२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

ऋतुहरूमा हाम्रा चाड

सम्पादकीय

काठमाडौँ — हाम्रा सम्पदामा प्रकृति, पर्यावरण र मानव सभ्यताको सुमधुर मिलन भेटिन्छ । तिनका अंश पाइन्छन्, चाडपर्व तथा संस्कृतिमा । हरेक ऋतुका आफ्नै चालढाल छन्, आफ्नै चाड छन् । यी प्रकृतिपरक जात्रा र चाडपर्व हाम्रो सभ्यताका बिम्ब हुन् । 

ऋतुहरूमा हाम्रा चाड

ऋतुमध्ये शरद विशेष छ । न जाडो न गर्मी । रमाइलो, घमाइलो र पारिलो । थरीथरी फूल फुलेका । अनेक फल फलेका । बाली पाकेका । प्रकृतिको सौन्दर्य र खाद्य सुरक्षाको प्रत्याभूति, दुवै आनन्द एकसाथ ।


मौसम र माहोल उत्सवमय । यही छेकोमा पर्छन्– दसैं, तिहार, म्ह: पूजा, छठ । दसैं सकिएको दुई साता बित्यो । तिहार मनाइरहेका छौं । छठ सामुन्ने छ ।


तिहार झिलिमिली छ । फूलको झिलिमिली प्रकृतिले दिएकी छन् । बत्तीको झिलिमिली हामीले थपेका छौं । घर, आँगन, चोक सिँगारेका छौं । आफ्नै मौलिक बाजा मादल घन्काउँछौ । त्यसकै तालमा देउसी–भैलो खेल्छौं ।


दाजुभाइ र दिदीबहिनी आत्मीयता बाँड्छौं । दीर्घायु कामना गर्छौैं । हरेक चाडमा किंवदन्ती जोडिन्छन् । यिनले केही सन्देश बोकेका छन् । तिहारसँग बलि राजाको दान महात्म्य जोडिएको छ ।


तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । अर्थात् यमपञ्चक । पाँचै दिन बत्ती बालिन्छ । विशेष गरी लक्ष्मीपूजाको बेलुकी ।


यमपञ्चकका हरेक दिनको विशिष्ट अर्थ छ । पहिलो दिन कागको पूजा गरिन्छ । यमराजको सन्देशवाहक दूतका रूपमा पुजिने यो गुणकारी पन्छीले पर्यावरण सफासुग्घर राखेर हामीलाई सघाउँछ ।


दोस्रो दिन कुकुर पूजा । यमराजकै अर्को दूत मानिन्छ कुकुर । मानिसको सबैभन्दा पुरानो अर्थात् नवपाषाणयुगीन साथी । हाम्रो घरसम्पत्तिको भरपर्दो रखवाला । उसको यही योगदानको कदर गरिने दिन ।


तेस्रो दिन गाई तिहार । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । चौथो दिन गोरु– तिहार । हाम्रो परम्परागत कृषि–सहयोगीलाई सम्मान गर्ने अवसर । गाई–गोरुसँग संगतपछि नै मानिसले सिकारबाट जीवन चलाउनुपर्ने दिन सकिएका थिए । कृषियुग सुरु भएको थियो ।


यी चाडले हाम्रो सभ्यताचक्र पनि सम्झाइरहेका छन् । पुर्खाको संघर्ष र तिनका साथी–सहयात्री बिर्सन दिएका छैनन् । पाँचौं दिन भाइटीका । दाजुभाइ–दिदीबहिनीको आत्मीय पर्व । एकअर्कालाई टीका लगाइदिई सुस्वास्थ्य र दीर्घायु कामना गर्छन् ।


गोरुतिहारकै दिन गोवद्र्धन–पूजा पनि । हाम्रो मौलिक संवत्को नयाँ वर्षारम्भ । शासक होइन, सर्वसाधारणले चलाएको मानिने नेपाल संवत् । किंवदन्तीअनुसार विसं ९३७ मा शंखधर साख्वाले चलाएको संवत् । यसै दिन नेवारहरूको ‘म्हपूजा’ हुन्छ । आफ्नै शरीरको पूजा । आफ्नै अन्तरात्माको पूजा । आफैंभित्र हुन्छ देवता, आफैंभित्र दानव । आफ्नै अन्तरात्माभित्र हुन्छन् परमात्मा ।


म्हपूजा संस्कृति आफैंमा विशिष्ट छ । अद्वितीय पनि । चान्द्रमासमा आधारित नेपाल संवत् नेपाली संस्कृति तथा परम्परासँग भिजेको छ । नयाँ वर्षको पहिलो दिन आफ्नो शरीरको पूजा गर्नुको अर्थ विशिष्ट छ ।


