कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेतक चिनीमा अधुरो अध्ययन

कमल मादेन

काठमाडौँ — कान्तिपुरमा कात्तिक ८ गते ‘सेतोचिनी (सेतक चिनी) चोरी–निकासी’ शीर्षकमा जाजरकोटको समाचार छापियो । वनस्पतिसम्बन्धी अध्ययनअनुसन्धानमा संलग्न रहे पनि मलाई सेतक चिनीबारे थाहै थिएन । 
यस्तो महत्त्वपूर्ण वनस्पतिको वैज्ञानिक अर्थात वनस्पतीय नाम थाहा पाउन नसकेकामा आफैंलाई नमज्जा लाग्यो ।

सेतक चिनीमा अधुरो अध्ययन

तुरुन्तै वनस्पतिविज्ञ केशवराज राजभण्डारीलाई फोन गरेँ । नेपाली वनस्पतिबारे जानकारी उहाँसँग जति अरू कसैसँग छैन । राजभण्डारीले ‘भर्खर पत्रिका पढ्न सुरु गरेको छु, कुन प्रजाति रहेछ, सम्झँदै छु’ भन्नुभयो ।

सुनाखरीविज्ञ भक्तबहादुर रस्कोटीले मलाई फेसबुक म्यासेन्जरमा त्यही समाचारको लिंक पठाइदिनुभयो । उहाँलाई पनि त्यो वनस्पतिको वैज्ञानिक नाम थाहा पाउने कौतूहल जागेछ । समाचारमा वनस्पतिको तस्बिर थिएन । वनस्पति अड्कल गर्न सकिएन । त्यस दिन मलाई धेरैले सेतक चिनीबारे जिज्ञासा राखेँ । म आफैं रनभुल्लमा थिएँ ।

जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरसँग सम्पर्क भयो । उनलाई पनि वैज्ञानिक नाम थाहा रहेनछ । उनले तुरुन्तै १ दर्जनजति तस्बिर र २ वटा भिडियो पठाइदिए । ती सामग्री झलक्क हेर्नेबित्तिकै ‘पोलिगोनाटम’ जातिकै प्रजाति भन्ने थाहा पाएँ । ती तस्बिर/भिडियो सुर्खेत र म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाको दाना र दोभामा तेजेन्द्र कार्कीले खिचेको हुन् । कार्कीका अनुसार मुस्ताङ तथा म्याग्दीको चिम खोला, नयाँ वन, बाङ्गे पानी, खिरौलाबारी, सल्लेरी, दाना, दोभामा प्रशस्त मात्रामा सेतक चिनी पाइन्छ ।

समाचारअनुसार खिरौंला भनेर समेत चिनिने सेतक चिनी वनस्पतिको अदुवाजस्तै देखिने जरा/गानो हातहातै बिक्री हुँदो रहेछ । सेतक चिनी काँचो प्रतिकिलो ३० रुपैयाँ र पकाएर सुकाएको प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुँदै रहेछ । जाजरकोटको बारेकोट गाउँपालिकामा मात्र असोज दोस्रो र तेस्रो साता करिब १० करोड रुपैयाँ बराबरको सेतक चिनीको कारोबार भएको रहेछ । तस्बिर/भिडियोमा सेतक चिनीका बोटले रुख तथा बुट्यान पातलो भएको जंगलमा छपक्कै ढाकेको देखिन्छ ।

सेतक चिनीको काण्ड सुरिलो, हातको आंैलाजति मोटो र काण्ड वरिपरि ४/५ वटा पात, कुनैमा दुइटा विपरीत दिशामा ४/५ इन्चको फरकमा पलाएका छन् । यसको जरागानो माटामा ३/४ इन्च गहिरोमा अदुवाझंै फैलिएको हुँदोरहेछ । कुनै गानो एक, डेड हात लामो र एकै बोटमा २/३ केजीसम्म हुनेरहेछ ।

उपलब्ध तस्बिर र भिडियोका आधारमा सेतक चिनी ३ भन्दा बढी प्रजातिका छन् भन्ने अनुमान गर्न सकिन्छ । फल पाकेको सानो, रातो, डल्लो छ । यी विवरण आधारमा उल्लिखित वनस्पति कुरिलोसम्बद्ध परिवार एस्पारागेसीअन्तर्गतका पोलिगोनाटम् प्रजाति हुन् ।

नेपालमा पोलिगोनाटम् जातिका ११ प्रजाति समुद्री सतहबाट १५ सयदेखि ५ हजार मिटर उचाइसम्म पाइएका छन । चीनमा ३९ प्रजाति छन् । नेपालमा पाइने तर चीनमा नभएका प्रजाति भारत तथा भुटानमा छन् ।

सेतक चिनीका पात तथा बोटको विवरण ‘फ्लोरा अफ चाइना’ भोलम् २४ मा उल्लिखित पोलिगोनाटम् ग्रिफिथी, पोलिगोनाटम् भर्टिसिलाटम र पोलिगोनाटम् सिर्हिफोलियमसँग करिबकरिब मिल्छ । केशवराज राजभण्डारी र सञ्जीवकुमार राई लिखित ‘अ ह्यान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोलम् १’ (सन् २०१७) मा पोलिगोनाटम्का ६ प्रजातिका तस्बिर छन् । पुस्तक वनस्पति विभागले प्रकाशन गरेको हो । त्यसअनुसार पनि सेतक चिनी अर्थात खिरौला पोलिगोनाटम् ग्रिफिथी, पोलिगोनाटम् भर्टिसिलाटम र पोलिगोनाटम् सिर्हिफोलियम् हुन् ।

