२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नयाँ महाराजको ‘टीकातन्त्र’

टीकाको फर्मान जारी हुँदा लोकतान्त्रिक गणतन्त्रका नागरिक भएको भ्रममा बाँचेका केही नागरिकलाई आफू त प्रजा र रैती नै रहेको असहज अनुभूति भएको हुनुपर्छ ।
राजेन्द्र महर्जन

काठमाडौँ — सत्ताका मुख्य–मुख्य प्रतिष्ठान र सत्तासीनका निवासमा दसैं सँगसँगै धुमधामका साथ ‘टीकाकरण’ जारी छ, समृद्धीकरणको महान यात्राजस्तै  । सत्ताच्युत राजादेखि लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपति र प्रधानमन्त्रीहरूसम्म पनि टीका लगाउने होडबाजीमा लागेका छन्  ।

नयाँ महाराजको ‘टीकातन्त्र’

सत्ताच्युत राजा ज्ञानेन्द्रले श्रीपेच, सिंहासन र दरबारसँगै राजपाट छाड्नुपरे पनि पुराना प्रजालाई टीका लगाउने शाही परम्परा र संस्कार छाडेका छैनन्, हिङ बाँधेको टालोजस्तै बोकेकै छन् । राजतन्त्रले आफ्ना देशबासीको मनमा प्रजाको भाव दिलाइराख्न वा राजाबाट शासित मनुवाको संस्कारमा ढालिराख्न चलाएको टीका लगाउने चलन ज्ञानेन्द्र सत्ताच्युत भएपछि झ्न–झन्
झ्याङगिएको छ, वनमारा झारजस्तै ।


पहिले राजा–महाराजाको दरबार नारायणहिती (हिटी) मा मात्रै हुने यस्तो प्रचलन अचेल राष्ट्रपतिको निवास शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मात्रै होइन, नेपाली सेनाको मुख्यालय भद्रकाली र जनपद प्रहरीको केन्द्रीय कार्यालय नक्सालसम्म फैलिएको छ । आगामी वर्षमा प्रत्येक सरकारी कार्यालय र तीनवटै जननिर्वाचित अंगसँगै अन्य संरचनामा पनि यसको फैलावट भए अनौठो हुने छैन । ‘टीकाकरण’को फैलावट हेर्दा ‘बडा’दसैं, त्यससँग जोडिएका हिन्दु मूल्य–मान्यता र सनातन धार्मिक परम्पराको विस्तृतीकरण भएको देखिन्छ ।

शाही चर्तिकला
हाम्रा राष्ट्रपतिदेखि प्रधामन्त्रीद्वारा कुनै जमानामा सामन्त–महासामन्तको उपाधि प्राप्त राजा–महाराजाले राजतन्त्रको युगमा आफ्ना प्रजालाई एकदिन टीका लगाउने गर्थे । राजतन्त्र अन्त्यपछि स्थापित गणतन्त्रमा पनि आफूलाई लोकतान्त्रिक र कम्युनिस्ट भन्ने दल र नेताहरूले शाहवंशीय राजतन्त्रद्वारा बढावा दिइएका धार्मिक र सांस्कृतिक परम्परा एवं अभ्यास जारी राखेर राजतन्त्रको ‘आत्मा’लाई मर्न दिएका छैनन् ।


प्रथम राष्ट्रपति रामवरण यादवदेखि द्वितीय राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले सबैजसो शाही परम्परा र अभ्यासलाई सगौरव निरन्तरता दिएका छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सम्भवत: पहिलोपटक प्रधानमन्त्रीबाट पनि टीकाटालो गर्ने नयाँ परम्पराको ‘शुभारम्भ’ गर्ने क्रमसँगै त्यसको समयावधिलाई लम्ब्याएका छन्, दसमीदेखि चतुर्दशीसम्म । यसरी टीका थाप्ने दिनलाई पाँच गुना विस्तार गर्दै उनले ‘महान ऐतिहासिक काम’ गरेका छन् । प्रमबाट टीकाको थालनी र टीकाकरणको व्यापक विस्तार पुँजीवादी लोकतान्त्रिक मूल्य–मान्यताबाट सामन्तवादी मूल्य–मान्यतामा फड्कोका ऐतिहासिक उदाहरण हुन् भन्न कञ्जुस्याइँ गर्नु पर्दैन ।


