कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संस्कार, संस्कृति र हिंसा

प्रभा कैनी

काठमाडौँ — यौनजन्य हिंसाका धेरैजसो घटना सार्वजनिक हुँदैनन्  । किन ? यस सन्दर्भमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नमुना बनेको छ  ।

संस्कार, संस्कृति र हिंसा

यतिखेर निर्मलाको हत्याकाण्ड सर्वाधिक चासोको विषय बनेको छ । त्यस घटनाले आम नेपालीको संगठित आक्रोश एकातिर छ भने अर्कातिर सरकार त्यति गम्भीर नहुनु उत्तिकै चिन्ताजनक छ । लगभग तीन महिना हुँदा पनि पीडित पक्षले न्याय पाएको छैन । पीडितको पक्षमा सुदूरपश्चिमदेखि उठेको ज्वाला काठमाडौं र देशभरि फैलँदा पनि सरकार अपराधी फेला पार्न सक्दैन वा चाहँदैन ।

यो प्रकरणमा जस्तै हरेक हिंसाका पीडितलाई सरकारले न्याय दिन्छ भन्ने विश्वास छैन । विश्वासै नभएको कुरामा जनसाधारण व्यर्थको टण्टा बेसाउन चाहँदैनन् । निर्मला हत्याकाण्डमा जसरी हरेक दिन घटेका घटनालाई लिएर समाजका हरेक व्यक्ति जुर्मुराइरहन पनि सक्दैनन् ।हरेक कामका लागि जिम्मेवार निकाय हुन्छ । त्यसैद्वारा कार्यसम्पन्न हुनुपर्छ भन्ने अपेक्षा गरिन्छ । तर सिङ्गो नेपाल तात्दा पनि हिंसापीडितले न्याय पाउन सक्दैन भने अरू यस्तै साना ठूला मुद्दामा एक्लो व्यक्तिले न्यायको अपेक्षा कसरी गर्न सक्छ ? न्याय पाउने विश्वास नहुँदा नहुँदै त्यहाँसम्म जाने झमेला किन गर्ने ? पैसाको खर्च, समयको बर्बाद हुँदा पनि न्यायको ग्यारेन्टी नहुँदा हिंसाका अनेक घटना परिवार, छरछिमेकी र नातेदारले मिलाउने कोसिस गर्छन् ।

हाम्रो समाजमा महिला हरेक पक्षबाट प्रताडित बन्ने गरेका छन् । उनीहरूको अवस्था यति निरीह र दुर्बल छ कि हिंसाका घटना प्रकाशमा ल्याउनुभन्दा गुपचुप राख्नु उत्तम ठान्छन् । पहिलो, न्याय पाउन गाह्रो छ, दोस्रो, न्याय मिलिहाले पनि पछि जीउन कठिन छ । इज्जत जाने डर, विवाह नहुने चिन्ता र समाजले उल्टै पीडितलाई पीडा दिइरहने सम्भावना रहन्छ ।

बलात्कारको शिकार हुनुमा पीडितको दोष हुँदैन, शतप्रतिशत दोष पीडकको हो । तर परपीडक सामाजिक प्रवृत्तिले पीडितलाई नै खेद्छ । फलत: शारीरिक हिंसा एकपटक भोगेकी युवती वा महिला जीवनमा बारबार मानसिक यातना भोग्न बाध्य हुन्छे । यस्तै अनेकन सम्भावनाको लेखाजोखा गरेर परिवार र व्यक्ति स्वयंले पनि घटना लुकाउनु उत्तम ठान्छन् । घटना लुकाएपछि पीडकलाई हाइसन्चो हुन्छ ।

अधिकांश हिंसामा नजिकका नातेदार र छिमेकी संलग्न रहने हुँदा पीडक प्रत्यक्ष, परोक्ष रूपमा पीडितलाई उजुरी दिन निरुत्साहित गर्न र आफू अनुकूल वातावरण सिर्जना गर्न उद्यत रहन्छ । समाजमा पीडित पीडाको चक्रमा रुमलिरहन्छ र पीडक भने उन्मुक्तिको अनुभूति गर्दै त्यस्तै घटना दोहोर्‍याइरहन उद्यत रहन्छ । यसमा हाम्रो संस्कार र संस्कृतिप्रति हाम्रा रूढ मान्यता जिम्मेवार छन् ।