फोटो खिच्ने तेजेन्द्र कार्कीले ५/६ किसिमका सेतक चिनीको बोट पाइन्छ भनेका छन् । यसका आधारमा पोटिगोनाटम्का सबै प्रजातिलाई सेतक तिनी भन्छन् भन्ने बुझ्नु ठीक होला । कार्कीका अनुसार जडीबुटी खरिदबिक्री फार्म सुर्खेतले खुला कागजमा बेरिएको सेतक चिनीको गाना एक थान वनस्पति विभाग थापाथलीमा पहिचानका निम्ति गत असोज १५ गते बुझाएको थियो । त्यो नमुना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाका तीर्थराज पाण्डेयले अध्ययन गरेका थिए । वनस्पति विभागकी शशिकला गौलीले त्यो नमुना पोलिगोनाटम् प्रजातिको हो भन्ने जानकारी कार्की जडीबुटी खरिदबिक्री फार्म सुर्खेतलाई गराएकी थिइन् । त्यसमा नेपाली नाम खिरौले भनी जनाइएको छ ।

नारायणप्रसाद मानन्धर लिखित ‘प्लान्ट्स एन्ड पिपुल अफ नेपाल’ (सन् २००२) शीर्षक पुस्तकमा पोलिगोनाटम् सिर्हिफोलियम् र पोलिगोनाटम् भर्टिसिलाटम्को चर्चा छ । यी २ मध्ये पहिलो वनस्पतिलाई गुरुङ जातिले ‘प्रिन्टा’ भन्छन् भन्ने लेखिएको छ । यसको जरा गानोलाई बिरामीको उपचारमा टनिकका रूपमा प्रयोग गरिन्छ भनिएको छ । टाकासी वातानाबे, केशवराज राजभण्डारी, कुवेरजंग मल्ल र शोजी थाहारालिखित ‘अ ह्यान्डबुक अफ मेडिसिनल प्लान्ट्स अफ नेपाल’ (सन् २००५) शीर्षक पुस्तकमा पोलिगोनाटम् सिर्हिफोलियम्को रंगीन तस्बिर छ । यसको जरागानो विशेषत: टनिकका रूपमा र पेट अपच रहँदा प्रगोग गरिन्छ भनिएको छ ।

भारतमा पोलिगोनाटम् जातिबारे प्रशस्तै अध्ययन अनुसन्धान भएका छन् । दीपिका भट्ट, रवि कुमार, एलएम तेवारी र जीसी जोशी लिखित ‘पोलिगोनाटम् सिर्हिफोलियम् एन्ड पोलिगोनाटम् भर्टिसिलाटम् : स्टाटस एसेस्मेन्ट एन्ड मेडिसिनल युजेज इन उत्तराखण्ड, इन्डिया’ शीर्षक लेख ‘जर्नल अफ मेडिसिनल रिसर्च’ को २०१४ फेब्रुअरी संस्करणमा छापिएको छ । त्यो लेखअनुसार यी प्रजाति जरागाना भारतका मुख्य आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । चीनमा पोलिगोनाटम् जातिअन्तर्गतका विभिन्न प्रजातिको खेती गरिन्छ । छिमेकी देशमा अत्यधिक प्रयोग गरिने सेतक चिनी नेपालका एकाध पुस्तकमा औषधिजन्य वनस्पति हो भन्नेसम्म लेखिएको छ । नेपालमा औषधिजन्य वनस्पति के कति छन् र तिनीहरूबाट कुन कुन औषधि बनिन्छ भन्ने जानकारी कसैलाई छैन ।

व्यापारीअनुसार गतसाल सेतक चिनीलाई कुकुरदाइने नामक लहराको जरागानो नामबाट छोडपुर्जी दिइन्थ्यो । यसबाट हाम्रो समग्र वनस्पतिसम्बन्धी तथ्यांक, विज्ञको हैसियत तथा भन्सारको अवस्था के कस्तो छ भन्ने सेतक चिनीको वास्तविकताबाट छर्लङिन्छ । अन्तमा, सेतक चिनीका प्रजाति नेपालको पूर्वी तथा मध्य नेपालमा पनि पाइन्छन् तर ती अत्यधिक मात्रामा भएको जानकारी छैन । पश्चिम नेपालमा आलुबारी पूरै ढाक्ने गरी सेतक चिनी पलाउँदोरहेछ ।

सेतक चिनीबाट स्थानीय जनताले मनग्य आम्दानी गर्न सक्दारहेछन् । गत वर्षदेखि चिनियाँ व्यापारीले सेतक चिनी खरिदमा ध्यान केन्द्रित गरेको बताइन्छ । यसैले यसको माग चीनमा अत्यधिक छ भन्ने बुझिन्छ । काठमाडौंमा सेतक चिनी प्रतिकिलो २ हजारभन्दा बढी मूल्यमा खरिद हुने गरेको छ । नेपालको प्रदेश सरकार तथा स्थानीय सरकारले आआफ्ना क्षेत्रमा के कति मात्रामा सेतक चिनी पाइन्छ, तुरुन्तै अध्ययन अनुसन्धान सुरु गर्नुपर्छ । यसलाई दिगो रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने नीति तर्जुमा गरिनुपर्छ ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?