छठका थरीथरी कथा

छठ पर्वको उत्पत्तिबारे प्रमाण उपलब्ध छैन । यसको सम्बन्ध सूर्यसँग कसरी भयो भन्नेमा पनि मतभेद छ ।
रामनारायण देव

काठमाडौँ — सनातन हिन्दु धर्मावलम्बीले वैदिक कालदेखि प्राकृतिक देवताको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्यको पूजा गरिन्छ । वैदिक साहित्य अनुसार सृष्टिको उत्पत्ति हुनुअघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकार रूपमा प्रकट भयो र अन्धकार नष्ट भयो । आधुनिक वैज्ञानिकले पनि सूर्यलाई अग्निपिण्ड मानेका छन् ।

छठका थरीथरी कथा

सूर्यका अनेक नाम छन् । महाभारतमा १०८, अमरकोशमा ५४ र शतपथ ब्राह्मणमा १२ नामको वर्णन छन् । सूर्यका चार पत्नी संज्ञा, राज्ञी, प्रभा र छायाको नाम आउँछ । सूर्य परिवारका अन्य देवता र नवग्रहको उत्पत्ति सूर्यबाट भएको वर्णन पुराणमा छ । सूर्य उपनिषदमा सूर्यलाई ब्रह्माको साकार रूप, सृष्टि सञ्चालक विराट पुरुषको आँखाबाट उद्भव भएको भनिन्छ ।


पूजाको परम्परा

अति प्राचीन कालदेखि मानव मस्तिष्कलाई सूर्यले जति प्रभावित गरेको छ, त्यति अरू कुनै देवताले गरेको छैन । विश्वका सबै धर्मस्थलमा सामान्य रूपबाट प्रकाशलाई ईश्वरको प्रतीक मानिएको छ । सबै मन्दिरमा दीप जलाउने गरिन्छ । हाम्रा ऋषिहरू ‘तमसोमा ज्योतिर्गमय’ वन्दना गर्छन् । ऋग्वेद कालदेखि सूर्य उपासना प्रारम्भ भई अनवरत रूपमा अथर्व वेद उपनिषद, सूर्योपनिषद, तैतरीय ब्राह्मण रामायण, महाभारत इत्यादि ग्रन्थमा यसको चर्चा पाइन्छ ।


ज्योतिष शास्त्रको उत्पत्तिको मूल कारक योगीहरूको ध्यान केन्द्र सूर्य र त्यस सम्बन्धी अनेक कथाको वर्णन हिन्दु वाङ्मयमा छ । सूर्यवंशका उद्भव राजाहरूको उपाधि ‘विक्रम’ मुद्राहरूमा सूर्यचक्रको चिन्हजस्ता कुराले पनि सूर्यको महत्त्व दर्शाउँछ । सिन्धु घाटी सभ्यतादेखि नै भारतवर्षमा सूर्य उपासनाको परम्परा छ ।


मिथिलामा सूर्य उपासना

मिथिला वैदिक धर्मको सर्वाङ्गिण अभ्युथानका लागि प्रसिद्ध थियो । उपनिषदकालीन मिथिला विशेष रूपमा आध्यात्मिक चिन्तकको उद्भव भूमि थियो । जसका पोषक राजा जनक याज्ञवल्कय मैत्रेयी, गार्गी अष्यवक्र, सदानन्द आदि थिए । धर्मको स्वरूपसम्बन्धी निर्णयमा मतभेद भए विद्वानहरूको खोजी गर्नु पर्दैन, मिथिलाको व्यवहार हेरेरै निर्णय गर्नुपर्छ भन्ने मान्यता स्थापित भयो । यसै वैदिक परिवेशमा मिथिलामा सूर्य पूजा प्रारम्भ भएको थियो ।


छठ पर्वको उत्पत्ति

छठ पर्वको उत्पत्ति कहिले भयो भन्ने विषयमा प्रमाण उपलब्ध छैन । यसको सम्बन्ध सूर्यसँग कसरी भयो भन्नेमा पनि मतभेद छ । शास्त्राचार अन्तर्गत प्रत्यक्ष देवता सूर्यको पूजा र उपासना वैदिक कालदेखि भइआएकाले लोकाचार अन्तर्गत महोत्सवका रूपमा मनाउने प्रथा विकसित भएको मान्न सकिन्छ । यो षष्ठी तिथिमा पर्छ । षष्ठी अपभ्रंश भई छठ भएको हो ।


सूर्यसँग षष्ठी तिथिको सम्बन्धको चर्चा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ । यस पुराण अनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा विभाजित गरिन्– दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्री । यिनका अंश र कलाबाट अनेक देवीको उत्पत्ति भयो ।


