कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीतल निवासको शान

डेटलाइन तराई
राष्ट्रपतिले आफूभित्र भावनात्मक अंश सबै नेपालवासीले देखुन्, त्यो पो गर्नुपर्ने थियो । जसले सांस्कृतिक समानताको प्रकाश फैलिन्थ्यो । यसले शीतल निवासको ‘शान’ अर्थात् गौरव बढाउँथ्यो ।
चन्द्रकिशोर

काठमाडौँ — सिधा कुरा, ठाडो प्रश्न  । पर्सा जिल्ला, पकहामैनपुरको देहात संवादमा एउटा जिज्ञासा उठ्यो, ‘राष्ट्रपतिकहाँ टीका थाप्न जानेहरूको मानमर्दन गर्ने दोषी को हुन् ?’ तिनै माझबाट जवाफ आयो, ‘जसले कार्यक्रमको आयोजना गरे, तिनै हुन्, जिम्मेवार  ।

शीतल निवासको शान

राष्ट्रपतिले आफै सल्लाहकार रोज्छन्, मनपसन्द कर्मचारी राख्छन् भने त्यहाँका सबै प्रबन्धको निगरानीकर्ता तिनै हुन्छन् । त्यहाँ भएको कमी–कमजोरीको जिम्मेवारी नैतिक रूपमा राष्ट्रपतिमा गाँसिन पुग्छ । देहाती तर्क थियो, ‘गल्ती भएको छ । अब राष्ट्रसँग क्षमा माग्नुपर्छ ।’

राष्ट्रको ढुकुटीबाट अक्षता र जमराको जोहो भएको हो । नागरिक राष्ट्रपतिको रूपमा यस्तो गम्भीर त्रुटिप्रति क्षमा माग्नुपर्छ । संवैधानिक राष्ट्रपतिले गल्ती गर्दैन भन्ने मानिन्छ । हाम्रो संविधानले राष्ट्रपतिलाई प्रथम नागरिकको रूपमा स्वीकारेको छ । घुँडा टेकाएर जसरी टीका लगाइयो, त्यस प्रकरणपछि प्रथम नागरिक र आमनागरिक बीचको सम्बन्धबारे भुइँ सतहसम्म विमर्श सुरु भएको छ ।

राष्ट्रपतिले संविधानको सुरक्षा गर्छ । जबकि सर्वोच्च अदालतले त्यसको व्याख्या गर्छ । अहिलेको संविधानले लोकतन्त्रलाई आफ्नो आत्मा मानेको छ । त्यस अर्थमा राष्ट्रपति लोकतन्त्रका रक्षक हुन् । संविधानको अन्तरभावलाई अविरल गतिशील गर्ने जिम्मेवारी उनैमा हुन्छ ।

टीका थाप्न पुगेकाहरू आफ्ना समक्ष धनुष्टंकार मुद्रामा प्रस्तुत हुँदा पदासिन राष्ट्रपतिले त्यसलाई कसरी सहज रूपमा लिन सकिन् ? पदासिन व्यक्तिको भूमिका यहींनिर देखिन्छ । अर्को राष्ट्रपति र राष्ट्रपति संस्था दुइटैबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

संवैधानिक प्रावधान अनुसार आवधिक रूपमा कुनै पात्र विशेष छनोट भएर आउँछन् र राष्ट्रपतिका रूपमा संवैधानिक आदर पाउँछन् । राष्ट्रपति संस्था भनेको गणतन्त्र आएदेखि विकास भएको एउटा निरन्तरता हो, जो जुझारु नागरिक समाजको निगरानीले स्वत: पाको बन्दै जान्छ । व्यक्ति राष्ट्रपतिले आफ्नो पात्रता, पृष्ठभूमि, परिस्थिति र पद्धतिको आधारमा आफ्नो चिनारी विकसित गर्छन् । सँगै राष्ट्रपति संस्थाको गरिमा र महिमालाई स्थापित गर्छ ।

