनि नस्वीकारे पनि यतीजस्तो हिममानवको बासस्थान पृथ्वीमा कतै छ भने त्यो हिमालय नै हुनुपर्छ । यती कौतुहल बचाइराख्नु उचित हुन्छ ।

सर्वोच्च शिखर सगरमाथा लगायत कञ्चनजंगा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, लाङटाङ आदि हिमशिखर विश्व पर्वतारोहण परिदृश्यमा विशिष्ट नाम हुन् । पर्वतारोहण र पर्यटनको प्रत्यक्ष सम्बन्ध पर्यावरणसँग गाँसिएको हुन्छ । स्थानीय प्रदूषणका विषयमा नेपालले सकारात्मक कदम चाल्दै आएको छ ।

विश्वको बढ्दो तापमानको प्रभाव भने हामीले आँकलन गर्नसकेका छैनौं । विभिन्न अध्ययनले देखाउँछन् कि विश्व तापमान वृद्धिको परिदृश्यमा नेपालको तराई र पहाडमा भन्दा हिमाली क्षेत्रमा तापमान धेरैबढ्दो छ । सन् २००७ मा प्रकाशित अन्तर्राष्ट्रिय तथ्याङ्कले सन् २०३५ सम्ममा हिमालय सबै पग्लिसक्छ भन्ने होहल्ला मच्चाएको थियो । यस्ता मिथ्याङ्कले हामी पीडित छौं । तथ्याङ्क र मिथ्याङ्कको फन्दामा नपर्दा पनि हिमालको हिउँ घटेको अनुभव र अवलोकन बारम्बार सुन्ने गरेका छौं ।

हिमालयमा जमेको हिउँमा कार्बनका कण भेट्टाइएका छन् । हिमालको थाप्लोमा मडारिने कालो बादल हाम्रा नयाँ पाहुना हुन् । हाम्रा छिमेकी भारत र चीनको औद्योगिक विकासको प्रदूषण ‘एसियन कालो बादल’ (एसियाटिक ब्राउन क्लाउड) नामले प्रसिद्ध छ । हाम्रा हिमाल, हिमनदी तथा हिमताल अस्थिर र जोखिमपूर्ण अवस्थामा पुग्न थालेका छन् । जोखिम कम गर्ने क्षेत्रीय एवं अन्तर्राष्ट्रिय कदम चाल्न ढिलो गर्नु हुँदैन । विश्व जलवायु परिवर्तन विशेष गरेर विश्व उष्णीकरणको पहिलो सिकारका रूपमा हिमालय खडा छ ।

लेकाली क्षेत्र
सामान्यतया ३ हजार मिटरभन्दा उच्च भू–भाग लेकाली क्षेत्र मान्यौं भने त्यहाँ खेतीपाती हुँदैन । अपवादका रूपमा हिमालपारिका भोट क्षेत्रमा भने ४ हजार मिटरसम्म पनि अन्नबाली लाग्छ । त्यहाँ घाम लाग्छ । बादलले छेक्दैन ।

हिमालय पर्वत श्रेणीको दक्षिणी भेगमा ४ हजार मिटरको उचाइमाथि रूख उमिँ्रंदैन । सबैभन्दा उच्च क्षेत्रमा हुर्कने मुख्य रूख भोजपत्र हो । विभिन्न चिमाल र गुराँस तथा केही ठिंग्रेसल्ला पनि हुन्छन् । वृक्ष रेखाभन्दा उपल्लो लेकपाटनमा घाँसेमैदान अधिक हुन्छ ।

हजारभन्दा बढी प्रजातिका भुइँफूल प्रशस्तै फुल्छन् । जडीबुटी पनि प्रशस्तै फस्टाउँछन् । लेकाली क्षेत्र पशुपालन र जडीबुटीका लागि उपयुक्त छ । हाम्रो लेकाली क्षेत्र मेचीदेखि महाकालीसम्म सामान्यतया एकैनासको वन–वनस्पति पाइने क्षेत्र हो । पहाडी क्षेत्रमा जस्तो पूर्व–पश्चिम भिन्नता लेकाली भागमा पाइँदैन ।