प्रकृति देवीको एउटा प्रधान अंशलाई देवसेना भनिएको छ, जसलाई श्रेष्ठ मातृका मानिएको छ । यसलाई समस्त शिशुको रक्षिका देवी मानिन्छ । प्रकृतिमा छैठो अंश भनेकाले यसलाई षष्ठी देवी भनिएको हो । शिशु रक्षिका भएको हुनाले यस देवीको पूजा विशेष रूपमा हुन्छ, बच्चा जन्मेका छेठौं दिन होस् वा कात्तिक शुक्ल पक्षको षष्ठी तिथि । यस देवीको नाम ब्रह्मवैवर्त पुराणको प्रकृति खण्डमा काव्यायानी भनिएको छ ।


सूर्य पूजाका साथ षठी देवीको पूजा विधान कसरी प्रारम्भ भयो, विचारणीय प्रश्न छ । भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा यस देवीको पूजाबारे चर्चा गरिएको छ । विद्यापति कृत वर्षकृतमा प्रतिहार षष्ठीका रूपमा सूर्य षष्ठीको चर्चा छ । यस प्रकार छठ पर्वलाई छठी माता, सूर्यषष्ठी र प्रतिहार षष्ठी पनि भनिएको छ ।


यी सबै नाममा षष्ठी तिथि उल्लेख भए पनि षष्ठी तिथि मुख्य नभई षष्ठीसँगै सप्तमी तिथिको प्रधानता छ । यसलाई प्रतिहार षष्ठी पनि भनिएको छ । प्रतिहारको अर्थ अर्को दिन पूजाको ढोका खोल्नु हो । प्रतिहार शब्दले षष्ठी तिथिलाई गौण बनाई सप्तमी तिथिलाई महत्त्व दिएको छ । सप्तमी सूर्यको तिथि हो । यसले रोग निवारक धन–धान्य, दीर्घायु तथा सन्तान सुख प्रदान गर्छ ।


छठ पर्वको सुरुआतबारे धेरै कथा छन् । साम्व पुराणमा आफ्नै पिता श्री कृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनापछि रोगमुक्त भएको चर्चा छ । सातौं शताब्दीमा उत्तरी भारतका राजा सम्राट हर्षवद्र्धनको दरबारमा कवि वाण भट्टका साला तथा प्रसिद्ध कवि मयुर भट्ट आफ्नै पुत्रीको श्रापद्वारा कुष्ठ पीडित भएको र सूर्यको उपासनाबाट सुन्दर शरीर प्राप्त गरेको भनिन्छ ।


अर्काथरी विद्वानका अनुसार महाभारतकालमा दौपद्रीसहित पाण्डवहरूले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्य देवताको आराधना गरेका थिए । सूर्य पुराण अनुसार सर्वप्रथम अग्नि मुनिकी पत्नी अनुसूयाले छठव्रत गरेकी थिइन् । आफ्नो अटल शौभाग्य र पतिको प्रेम प्राप्त होस् भनेर उनले छठव्रत लिएको भनिन्छ ।


छठ पर्व चार दिनसम्म मनाइन्छ । पहिलो दिन अर्थात चतुर्थीका दिनलाई अरवा–अरवाइन तथा नुहाइ–खुवाइ भनिन्छ । यो दिन भोजनमा माछा–मासु, लसुन, प्याज, कोदो, मासु आदि त्याग गरिन्छ । नङ कटाइ नुहाइ–धुवाइ गरी सर्वाङ्ग शुद्ध भई व्रत बस्न थालिन्छ । पञ्चमी तिथिलाई खरना (अखण्ड–संरक्षण) भनिन्छ । यस दिन व्रती दिनभरि निर्जला बस्ने र चन्द्रोदयपछि चन्द्रमालाई खीर अर्पण गरी सोही प्रसाद ग्रहण गर्ने चलन छ । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्छ ।


षष्ठीका दिन अस्ताचलगामी सूर्यलाई अध्र्य चढाइन्छ । अध्र्य कुनै तलाउ वा पोखरी वा नदीमा दिइन्छ । अपरान्हदेखि जलाशय पोखरी नदीमा परिवारका सदस्यहरूले पूजा सामग्री पुर्‍याउँछन् । सन्ध्याकालीन अध्र्यका लागि पानीमा प्रवेश गरिन्छ । स्नान गरी हातमा पूजा सामग्री लिएर पश्चिमतिर फर्की अध्र्य दिइन्छ ।


सप्तमी तिथिमा प्रात:कालीन सूर्यलाई अध्र्य दिइन्छ । यस अवसरमा महिलाले छठी माताको गीत गाउँछन् । अध्र्य सम्पन्न भएपछि परिक्रमा गरी घर फर्किन्छन् । घरमा सूर्यपुराण श्रवण गर्ने चलन छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?