१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मधेस राजनीतिक खेलमैदान

मधेस सबै शक्तिकेन्द्रको राजनीतिक खेल मैदान भएको छ । यसबाट मधेसले आर्थिक अवसर गुमाउने जोखिम छ ।
विजयप्रसाद मिश्र

काठमाडौँ — पछिल्लो समय प्रदेश नं. २ को नामकरण के गर्ने र राजधानी कहाँ बनाउने भन्ने चर्चा चुलिएको छ । मधेस केन्द्रित पार्टीहरू बीचमा यसमा एकमतैक्य छैन । मधेस नभएर मिथिला राख्नुपर्ने कुरा पनि चलिरहेको छ । मिथिला वा विदेह राज्य नामकरण भोजपुरावासीले नस्वीकार्ने देखिन्छ ।

नामकरणका सन्दर्भमा मधेसी कथित उच्च जातिका रूपमा परिचित झा, मिश्र, कायस्थ, कर्णहरूको मधेसप्रतिको चिन्तन र पिछडा वर्ग तथा मधेसी दलितहरूको चिन्तनमै फरक–फरक धार देखिएको छ ।

अहिले प्रदेश २ सरकार आफैं आन्दोलनमा रहेजस्तो देखिन्छ । प्रदेशको सार्वजनिक विदाका दिन उसले संघीय राज्य अन्तर्गतका कार्यालय बन्द गराएको र प्रदेशसभाले पारित गरेको प्रहरी ऐन चचाका विषय बनेका छन् । जहाँ सरकार आफै आन्दोलनमा जानुपर्ने अवस्था छ, त्यहाँको राजनीतिक धारहरूको अवस्था कस्तो होला ?

भारत जस्तो गणतन्त्र चाहनेदेखि चीनजस्तो साम्यवादी गणतन्त्र चाहनेहरू यही मधेसी समुदायमा छन् । जातीय रूपमा राजनीति गर्नेदेखि वर्गीय आधारमा राजनीति गर्नेहरू पनि छन् । अपराधी समूहको संरक्षणमा राजनीति गर्नेदेखि शानशौकतका लागि पद लोभ नगरी राजनीति गर्ने संस्कारी राजनीतिज्ञहरू पनि छन् ।

गलत कारोबारलाई ढाकछोप गर्न राजनीति गर्नेहरू पनि मधेसमै छन् । मधेसी मूलका आदिवासीदेखि थारु जातिको राजनीतिक धार पनि फरक छ । यहीं मधेसी दलितको धार छुट्टै छ । विखण्डनवादीदेखि राष्ट्रवादीसम्म मधेसी समुदायमा छन् । संघीय राज्य चाहनेदेखि राजतन्त्र चाहनेहरू पनि मधेसी मूलका नेताहरू छन् । हतियारमा विश्वास गर्नेदेखि निर्वाचनमा विश्वास गर्ने समूह पनि यहीं छन् ।

विभिन्न खाले स्वार्थ बोकेका मानिसको कि घुसपैठ हुन्छ, कित कसैबाट प्रभावित भएर आपसमा फुट्छन् । यो रोग मधेसी समुदायको राजनीतिक धारमा देखिन्छ । एउटा पार्टीमा जीवनभर लागेको व्यक्ति निर्वाचनमा टिकट नपाउँदा रातभरमा अर्को पार्टीमा जाने र निर्वाचन जित्नेहरू पनि यहीं मधेसमा छन् । कहिले पुरानो दरबारबाट त कहिले भारत, चीन र अमेरिकाबाट कुनै राजनीतिक धारलाई प्रभावमा पारी फुटाउने र जुटाउने खेल भैरहन्छ ।

मधेस सबै शक्तिकेन्द्रको राजनीतिक खेल मैदान भएको छ । धेरै राजनीतिक धार भएकैले अन्नको भण्डार मधेस आर्थिक संकटको भूमि बन्दै गएको छ । मधेसका लागि चिन्ता गर्नेहरूले समयमै नसोचे मधेसको सहर केन्द्रित बसाइँ–सराइको प्रभाव गाउँ, हुलाकी सडक आसपासको पुरानो बजारलाई पर्नेछ । यसबाट मधेसीका आर्थिक अवसरहरू गुम्दै जानेछ ।

प्रदेश नंं. २ ले आफैले सुरक्षाकर्मी भर्ना गर्न जहिलेसम्म पाउँदैन, तबसम्म सुरक्षा निकायले यसको सरकारलाई टेर्ने छैन । यसले दण्डहीनताले प्रश्रय पाइरहनेछ र अपराधको उर्वर भूमिका रूपमा मधेस फस्टाउनेछ । मधेसी युवाहरू सुरक्षा र आर्थिक समस्या समाधानका लागि विदेशिने क्रम झन्–झन् बढ्नेछ । पहुचबिना सुरक्षा निकायमा भर्ना हुन सकिँदैन भन्ने मधेसको मानसिकताले सुरक्षा निकाय र मधेसी समुदाय बीचको दूरी झन््–झन् बढ्नेछ । न्याय दिने निकायप्रति अविश्वास भएपछि समाजको संगठन, कानुनी दायरा र न्याय माग्ने प्रचलन हटेर बदलाको भावना जागृत हुनेछ । यसले मधेसलाई कहाँ पुर्‍याउँला ?