लेकाली भू–भागको उत्पादन र उत्पादकत्वलाई तीनतिरबाट नकारात्मक प्रभाव पर्दैछ । पशुपालनमा विशेष दक्खल सँगालेका गोठालाहरू विदेश पलायन हुनाले लेकाली खर्क र पाटन रित्तिन थालेका छन् । जलवायु परिवर्तनको प्रभाव थपिनाले चरिचरन क्षेत्र काँडेदार झारको अतिक्रमणमा पर्नथालेका छन् । प्राकृतिक वृक्षरेखामा फेरबदल भएर जैविक विविधतामा प्रभाव देखिन थालेको छ । यार्चा गुम्बु लगायतका बहुमूल्य जडीबुटीको उत्पादनमा विशेष व्यवस्थापनको खाँचो देखिन थालेको छ । लेकाली उत्पादनको विकासमा राष्ट्रिय प्रयास न्युन छ । बेलैमा सचेत हुन आवश्यक छ ।

पहाड–पर्वत
नेपालको परिचय विशेषमा पहाड–पर्वतका कुरा अधिक झल्कन्छ । हुन पनि औलो निर्मूल हुनुभन्दा पहिलेको नेपाल मानव बस्ती पहाडैतिर केन्द्रित थियो । पहाडिया मूलका शासक र प्रशासकका कारण पनि नेपालको परिचय पहाड–पर्वतसँग अधिक जोडिन पुग्यो ।

त्यसमा हिमालयको प्रभाव थपिन पुग्दा नेपालको पहिचान हिमाल, पहाड–पर्वत अर्थात् अंग्रेजी शब्दले ‘माउन्टेन’ भन्ने परिवेश बुझिन थाल्यो । यस पृथ्वीको लगभग २४ प्रतिशत भूभाग पहाड–पर्वतले ओगटेको छ । तर माउन्टेनको परिभाषा चित्तबुझ्दो रूपमा स्थापित भएको छैन । पहाड–पर्वत अझै कौतुहलको विषय छ । पहाड बुझ्न त्यसलाई चढेरै हेर्नुपर्ने हुन्छ । आफैंले नव्यहोरिकन पहाड–पर्वत बुझ्न सकिँंदैन । तसर्थ हाम्रा छिमेकी राष्ट्रहरूलाई पनि नेपाल बुझ्न गाह्रो छ ।

नेपाल हिमाल, पहाड र तराईको संयुक्त रूप हो । तर यिनको परिभाषा र नामकरण गर्ने विद्वानहरूबीच एकमत छैन । सबैभन्दा सरल परिभाषा हर्क गुरुङले जुराइदिएका छन् । उनका अनुसार बाह्रैकाल हिउँ जम्ने क्षेत्र ‘हिमाल’ (५ हजार मिटरभन्दा उच्च क्षेत्र), जाडोमा हिउँ पर्ने र अरू बेला खुल्ने क्षेत्र ‘लेक’ (३ हजार–५ हजार मिटर) र हिउँ नपर्ने खण्ड ‘पहाड’ (३ हजार मिटरभन्दा होचो भाग) हुन् ।

हिमाली क्षेत्रले नेपालको २३ प्रतिशत भू–भाग ओगटेको छ । लेकाली क्षेत्रले २० प्रतिशत जमिन ओगट्छ । त्यहाँ लगभग ७ प्रतिशत जनसंख्या छ । पहाडी क्षेत्रले ३० प्रतिशत भूभाग ओगट्छ । त्यहाँको जनसंख्या सम्पूर्ण नेपालको ३८.१७ प्रतिशत छ ।

जनसंख्या र जमिनको दृष्टिले पहाडी क्षेत्र संवेदनशील र चलायमान छ । २०१८ सालदेखि २०३७ सालमा मैले घुमेका पहाडमा कहीं सडक थिएन । राष्ट्रियकरणको प्रभाव र काठ–दाउराको अभावले वन मासिने क्रम तीव्र थियो । डाँडा नाङ्गिने र मानिस तराईतिर बसाइँ सर्ने प्रवृत्ति बढ्दै थियो । भूक्षयका कहालीलाग्दा वृत्तान्त पढ्न पाइन्थ्यो ।

