कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

खान्कीमा किफायती

खाद्य उत्पादनदेखि भान्सासम्मको दिगो खाद्य प्रणाली अपनाउँदै कुनै पनि बहानामा खाना खेर नफाल्ने सद्बुद्धि बीजारोपण गर्नुपर्छ ।
कृष्णप्रसाद पौडेल

काठमाडौँ — ‘तीजका कुरा गर न आमा खाएझैं हुन्छ ।’ यो हाम्रो पहाडको भोजन र भोकबारे मार्मिक संवाद हो । गरिबी, अभाव र खानाबारे एउटै वाक्यले सबै कुरा ओकल्ने यो संवादले खानेकुरा बारे हाम्रो सामाजिक मनोविज्ञानको प्रस्ट चित्र दिन्छ ।

खान्कीमा किफायती

तीज जस्तै जितिया, दसंै, तिहार, छठ, ल्होसार, माघी सबै आम नेपालीका लागि खानपिनकै चाडपर्व हुन् । हाम्रा अधिकांश चाडपर्व शक्तिको पूजाआराधनासँगै खानेकुरासँग जोडिएका छन् ।


धेरै विपन्न नेपालीलाई यी चाड कौवालाई बेल पाकेसरह छन् । यी चाडपर्वमा समेत
आफ्ना बालबच्चालाई पेटभरि खानदिन नसक्ने अवस्थामा रहेका बाउआमाको मन यस्तो बेला कस्तो हुँदो हो ? संसारका ७० प्रतिशत गरिब र विपन्न महिला, पुरुष र केटाकेटी ग्रामीण भेगमा बसोबास गर्छन् । यिनै हुँदाखाने परिवारका आधाभन्दा बढी काखे बालकको मृत्यु कुपोषणले हुन्छ । बाँचेका धेरै बालबच्चा ख्याउटे र शारीरिक अपाङ्गता भएका छन् । सन्तुलित खानपानको अभावमा हिजोआज हुनेखानेका बालबच्चामा भने मोटोपना निरन्तर बढिरहेको छ । गरिबी, अभाव, ख्याउटेपन, कुपोषणको सम्बोधनसँगै मोटोपनको उपचारसमेत अहिले टाउको दुखाइ बनेको छ ।


हुनेखानेले चाडबाडमा मिठो–मसिनो खानेमात्र हैन, धेरै पकाउने, पस्कने र फाल्ने गर्छन् । कतिपयले आफैले झिकेर खाँदासमेत खाना फाल्ने गर्छन् । खाना फालेर ठूलो भइँदैन । खाना फाल्नु सभ्य मानिँदैन । चेपाङ समुदायमा बराबर बाँड्ने मात्र हैन, दुई जीउ भएका महिलालाई दुई भाग र अरु सबै केटाकेटी र पाका मानिसलाई बराबरी भाग लगाउँछन् । केटाकेटीले खाएको बँच्यो भनेमात्र पाकाले थपेर खाने गर्छन् । बजारबाट किनेर खाने चलन बढेसँगै बाँडीचुँडी खाने संकृतिमा ह्रास आएको छ । सहरका भोजभतेर वा पार्टी, गोष्ठी सेमिनारमा बाँडेका खानामध्ये आधाभन्दा बढी फालेकै देखिन्छ । उनीहरूले थाहा पाउनैपर्ने कुरा के हो भने यसरी खाना फाल्नाले एक तिहाइ खानेकुरा खेर गैरहेको छ । फालिएको खाना समाल्नमात्र वार्षिक खर्बांै रुपैयाँ फोहोर–मैला व्यवस्थापन भन्दै खर्चिनुपरेको छ । संसारमा हामीलाई चाहिनेभन्दा दोब्बर अन्नपात उत्पादन भैरहेको छ । विश्व जनसंख्याको करिब १५ प्रतिशत गरिब तथा विपन्न समुदाय भने हरेक दिन पेटभरि नखाई सुत्न बाध्य छन् । यसले हाम्रो खाना धेरै खेर जान्छ भन्ने देखाउँछ । बजारमुखी वितरण प्रणालीले धेरै मानिसले पेटभरि खान पाउँदैनन् ।


खानेकुरालाई हेर्ने सोचमा मूलत: दुइटा मुख्य समस्या देखिएका छन् । पहिलो, खानेकुराको मूलस्रोत कृषिलाई नाफा कमाउने व्यापारको वस्तुमात्र देख्ने सोचले खानेकुराको कृत्रिम अभाव र मूल्य बढेको बढ्यै छ । यसमा प्रयोग गरिने रसायन र विषादीले यो खानै नहुनेगरी विषाक्त र विकारयुक्त भएको छ । यसले दिनदिनै हाम्रो खाद्य प्रणालीलाई तहस–नहस बनाउँदै लगेको छ । यस्तो विकृत खानेकुराको बजार र विषाक्त खेतीको सोच नफेरी स्वच्छ खेतीबाट स्वस्थ खानेकुरा उत्पादन गरी सन्तुलित र पोषणयुक्त खाना खान सम्भव छैन ।


दोस्रो, यस अवधिमा आधुनिक जीवनशैलीका नाममा खाद्य संस्कृतिमा व्यापक फेरबदल आएको छ । यो फेरबदलले खानेकुराबारे हाम्रो परम्परागत सकारात्मक सोच र ज्ञानलाई ओझेलमा पारेको छ । विविधतापूर्ण, सन्तुलित र पोषणयुक्त खाना खानेभन्दा पनि तत्कालको स्वादको बखान र बहकाउमा बजारबाट किनेको, प्लाष्टिक पोकामा राखेको तथाकथित मिठो–मसिनो खाएर सभ्य हुने लहड चलेको छ । पोषणयुक्त जुम्ली मार्सी चामलसमेत मिठो नभएको मिठो–मसिनो खानेहरूले बताउँदै आएका छन् । बेसाहा खोज्न राति–राति लुकेर गाउँ चहार्ने कतिपय गाउँ–समाजका ठालुहरू अहिले नीति–निर्माता बनेका छन् ।


उनीहरूले विगतमा खाद्यान्न अभाव झेलेको कुरामात्र स्वीकार गर्न सिकेको भए स्थिति बेग्लै हुन्थ्यो कि ?