सिरहाका वेदानन्द झाले गठन गरेको तराई कांग्रेसले पहिलोपटक नेपालमा संस्थागत रूपमा मधेसी मुद्दालाई उठाएको थियो । त्यसपछि गजेन्द्रनारायण सिंहको पूर्वाञ्चल कांग्रेसदेखि नेपाल सद्भावना पार्टीसम्मको यात्रा, माओवादीको इसारामा गठित उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, माओवादीभित्र मातृका यादवको मधेस केन्द्रित आवाज, महन्थ ठाकुरको नेपाली कांग्रेसबाट बहिर्गमन हुँदासम्म मधेसको राजनीतिक नदीमा धेरै पानी बगिसकेको छ । पछिल्लो समय सीके राउतको हाउगुजीले फेरि सिंगो नेपालमा मधेसको बहस सुरु भएको छ ।

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले मधेसी र पहाडी जनजाति मिलेर नेपाली सत्ताविरुद्ध आन्दोलन गर्नुपर्छ भनेर दिएको सन्देशलाई उपेन्द्र यादवले अनुशरण गरेर आफू नेतृत्वको पार्टीलाई राष्ट्रिय पार्टी बनाउने कसरतमा लागेको देखिन्छ । तर पछिल्लो गतिविधिले उनले पहाडी जनजातिलाई पाखा लगाउन खोजेजस्तो देखिएको छ ।

परराष्ट्र नीति, सेना र मुद्रा प्रकाशन केन्द्रीय सरकारले गर्ने र अन्य मामलामा प्रदेशलाई आत्मनिर्णयको अधिकार दिने हो भने प्रदेश नं. २ को सरकार आफैले आन्दोलन गर्नुपर्ने अवस्था हट्नेछ । एउटा संगठनलाई तह लगाउन वा राजनीतिक अस्थिरता कायमै राखी सत्ताको सुखसयलमा रमाउने नीति राज्यसत्ताले लिए मधेसमा अराजकता कायमै रहनेछ । मधेसमा फेरि पनि पिछडा वर्ग, मधेसी दलित, मुस्लिम, थारुलाई खोइ अधिकार भनेर उकास्ने परिपञ्चमा लाग्ने नियोजित तत्त्वहरूको पहिचान हुन आवश्यक छ । त्यस्तो गतिविधिका पछि लाग्नुभन्दा मधेसी समुदाय आफैले आफ्ना लागि साझा गन्तव्य खोजी गर्नुपर्छ । मधेसका सबै वर्ग आफै मिलेर बनाएको नीति मधेसका लागि हितकर हुन्छ ।

मधेसमा मधेसीलाई अप्ठेरो पर्ने खालका आन्दोलनका स्वरूप तय गर्नुहुन्न । मधेसी समुदायलाई प्रेरणा दिने र मधेसी नागरिकप्रति सकारात्मक भावना फैलिने स्वरूपका आन्दोलन हुनुपर्छ । एकमुस्ट असम्भव माग राखेर सडकमा उफ्रिनुभन्दा मधेसी नागरिकको दैनिक जीवनमा परिरहेका अप्ठ्यारा विषय समाधान आन्दोलनको एजेन्डा बनाइनुपर्छ । आत्मसम्मानका लागि राजनीतिक आन्दोलनले मात्र पुग्दैन, सामाजिक आन्दोलन, किसान आन्दोलन वा आर्थिक आन्दोलन पनि गरिनुपर्छ ।

आन्दोलनलाई अराजक बनाउन घुसपैठ हुनसक्ने सम्भावनाको हेक्का राख्नुपर्छ । मधेसमा नयाँ विकल्प आवश्यक छ । आन्दोलनको सफलता हत्या र घाइतेको संख्याका आधारमा ठान्ने परम्परागत शैली अन्त्य हुनुपर्छ । तोडफोड, आगलागी, हत्याहिंसा भए मात्र समाचार बनाइदिने मूलधारका मिडियाले पनि आफ्नो रणनीति फेर्नुपर्छ । समाचार बन्नकै लागि आन्दोलनलाई अराजक बनाउने जमातलाई मिडियाले वैकल्पिक आन्दोलनको बाटो देखाउन सक्छ ।

गौतम बुद्ध, महात्मा गान्धी शैलीको आन्दोलन, सोसियल मिडियाबाट गरिने आन्दोलन, नैतिक र मानवीय धरातलमा रहेर गरिने आन्दोलन, दैनिक मजदुरी गरेर हातमुख जोर्नेहरूको जीवनलाई असर नपर्नेगरी गरिने आन्दोलन, नेताहरू भाषणमा भन्दा गाउँघरको पुनर्जागरणका गतिविधिमा संलग्न भएर गरिने आन्दोलन आवश्यक छ । यस्ता आन्दोलनको स्वरूप परम्परागत आन्दोलनको लत बसेकाले बनाउन सक्दैन । यसमा रोजगारीका लागि विदेश गएका युवा, अध्ययनशील युवा, मधेसप्रति चिन्तित जमातको सक्रियता आवश्यक छ ।

लेखक त्रिभुवन विश्वविद्यालयबाट मधेस आन्दोलन सम्बन्धी विषयमा विद्यावारिधि हुन् ।

प्रकाशित : कार्तिक २२, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?