पहाडी क्षेत्रलाई ‘मिडल माउन्टेन’ भन्ने चलन छ । जैविक विविधता विशेष गरेर वन विविधताका दृष्टिले पहाडी क्षेत्र ज्यादै धनी छ । नेपालका ३५ प्रकारका वनमध्ये २८ प्रकारका वन यस क्षेत्रभित्र भेटिन्छ । नेपालका ११८ खाले पर्यावरणमध्ये ५३ वटा यसै क्षेत्रभित्र पाइन्छ । सांस्कृतिक विविधताको सर्वाधिक प्रचुरता यही पहाडी क्षेत्रमा कायम छ । जात–जाति, भाषा–भाषी, भेषभूषाको विविधता मेचीदेखि महाकालीसम्मको पहाडी क्षेत्रमा अधिक भेटिन्छ ।

वर्तमान नेपालका प्राय: सबै पहाडी जिल्ला सडक सञ्जालभित्र परिसकेका छन् । पञ्चायत कालको गाउँ फर्क र जनश्रमदान, त्यसपछि ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अभियान र संघीय संरचनाको नयाँ जोशले बाटो खन्ने कामलाई सर्वाधिक महत्त्व दिइआएको छ । बाटो खन्नुको अर्को नियति नयाँ पहिरो निम्त्याउनु र सवारी दुर्घटनामा ज्यान फाल्नु स्वाभाविक बनेको छ ।

मोहन मैनालीले ‘देखेको देश’ (२०७५) मा पहाडी बाटोको वातावरणीय चिन्ता प्रस्टसँग उजागर गरेका छन् । समयमै गल्ती सुधार भयो भने हाम्रा पहाडी परिवेश घाउ निको पार्न सक्षम छन् । त्यसको ज्वलन्त उदाहरण सामुदायिक वन व्यवस्थापनले स्थापना गरेको छ । नेपालका २२ हजारभन्दा बढी सामुदायिक वनमध्ये पहाडी क्षेत्रका सामुदायिक वनको भूमिका सराहनीय सावित छन् ।

वातावरणको दृष्टिले पहाड सक्रिय रूपमा जिउँदो छ । पहाडलाई फलफूल, तरकारी र जडीबुटी खेतीले समृद्ध बनाउन धेरै समय लाग्दैन । चिया, कफी, सुठो, अदुवा र अलैंचीमात्र हैन, चिराइतो र टिमुरजस्ता जडीबुटी पनि प्रशस्तै उत्पादन हुन्छन् । हामीले तराई र पहाडलाई उत्पादनशील बनाउन सक्यौं भने हामीकहाँ आइपुग्ने रेल होस् वा ट्रक, यहाँबाट रित्तै फर्कनु पर्दैन । पहाडी क्षेत्रको विकासमा जलविद्युतलाई विशेष बढावादिने र पर्या–पर्यटनको विकासमा अरू सक्रिय हुनुपर्नेकुरामा दुईमत नहोला । तर जमिनको स्थायित्व रसमन्यायिक सामाजिक व्यवस्थामा कुनै आँच आउनु हुँदैन ।

तराई–मधेस
म दुई वर्षको दूधेबालक छँदा चितवनको जंगलमा जुद्धशमशेरको एउटै सिकारमा १२० वटा बाघ, ३८ वटा गैंडा, १५ वटा भालु र २७ वटा चितुवा मारिएको थियो । अंग्रेज पाहुना लर्ड लिनलिथगो कति प्रसन्न भए होला ? चितवनको वनजंगल कति घना थियो होला ? आज त्यहाँमात्र ९३ वटा बाघ छन्, त्यो पनि सरकार, सेना र अन्तर्राष्ट्रिय संघ–संस्थाको ४६ वर्षको प्रयासपछि ।