सत्ताच्युत राजा ज्ञानेन्द्र र राष्ट्रपतिद्वयलाई माथ गर्नेगरी प्रधानमन्त्री ओलीले टीकाकरणमा फड्को मारेपछि कसैले ‘सामन्तवादको नयाँ अभ्यास’ भनी आलोचना गरे, कसैले ‘प्रम ओली नयाँ राजा बन्न खोजेको’ भने, कसैले ‘ओली महाराजको शाही चर्तिकला’का रूपमा टिप्पणी गरे । साहित्यकार खगेन्द्र संग्रौलाले कटाक्ष गरे, ‘राजतन्त्रमा राजाले पञ्च–मण्डलेलाई टीका लाइदिन्थे । गणतन्त्रका राष्ट्रपतिले राजाको नक्कल गरे, ओली सर अब नक्कलको नक्कल गर्ने रे ।’

नेपाललाई ‘असिल् हिन्दुस्थाना’ बनाउने क्रममा हिन्दु राजा–महाराजाले संविधानमै हिन्दु अधिराज्य भनी तोकेर लेख्ने र राज्य र समाजलाई हिन्दुकरण गर्ने सिलसिलामा सुदृढ गरेको टीका लगाउने र थाप्ने चलनलाई गणतन्त्रका प्रम ओलीबाट व्यापकता दिइँदा राजतन्त्रको सिनो गन्हाएको अर्थमा आलोचना हुनु अनौठो होइन ।

उर्दीमा नयाँ श्रेणीबद्धता
चाहे राणाकालमा होस् या शाहकालमा, राजतन्त्रमा भान्से, छाते, हुक्के, ढोके, बैठकेसँगै सेवक, रैती र प्रजालाई नारायणहिती दरबारका ढोकामा लाइन लागेर टीका थाप्न लगाइन्थ्यो, अहिले निर्मल निवासमा जस्तै । राजतन्त्रको समाप्तिसँगै गणतन्त्रमा टीका बक्सने र टीकासँगै आशिर्वाद एवं दक्षिणा थाप्नेहरूको संख्यामा विस्तारले ‘टीकातन्त्र’तिर संकेत गरेको छ ।

यस वर्षदेखि टीकाकरण थालेका प्रधानमन्त्री ओलीले पाँच दिनसम्म सबै छोटा–बडा नागरिकलाई निश्चित दिन, बार र समय तोकेर आफूबाट टीका ग्रहण गर्नका लागि ‘फर्मान’ जारी गर्दै प्रजावत्सलता प्रदर्शन गरेका छन् । राणाकालमा प्रजावत्सलता प्रदर्शनका लागि ‘राजाको जुवा फुकेको’ झ्याली पिटिथ्यो र ‘राजाकै फागु फुकुवा भएको’ उर्दी पनि जारी गरिन्थ्यो तर दसैंमा टीका थाप्न फर्मान जारी गरिएको थाहा थिएन ।

भीमबहादुर पाण्डेका अनुसार फागुको उर्दी हुँदा श्री ५ र श्री ३ का दरबारमा कर्मचारीहरू रंगीचंगी चुनेका पोसाक लगाएर फागु खेल्न जानुपथ्र्याे र श्री ५ ले श्री ३ लाई नारायणहिती दरबारमा, श्री ३ ले मुख्तियारलाई सिंहदरबारमा अबिरको टीका वा पचकाले रंग हालेपछि फागु फुक्थ्यो, अचेल टीकाको मौसम आएझैं ।