नेपाल गणतन्त्रमा गइसकेपछि प्रथम राष्ट्रपति डा. रामवरण यादवको करिब सवा ७ वर्षको कार्यकाल त्यसपछि भएका राष्ट्रपतिका निम्ति अनुभव र अभ्यासको नासो थियो । अर्थात् दोस्रो राष्ट्रपतिका निम्ति पहिलो राष्ट्रपतिको कार्यानुभवबाट पाठ सिक्ने र स्वयं पनि विशेष पहिचान कोर्ने अवसर हो । वर्तमान राष्ट्रपतिका लागि छोटो समय भए पनि यो दोस्रो कार्यकाल हो ।

देहातमा अनेकथरी प्रश्न किन उठ्दैछन् ? किनभने जनतामा चेतनाको गुणात्मक विकास भएको छ । इन्टरनेटको जमानामा नागरिक समक्ष सूचना पुग्न बेर लाग्दैन । तिनीहरू तत्काल आर्गेनिक अवधारणा बनाइहाल्छन् ।

यो कुरा राष्ट्रपति कार्यालयका कर्मचारी र त्यहाँ खटिएका सेनाका पदाधिकारीहरूले मनन गर्न थाले हुन्छ । गणतान्त्रिक नेपाल पञ्चायती नेपालभन्दा फरक छ, यो केवल अहिलेको राजनीतिक व्यवस्थाले अन्तर्राष्ट्रिय मान्यता पाएर टिकेको होइन, गणतन्त्रप्रति जनताको आस्था भएर हो । गणतन्त्रको सुरक्षा पर्खाल जनता हुन्, सेना होइन । त्यसैले तृण तहसम्म राष्ट्रपति र राष्ट्रपति संस्थाबारे चासो र चिन्ता देखिनु स्वाभाविक हो । यसले गणतन्त्रलाई बलियो बनाउँछ ।

सिद्धान्तत: राष्ट्रपतिले संसदीय लोकतन्त्रका अत्यन्त प्रतिस्पर्धात्मक भावनालाई समेत शान्त र शिष्ट गति दिने भूमिका गर्छ । यो संस्था विपक्षी दलहरूका लागि ‘अन्तिम उम्मिद’ हुन्छ । फरक विचार, फरक समुदायमात्र होइन, एउटा व्यक्तिले समेत आफू बहुमतबाट पीडित भएँ, वर्चस्वशाली समूहले चेप्यो भनेर गुहार गरे राष्ट्रपति संस्था तिनका लागि कालो बादलमा चाँदीको घेरा हुन्छ ।

त्यसैले संवैधानिक राष्ट्रपति सबैका साझा राजकीय सम्पत्ति हुन् । राष्ट्रपतिका रूपमा जो व्यक्ति पदासिन हुन्छ, तिनले विवेक पालनकर्ताका रूपमा कार्य गर्छन् भन्ने विश्वास गरिन्छ । यस अर्थमा राष्ट्रपतिको बढी नैतिक जिम्मेवारी हुन जान्छ । राष्ट्रपतिका प्रत्येक गतिविधिले जनताको निराशा हट्नुपर्छ । पद्धतिको भविष्यप्रति भरोसा बढ्नुपर्छ ।


नेपाली शब्दकोशमा ‘शान’ शब्दको गौरव, इज्जत वा प्रतिष्ठा भन्ने अर्थ दिएको छ । त्यसैगरी यस शब्दबाट बडप्पन र मैमत्याइँको आशय पनि झल्किने गर्छ । टीकाको सन्दर्भमा जुन चलन प्रयोगमा ल्याइयो, त्यसले नागरिक राष्ट्रपतिको अवधारणालाई मानमर्दन गरेको छ । यसले गणतन्त्रका लागि आहुति दिने अमर बलिदानीहरूको तेजोवध गरेको छ ।

बदलिएको परिवेशमा जनताको सांस्कृतिक जीवनलाई समानता, स्वतन्त्रता, प्रगति र परिष्कारमुखी बनाउनु कता–कता बरु संस्कृतिका विकृत र रुढीग्रस्त चलनलाई संस्कृतिको नाममा अनुकरण गरियो । आवश्यकता लोकतान्त्रिक हस्तक्षेपको थियो । राजतन्त्रकालीन दास प्रथात्मक र सामन्ती सांस्कृतिक प्रवृत्तिको अन्त्य भई स्वस्फुर्त रूपमा अनिवार्य परिवर्तनका रूपमा देखा पर्नुपर्ने राष्ट्रपति संस्था आफैमा यथास्थितिको जालोमा जेलिन पुग्यो ।