चितवनदेखि पूर्वमा कोशी नदीसम्मको तराई भावरमा पनि निकै घना वन थियो भन्ने विवरण कोलोनेल कर्कपाट्रिकले २ सय २५ वर्ष पहिले (सन् १७९३) उल्लेख गरेका थिए । सोमेश्वरदेखि कोशीसम्मको क्षेत्रबाट प्रत्येक वर्ष २ सयदेखि ३ सय हात्तीलाई जंगलबाट कब्जा गरेर भारतमा बिक्री गर्न लैजाने चलन थियो । अहिले यो क्षेत्र प्रदेश २ मा पर्छ ।

सबैभन्दा कम वनक्षेत्र भएका जिल्ला त्यहीं पर्छन् । जनघनत्व त्यहीं बढी छ । बाढीको प्रकोपले त्यहींका मानिस बढी प्रभावित छन् । सप्तकोशी शत्रुभन्दा निर्दयी बनेर पुरा जिल्लै सप्तरी (सप्त+अरी) को नामले स्थापित छ । प्रत्येक वर्षको वर्षायाममा मानिस एक जीवन बाँच्न हजार मृत्यु सामना गर्छन् ।

प्रदेश–२ मा केही मौलिक वन बाँकी रहेको क्षेत्र बारा, पर्सा र रौतहटमा पर्छ । बाराको वन चर्को विवादमा छ । त्यस जिल्लामा ३० हजार ८ सय हेक्टर वनक्षेत्र छ । त्यसमध्ये २७ प्रतिशत अर्थात लगभग ८ हजार हेक्टर वन मासेर अन्तर्राष्ट्रिय विमानस्थल र त्यसका लागि आवश्यक नगर निर्माणको प्रस्ताव छ ।

त्यस आयोजनाको विवरणले २४ लाख रूख बारा जिल्लामा काटिने र त्यसको बदला ६ करोड १२ लाख रूख अन्यत्र रोप्ने कुरा बताइन्छ । रूख रोप्ने कहाँ हो, यकिन छैन । रूख रोपिहाल्दा पनि सयौं वर्षको समयावधिपछि मात्र वनले आफ्नो स्वरुप लेला । भनिन्छ, सालको वृक्ष ‘सौ साल खडा, सौ साल लडा र सौ साल सडा’ । समयान्धि सोच वातावरणका लागि उपयुक्त हुँदैन ।

‘तराई हेर कति राम्रो हरियो वन हुनाले’ भन्ने लोकप्रिय गीत २०१७ साल पहिलेको नेपालमा अति उपयुक्त हुने थियो । त्यसबेला वनका रक्षक एवं संरक्षक थिए, लामखुट्टे र तिनका भाञ्जा औलोको ज्वरो । औलो निर्मूल भएदेखि तराई–मधेस वन कसैबाट सुरक्षित भएन । विसं २०१७ देखि २०३७ सम्म निकै वन फँडानी भयो । वनक्षेत्र घटेर ६ लाख ४५ हजार ३ सय हेक्टरमा झर्‍यो । २०५० सालताका ५ लाख ४५ हजार ९ सय हेक्टरमा झर्‍यो ।

चार वर्ष पहिले सन् २०१४ को सरकारी आँकडाले तराई क्षेत्रको २०.४१ प्रतिशत भू–भागमा मात्र वनक्षेत्र (४ लाख ११ हजार ५ सय ८० हेक्टर) रहेको देखाउँछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र सुदूर–पश्चिम प्रदेशको राजधानी बसाउन तराई भावरको वनमाथि नयाँ दबाब सिर्जना हुँदैछ ।

तराई भावर र चुरेको पारिस्थितिकीय प्रणालीमा हाल मौजुदा वन क्षेत्रको अहं भूमिकालाई बिर्सेर वन अतिक्रमण र जग्गा अधिग्रहण गर्न थाल्नु विकास नभई विनाशको कारण बन्न सक्छ । वातावरणीय सन्तुलन र स्थिरतामा आघात पुग्छ । अझ चुरेलाई चिरेर पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने हो भने त्यो ‘विनाशकाले विपरीत बुद्धि’ हुन जानेछ ।

