१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

राजनीति विशुद्ध सेवा

निर्मला भण्डारी

काठमाडौँ — युवा पुस्ता राजनीति मन पराउँदैन । राजनीतिको कुरा आउँदा उनीहरू नाक खुम्च्याउँदै भन्छन्, ‘यो फोहोरी खेल हो, स्वार्थी व्यापार हो । लुटतन्त्र, बेथिति अनि पथभ्रष्ट र भ्रष्टाचारको अखडा हो । राजनीति गर्नेहरू छेपाराझै रङ फेर्न, ढाँट्न, चाकडी र चाप्लुसी गर्न र गराउन सिपालु हुन्छन् ।’ 

दसैंतिहारकै सेरोफेरोमा साथीभाइ, आफन्तलगायत धेरै व्यक्तिसँगको भेटघाटका क्रममा मैले थोरै युवाले मात्र राजनीतिमा रुचि राखेको पाएँ तर राजनीतिमा आकर्षित भएका अधिकांश युवाको बुझाइ राजनीति सुनको अन्डा पार्ने कुखुरा हो भन्ने छ ।


उनीहरूको मूलमन्त्र नेताहरूको चाकडी गरेर भए पनि आफ्नो स्वार्थ पूरा गर्ने, जतिसक्दो छिटो पार्टीको संघ/संगठनमा पकड जमाउँदै शक्तिमा पुगेर शान, मन र वैभव प्राप्त गर्ने महत्त्वाकांक्षा देखिन्छ । यस्ता व्यक्ति जस्तोसुकै अपमान सहेर पनि स्वार्थ पूरा नहुन्जेल नेताको पछि लागिरहन्छन् । जस्तै हर्क गर्न तम्तयार रहन्छन् । हिजोका सडकछाप कार्यकर्ता आज कसरी करोडौं र अरर्बांैपतिका मालिक, शक्तिका केन्द्र र ठूला राजनेता कहलिए भनी हिसाब–किताब गर्दै आफू पनि त्यस्तै बन्ने सपनासाथ राजनीतिमा होमिएका देखिन्छन् ।


आज देश र जनताले खोजेका युवा नेता यस्तै हुन् ? बेथितिको यो चरम दलदलमा फसेको देशलाई यस्तै सोच, आदर्श र भिजनविहीन दलाली मानसिकता भएका नेताले मुक्ति दिलाउला ? राजनीति सुनको अन्डा पार्ने कुखुरा हो ? कि व्यापार र ठेक्कापट्टा गर्ने संस्था हो ? आशा र भरोसा लाग्दा युवाको दिमागमा स्वार्थी र निकृष्ट सोचको वीजारोपण कसले गर्‍यो ? कसरी भयो ? सोचनीय छ ।


म सामान्य सचेत नागरिक हुँ । दलगत राजनीति गर्ने रहर छैन तर मलाई राजनीति मन पर्छ । राजनीति देशको पहिचान हो, भविष्य हो । संविधान र कानुनको स्रोत हो । देशको सामाजिक, आर्थिक, सांस्कृतिक र कानुनी मूल्यमान्यताको संरक्षक हो ।


हरेक नागरिक, विशेष गरी युवावर्ग देशको राजनीतिक र कानुनी व्यवस्था, मूल्यमान्यताप्रति सजग, सचेत र जानकार रहनु आवश्यक हुन्छ । दलगत राजनीति गर्ने सोच राखेको युवाले राजनीति विशुद्ध सेवा हो, व्यापार र ठेक्कापट्टा गर्ने, संविधान र कानुन उल्लंघन गर्दै गुन्डागर्दी गर्ने क्रीडास्थल होइन भन्ने बुझ्नुपर्छ ।


नेपाली जनताले आफू सार्वभौम बन्नकै लागि राणाशासन फाले, राजतन्त्र फाले । मुलुकमा लोकतन्त्र छ । समावेशी पद्धतिसहितको संघीयता कार्यान्वयनमा आइसकेको छ । शासक र शासन पद्धतिमा व्यापक हेरफेर भए पनि आधुनिक शासकवर्गहरूको व्यवहार र संस्कारमा उत्तरदायित्व र जवाफदेहिताविहीन स्वेच्छाचारी मानसिकता परिवर्तन हुन सकेको देखिँदैन । नेताहरू आफू शक्तिमा पुग्न जनताको अभिमतसमेत अपमान गर्न पछि पर्दैनन् ।


सार्वभौम नेपाली जनताले भुल्नै नसक्ने गरी दसैं टीकाटालो प्रकरण भर्खरै सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिन समय तोकेर अनौपचारिक रूपमा सबैलाई टीका लगाउन आउनु भनी आदेश दिए । स्वेच्छाले लगाइने टीका बाध्यता, समर्पण र चाकडीका रूपमा रूपान्तरण गर्न खोजे ।


राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्र र सक्षम न्यायपालिका, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव देखाउने दाँत मात्रै भएजस्तो अनुभूत हुन्छ । जुनसुकै वाद वा सिद्धान्तको धमास दिए पनि सबैको एउटै ध्येय देखिन्छ– जसरी पनि शक्तिमा पुग्ने, सोझा र निर्धामाथि शासन गर्ने अनि देशको साधनस्रोत दोहन गरेर ऐसआराम, शानसौकतको जिन्दगी बिताउने, धनदौलत थुपार्ने । यसले राजनीति बदनाम हँुदै गएको छ ।


बेथितिबाट गुज्रिएको देशलाई मेसो मिलाएर फुकाउने जिम्मा युवा पुस्ताले लिओस् । युवा नेताले निजी स्वार्थ, भौतिक सुखसुविधा र संकुचित विचार त्यागी विशुद्ध सेवाभावले देश र जनताका खातिर काम गर्ने प्रण गर्नुपर्छ ।


लेखक अधिवक्ता हुन् ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?