गणतन्त्र नेपालका प्रधानमन्त्रीको सचिवालयबाट टीकाको फर्मान जारी हुँदा लोकतान्त्रिक गणतन्त्रका नागरिक भएको भ्रममा बाँचेका केही नागरिकलाई आफू त प्रजा र रैती नै रहेको असहज अनुभूति भएको हुनुपर्छ । टीकाका लागि जारी सरकारी फर्मानमा ‘विशिष्ट नागरिक र सर्वसाधारण नागरिक’को श्रेणी विभाजन गरिएको छ, जुन नेपाली समाजको नयाँ श्रेणी (हायरार्की) विभाजनको नमुना हुनसक्छ ।

त्यसैले मानवशास्त्री सुरेश ढकाल व्यंग्य गर्छन्, ‘गणतन्त्रमा नागरिक सार्वभौम हुन्छन्, सबै बराबर हैसियतका नागरिक हुन्छन् भनेर कसैले बकबास गरेछन् । हेर्नुस् त वरिष्ठहरूलाई टीका प्रदान, सर्वसाधारणलाई टीका प्रदान भन्ने समाचार शीर्षक । असाधारण, विशिष्ट, साधारण, सर्वसाधारण, अति साधारण । बाफरे सत्ता सिर्जित नागरिकका काँटी र कोटी !’


नेपाली जनतालाई अनेक काँटी र कोटीमा विभाजन गर्नमा आफूलाई प्रजा (लोक) तन्त्रवादी वा साम्यवादी भनाउँदाहरूको मायामोह अश्लीलताको हदसम्म व्याप्त छ । उनीहरूमा पनि जनताबाट निर्वाचित हुन नपर्ने सामन्तवादी वा राजावादीमा जस्तै ‘सार्वभौम’ जनतासँग दास र मालिक, छोराछोरी र पिता वा शासित र शासकको जस्तो असमान शक्ति–सम्बन्ध राख्नमा गज्जबको रुचि छ ।

शक्तिकै आराधना र उत्सवका रूपमा मनाइने दसैंमा टीका ग्रहण गर्दा पूर्व प्रधानन्यायाधीशको घुँडा–टेकाइ र राष्ट्रपतिको मुस्कानसहितको टीका बक्सको दृश्यले आपत्तिजनक आसनतिर मात्रै संकेत गर्दैन, ‘प्याट्रोन–क्लाइन्ट स्ट्रक्चर एन्ड रिलेसनसिप’ (संरक्षक–संरक्षित संरचना र सम्बन्ध) तिर पनि जबर्जस्त ध्यान खिच्छ । आफूलाई शासक वा मालिक वा महाराजा–महारानी ठान्ने र आम जनतालाई शासित, दास र प्रजा–रैती मान्ने संरचना, सम्बन्ध र संस्कृति टीकाकरणमा राम्ररी उजागर हुनु लोकतन्त्रको सुस्वास्थ्य लागि खराब देखिँदैन ।

टीकाकरण र संवैधानिक दायित्व
टीकाकरणमा देखिने असमान सम्बन्ध र अपमानपूर्ण संस्कृतिबारे सांस्कृतिक चिन्तक निनु चापागाईंको विचार छ, ‘परिवार, गाउँ वा राज्यको मुलीको हातबाट टीका लगाउने र उसले टीका लगाउन आउनेलाई टीका लगाएर केही पैसा आदि दिने चलन आफूभन्दा बुढापाका वा अग्रजको सम्मान गर्नु नभएर ती मुलीसामु अरू सबैको स्थान गौण महत्त्वको छ, सबैले यस्ता मुलीसामु नतमस्तक हुनैपर्छ वा झुक्नैपर्छ भन्ने जनाउनु हो । मुलीहरूको अधीनस्थतालाई स्वीकार गराउनुमै यसको मूल अर्थ लुकेको छ । यो मानवीय अस्मिता, गरिमा, गौरव र महत्त्वलाई पूर्णतया उपेक्षा गर्नु नै हो ।’