तराईको वनजंगल र संरक्षित क्षेत्रहरू विश्वकै दुर्लभ वन्यजन्तु र वनस्पतिका अन्तिम आश्रयस्थलका रूपमा मौजुद छन् । संरक्षित क्षेत्रलाई बाहिरी अरू वन क्षेत्रले जैविक मार्ग र आश्रयस्थलको टेवा दिनसकेन भने हाम्रा राष्ट्रिय निकुञ्जहरू मानव सागरका बीचमा टुप्लुक्क टापुमात्र हुनेछन् । तिनको भविष्य लामो हुँदैन । आजभोलि चर्चामा रहेको निजगढ विमानस्थलले जंगली हात्तीको आवत–जावत गर्ने जैविक मार्ग अवरुद्ध हुन्छ । कैलालीको गोदावरी क्षेत्रमा वन विनाश भयो भने पाटेबाघको जैविक मार्ग अवरुद्ध हुन्छ । बाघ, हात्ती, गैंडा आदि जीवजन्तु पर्यावरणका ‘स्ट्रिट लाइट’जस्तै संकेत चिह्नमात्र हुन् ।

तराई, भावर, चुरे र मधेसको वनलाई संरक्षण गर्न सकिएन भने यस क्षेत्रको कृषि विकासमा पनि नकारात्मक प्रभाव पर्छ । तराई–मधेसलाई अन्नबाली उत्पादनको मूल थलो बनाउने सपना साकार हुँदैन । तराईका जिल्लाहरू जाडो याममा शीतलहरको सिकार बनिरहेका छन् । भारतको काश्मिरदेखि बंगलादेशसम्म शीतलहरबाट प्रभावित हुन्छन् । यसको मूल कारण वन विनाश र प्रदूषण विकास हुन् ।

तराईको वातावरणीय सुरक्षाका लागि न्युनतम वनक्षेत्र कति आवश्यक पर्छ र हाम्रा संवेदनशील क्षेत्रहरू कहाँ छन् भन्ने शीघ्र पहिचान हुनुपर्छ । तराई, भावर र चुरेका अति संवेदनशील क्षेत्रका लागि संरक्षण नीति पनि तर्जुमा हुनुपर्छ । त्यसो हुनसके मात्र नेपालको ५४.२६ प्रतिशत जनसंख्या बोक्ने भूमि स्थिर र दिगो बन्न सक्ला ।

अन्त्यमा,
नेपालको अस्तित्व हिमाल, पहाड र तराईको सहअस्तित्वमा टिकेको छ । हराभरा तराई, रसिलो पहाड र सुन्दर हिमालको परिदृश्यमा नेपालको पहिचान खुल्छ । जनसंख्या वृद्धि र त्यसभित्रको चलखेल, भू–उपयोगमा फेरबदल तथा जलवायु परिवर्तनका विशेष प्रभावले हिमाल पग्लन थालेको छ ।

पहाड भत्कन थालेको छ । तराई मरुभूमि बन्दैछ । मरुभूमिलाई फुलााएर मह र दूधको देश बनाउने संकल्प इजरायलीले पुरा गरे । अब नेपालीले तराईलाई अन्नभण्डार, पहाडलाई फलफूल–तरकारीको बागवानी र लेकाली क्षेत्रलाई पशुधन र जडीबुटीले सम्पन्न बनाउने अठोट गर्नुपरेको छ । गार्हस्थ्य उत्पादनको परिदृश्यमा सेवाबाट प्राप्त हुने राशिलाई व्यापारले जित्नुछ र व्यापारलाई कृषिले उछिन्नुछ ।

कृषि, व्यापार र सेवाको सन्तुलित अनुपातलाई मजबुत बनाउन वन र हरियाली अनि वनस्पति र वन्यजन्तुको संरक्षणलाई भुल्नु हुँदैन । त्यसका लागि आवश्यक शक्ति सञ्चालन गर्ने क्रममा नेपाली जनशक्ति र जलशक्तिलाई सर्वोपरि महत्त्व दिनुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई विपनामा साकार पार्न नेपाललाई ब्युँझेर हेर्न सकौं । शुभकामना ।

मदन पुरस्कार वितरण समारोहमा बिहीबार प्रस्तुत प्रवचन ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT