१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रानीपोखरी हाम्रो ऐना

सम्पादकीय

काठमाडौँ — रानीपोखरी प्रताप मल्लले बनाउन लगाएका होइनन् । प्राचीनकालदेखि यहाँ पोखरी थियो भन्ने कहावत छन् ।

रानीपोखरी हाम्रो ऐना

काठमाडौं सभ्यता नदी र पोखरीमा आधारित छ । रसाउने पोखरीहरूको सहरसँग सम्बन्ध कायम थियो, राजकुलाहरूले पोखरीहरू जोडेका थिए । पुराना लेखापढीअनुसार प्रताप मल्लले कारणवश पोखरीको महिमा भर्न विभिन्न ५१ तीर्थस्थलको पानी ल्याउन लगाए । पोखरीलाई नाम दिए । पोखरीभित्र बालगोपालेश्वर मन्दिर तत्कालीन कला कौशलअनुसार ग्रन्थकुट शैलीमा निर्माण भयो ।

यो मन्दिरमा पहिलोपल्ट जंगबहादुर राणाको पालामा शैली परिवर्तन भयो । दोस्रोपल्ट जुद्धशमशेरले ९० सालको भुइँचालोपछि अर्काे शैलीको बनाउन लगाए । राणाहरूले आँखा चिम्लेर युरोपेली शैली अख्तियार गर्ने लोभ गरे । ग्रन्थकुट शैलीको मन्दिरलाई गुम्बज शैलीमा ढालिदिए ।

बहत्तर सालको भुइँचालोपछि नेपालका लागि पुनर्निर्माण भालुको कम्पट भएको छ । जति र जुन सरकार बने पनि समस्या उति र उस्तै । सरकारले जेमा हात हाल्छ, लतपत गर्छ । जे गर्छु भन्छ लोलोपोतो ।

रानीपोखरी नै हेरे हुन्छ । राज्यको ऐना । काठमाडौंको मुटु जसले हामीलाई हाम्रा राज्य पदाधिकारीको अदक्षता, संस्था र नीतिको असंगत दाग देखाउँछ ।

पहिल्यै हत्तपत्त राष्ट्रपतिबाट पुनर्निर्माण शुभारम्भ गरियो । रानीपोखरीलाई कस्तो पुनर्निर्माण गर्ने र कसरी भन्ने निर्णय गर्नुअगावै । राष्ट्रपति जस्तो सर्वोच्च मर्यादित संस्थाको मर्यादा वास्ता नगरी ।

पोखरी सुकेपछि यहाँ हुने सांस्कृतिक गतिविधि रोकिएका छन् । वर्षभरि बन्द रहने पोखरी बालगोपालेश्वर मन्दिर एक दिन खुल्थ्यो । दिदीबहिनी नहुनेहरू तिहारको टीका लगाउँथे । त्यसैगरी केही वर्षयता छठमा पोखरी छेउ सूर्यको पूजा आराधना गर्ने चलन बढेको थियो । सांस्कृतिक स्थलको महिमा आर्जन गरेको थियो ।

रानीपोखरी संरक्षण कसरी गर्ने, यसभित्रको मन्दिर कसरी पुनर्निर्माण गर्ने भन्नेबारे जारी विवादले हाम्रो सम्पदाप्रतिको बुझाइ, कलाप्रतिको सौन्दर्य चेत, संरक्षणप्रतिको कर्तव्यबोध कुन स्तरमा छ, देखाउँछ । लोकतन्त्रकालमा समेत निर्णय प्रक्रिया कति एकांगी हुन सक्छ भन्ने प्रमाण दिन्छ ।

राष्ट्रपतिबाट शिलान्यास गराएपछि काठमाडौं महानगरपालिकाले पोखरीको बाहिरी भागमा पर्खाल लगाउन थाल्यो । सम्पदा प्रेमीहरू झस्किए । उनीहरूको विरोधपछि गत पुसमा पुनर्निर्माण रोकेर विज्ञ समिति बनाइयो । समितिले माघमै ग्रन्थकुट शैलीमा बालगोपालेश्वर पुनर्निर्माण गर्ने सुझाव दियो ।

गुम्बज शैलीमा पुनर्निर्माण सुरु भइसकेकाले रोक्न नसकिने पुरातत्त्व विभागले अड्डी लियो । त्यसअनुसार बनाउन थाल्यो । सम्पदा संरक्षण अभियन्ताहरू फेरि आन्दोलित भए । काम फेरि रोकियो । कुन शैलीमा बनाउने भनेर रसाकस्सी जारी छ ।

पुरातत्त्व विभागलाई नै पुरातत्त्वको मर्यादा राख्न सम्झाउनुपरेको छ । विभागका लागि राणाकालीन शैली नै पुरातात्त्विक लागेको छ, अभियन्ताका लागि प्रमाण भेटिएसम्म पुरानो । गुम्बजभन्दा ग्रन्थकुट । जति पुरानो उति मौलिक । जति पुरातात्त्विक उति महत्त्व ।

विभागको धारणाअनुसार राणाकालीन गुम्बज शैलीले सांस्कृतिक परिवर्तन दिएको छ र सांस्कृतिक परिवर्तनका स्मारक पनि पुरातत्त्वका पहिचान हुन् । मल्लकालमा फर्काउन पैसा धेरै खर्च हुन्छ ।

महानगरपालिकाले मन्दिरमा कंक्रिट राखेर बनाउन थालेपछि सम्पदा सचेत नागरिकहरू जागे । पुरातत्त्वले काम रोक्यो, महानगरले हामी बनाउन सक्दैनौं भनिदिएपछि निर्माण जिम्मा पुरातत्त्वले लियो ।

मन्दिर पुरातत्त्वले बनाउने, पोखरी र बाहिरको काम महानगरपालिकाले गर्ने सहमति भयो । महानगरपालिकाले यहाँ पनि कंक्रिट राख्न थाल्यो । पोखरीको आयतनै घटाउने गरी ‘शेरवाल’ लगाउन सुरु गर्‍यो । यसको पनि विरोध भएपछि काम रोकेर विज्ञ समिति बनाइएको थियो ।

पोखरीको पानी सुकाइएको छ । पानी कसरी भर्ने, योजना बनाइएको छैन । त्यतिबेलै विज्ञ समितिले भत्काउन सुझाव दिएको छेउका कंक्रिटका पर्खाल अझै छन् । यसअघिका ठेकेदार भुक्तानी नपाएको भन्दै अदालत धाएका छन् । महानगरले अर्को टेन्डर आह्वान गरेको छैन ।

पोखरी कसरी बनाउन भनेर योजना बनाइएको छैन । यो पहिला बिगारिएको सम्पदा सच्याउने अवसर पनि हो भन्दै अभियन्ताले विज्ञको सुझावअनुसार ग्रन्थकुट शैलीमै बनाउनुपर्ने अडान लिएका छन् ।

काठमाडौंको पहिचान केमा छ ? प्राकृतिक, सांस्कृतिक, पौराणिक र पुरातात्त्विक रहन सकेन भने काठमाडौं कस्तो बन्नेछ ? पर्यटकहरू काठमाडौंमा के हेर्न आउँछन् ? हाम्रो प्राथमिकता के हो ? इतिहास, सम्पदा र संस्कृति चेत के हो भन्ने हृदयंगम गरे जवाफ आउनेछ । जवाफ रानीपोखरीको ऐनामा देखिन्छ ।

प्रकाशित : कार्तिक १२, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?