२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मन्त्री बन्नु मान पनि राख्नु

सम्पादकीय

काठमाडौँ — मन्त्री बन्नभन्दा मानमा बस्न कठिन हुन्छ । पद पाउँदैमा सम्मान बढ्दैन । मानसम्मान व्यक्तिको प्रतिभा, संघर्ष र योगदानलाई गरिन्छ । राजनीतिमा लागेकाहरू मन्त्री हुनु मामुली हो, मन्त्री पदसँगै मान राख्नु भने चानचुने होइन । 

मन्त्री लालबाबु पण्डितले विगतमा जुन छवि कमाए, त्यो सजिलो थिएन । २०४८ र २०५६ मा सांसद निर्वाचित पण्डित २०७० मा सामान्य प्रशासनमन्त्री भएपछि सादा जीवन र केही निर्णय/अडानका कारण चर्चित बने ।


डीभी–पीआरधारी कर्मचारीलाई राजीनामा दिन लगाए । त्यस्तालाई कस्न कानुन ल्याए । देशी–विदेशी शक्तिकेन्द्रसँग जुधेर उच्च अधिकृतहरूका सरुवा हुन रोके । दुवै विषयमा उनले मन्त्रिपरिषद्मा समकक्षीको दबाब झेले । त्यसबापत प्रशंसित पनि भए ।


पण्डितको सादगीबाट प्रभावित भएर जनताले गत वर्ष आम निर्वाचनमा प्रचारप्रसार खर्चसमेत जुटाइदिए । कार्यकर्ता आफ्नै खर्चमा खटिए । अरूले लाखौं, करोडौं खर्च गरेका बेला उनले भने सम्भवत: शून्य पैसामा चुनाव जितेर वाहवाही पाए ।


उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा सवारीसाधनका नाममा पुरानो साइकल देखाएका थिए । बस, टेम्पो, साइकल चढ्ने तिनै व्यक्ति मन्त्री बनेपछि निवासदेखि सचिवालयसम्म गाडीको लस्कर ! झट्ट सुन्दा पत्याउनै गाह्रो ।

मन्त्रीले नियमअनुसार दुईवटा झन्डावाल गाडी मात्र पाउँछन् । उनले भने पत्नी, स्वकीय सचिव, निजी सचिव र कार्यकर्तासम्मलाई गाडी उपलब्ध गराएका छन् । घरायसी कामका लागि पनि गाडी, चालक र इन्धन ।

दुइटा गाडी चढ्ने गरेको त उनी आफैंले सकारेका छन्, निवासमा थप दुई गाडी । मन्त्रालय मातहतको गाडी पनि मन्त्रीकै मान्छे/कार्यकर्ताले दुरुपयोग गरिरहेछन् ।


शक्तिशाली पदमा पुगेर राज्यशक्ति दुरुपयोग गरेका आयाराम–गयारामहरूको सूची लामो छ, साधारण र स्वच्छ जीवन जिउनेहरू थोरै । भनिन्छ– मानिसको असली स्वभाव अवसर पाउँदा प्रकट हुन्छ । उहिले साइकल, अहिले कारहरूको लस्कर । कतै यो द्वैध चरित्र त होइन ? हो भने विकृतिविहीन राजनीतिको कामना गर्ने सबैका लागि दु:खको विषय हो ।


नियम–कानुनले दिने, सम्पत्तिको स्रोत खुल्ने सुविधाभोगलाई अन्यथा भन्न मिल्दैन । सार्वजनिक खर्च मापदण्ड र कार्यविधिभित्र बसेर गर्नुपर्छ । मितव्ययिता यसको सिद्धान्त हो । वर्षौं इमानको राजनीति गरेका भनिएकाहरूले सुहाउँदो व्यवहार पनि गर्नुपर्छ ।


समाजका आफ्नै दु:ख हुन्छन् । बेथितिले गाँजेको समाजले नायक खोजिरहन्छ । आफ्ना सपना त्यस्ता नायकमा आरोपित गर्छ । कतिले आफ्नो सपनाको नेतृत्व उनीहरूलाई सुम्पिन्छन् । कति आफ्ना आदर्श पात्रलाई सधैं त्यही रूपमा हेरिरहन चाहन्छन् । कदाचित् त्यस्तो व्यक्तिको छवि खस्किए धेरैको मनमा ठेस पुग्छ, निराशा छाउँछ । सबै यस्तै हुन्, यी पनि उस्तै रहेछन् भन्ने मनोविज्ञान पलाउँछ । त्यस्तो भावना अग्रगमनको बाधक बन्छ ।


परपीडामा रमाउनेहरू भएको समाज धान्न झन् गाह्रो हुन्छ । आदर्शवान् व्यक्ति तल खस्दा रमाउनेहरू बाहिर ठिक्क पार्छन् । असल मानिस थोरै हुन्छन् । तिनलाई ठम्याउन र जोगाउन समाजको भूमिका अहं हुन्छ । सार्वजनिक पदमा पुगेपछि पनि असल रहिरहने झनै कम छन् । कहीँ–कतै चिप्लिएका हुन सक्छन् । त्यस्ताको उजागर गर्नुपर्छ । असलपनको संरक्षण पनि गर्नुपर्छ ।


सार्वजनिक पदधारीलाई निजी जीवन बाँच्नेलाई जस्तो छुट हुँदैन । उनीहरू आफूमात्र असल भएर पुग्दैन । एक्लै असल बन्न सकिँदैन पनि । वरिपरिका पात्र पनि असल नै राख्नुपर्छ । आफ्ना मानिसले गरेको गल्तीको अपजस भोग्न तयार हुनुपर्छ ।


मन्त्री पण्डितले भन्दा बढी स्रोत–सुविधा दुरुपयोग गरेका पात्र कति छन् कति । ती सबैसँग समाजले खासै भरोसा राखेको हुँदैन, विधिको शासन स्थापित होस् र यिनीहरू ठेगान लागुन् भन्नेबाहेक । पण्डित जस्तासँग समाजले आफ्नो विश्वास अड्याएको हुन्छ । उनले आफूप्रतिको विश्वासको पर्खाल ढल्न दिनु हुँदैन । मान नरहे मन्त्री कुनै जिम्मेवारीको पद हुँदैन । जथाभाबीको पर्याय हुन्छ ।

प्रकाशित : कार्तिक २१, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?