पत्रु खाना र भाते संस्कृति मौलाउँदो छ । किनेर पत्रु खाना नखाए असभ्य र पाखेमा दरिने त्रास सबैतिर व्याप्त छ । सातथरी चाउचाउका दिनै पिच्छेका फरक स्वादको विज्ञापन होस् या बाआमा, दिदीबहिनी, दाजुभाइ या मायाको साथ लेखिएका कोकाकोलाका बोतलको आकर्षण बढिरहेको छ । पत्रु खानाका पछि लागेर हामी आफ्नो स्वास्थ्यसँग खेलवाड गरिरहेका छौं । नसर्ने दीर्घरोग भित्र्याउँदैछौं । सँगै यिनको पछि लाग्दा हाम्रो कृषि तथा खाद्य प्रणालीसमेत ध्वस्त हुँदै गइरहेको छ । हाम्रा भान्सामा चाउचाउ र भातको बिगबिगी छ । चाउचाउले नेपालीको भान्सामा खाजा, खाना र तरकारीको समेत सम्मानित दर्जा पाएको छ । भातबिना भान्सा नै नचल्ने भएको छ ।


भातको स्रोत धानखेतीले नेपालको आधाभन्दा बढी क्षेत्रफल र उत्पादन ओगटेको छ । यसले कुल गार्हस्थ उत्पादनमा १२ प्रतिशतको योगदान दिन्छ । सरकारी तथ्याङ्कले नेपालमा ५२ लाख मेट्रिक टन धान उत्पादन भएको देखाउँछ । यसले हामीलाई चाहिनेमध्ये ५ लाख मेट्रिक टन धान अर्थात करिब ३.५ लाख मेट्रिक टन चामलमात्र अपुग भएको जिकिर गर्छ । नेपालको भन्सारले गतवर्ष मात्र ३० अर्ब हाराहारीको धान–चामल भारत र अन्य मुलुकबाट आयात भएको देखाउँछ । भन्सार बाहेक खुला सिमानाको बाटो भएर भारतबाट नेपाल आउने धान–चामलको परिमाण अझ कति होला ?


कृषि मन्त्रालयको कुरा पत्याउने हो भने यसरी बाहिरबाट आउने मसिना चामलमात्र हो । उनीहरूका अनुसार नेपालीको खानेबानी र आम्दानी बढेर यस्तो भएको हो । मोटा चामल त खुल्ला सिमानाको बाटो हुँदै भारत नै जान्छ । यो त नेपालले किन्नै पर्दैन, आफ्नैले खान पुग्छ । त्यसो भए भन्सारबाट आउने यत्रो ठूलो परिमाणको मसिना चामल कहाँ छ ?


चामलको भन्सार कम लाग्ने भएकोले दलाल र बिचौलियाको मिलेमतोमा यो चिनी र चप्पलको बोरा भएर भित्रिरहेको त छैन ? अर्को कुरा नेपालमा अन्नपातको उत्पादन १ करोड
१० लाख मेट्रिक टन र माग ९५ लाख मेट्रिक टन भएको सरकारी तथ्याङ्क छ । यसले १५ लाख मेट्रिक टनजति अन्नपात बचत भएको देखाउँछ । त्यसो भए किन दुई खर्ब रुपैयाँभन्दा बढीको १ सय ५० भन्दा बढी मुलुकबाट २ सयभन्दा बढी प्रकारका खानेकुरा नेपाल भित्रिन्छन् ? यात सरकारी तथ्याङ्क गलत छ, या भन्सारमा सदाझैं निरन्तर लुटपाट चलिरहेको छ । यसको खोजी हुनुपर्ने हैन र ?


माथिको तथ्याङ्कले नेपालको कृषि तथा खाद्य प्रणाली परनिर्भर र कमजोर हुँदै गएको इंगित गर्छ । खानेकुराबारे नेपाली समाजको फेरिएको सामाजिक मनोविज्ञान सम्बोधन गर्नुपर्ने समेत औंल्याउँछ । यी दुबै कुरा सम्बोधन नगरे हाम्रो खानेकुराको भविष्य संकटमा पर्नेछ ।


खाद्यका लागि दिगो कृषिको सार्थक नागरिक बहस चाहिएको छ । यस्तो बहसले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि गरेर मात्र किसानको आम्दानी, रोजगारी बढाउन सकिन्छ । यो नै ग्रामीण क्षेत्रको गरिबी घटाउने बलियो विकल्प हो भन्ने आत्मसात गराउन सरोकारवालालाई झकझक्याउनुपर्छ । यसले खाद्य उत्पादनदेखि भान्सासम्मको दिगो खाद्य प्रणाली अपनाउँदै कुनै पनि बहानामा खाना खेर नफाल्ने सद्बुद्धि बिजारोपण गर्नु पर्नेछ । सबैलाई सधंै, पर्याप्त र स्वस्थ्य खानामा पहुँच बढाउने र सबै प्रकारका कुपोषण अन्त्य गर्ने संकल्पले संविधानले व्यवस्था गरेको खाद्य सुरक्षाको मर्म समेट्छ ।


प्रकाशित : आश्विन ३१, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?