कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रैथाने लोकतन्त्रको झिल्को

डेटलाइन तराई
जुन रैथाने लोकतन्त्रको झिल्को लोकपर्वका बेला झल्किन्छ, त्यो सबैका लागि, सधैंका लागि अनुकरणीय हुन्छ ।
चन्द्रकिशोर

काठमाडौँ — हिजो कात्तिक अमावास्याका दिन दीयाबाती (दीपावली) मनाइयो । दीयाबातीलाई सुकराती (सुखरात्रि) पनि भनिन्छ । यस दिन रातिको तेस्रो प्रहरमा मधेसतिर महिलाहरूले नाङ्गलो ठट्टाउँदै आफ्नो घरको परिक्रमा गर्छन् । यसक्रममा उनीहरू भन्छन्, ‘अन्नधन लक्ष्मी घर आऊ, दारिद्र बाहर जाऊ ।’ यसको आशय हुन्छ, ‘धन’ घरमा भित्रियोस्, गरिबी टाढा जाओस् ।

रैथाने लोकतन्त्रको झिल्को

कतिपयले कात्तिक महिनाभरि आकाशदीप दान गर्ने गर्छन् । यसका लागि दीप बालेर एउटा अग्लो बाँसमा झुन्ड्याइने गरिन्छ । यी पर्वहरूको मौका छोपेर जुन उज्यालोको खोजी गरिन्छ, त्यो सुखको चाहना हो ।

छठ मधेसी पहिचानको पर्व हो । यसबाट जुन सांस्कृतिक पहिचान उदाएको छ, त्यसको कारण मुलुकभित्र मधेसको एउटा अलग चिनारी बनेको छ । छठ पर्व पछिल्ला केही दशकभित्र समावेशी लोकपर्वको रूपमा परिवर्तित हुँदै गएको छ । कुनै सरकारले सहयोग गरोस् वा नगरोस्, कति दिनको सार्वजनिक छुट्टी पाइयो, त्यसको पनि अर्थ छैन ।

कुनै गैरसरकारी संस्थाले सघाउ पुर्‍यायो कि पुर्‍याएन, त्यसको पनि कुनै वास्ता छैन । देहातदेखि सहरसम्म लाखौं मान्छे जलाशय र सडकको सफाइमा स्वस्फुर्त देखापर्छन् । छठ पर्व पोखरी वा नदीको किनारमा हुने भएको हुनाले त्यसको सरसफाइ गरिन्छ । मधेसी समाजमा प्रत्येक संस्कार पानीसंँग अभिन्न रूपमा जोडिएको छ । पानीसंँग जोडिने यो संस्कार कसैले सिकाएर सिकेको होइन । छठ पर्वको अवधिमा खुला आकाशमुनि सूर्यप्रति कृतज्ञता ज्ञापनका लागि सहज कृषि उत्पादन प्रसादको रूपमा चढाउनु नयाँ सिकाइ होइन ।

छठको पदचाप आउनै लाग्दा स्वच्छता र पवित्रताप्रतिको सजगता स्वस्फुर्त सुरु भइहाल्छ । यसका लागि कुनै सरकारी उर्दी जारी गरिएको हुँदैन । टोल–टोल, बस्ती–बस्तीबाट हजारौंको भिड विना कुनै प्रहरी, आफै अनुशासनबद्ध भई घाटमा गएर अघ्र्य दिन पुग्छन् । गाउँ–बस्तीवाट टाढा जलाशय किनारमा जाग्राम बस्छन् । र यो सबै चाँजोपाँजो समाजले आफै मिलाएको हुन्छ । यो लोकपर्व विना कुनै पुरोहित र कर्मकाण्ड सम्पन्न गरिन्छ ।

जलाशय किनारमा विना कुनै जातीय, धार्मिक, वर्गीय एवं लिङ्गीय विभेद एकै थलोमा प्रकृतिको आराधना गर्न पुग्छन् । यो जुन रैथाने लोकतन्त्रको झिल्को लोकपर्वका बेला झल्किन्छ, त्यो सबैका लागि सधैंका लागि अनुकरणीय हुन्छ । यो अनुकरणीय भएर नै होला, विना कुनै राज्यप्रश्रय यस पर्वले नेपाली समाजमा भूगोल र समुदायको सीमालाई उछिन्दै गएको छ । छठ समाजलाई जोड्ने माध्यमको रूपमा देखापर्दै गएको छ । गणतान्त्रिक समाजलाई जोड्ने केही परम्परा, संस्था र आधुनिक दृष्टि हुन्छ । त्यसमध्ये एक छठ पर्व देखिएको छ ।