भिन्न–भिन्न धर्म र संस्कृति हुँदा पनि एउटा जाति वा धर्मावलम्बीले विशेष अधिकार उपयोग गरी बाँकीमाथि राज गर्ने परिपाटी पो देखापर्दै गयो । पदासिन राष्ट्रपति र राष्ट्रपति संस्थाले आफूभित्र भावनात्मक अंश सबै नेपालवासीले देखुन्, त्यो पो गर्नुपर्ने थियो । जसले सांस्कृतिक समानताको प्रकाश फैलिन्थ्यो । यसले शीतल निवासको ‘शान’ अर्थात गौरव बढाउँथ्यो ।

टीका प्रकरणपछि जेजस्ता सूचना शीतल निवासबाट चुहिएका छन्, त्यसले प्रश्न उठ्न थालेको छ, कतै ‘राष्ट्रपति संस्थाको कठपुतलीकरण’ त भइरहेको छैन ? आमनिर्वाचन पश्चात सिंहदरबारमा शक्तिशाली प्रधानमन्त्रीको प्रवेश हुने संकेत सुरु भएदेखि नै त्यसको छायामा शीतल निवास पर्नथालेको छ ।

नयाँ सरकार गठन र राष्ट्रियसभाको मनोनयनमा जेजस्ता भूमिका शीतल निवासको देखियो, त्यसले त्यही छाँटकाँट देखायो । सिंहदरबारले आफ्नो छायामा शीतल निवासलाई पार्‍यो भन्ने आम चिन्ता देखिनु विडम्बना हो । निश्चित रूपमा संविधानले राष्ट्रपतिलाई सल्लाह दिने र सरोकार राख्ने तन्त्र सरकार हो । सरकार प्रमुखले राष्ट्रपति र राष्ट्रपति संस्थाबारे चिन्तन गर्नुपर्ने हुन्छ । तर राष्ट्रपति प्रधानमन्त्रीका तुरूप हैनन् ।

राष्ट्रपति संस्थाले आफ्नो स्वायत्तताको अनुहार जोगाई राख्नुपर्छ । उता राष्ट्रपतिले पनि राजनीतिक पक्षधरताबाट आफूलाई जोगाउन सकेनन् भने मुलुकको लागि त्यो दुर्भाग्य हुन्छ । राष्ट्रपति संस्था संसदीय लोकतन्त्रको खम्बा बनेर उभिनुपर्छ । राष्ट्र एकता र अखण्डताको सूत्र भएर अगाडि आउनुपर्छ ।

संविधानले ल्याएको संक्रमणलाई राष्ट्रप्रमुखको दृष्टिले हेर्न सक्नुपर्छ । लोकतान्त्रिक अभ्यासको चरित्र नै हो, ‘अस्थिरता, कम्पन, स्पन्दन ।’ किनकि सबैले सबै कुरा माग्न सक्छ, सोध्न सक्छ, तर त्यही अनुपातमा प्राप्त गरिरहेको हुँदैन । पद्धतिले यस्ता अस्थिरता, कम्पन वा स्पन्दनलाई व्यवस्थापन गर्दै जाने हो ।

लोकतान्त्रिक गणतन्त्रको ठूलो गुण यही हो । त्यसैले नेपाली गणतन्त्र किन टिक्छ भन्ने प्रश्नको उत्तरमा भन्नुपर्‍यो, ‘अस्थिरता, कम्पन र स्पन्दनहरूमाझ सम्मान, संवाद र सहकार्यलाई निरन्तरता दिने निश्चितता दिइन्छ ।’ यो व्यवहारमै देखिनुपर्‍यो ।

नागरिक नै गणतन्त्रका निर्माता, संरक्षक र आधार–स्तम्भ हुन् । प्रत्येक नागरिकले लोकतान्त्रिक गणतन्त्रलाई शक्ति प्रदान गर्छ । राष्ट्रपतिको सार्वजनिक प्रस्तुति र भूमिकामाथि आम नागरिकको नजर रहन्छ र प्रश्नहरू उठ्छ । राष्ट्रपति भवन अर्थात शीतल निवास एउटा संवैधानिक संस्था हो । बढीभन्दा बढी नागरिकको यहाँ सहज पहुँच हुनुपर्छ ।