नेपाल भाषामा म्हको अर्थ शरीर । मल्लकालतिर काठमाडौं उपत्यकाको यो आमपर्व थियो । त्यसबेला जो काठमाडौं उपत्यका प्रवेश गर्थे, सबै यहाँको भाषा, संस्कृतिसँग नजिक हुन्थे । आफूलाई त्यसैअनुसार ढाल्थे ।


नेपाल संवत्का आधारमा लक्ष्मीपूजा वर्षको अन्तिम दिन । सालतमामी । व्यापारी–व्यवसायीका लागि व्यक्तिगत आर्थिक वर्ष अन्त्य हुने दिन । भोलिपल्ट नयाँ संवत् सुरु, नयाँ आर्थिक वर्ष ।


आजभोलि धेरै कारणले कतिले आफ्नो आर्थिक वर्ष फरक समयमा मनाउँछन् । केही अगाडिसम्म लक्ष्मीपूजाकै दिन सालतमामी गर्ने प्रचलन थियो । आजभोलि सांकेतिक रूपमा गरिन्छ ।


म्हपूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्ट देवताको पूजा गर्छन् । हिन्दु नेवारले बलि राजाको । दुवै पूजाको मूल आशय दान, शील र त्यागको भावना । मानिसले आफूलाई सबै प्राणीको हित र उद्धारमा लगाओस् भन्ने कामना ।


शरीर पूजाका क्रममा मण्डल बनाइन्छ । खेलुइता: बालिन्छ । हाम्रो जीवन पञ्चस्कन्ध र पञ्चतत्त्वले बनेको मानिन्छ । मानिस मृत्युपछि यही पृथ्वीमा विलीन हुन्छ । एक अर्थमा शून्यमा विलीन । मानिसको जीवन वास्तवमै शून्यजस्तै हो । मण्डल र खेलुइता: ले यही भाव प्रकट गरिरहेका हुन्छन् । खेलुइता: अर्थात् लामो बत्ती, अनुहारको लम्बाइबराबर । अनुहारले व्यक्तिको बाहिरी परिचय दिन्छ । खेलुइता: बाल्नुको अर्थ चारैतर्फ प्रकाश छर्न सक्नु हो । बलिसकेपछि यो खरानी हुन्छ । यसको अर्थ– हाम्रो शरीर पनि

एक दिन यसै गरी समाप्त हुन्छ । तसर्थ, आफूभित्रको लोभ, मोह, तृष्णा, लालसा त्यागेर सबै प्राणीको उद्धार गर्न सकौं भनेर म्हपूजा गरिन्छ ।


कार्तिक शुक्ल षष्ठीका दिन छठ मनाइन्छ । आस्था र सहअस्तित्वको पर्व । मधेसी समुदायले सघन रूपमा मनाउने यो पर्व अचेल प्राय: सबै मधेसवासीले मनाउँछन् । बिस्तारै पहाडमा पनि यसको रौनक बढ्दो छ ।


यो पर्वले मानव र प्रकृतिबीच हराउँदै गएको संवाद–सम्बन्धलाई कस्न सघाउँछ । नदी तथा पोखरीमा बसेर सूर्यको पूजा गरिन्छ ।


सूर्योपासनाको परम्परा ऋग्वैदिक हो । यसकै एउटा रूप छठ । सृष्टि, पालन र संहार तीनै क्षमता सूर्यमा छ । हाम्रो जिन्दगीलाई सिँगार्ने शक्ति पानीमा । तसर्थ पानीमा बसेर सूर्य पुज्नुको विशेष अर्थ छ । मानिस र प्रकृति भेटको ।


पर्यावरणका दृष्टिले पनि यसको महत्त्व छ । वर्षा ऋतुमा हिलाम्य बनेका जलाशय सफा गर्ने अवसर यसले दिन्छ । समावेशिता र सह–अस्तित्वको पर्व बनेको छ छठ । सबै जात, धर्म र क्षेत्रका मानिस सँगसँगै बसेर मनाउँछन् । यो एकता पर्वले पारस्परिक प्रेम, सद्भाव र सहअस्तित्व सिकाउँछ ।


यी चाड हामीलाई बढी सामाजिक बनाउने, सामुदायिक भावना विकास गर्ने, संस्कार र सभ्यतासम्मत तुल्याउने अवसर हुन् । ऋतुजन्य चरित्रका यी चाडले हामीलाई आफ्नोसहित सगोल र भूगोलको हित हेर्ने चाख दिइरहून् । सबैलाई हार्दिक शुभकामना ।

प्रकाशित : कार्तिक २२, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?