छठले जुन समाजलाई परिचय दियो, त्यही समाजभित्र यो लोकपर्वसंँग जोडिएको सन्देश कुन रूपमा पिँmजिएको छ ? पर्वका बेला खासगरी मधेसी समाजमा देखिएको आफैभित्रको रचनात्मकता कति दिगो रहन्छ ? छठको पूर्वसन्ध्यामा जुन जागरुकता देखापर्छ, त्यो छठपछि कतिको कायम रहन्छ ? छठपछि पोखरी र नदी किनारमा हेरियो भने केराको थाम जथाभावी फालिएको, प्लाष्टिकका सामग्री छरपस्टिएको भेटिन्छ ।

जुन जलाशय र त्यसको किनारलाई एक दिनको लागि सफा गर्ने कोसिस गरियो, त्यो छठ सम्पन्न भएपछि फेरि त्यो दायित्वलाई बिर्सिन्छन् किन ? ह्वात्तै बढेको महँंगी र गुणस्तरहीन सामग्रीको बिक्रीलाई छठमा आस्था राख्नेहरूले कसरी स्वीकार्छन् ? यो प्रश्नको उत्तर यतिखेर खोज्नुपर्छ । आज मधेसको जुन छवि छ वा जुन सामुदायिक अकर्मण्यता छ, त्यसका लागि मधेसीजन जिम्मेवार छ । राज्यसँंग जोडिएका सवाल र त्यसैसँंग गाँसिएको उन्नतिको अन्योन्याश्रित सम्बन्ध त छँदैछ, तर समुदायको आफ्नो पनि जिम्मेवारी हुन्छ । छठ पर्वलाई के सामुदायिक जागरण पर्वको रूपमा रूपान्तरण गर्न सकिंँदैन ?

मधेसले आफ्नो प्राचीन संस्कृतिमाथि गर्व गर्न सक्छ । मधेसका प्रत्येक वासिन्दाले आफ्नो शानदार अतीतमाथि गौरव गर्न सक्छ र प्रेरणा लिन सक्छ । यो क्षेत्र सधैं जुझारु र गतिशील छ । यो सही हो कि लामो समयसम्म विकासका लागि संसाधन प्राप्त गर्नमा मधेसले पक्षपातको सामना गर्नुपरेको छ । केन्द्रले मधेसलाई आन्तरिक उपनिवेशको जस्तो व्यवहार गर्दैै आयो । यी कुरा भनिराख्दा मधेसले कतिपय सवालमा आफैले आफैतिर घोत्लिएर हेर्नु पर्नेछ ।

छठ पर्व यसका लागि उपयुक्त अवसर हुनसक्छ । भ्रष्टाचारको संकट, जातिवादीको उन्माद, उपभोक्तावादको मोह तथा अपराधीकरणको बढ्दो प्रवृत्तिले समाजलाई रोगग्रस्त गरिदिएको छ । जबसम्म यी व्याधिहरूको उन्मूलन गरिँदैन, तबसम्म समुचित सामाजिक एवं राजनीतिक वातावरण तयार हुँदैन । लोकतन्त्रको जरो मजबुत हुँदैन र आम नागरिकले सम्मानको जीवन जिउन पाउने मौलिक अधिकारको सुरक्षा हुँदैन ।

जबसम्म कुनै समाज स्वयंलाई नयाँ परिस्थिति अनुरूप आफूभित्र बदलाव ल्याउन सक्षम हुँदैन, तबसम्म विकासको प्रक्रिया प्रभावित हुँदै जान्छ । मधेसको सामाजिक तथा आर्थिक ढाँचा तुलनात्मक रूपमा कठोर छ । यसले गर्दा अन्य क्षेत्रमा हुने परिवर्तनलाई यसले सहजै स्वीकार गरिरहेको हुँदैन ।

मधेसका औसत व्यक्ति आफ्नो जीवन सामाजिक तथा पारिवारिक बाध्यताहरूमाझ विवाह, श्राद्ध, मुद्दामामिलाबाट सुरु गर्छ र त्यसैमा अल्झिरहन्छ । यस प्रक्रियामा ऊ केवल दायित्वको बहन गरिरहेको हुन्छ । यसले गर्दा आफैभित्रको उत्पादक सम्पत्ति सिर्जना गर्ने रचनात्मकताले ठाउँ नै पाउँदैन । त्यसैले सामाजिक जडताबाट उन्मुक्तिका लागि पनि राज्यका कानुनसंँगै यस्ता पर्वहरूको अभिन्न हिस्साको रूपमा सामाजिक सुधारलाई सामेल गर्न आवश्यक छ ।

मधेसमा उन्नतिलाई सामाजिक प्रश्न बनाउन केही साहसी कदम निश्चित रूपमा उठाउनैपर्छ । विभाजित सामाजिक बनावटलाई अविभाजित तथा विदेभरहित सामाजिक संरचनाको रूपमा विकसित गर्नुपर्ने हुन्छ ।