मानवीय अस्मिता, गरिमा, गौरव र महत्त्व बोध भएका जोकोहीले ठूला र मान्यवरबाट टीका ग्रहणको अभ्यासमा अरूलाई अधीनस्थ, शासित, प्रजा मान्ने सामन्ती संरचना, सम्बन्ध र संस्कृति पनि छर्लंगै देख्न सक्छन् । यसैतिर संकेत गर्दै वैज्ञानिक एवं लेखक उत्तमबाबु श्रेष्ठ लेख्छन्, ‘राष्ट्रपतिले उपराष्ट्रपति, सभामुख, उच्चपदस्थहरूलाई, त्यसपछि सामान्यजनलाई टीका लगाइदिने, प्रधानमन्त्रीले मन्त्रीहरू लगायतलाई क्रमैसँग टीका लगाइदिने अनि प्रहरी प्रमुखले पनि त्यसैको सिको गर्ने । अनि राष्ट्रपतिलाई टीका लगाइदिने पुरोहितले । सन्देश स्पष्ट छ नि होइन र ? सबैभन्दा ठूलो गुरु–पुरोहित ।’


दसैंमा पनि हिन्दु राजाले गर्ने सबै वैदिक परम्परा निर्वाह गरिरहेकी गणतन्त्रकी राष्ट्रपति एवं तत्कालीन नेकपा एकीकृत माक्र्सवादी–लेनिनवादीका भूपू उपाध्यक्ष भण्डारीले सांस्कृतिक व्यवहारबाट पुष्टि गरेकी छन्– नेपालको वर्णव्यवस्था र जातप्रथा अनुसार श्रेणीबद्ध समाजमा ठूला, मान्यवर र सर्वश्रेष्ठ मनुवा भनेको हिन्दु धर्मका स्वजातीय पुरोहित हो, अरू सब अधीनस्थ प्रजा र अन्य वर्ण हुन् ।

त्यस्तै नेकपा डबलका अध्यक्ष प्रधानमन्त्री ओलीदेखि सेनापति र आईजीपीले संवैधानिक दायित्व पूरा गर्ने धार्मिक कामबाट सिद्ध गरेका छन्– नेपालको संविधानअनुसार नै धर्मनिरपेक्ष राज्यको दायित्व भनेकै सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्नु हो, त्यसपछि मात्रै धार्मिक सांस्कृतिक स्वतन्त्रताको रक्षा गर्नु हो ।


नयाँ संविधान लागु गर्दा, धर्मनिरपेक्ष राज्यको दायित्व पूरा गर्दा, सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्दा महाराजाको शैलीमा अब खुट्टै ढोगाइयो भने अन्यथा मान्नु पर्दैन । यस्ता ढोगाइ, ढोगासन, टीका बक्समा देखिने सामन्ती संरचना–सम्बन्ध–संस्कृतिमा आपत्ति छ भने आलोचनाको तारो कुनै पनि व्यक्ति हुनुहुँदैन, बरु त्यस्ता व्यक्तित्व उत्पादन–पुन:उत्पादन गर्ने संरचना–सम्बन्ध–संस्कृति हुुनुपर्छ ।

आलोचनात्मक विमर्शको केन्द्र सनातनी धर्म–संस्कृतिको सरक्षण गर्ने संविधान हुनुपर्छ, संविधानको क्रियान्वयन गर्ने राज्यका संरचना र शक्ति हुनुपर्छ, संविधान निर्माण गर्ने दल, दलतन्त्र र नेतृत्वसँगै उनीहरूका पश्चगामी विचार, संस्कृति र व्यवहार हुनुपर्छ, जसले लोक, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, समाजवाद र साम्यवादभन्दा माथि सनातनी धर्म, वर्णव्यवस्था र जात प्रथालाई सर्वाेपरी राख्दै आएका छन् ।

twitter: @rmaharjan72

प्रकाशित : कार्तिक ६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?