सुरक्षा व्यवस्थापनका नाममा कुनै अमूक शक्तिले राष्ट्रपतिको नागरिक भूमिकालाई ओझेलमा पार्ने काम गर्न मिल्दैन । अर्को कुरा गोरेटो छनोट गर्दा यात्राको तयारीमा सबभन्दा बढी गृहकार्य गर्नुपर्ने हुन्छ । त्यसैगरी मानव संसाधनको विकास तयारीको महत्त्वपूर्ण प्रक्रिया हो । यहींनिर भन्नुपर्ने हुन्छ, राष्ट्रपति कार्यालयलाई कति बजेट उपलब्ध गराइयो भन्दा पनि त्यहाँ सहयोगीका रूपमा कस्ता जनशक्तिको बन्दोबस्ती गराइयो, सरकारद्वारा ? राष्ट्रपति संस्थाको एक दसकको यात्रा अवधिमा यसबाट आम नेपालीको आत्मसम्मानमा चोट पुगेको सम्भवत: यो पहिलो हो ।

गणतन्त्र, वर्तमान राष्ट्रपति पदासिन भएपछि आएको होइन । पहिले नै आइसकेको हो र यो संस्थाले धेरै राम्रा नजिरहरू कायम गरेका थिए । ती राम्रा परम्पराको खोज खबर गर्ने र त्यसलाई कायम राख्ने काम गणतन्त्रका मर्म बुझेका जनशक्तिले नै गर्न सक्छन् र राष्ट्रपतिलाई सघाउ पुर्‍याउन सक्छन् । सरकारका कतिपय निर्णयले राष्ट्रपति संस्थाको लोकप्रियतामा ह्रास ल्याएको छ ।

सम्भ्रान्तहरूको एकलौटी पकडमा रहेको विगतको राजदरबारजस्तो राष्ट्रपति संस्था समाजभित्र टापु भएर रहनु हुँदैन । यसरी टिक्न पनि सक्दैन । घटनाक्रमले देखाएको के हो भने अभिजात वर्ग आफ्नो पारम्परिक प्राधिकार परित्याग गर्न पटक्कै तयार छैनन् । तर पनि लोकतान्त्रिक गणतन्त्रको विकल्प संवैधानिक राजतन्त्र वा अनिर्वाचित राष्ट्रपति वा कठपुतली राष्ट्रपति हुन सक्दैन । खुला र बहुलवादी समाजको विकल्प अझ खुला र बहुलवादी समाज हो ।

बन्द समाज वा दास बनाउने समाज होइन । टीका सन्दर्भले नेपाली चेनतालाई फेरि एकपटक चिमोटेको छ । टीकाकै सन्दर्भमा निर्मल निवासमा लागेको ताँतीसँग कतिपयले शीतल निवासको तुलना गर्दैछन् । केही लुब्धपात्र पुराना दिनहरू फिर्ती हुने सपना दिउँसै देख्दैछन् । कतिपय दक्षिण वा उत्तरको आशिर्वादले ‘अच्छे दिन’ आउँछ भनी मृगतृष्णामा रमाएका छन् ।

यसर्थ यो चिमोट्याइँले कालो अँध्यारो सुरुङको अन्त्यमा उज्यालो मिठो घाम रहेको जनाउ दिएको छ । गणतन्त्रको जरो नेपाली माटोमा छ । पात्रहरूको छवि धुमिल भए, तर संस्थाप्रतिको आस्था झन् बढेको छ । कार्ल माक्र्सको बहुचर्चित भनाइ छ कि नयाँ भाषा सिक्नेहरूले सुरु–सुरुमा आफूले जानेको भाषामा उल्था गरेर बुझ्छन् रे । नेपाली गणतान्त्रिक अभ्यासका अभियन्ताहरूले नागरिक जुझारुपनले गर्दा ढिलो–चाँडो नयाँ भाषाझैं लोकतान्त्रिक गणतन्त्रको भाषा र संस्कृति सिक्छन् नै ।
[email protected]

प्रकाशित : कार्तिक ८, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?