‘विकास र उदारीकरण’ जस्ता शब्द नत कहिल्यै मधेसी समाजको राग बन्यो, न यसले तालमेल मिलाउन सक्यो । जुन नतिजा यी शब्दहरूको भ्रामक अर्थबाट बने, बन्दै आयो, त्यो स्थुल र खोक्रो थियो । मधेसको पछौटेपनलाई यसले झन गाँज्दै लग्यो । आज आवश्यकता छ, यी शब्दहरूको नतिजा बुझ्न र त्यस्तो खतरा जसले आफ्नो नयाँ संस्कृतिको गर्भबाट यस्तो व्यवहार सिकायो कि नदी, पोखरी र इनारहरू फोहोर गर्दै गइयो र पुर्दै गइयो ।

परिदृश्यमा एउटा तनाव देखियो– गाउँ र सहरबीच, खेती र उद्योगबीच, बञ्चित र बर्चस्वशालीबीच । पानीका स्रोतहरू सुक्दै जानुले पानीका निम्ति द्वन्द्व हुने स्थिति आयो । ‘पानी बजार’ अस्तित्वमा आयो । यो पानी बजारले नै पानीको लुटलाई मौलाएको छ । पानीको शोषण, प्रदूषण र अतिक्रमणकारी मानसिकताले मधेसको मूल पहिचानमाथि नै प्रहार गर्ने र संकट निम्त्याउँदैछ ।

मूलत: छठ पर्व पुर्खासँंगको संवादको प्रक्रिया हो । पुर्खाहरू जसले जलाशयहरूलाई निर्मल र अविरल राखिदिएका थिए । पुर्खाहरूले छठ पर्वलाई यसरी निरन्तरता दिए, जहाँ ग्रामीण अर्थतन्त्रले दिगोपना पाउँथ्यो र परस्पर सामुदायिक निर्भरतालाई अभिप्रेरित गथ्र्यो । यसकारणले नै होला, छठ पर्वले प्रकृतिको पूजा, नदी धर्म वा निर्मलताप्रतिको निष्ठाको रूपमा उपमा पाउँदै आएको छ । के हामी यो लोकपर्व फैलिँंदै गएको आत्मरतिमा यसका मूल भावलाई संँगाल्ने प्रयत्न गरिराखेका छौं ? मधेसी समाजमा फैलिँंदो जडता, गँुड बनाउँदै गएको बजारु आधुनिकता र देशज ज्ञानको उपेक्षाबाट आन्दोलित हुने र त्यसका लागि समर्पित जुर्मुराहट देखिनुपर्ने होइन र ?

मधेस जहाँ वर्षौंदेखि संघर्ष हुँदै आएको छ । अनेकौं प्रकारका रुढीवाद, वर्जना र उपेक्षाका सिकार हुँदै आएका मधेसीजनमा आफ्नो पराधीनताको यथार्थबारे गहिरो अनुभूति छ । समाज व्यवस्था भलै सामन्ती ढाँचा र सोचमा ढल्दै आएको भए पनि यससँंग जुध्ने तथा यसमा आफू हुनुको अर्थ खोज्ने तत्परता पनि देखिने गरेकै हो । अहिलेको हाँक भनेको त्यो तत्परतालाई फराकिलो बनाउँदै दिगोपना दिँदै जाने र त्यसलाई सामाजिकीकरणको स्वरूप प्रदान गर्ने हो । सुखप्रतिको चाहना अनि पो शाश्वत हुन्छ । छठलाई आरोग्य र उन्नतिदायक पर्वका रूपमा हेर्ने हो भने त्यो पर्यावरणीय र सामाजिक तन्दुरुस्तीको रूपमा प्रकट हुनुपर्छ ।

प्राय: कम खर्चिलो छठ पर्व जो आफू नसके भिक्षा मागेर पनि गर्न सकिने रीति छ । त्यसैले होला, कसैले पनि अरूसँंग माग्न असहज नमानुन्, त्यसका लागि कमसेकम ७ परिवारमा जोकोही व्रती परिवारले माग्नैपर्ने प्रावधान छ । तर यतिखेर विस्तारै बजारले छठ पर्वलाई आफ्नो नियन्त्रणमा लिन थालेको छ । सादगी र सूचीताको यो लोकपर्व आफैमा एउटा ‘बजार’ हुँदै गएको छ । यसबाट नजोगाइए, यसले लोकपर्वको गरिमा थेग्न सक्दैन । नदीसंँग जनलाई जोड्ने, प्रकृतिसंँग लोकलाई जोड्ने, पर्यावरणसँग समुदायलाई जोड्ने यो लोकपर्व छठ शोषण र प्रदूषणमुक्त प्रकृतिलाई पोषण गर्ने पर्वका रूपमा देखापरोस् । यसले साँच्चिकै अर्थमा समृद्धि दिन्छ र त्यो नै सुख हुन्छ । प्राकृतिक पोषणविना जतिसुकै गरे पनि दारिद्रय भाग्दैन । नयाँ–नयाँ रूप र भेषमा त्यो घर, आँगन र खलिहानमा भौंतारिनै रहन्छ ।

[email protected]

प्रकाशित : कार्तिक २२, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?