एकाथरि मानिस पहिलेको समाज आदर्शमय थियो, अनेक कारणले आजकल महिला हिंसा वृद्धि भएको छ भन्ने गर्छन् । महिलाको शिक्षाको स्तर बढेको छ जसका आधारमा उनीहरू स्वावलम्बी बनेका छन् । आम मानिसको चेतनास्तरमा वृद्धि भएको छ, त्यसैअनुसार नियम कानुन बनेका छन् । यसरी सनैसनै आदिम समाजभन्दा मध्ययुगीन समाज उन्नत भन्न मिल्यो । मध्ययुगीनभन्दा आधुनिक समाज विकसित र सभ्य बन्दै गयो । यो तथ्य महिलाको उन्नति प्रगतिका पक्षमा पनि लागू हुन्छ । आजको सभ्य भनाउँदो समाजको ठूलै हिस्साले साथ दिँदा र अनुकूल कानुन बन्दा त निर्मला प्रकरणले यस्तो जब्बर रूप लिएको छ भने पहिलेको अवस्था महिलाको पक्षमा अनुकूल थियो भन्नु बेतुक मात्र हो ।

हिंसात्मक घटना जीवन्त रहिरहनुमा प्रमुख जिम्मेवार को हो ? यौन हिंसाका अपराधीलाई दण्ड दिन किन यति कठिन भइरहेछ ? यौन हिंसा हुनुमा कोही पुँजीवादलाई दोष दिन्छन्, कोही साइबर संस्कृतिलाई औंल्याउँछन् । अझ कोही त महिलाका फेसन र विज्ञापन जस्ता तथ्यलाई विशाल बनाउन उद्यत देखिन्छन् । यी कारण यदाकदा मिल्लान् तर जड कारण होइनन् । यौन लगायत सम्पूर्ण हिंसाको प्रमुख कारण हाम्रो संस्कार र संस्कृतिभित्र छिपेको छ । धेरै प्रकारका हिंसा हाम्रो संस्कृतिका रूपमा जीवन्त रहँदै आए । हामीले तिनको निराकरणको बाटो पहिल्याउन सकेका छैनांै ।

आज हामी जेलाई हिंसा भन्दैछौं, ती केही पहिलेसम्म हाम्रा संस्कार र संस्कृतिका अभिन्न रूप थिए कि थिएनन् ? सतीप्रथा उन्मूलन हुनुअघि समाजले त्यसलाई सुसंस्कार ठान्थ्यो । पतिब्रता कहलाउन महिला मृत लोग्नेको लाससँगै मृत्युवरण गर्थे । लोग्नेसँग जलेर मर्न नचाहनेलाई बलै गरेर पनि मारिन्थ्यो । त्यो कार्य दण्डनीय मानिँदैन थियो । अहिले सतीप्रथा जघन्य अपराध भएको छ ।

आज हामी वैवाहिक बलात्कारको कुरा उठाउन सक्ने भएका छौं । त्यसका लागि कानुन बनेको छ । तर विवाहपश्चात् महिलालाई आफ्नो अधीनस्थ वस्तुका रूपमा लिएर व्यवहार गर्ने चलन अहिले पनि जस्ताको तस्तै छँदैछ । लाग्छ, नब्बेभन्दा बढ्ता प्रतिशत महिला लोग्नेबाट कुटिन्छन् । तैपनि महिला यसलाई बाहिर ल्याउन सक्दैनन्, चाहँदैनन् । सुसंस्कृत महिलाले घरको कुरा बाहिर ल्याएको राम्रो मान्दैन समाजले । त्यसमा महिलाको आर्थिक परनिर्भरताको कारण पनि केही मात्रामा छ । आमाबाबु, सासू, ससुरालगायत सबै पतिले यस्सो हात लगाउँदा पनि हल्ला मच्चाउँछे भनेर महिलालाई नै उल्लु बनाउन तम्सन्छन् । महिलालाई सहनुपर्ने उपदेश दिनेहरू लोग्ने मानिसको विपक्षमा चुइक्क बोल्दैनन् । समाजले जानेर नजानेर हिंस्रक प्रवृत्तिलाई प्रोत्साहन दिएको छ । लोग्नेबाट महिला पिटिने क्रम घटेको अनुमान लगाउन सकिन्छ । अहिले हामी पिट्नुलाई हिंसा भन्न थालेका छौं तर शताब्दियौंदेखि यसलाई सहज संस्कृतिका रूपमा लिएका थियौं कि थिएनांै ?

हामीमध्ये केही वैवाहिक बलात्कारको वकालत गर्न सक्ने भएका छौं । तर वैवाहिक बलात्कार र वैवाहिक पद्धति सम्बन्धित छन् भन्ने विषयमा कतिले चिन्तन गरेका छन् ? विधिविधान निर्माताले समेत यसको असली कारणबारे यथेष्ट चिन्तन गरेका छन् भनेर विश्वास गर्ने आधार पनि देखिंदैन । विवाहमा ‘दान’ का रूपमा पतिको घर पुगेकी अवलाले सुहागरातमा यौन कर्मका लागि पति तयार हुँदा अहिले मेरो चाहना छैन भनेर तत्क्षण प्रतिकार गर्न कति महिलाले सकेका छन् ? ‘दान’ का रूपमा भित्र्याइएकी पत्नीलाई पुरुषले आफ्नो इच्छा अनुसार भोगे, भोग्दैछन् । यो पनि हाम्रो संस्कारको अंग थियो । पुरुष अनुकूल भइदिनु हाम्रो धर्मले सिकाएको छ, आफ्नो इच्छा र चाहनालाई दबाउन र त्याग गर्न हामीलाई अभ्यस्त बनाइएको छ । यसले पुरुषलाई एकतर्फी रूपमा बलियो र महिलालाई कमजोर बनाउँछ भन्ने बुझ्न आवश्यक छ कि छैन ?

भरखर हामीमध्ये केही आफ्नो चाहना बेगरको कार्य हिंसा हो भन्न सक्ने भएका छौं, तर कतिले यसको स्रोत र असली कारण पत्ता लगाउने प्रयत्न गरेका छन् ? अनि कति महिला पुरुष यो हिंसाको रूप बदल्न वैवाहिक पद्धतिमा परिवर्तन गर्नुपर्छ भन्नेमा सहमत होलान् ? विचारणीय छ । दाइजो र तिलक जस्ता हिंसा निम्याउने प्रथा पनि हाम्रो संस्कृतिका रूपमा जीवन्त छँदैछन् । कुनै कुनै समुदायमा प्रचलित तानी विवाहलाई संस्कृतिको रूपमा स्वीकारिन्छ । बलात्कारमा परेका महिलालाई जसले बलात्कार गरेको हो उसैको शरणमा पुर्‍याउने गरेका घटना छन् । युद्धग्रस्त क्षेत्रमा विजयी पक्षले पराजित पक्षलाई धम्क्याउन र विजयोन्माद प्रदर्शनका लागि पनि पराजित पक्षका महिलालाई आफ्नो अधीनको वस्तु बनाउन प्रयत्न गर्ने र पराजित पुरुषलाई चुनौती दिँदै खुलेआम यौनजन्य हिंसा मच्चाउने गरेका घटना आदिम समाजको मात्र चित्रण होइन । बलात्कार गरेर पनि निर्धक्क डुल्ने पुरुष र जीवनभरि सास फेरेर पनि मरेतुल्य जीवन बाँच्न बाध्य बलात्कार पीडित महिला हाम्रा यस्तै संस्कार र संस्कृतिको उपज हो भन्न हिच्चकिचाउनु पर्दैन । संस्कार र संस्कृति हत्तपत्त परिवर्तन गर्न सकिँदैन । आज हिंसापीडितले न्याय नपाउने कारण पनि यही संस्कारजन्य मानसिकताको परिणाम हो । यस्ता जघन्य अपराधको कानुनी उपचार नै पहिलो प्राथमिकता हो । तर यतिमात्र पर्याप्त होइन । आपराधिक घटना न्यूनीकरणका लागि समाजका परम्परा, संस्कार र संस्कृतिजन्य मान्यतामा पुनर्मूल्यांकन र परिवर्तनको खाँचो छ ।

प्रकाशित : आश्विन २८, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?